बुटवल,कार्तिक १४ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ रुपन्देहीले‘माइन्युट लेखन तथा प्रभावकारी बैठक सञ्चालन विधि’ विषयक एकदिने तालिम सम्पन्न गरेको छ।
तालिममा २३ वटा वडाका करिब ७० जनाको सहभागिता रहेको थियो। पार्टीका बैठकलाई व्यवस्थित, प्रभावकारी र संस्थागत बनाउन तथा बैठकका निर्णयहरूलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने सीप विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको क्षेत्रीय सभापति प्रजापाल गिरीले बताउनुभयो ।

तालिममा सहभागीहरूलाई बैठकको कार्यसूची निर्माण, माइन्युट लेखन, निर्णय अभिलेखीकरण तथा प्रभावकारी बैठक सञ्चालनका विधिबारे प्रशिक्षण दिइएको थियो। कार्यक्रममा मुख्य प्रशिक्षक मनोज भट्टराई,प्रशिक्षकहरू बिमलराज भट्टराई र राजु पौडेलले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य रामबहादुर कार्की ,प्रदेश कोषाध्यक्ष प्रकाश राना,लुम्बिनी प्रदेशसभाका कांग्रेसका प्रमुख सचेतक जमुना ढकाल, प्रदेशसभा ख का सभापति रविन्द्रमान श्रेष्ठ लगायतले बोल्नुभएको थियो। तालिममा सक्रियतापूर्वक सहभागी हुनुभएका सदस्यहरूलाई आयोजकले प्रमाणपत्रसमेत प्रदान गरेको सचिव छाया पोखरेलले नागरिक अनलाइनलाई जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)