-आशिष जैसी देवकोटा
शिक्षा हाम्रो जीवनको अभिन्न अंग हो । शिक्षाको मुख्य काम भनेको देशका नागरिकहरुलाई शिक्षित बनाउनु हो। अन्याय, अत्याचार, सामन्ति पुँजीवादी कुरीति र कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन, शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा औपचारिक रूपमा होस् या अनौपचारिक रुपमा होस् शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ। ‘जसको शक्ति उसको भक्ति’ गर्ने चलनले हुँदा खाने र हुने खानेहरूको बीचमा शिक्षा प्राप्त गर्ने सवालमा गहिरो खाडल रहेको छ ।
समाजलाई रुपान्तरण, अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार तथा कुरीति, सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि आधारभूत रुपमा चाहिने भनेको शिक्षा नै हो। तसर्थ शिक्षा राजनीतिसँग जोडिनु पर्दछ। वास्तवमा भन्ने हो भने शिक्षा र राजनीति एक सिक्काको दुई पाटा जस्तै हुन् । यसको बीचको सम्बन्ध र अन्तरनिर्भरता अन्योन्यश्रित रहेको हुन्छ । हाम्रो समाजमा अझै पनि युवा विद्यार्थीहरुले राजनीति गर्नु हुँदैन भन्ने परम्परावादी सामन्ती चिन्तन रहेको छ । तर साँच्चिकै वास्तविकता के हो भने राजनीति युवा विद्यार्थीहरुले नै गर्नु पर्दछ ।
किनकी विद्यार्थी भनेका भविष्यका कर्णधार हुन् भने समाज रुपान्तरणका वाहक र संचालक शक्ति भनेका युवा विद्यार्थी नै हुन् । शिक्षामा स्वतन्त्रता, आधुनिकता र व्यवहारिक जस्ता कुरा केवल एउटा कागजको पानामा मात्रै सीमित छन् । यही शिक्षा प्रणाली, दक्ष र जनशक्तिको निर्मान गर्नु पर्ने शिक्षा क्षेत्र उत्पादन प्रणालीसँग असम्बन्धित् हुँदा सामन्ती संरचनामा आधारित यो बुर्जुवा शिक्षाबाट दक्ष जनशक्ति युवाहरु वैदेशिक रोजगारीमा खाँडी मुलुकमा विदेशीन बाध्य भएका छन् र काठको बाकसमा फर्किने गरेका छन् ।
२१ औँ शताब्दीमा पनि १७र१८ औँ शताब्दीको लेखा काल्पनिक घटनाहरुको मिश्रित् पाठ्यक्रमलाई समावेश गरेर छापिएका उत्पादन प्रणालीसँग असम्बन्धित् वर्तमान शिक्षा प्राप्त गरेर सर्टिफिकेट पाउनु बाहेक अर्को केही उपलब्धि छैन। यसको मुख्य जड वर्तमान शिक्षा सामन्ती संरचनामा सीमित हुनु र राजनीतिसँग असम्बन्धित रहनु हो । त्यस कारण विद्यार्थी जीवनलाई समाज रुपान्तरणको लागि धारिलो हतियार बनाउँदै, विद्धमान सामन्ती संरचना भित्रको बुर्जुवा शिक्षालाई नष्ट गर्दै, मानिसको दैनिक जीवन पद्दतिसँग मिल्ने व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणाली वर्तमानको अनिवार्य आवश्यकता हो ।
अन्याय, अत्याचार, शोषण, दमन, कुसंस्कार र कुरीतिलाई चिर्दै सभ्य समाजको निर्माण गर्ने कार्य वास्तवमा हामी युवा विद्यार्थीहरुले नै गर्नु पर्दछ । समाज परिवर्तन गर्ने तागत र क्षमता युवाहरुसँगै भएकोले समाजमा युवा विद्यार्थीहरुले राजनीति लाग्नु हुँदैन भन्ने सोच र भम्रलाई बदल्ने हो भने युवा विद्यार्थीहरुलाई राजनीतिक परीक्षण र अध्ययन अनिवार्य हुन्छ । युवा विद्यार्थीहरुले राजनैतिक चेतनाले प्रबुद्द भएर अनुशासित रूपमा राजनैतिक संघर्षमा भाग लिनु, प्रगतिशील आन्दोलनलाई उचाईमा पुर्याउन, गलत चिजको भण्डाफोर गर्नु, साम्यवादी समाजको स्थापनाको लागि संघर्ष गर्नु, सामान्तवादी शोषणको जालोलाई उखेलेर मिल्काउनु हामी युवा विद्यार्थीहरूको अनिवार्य कार्य हो ।
विद्यार्थी जीवनमा औपचारिक रूपमा विद्यालयहरूमा गएर सिक्नु मात्र प्रयाप्त नभई मानिसले सबै भन्दा बढी ज्ञान आफ्नो जीवनको अनुभवबाट सिकेको हुन्छ ।
औपचारिक होस् या अनौपचारिक शिक्षा आर्जन गरे पनि विद्यार्थी जीवनमा राजनीतिक संघर्षमा भाग लिन सकिएन भने त्यो जीवन अधुरो, अपुरो रहनेमा कुनै शंका रहन्न । यसरी राजनीति र शिक्षा एक अर्कासँग जोडिएका सवालहरू हुन् । समाजमा घट्ने घटनाहरु के कसरी घट्दछन्, समाज रुपान्तरणको बाटो के हो, वर्तमान सामन्ती समाजको अन्त्य के कसरी हुन्छ, मानव समाजको सबै भन्दा उत्तम शसन, व्यवस्था साम्यवादी समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमनलाई अन्त्य गर्नको लागि हाम्रो भूमिका के हुन्छ त्यस प्रकारको ज्ञानको लागि हामीले अनिवार्य रुपमा प्रगतिशील साहित्य तथा विचारको अध्ययन गर्न अनिवार्य छ ।
पछिल्लो समय नेपालको राजनीति जुन खालको अन्योलबाट गुज्रेको छ त्यही स्थिति विद्यार्थी आन्दोलनको पनि छ । अनावश्यक र झिनामसिना बहाना र निहुँमा पठनपाठनमा अवरोध सिर्जना गर्ने, विद्यार्थी हकहितभन्दा राजनीति गर्ने र पवित्र शैक्षिक स्थललाई मुठभेडको थलोमा परिणत गर्ने, गुरुवर्गको सम्मान र शिक्षालयको पवित्रताको बेवास्ता गर्नेजस्ता कार्य गरिरहेका छन् जसलाई अत्यन्त दुखद मान्नुपर्छ ।
विद्यार्थी युनियनको काम विद्यार्थीको हकहितमा आवाज उठाउनु, शैक्षिक वातावरण कायम राख्न सहयोग गर्नु, शिक्षाक्षेत्रमा विद्यमान कमी–कमजोरी सुधारमा दबाब दिनु तथा प्रभावकारी शैक्षिक प्रणाली स्थापित गर्न विश्वविद्यालय र क्याम्पस प्रशासनलाई सहयोग पुर्याउनु हो । तर, हाम्रा विद्यार्थी युनियनहरू राजनीतिक अखडा बनेका छन् ।
विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा सुधारभन्दा उनीहरूको ध्यान क्याम्पसहरूमा हालीमुहाली मच्चाउनेतर्फ केन्द्रित हुने गरेको छ । निश्चय नै विद्यार्थी सचेत हुन्छन् तर हाम्रा विद्यार्थी सङ्गठनहरूले राजनीतिक इसारामा स–साना कुरामा पनि निहुँ झिक्ने र पठनपाठनमा अवरोध उत्पन्न गर्ने काम मात्र गरिरहेका छैनन् बरु शैक्षिक वातावरण बिगार्ने काम पनि गरिरहेका छन् । राजनीतिमा भाग लिन र सक्रिय हुन नचाहने विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित गर्ने गरेका छन् । जसले निजी क्षेत्रका कलेजमा विद्यार्थीको सङ्ख्या बढेको छ र तिनको व्यापार फस्टाएको छ । यसरी विद्यार्थी नै शिक्षालाई व्यापारमा परिणत गर्न सहयोगी बनेका छन् जुन विडम्बनाको विषय हो । उच्च शिक्षा हासिल गर्दै गरेका विद्यार्थीले मुलुकको अवस्था र आवश्यकतालाई दृष्टिगत गरी सम्बन्धित पक्षहरूलाई सुझाव र दबाब दिनुपर्छ । विद्यार्थी नेता र विद्यार्थी सङ्घ–सङ्गठनहरूले विद्यार्थीको हित र शैक्षिक वातावरण निर्माणमा सहयोग गरी अनुशासित र मर्यादित जनशक्ति उत्पादनमा सहयोग गर्नुपर्छ । अझ राजनीतिक दलहरू गैरजिम्मेवार र अक्षम सावित भइरहेको अवस्थामा आफूलाई थप जिम्मेवार एवम् सक्रिय बनाउनुपर्छ । तर, विद्यार्थीबाट त्यसतर्फ प्रयास भएको छैन ।
यस्तै उनीहरू गुणस्तरीय र नियमित पठनपाठनका लागि लड्नुपर्नेमा सोविपरीत राजनीतिक दलका हतियार बन्ने तथा तिनकै इसारा र निर्देशनमा विद्यार्थीले नै क्याम्पसहरूलाई भिडन्तको थलो बनाउने, राजनीतिक दलका नारा बोकेर पठनपाठनमा अवरोध गर्ने र अन्ततस् आफ्नै भविष्य बर्बाद गर्नेतर्फ उद्यत् हुनु दुर्भाग्यपूर्ण विषय हो । विद्यार्थी मुलुकका भविष्य हुन् । विद्यार्थीको काम शिक्षा हासिल गर्नु हो । सबै कुरा बुझेका विद्यार्थीले मुलुकको भविष्य उज्ज्वल बनाउन सक्छन् । यसैले आफ्नो बौद्धिक क्षमता तिखार्नु र भविष्यका लागि योग्य नागरिक बन्नु विद्यार्थीको लक्ष्य हुनुपर्छ । विद्यार्थीको ध्यान यसतर्फ गएन र राजनीतिक दलको भ्रातृ सङ्गठनको सदस्य बनी दलको इसारामा गतिविधि गर्ने काम भयो भने त्यसले विद्यार्थीको भविष्य त अन्धकार हुन्छ नै मुलुकको भविष्य पनि अन्योलमा पर्छ ।
यो विद्यार्थीले बुझ्नुपर्छ । विद्यार्थी सङ्गठनको राजनीतिमा लाग्नेहरूमध्ये कतिपय कहिल्यै विद्यार्थीभन्दा माथि नजाने पनि देखिएका छन् । राजनीतिकै लागि क्याम्पसमा भर्ना हुने, कहिले एउटा र कहिले अर्को सङ्काय, कलेज र कक्षामा भर्ना भई विद्यार्थी बनिरहने प्रवृत्ति पनि कतिपयमा देखिएको छ ।
यिनलाई त कसैले संरक्षण गरेको होला, उसैको नुनको सोझो गर्न यसो गरेका होलान्, भविष्य कसैले जिम्मा लिइदिएको होला । तर, जो साँच्चै विद्यार्थी हुन्, जसलाई अभिभावकले शिक्षा आर्जन गर्न र योग्य र सक्षम नागरिक बन्नका लागि दुस्खजिलो गरेर उच्च शिक्षा हासिल गर्न पठाएका छन् तिनलाई पर्ने प्रभाव विद्यार्थी नेताहरूले बुझ्नुपर्छ । नेपालको हरेक राजनीतिक परिवर्तनमा युवा विद्यार्थीको महत्वपूर्ण भूमिका र योगदान रहेको छ ।

२००७ सालको क्रान्ति होस् वा २०६२र६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन नै युवा र विद्यार्थी वर्गको सक्रिय सहभागिताकै बलमा सफल भएका हुन् । यस सन्दर्भमा विद्यार्थी जो भविष्यका कर्णधार र भविष्यमा मुलुकको नेतृत्व गर्ने वर्ग हो त्यो अनुशासित, मर्यादित, सभ्य, शिष्ट र जिम्मेवार होस् भन्ने आमअपेक्षाप्रति विद्यार्थी नेताको ध्यान जानु जरुरी छ । युवा र विद्यार्थी मुलुकका भविष्य हुन् ।
अनुशासित, मर्यादित, जिम्मेवार एवम् संस्कारयुक्त युवा र विद्यार्थी मुलुकलाई सही दिशातर्फ डोर्याउन सक्षम हुन्छन् भने अक्षम राजनीतिक नेतृत्वको अन्धभक्तका रूपमा तिनकै निर्देशन, नियन्त्रण र एकप्रकारले लाचार छायाकै रूपमा प्रस्तुत हुने युवा र विद्यार्थीको नेतृत्वले मुलुक र जनताका अपेक्षा पूरा गर्न सक्दैन । विद्यार्थी नेताले यो कुरा बुझ्नुपर्छ । विद्यार्थीमा अवश्य पनि राजनीतिक चेतना आवश्यक हुन्छ । तर, पूर्णकालीन कार्यकर्ताकै रूपमा शिक्षण संस्थामा राजनीति गर्ने, पठनपाठनमा अवरोध गर्ने र पढ्न चाहने विद्यार्थीलाई पढ्ने अवसरबाट वञ्चित गर्ने काम भने हुनुहुँदैन ।
अस्वस्थ प्रतिस्पर्धा र अराजक गतिविधिले कसैको हित गर्दैन, विद्यार्थीले यो कुरा बुझ्नैपर्छ । राजनीति गर्न चाहनेले राजनीति गरे पनि अध्ययन गर्न चाहनेको अधिकारप्रति पनि विद्यार्थी नेताहरू सचेत हुनुपर्छ तर वास्तवमा राजनीति नै सबै समस्या समाधानको एक मात्र विकल्प हो र राजनैतिक समाधानको बिना अरू कुनै पनि समस्याको समाधान हुन सक्दैन ।
अहिलेका सचेत युवा विद्यार्थीहरु समस्याहरु प्रति आँखा चिम्लेर बस्नु कदापि पनि सहि हुने छैन । त्यसकारण सबै प्रकारका समस्याहरुको समाधानको लागि सबै भन्दा पहिले युवा विद्यार्थीहरु नै राजनीतिको नशाले मात्तिनु पर्छ । समाजमा देखिन्ने विभिन्न प्रकारका व्यक्तिगत स्वार्थहरुलाई सामाजिक स्वार्थमा रुपान्तरण गर्नु पनि युवा विद्यार्थीहरुको एतिहासिक कार्यभार हो । राजनीतिबाट भाग्न खोज्ने, राजनीतिलाई घृणा गर्ने चलन पनि विद्यार्थीहरूमा रहेको छ ।
बिद्यार्थी लाई पैसा सँग दाँज्न खोजिएको छ। विद्यार्थीहरूसँग राजनीतिक चेतनाको अभाव भएकोले नै उनीहरूले त्यस प्रकारको विचारहरू गर्ने गर्दछन् । तर वास्तवमा राजनीति नै सबै समस्या समाधानको एक मात्र विकल्प हो र राजनैतिक समाधानको बिना अरू कुनै पनि समस्याको समाधान हुन सक्दैन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)