✍️ गिरी श्रीस मगर
मकै पोल्ने दिदी
सडक किनारमा मकै पोलिरहँदा
प्रत्येक घोगाका लागि
दिदीको निधारबाट झर्थे
पसिनाका थोपा—
तप्प ! तप्प...तप्प !! तप्प...तप्प !!
पहिलो थोपा हुन्थ्यो
ओछ्यान परेका लोग्नेका लागि
दोस्रो, भिसा कुरिरहेको छोराका लागि
तेस्रो, सानी छोरीको साना–साना पुतली सपनाका लागि
चौथो, साँझबिहान चुलो निभ्न नदिनका लागि
दिदी आफैँ दमकी रोगी !
सास फेर्न सधैँ धौ हुन्छ
पाँचौँ थोपा—आफ्नै लागि !
थोपा–थोपा गरेर
पसिनाका ती सबै थोपा
साँचिरहेकी थिइन् दिदीले सहकारीमा
त्यही त थियो दिदीको
जीवनको पञ्चामृत !
सधैँ सडकमै हुन्थिन् दिदी
आज पनि छिन् सडकमै
तर अचम्ममा परेको छ सडक—
दिदी आज मकै पोलिरहेकी छैनन् !
इतिहासका खास मोडहरूमा
सडकमा ननिस्किई मुन्टो लुकाउनेहरू
र, गागरमा सागर अटाइदिने
चटकीहरूका मण्डली जुटेको छ सडकमा
निस्केको छ सभ्य, विद्वान र सफा देखिनेहरूको नेतृत्वमा
उन्मादी भीडको जुलुस
विवेकले हरिकङ्गालहरूको जुलुस !
जुलुस—
मकै पोल्ने दिदीको पञ्चामृत लुट्नेहरूकै पक्षमा जुलुस !
क्रुद्घ छ हावाको गीत र गति
झोक्राइँरहेछन् ल्याम्पपोष्टहरू
जाम छन् सडकका सवारी
खुम्चिएको छ लाजले सडक !
त्यही चिरपरिचित सडकमा उभिएकी छिन् दिदी
जुलुसको ठीक सामुन्ने
दिदीको मनमा बलिरहेको छ—
मकै पोल्ने राता–ताता भर्भराउँदा कोइला
दिदीको हातमा छ—मकै पोल्ने अगुल्टो
सडकलाई मात्रै थाहा छ—
मकैका प्रत्येक घोगाका लागि
दिदीको निधारबाट झथ्र्यो
पञ्चामृतझैं पवित्र
पसिनाको थोपा—
तप्प ! तप्प...तप्प !! तप्प...तप्प !!
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)