Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम,५० हजार पुरस्कार

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम,५० हजार पुरस्कार

  • 2.3K
    SHARES

  • राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम,५० हजार पुरस्कार

    बुटवल,असार १२- 

    राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा) प्रथम हुनुभएको छ । 

    नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय (डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल (बोधिसत्वको खोप) तृतीय हुनुभयो । 

    प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ ।

    कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो  महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताउनुभयो । 

    कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा. डा. हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र  कला पक्षलाई सशक्त बनाउनुपर्ने बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताउनुभयो । 

    प्रतिष्ठानका  प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा  ७६४  जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि  ४१  कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिनुभयो । 

    वार्षिकोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारीलाई जनही रु ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरियो । सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईँ, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती  लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचीकार हुनुहुन्थ्यो ।  

    उत्कृष्ट घोषित कविता 

    देशको नक्सा

    म कोरिरहेकी छु

    देशको सग्लो नक्सा ।

    खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू

    जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा

    आफ्नी आमाको मुहारचित्र ।

    अनायस करेसाको डिल भत्किन्छ

    पर्खाल उठाउँछु

    सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन

    कुर्कुच्चा दुखिन्जेल किच्छु-टाल्छु

    र मेट्छु धाँजाहरू !

    विषाक्त हावा बोकिआउने आँधी

    उडाउनै खोज्छ मलाई

    बलेँसी चिरा पार्ने मुसलधारे वर्षा

    बगाउन खोज्छ मलाई

    छानाबाट झरेका पानीका तप्कनाले समेत

    शिरदेखि पैतालासम्मै भिजाउँछ

    तर पनि म उभिइरहन्छु पहाडजसरी

    घरको मूल खाँबो समातेर

    र कोरिरहन्छु सहस्र रेखाहरू !

    ओ ! सिमाना काटिजाने चराहरू

    पहाड भत्काएर बगिजाने खोलाहरू

    देवल उठाइरहेका पौरखी धमिराहरू

    माटोको दरबार उठाइरहेका कमिलाहरू

    सुन,

    भूगोलका यिनै मसिना रेखाहरूले त

    जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई

    जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ

    र लटरम्म खुसीको घाम फल्छ !

    छामिहेर त

    आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी

    हो, धड्किरहेको छ त्यहाँ

    छुटेका भूगोलसँगै छुटेका मनहरू

    एकाकार भएको

    स्वाधीन देशको सग्लो नक्सा ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology