बुटवल,असोज १९ -
प्रदेश न ५ को राजधानी दाङ देउखुरी लैजाने प्रस्तावको बिरोधमा प्रदेशसभामा बैठक चलिरहेको थियो । सोमबारको दोश्रो बैठकमा प्रदेश ५ का कांग्रेस सांसदहरुले ५ माघ २०७१ संविधानसभाको झल्को प्रदर्शन गरे ।
६ बर्ष पहिले संविधान निर्माणको चरणमा पनि तत्कालिन माओवादी केन्द्र तोडफोडमा उत्रिएको झल्को भने बुटवलमा लोकतान्त्रिक दल काँग्रेसले देखाएको हो ।त्यतिबेला मध्यरातमा संविधानसभामा तोडफोड भएपनि प्रदेश ५ मा भने दिउँसै यस्तो दृश्यले लोकतन्त्रलाइ नै गिज्याएको थियो ।

सहमतिबिना संविधानसभामा विवादित विषयको प्रश्नावली बनाउने प्रस्ताव पेश गर्न खोजिएको भन्दै माओवादी सांसदले माघ ५ को मध्यरातमा संविधानसभा भवनका माइक र कुर्सी तोडफोड गरेका थिए ।
प्रत्यक्ष निर्वाचित कांग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गरेपछि रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गरेका हुन्।

प्रदेश सभाको सोमबार दोस्रो पटक चलेको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव छलफलका लागि पेस गर्न समय दिएका थिए।
नाराबाजी र प्रदर्शन गरिरहेका सांसदहरूले मन्त्री केसीलाई रोष्टम जान अवरोध गरे। कांग्रेस सांसदहरूबाट फुत्किएर रोष्टम पुगेका मन्त्री केसीले नामाकरण लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्ताव छलफलका लागि पेस गरेका थिए ।

कुर्सी र माइक तोडफोड गरेको भनेर त्यसको चर्को विरोध शुरु भएको छ । अब संसद बैठक भोली १२ बजे बस्ने गरि स्थगित भएको छ ।
रोस्ट्रमबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको निर्देशन : ‘घिसारेर निकालिहाल’

प्रस्तावमा छलफलका लागि नाम टिपाएका केही सांसद् बोलेपछि सभामुख पूर्णबहादुर घर्तीले छलफल सकिएको घोषणा गरे ।सभामुखले छलफल सकिएको घोषणा गर्दा पनि नेकपाकै सांसदहरू भोजप्रसाद श्रेष्ठ,डा.कृष्ण न्यौपाने लयायतले हात उठाएर समय माग गरिरहेका थिए ।
त्यसपछि सभामुख घर्तीले प्रस्तावमाथि संशोधन राख्नका लागि १८ घण्टाको समय तोक्दै छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई समय दिए ।
मन्त्री रोस्ट्रममा गएर बोल्न थालेपछि एकजना मर्यादापालकले रोस्ट्रमको अगाडि आएर सोफाको खोल हातमा समातेर सुरक्षा दिएका थिए ।मन्त्री आफैंले रोस्ट्रमबाट बाहिर आएर मर्यादापालकलाई हातले समाएर देब्रेतिर पर धकेले । अगाडी छेकिरहेका अर्का मर्यादापालकलाइ साईड लगाए ।
अनि निर्देशन दिए(‘समातेर हाल, घिसारेर निकाली हाल’ भनेर निर्देशन दिए । मन्त्री केसीको निर्देशन माइकमा प्रस्ट सुनिएको थियो । उनले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका थिए ।
कांग्रेसको विरोधप्रति कटाक्ष गर्दै मन्त्री केसीले विरोधको शैली देख्ने हो भने बीपीले समेत लाज मान्ने समेत टिप्पणी गर्न भ्याए । तत्कालिन माओवादीका नेता समेत रहेका हालका मन्त्री केसीले माघ ५ को मध्यरातमा संविधानसभा भवनका माइक र कुर्सी माओवादी सांसदले तोडफोड गरेको भने याद गर्न भ्याएनछन् । उनले कांग्रेसलाइ रोष्टमबाटै इतिहास सिकाइरहेका थिए ।
यी समाचारहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)