बुटवल,भदौ ३० ।
बुटवलको हिलपार्कमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ‘सप्तऋषि धाम नेपाल’ स्थापना गरिएको छ। मानवता, ज्ञान र संस्कृतिको साझा आधारका रूपमा धाम विकास गर्ने उद्देश्यसहित अरुन्धतीसहित सप्तऋषिको प्राणप्रतिष्ठा गरि मन्दिर उद्घाटन गरिएको हो ।
कार्यक्रममा श्री १००८ ज्ञानानन्द सरस्वती ,श्री १००८ स्वामि लोकानन्द,श्री १००८ स्वामी शंकरानन्द सरस्वती महाराज, श्री १००८ स्वामी शान्तानन्द सरस्वती महाराज, श्री वेदतीर्थ गोस्वामी महाराज लगायतका सन्तहरूको उपस्थिति रहेको थियो।
धामले भदौ २७ गतेदेखि २९ गतेसम्म तीनदिने धार्मिक कार्यक्रम आयोजना गर्दै धार्मिक अनुष्ठान, पूजा तथा वैदिक संस्कारका कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको पहिलो दिन भदौ २७ गते श्रीगणेश तथा आद्यशक्ति श्री पूजा, कलश यात्रा, वेद पाठ, सप्तऋषि तथा अरुन्धतीसहित सप्तऋषिहरूलाई पञ्चामृतले स्नान, जलाधिवास तथा शय्याधिवास लगायतका कार्यक्रम भए भने दोस्रो दिन भदौ २८ गते संक्षिप्त मण्डप पूजा, स्वस्तिवाचन, जलाधिवास, महाकाली तथा महालक्ष्मी पूजा, महासरस्वती पूजा पाठ, विभिन्न वैदिक मन्त्रोच्चारण, हवन आरम्भ, मूर्तिहरूलाई धानाधिवास तथा वस्त्राधिवास लगायतका धार्मिक विधि सम्पन्न गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, तेस्रो दिन भदौ २९ गते ऋत्विक अभिषेक, हवन, जप, देवीपूजा पाठ, मूर्तिहरूलाई गोजाग्रत स्नान, दूध, दही, घ्यू, मह, चिनी आदिले स्नान, प्राणप्रतिष्ठा तथा स्थापना, घोषणापत्र पूजा, धूप, दीप, नैवेद्य, पूर्णाहुति र टीका–प्रसादी वितरण गरिएको छ ।
बुटवलको हिलपार्कमा स्थापना भएको यो धामले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको अध्यक्ष यदुनाथ पाण्डेले बताउनुभयो ।
सप्तऋषि धाम नेपाललाई धार्मिक आस्था, वैदिक संस्कृति र ज्ञानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)