Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : उत्साह, एकता र रुपान्तरण !

नेपाली कांग्रेसको १४ औं महाधिवेशन : उत्साह, एकता र रुपान्तरण !

  • 2.9K
    SHARES

  • नेपाली कांग्रेसको १४ औं महाधिवेशन : उत्साह, एकता र रुपान्तरण !

    -प्रजापाल गिरी

    ०७८ भाद्र १८ गते वडा तहबाट प्रारम्भ भएको नेपाली काँग्रेस पार्टीको १४औं महाधिवेशन मङ्सिर २८ गते सभापति पदमा दोश्रोपटक मतदान गरेर सकिएको छ । केन्द्रिय सभापति तथा पदाधिकारी र सदस्यहरुको अन्तिम मत परिणाम समेत आएको छ ।

    प्रदेश संरचनाको पहिलो अभ्यास र पार्टीले अवलम्बन गरेको समावेशी सिद्धान्तको आधारमा विभिन्न बर्ग, लिङ्ग र भूगोलको प्रतिनिधित्वलाई वडा तहबाटै गरिएको सुनिस्चितता कार्यान्वयन गर्नु आफैंमा चुनौतीपूर्ण रहेपनी काँग्रेसले त्यो कठिन अभिभारा लाई कुशलतापुर्वक निर्वहन गरेको छ। ०६२-६३को आन्दोलन र त्यसपछि भएका मधेस, आदिवासी, जनजाति, खसआर्य लगायत सबैखाले आन्दोलनले प्रकट गरेको जनअभिमतलाई सम्मान गरेको छ ।

    करिब नौ लाख कृयाशिल सदस्य संख्या भएको लोकतान्त्रिक पार्टीले आफ्ना सांगठनिक संरचना वडा, पालिका , प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र को करिब एक सय तीन दिन समय खर्चेर बिधानमा व्यवस्था भए अनुसार चार बर्षका लागि वडादेखि केन्द्रसम्म सातवटै तहमा नेतृत्व स्थापित गरेको छ । पूर्णत समावेशीताको सिद्धान्तलाई आत्मसात गर्दै निर्वाचन प्रक्रिया मार्फत भएको नेतृत्व चयनको अलौकिक अभ्यासले काँग्रेस अग्लो भएको छ ।

    देशकै जेठो मात्रै नभै ठूलो मतदाता संख्या बोकेको लोकतान्त्रिक पार्टीको महाधिवेशनका क्रममा भएका छिट्फुट घटनाबाहेक १४औं महाधिवेशन भब्य ,सभ्य र सानदार ढङ्गबाट सम्पन्न भएको छ ।

    एक त बिधानले व्यवस्था गरेको समयभन्दा निक्कै ढिलो गरेर मात्र होइन घोषणा गरेर पनि पटकपटक मिति सारिदा आम काँग्रेसजनमा जुन निराशा देखिएको थियो महाधिवेशनले  उत्साह दुगुना भएको छ । काँग्रेसजनमा मात्र होइन महाधिवेशन सफलताको शुभकामना प्रकटगर्न आएका बिदेशी पाहुनाहरुले देखाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रतिको एक्यवद्धता, आम नेपाली जनताको काँग्रेसप्रतिको भरोसा, बिपक्षी दलका नेताको काँग्रेसप्रतिको सद्भाव र विश्वासले नेतृत्वलाई थप उर्जा प्रदान गरेको छ ।

    लोकतान्त्रिक बिचारप्रती आस्थावान शुभेच्छुक देखि हरेक काँग्रेसीमा देखिएको अभुतपुर्व उत्साह, नेतृत्व तहमा देखिएको एकता र निर्वाचनबाट प्राप्त परिणामले पार्टी अब रुपान्तरण र पुस्तान्तरणको प्रकृयामा अघि बढेको पुष्टि गरेको छ ।

    १४औं महाधिवेशनको क्रममा मूल ध्येयको रुपमा अगाडि सारिएको उत्साह, एकता, रुपान्तरण अबको काँग्रेसको संकल्प बन्नेछ भन्नेमा शंका गरिरहनु नपर्ने महाधिवेशन प्रतिनिधिबाट अभिव्यक्त अभिमतले प्रमाणित गरेको छ । बिचारका लागि नभै अधिवेशनको गणितीय नतिजा आफ्नो पक्षमा पार्न वडा तह देखिनै भएका समूह घोषणा गर्ने क्रम केन्द्रसम्म पुग्दा बलियो गुटबन्दीको रुपमा देखापरे पनि नतिजा मिश्रित आउनुले गुटबन्दीलाई निरुत्साहित गर्न बल पुगेको छ ।prajapal.jpg

    त्यति मात्रै होईन १३औं महाधिवेशन देखि सत्तोसराप गर्दै आएका पार्टीका नेतृत्वतहले निहित स्वार्थकालागि होस् या पार्टीको बृहत्तर हितका लागि किन नहोस् बिगतका मनमुटावलाई बिर्सेर गरेको समर्थन र एक आपसमा देखिएको विश्वासको वातावरणले  अन्ततोगत्वा गुटबन्दीलाई निस्तेज गरेको छ । गुटको होइन एकताको सन्देश प्रवाह गरेको छ ।

    लोकतान्त्रिक प्रणालीमा अभ्यास गरिने निर्वाचनको प्रक्रियाले कतिपयले हार्ने र कतिपयले जित्ने नतिजा आउनु स्वाभाविक थियो । व्यक्ति बिशेषका लागि कतिपय प्रिय त कतिपय अप्रिय भएपनी उक्त परिणाम स्वीकार गर्नु लोकतन्त्रवादीको चरीत्र हो । तसर्थ नेपाली काँग्रेसको १४औं महाधिवेशनका क्रममा भएको निर्वाचनबाट आएको परिणाम अर्को महाधिवेशन नहुँदासम्मका लागि काँग्रेसका हरेक सदस्यहरुका लागि अन्तिम सत्य हो । यहि सत्यमा टेकेर निर्माण गर्ने गोरेटो पार्टी संगठनको सर्बोपरी हितको बाटो हुनेछ ।

    यही तथ्यामा अभिएर १४औं अधिवेशनमा निर्वाचित काँग्रेसका वडा तहदेखी केन्द्रसम्मका संरचना, पाका पुस्ताको अनुभव र नयाँ पुस्ताका नौजवानहरु  समय सापेक्ष ठोस कार्यक्रम सहित परिचालन हुन सक्यो भने उत्साह, एकता र रुपान्तरणको बाटो थप फराकिलो बन्नेछ ।

    नेपाली काँग्रेसले १४ औं महाधिवेशनमा व्यक्त गरेको प्रतिबद्धता र आर्जन गरेको शक्ति र सामर्थ्यलाई पार्टीको पुँजीको रुपमा संस्थागत गर्न सक्यो भने आउने सबै निर्वाचनमा काँग्रेसको विकल्प हुनेछैन । निर्वाचित नेतृत्व पङ्क्ती यसै दिशातर्फ उन्मुख हुन सकोस् ।

    सबैमा शुभकामना ।

    (लेखक गिरी कांग्रेस क्षेत्र न २ का सचिव हुन् ।)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology