बुटवल,पुस ७ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको वर्तमान अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गरिरहेको बताउनुभएको छ । बुटवलमा १५औं राष्ट्रिय औद्योगिक प्रर्दशनी महोत्सवको उद्घाटन गर्दै भण्डारीले मुलुकको व्यापार घाटा कम गर्न कृषि उत्पादन बढाउनेदेखि पर्यटन प्रवर्द्धनका योजनाहरू अगाडि बढाउनुपर्ने बताउनुभयो ।
आयातमाथि नेपालको निर्भरतामा विस्तार भएको र त्यसबाट विदेशी मुद्राको सञ्चितीमा अभूतपूर्व चाप परेको उहाँको भनाइ छ ।‘चुनौती पार पाउन स्वालम्बी अर्थतन्त्रको विकासलाई मुलभूत उद्देश्य बनाउनुपर्छ,’ व्यापार घाटा तत्काल कम गर्न कृषि उत्पादन बढाउने, वनपैदावार, जडिबुटीमा आधारित आयात प्रतिस्धापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीति अवलम्बन गर्नुपर्छ ।’ उहाँको भनाइ छ ।
राष्ट्रपति भण्डारीले स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति अवलम्ब गर्नुपर्ने समेत बताउनुभयो । भण्डारीले युवा जनशक्ति तथा किसानलाई उत्प्रेरित गर्न उद्योगी व्यवसायीसँग मिलेर काम गर्नुपर्ने भन्दै केही वर्षभित्र व्यापार घाटा कम गर्दै लैजान सकिने धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनको प्रयोग, लाभको क्षेत्रमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गर्नु राज्यको जिम्मेवारी भएकाले यसतर्फ ध्यान दिन सबैलाई आग्रह समेत गर्नुभयो ।
‘उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले राज्यको निकायको ध्यान जानुपर्छ’, उहाको भनाइछ । यस्ता मेला तथा महोत्सवले सिथिल हुन पुगेको आर्थिक गतिविधिलाई चलायमान बनाउने र अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने उहाको भनाइ छ ।
राष्ट्रपति भण्डारीले पवित्र भूमि लुम्बिनी र यसको समग्र बिकासका लागि आफु सधै सकारात्मक रहेको बताउनुभयो । उहाँले भैरहवामा बनेको अन्तराष्ट्रिय बिमानस्थलपछि यसक्षेत्रको बिकासमा थप टेवा पुगेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)