बुटवल,कार्तिक १७ -
वीर गोर्खाली अभियानले रुपन्देहीमा राजसंस्था पुनःस्थापनाको माग गर्दै र्याली प्रदर्शन गरेको छ । ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै साेमबार रूपन्देहीमा मोटरसाइकल र्यालीसहित बिशाल प्रदर्शन भएको हो ।
राष्ट्रिय झण्डा र पूर्व राजा-रानी ज्ञानेन्द्र-कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर तिलोत्तमाको मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म र्याली निकालिएको हो ।
र्यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठूलो भएको दाबि गरिएकाे छ ।
र्यालीपछि ट्राफिकचोकमा भएको कोणसभामा बोल्दै कार्यक्रम संयोजक बसन्तविक्रम पाण्डेले नेपालमा राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना भएरै छाड्ने दाबि गरे ।
कार्यक्रममा रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराज खनाल लगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको तर्क गर्दै यसका लागि देशव्यापी अभियान सञ्चालन गरिने बताए ।
उनीहरुले दलको नेतृत्व असफल भएको, राष्ट्रियता कमजोर बनेको र भ्रष्टाचारले सीमा नाघेको आरोप लगाउँदै राजसंस्थाको पुनःस्थापनाबाट मात्रै देशले निकास पाउने दलिल पेस गरेका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)