बुटवल,भदौ ४ ।
नेकपा माओवादी केन्द्रले लामो समयदेखि रिक्त रहेको पदाधिकारी टुंग्याएको छ। शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गरेका थिए।
बैठकले महासचिवमा देव गुरुङलाई चयन गरेको छ। अध्यक्ष प्रचण्डले गुरुङको नाम महासचिवका लागि बैठकमा प्रस्ताव गरेका थिए। यस्तै महासचिवका लागि दुई मुख्य दाबेदार मानिएका नेता वर्षमान पुन र जनार्दन शर्माले भने उपमहासचिवको जिम्मेवारी पाएका छन्।
कृष्णबहादुर महरालाई उपाध्यक्षको जिम्ममेवारी दिइएको छ। उपमहासचिवमा पुन र शर्मासँगै हरिबोल गजुरेल, पम्फा भुसाल र मात्रिका यादव चयन भएका छन्।
यस्तै माओवादीको सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, लिलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हित राज पाण्डे, डिल्लीराम आचार्य र राम कार्कीलाई चयन गरिएको छ।
कोषाध्यक्षमा भने श्रीराम ढकाल चयन भएको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए। उनले हाल दिइएको जिम्मेवारी विशेष महाधिवेशनसम्मका लागि मात्र भएको बताएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)