नागरिक अनलाइन/बुटवल,भदौ २४ ।
यशोदा ग्रुपअन्तर्गत यशोदा फुड्स प्रा.लि र श्रीराम टोबाको प्रा.लिले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड ८१ लाख ५१ हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरेका छन् ।
बाढीबाट भएको जनधनको क्षतिको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
उक्त रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमलकिशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्मा र संचालक नरिश्वर शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
साथै कम्पनीले बाढीप्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङलगायत अतिप्रभावित स्थान तथा पीडितलाई राखिएका आश्रयस्थलमा अत्यावश्यक राहत सामग्रीका रूपमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पठाएको जनाएको छ ।
सम्बन्धित निकाय र प्रभावित जनतालाई उक्त चाउचाउ प्रत्यक्ष रूपमा वितरण गरिएको कम्पनीले जनाएको छ ।आवश्यक परेमा थप चाउचाउ पठाउन तथा पीडितलाई सहयोग गर्न आफूहरू तत्पर रहेको कम्पनीले जनाएको छ ।
साथै, विपत्काे यस घडीमा आवश्यक पर्ने अन्य कुनै पनि किसिमको सहयोग गर्न यशोदा ग्रुप इन्डस्ट्रिज प्रा.लि पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)