बुटवल,बैसाख २७-
नेपालमा पहिलो पटक एकै दिन १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृतक १३९ मा कोरोना पुष्टि भएको हो। हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ। यस दिन ९ हजार २ सय ७१ संक्रमित थपिएका छन्।
त्यस्तै देशभर कुल सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस दिन कुल १८ हजार ४११ जनाको नमुना परीक्षण गरिएको थियो। जसमा पिसिआर परीक्षण १७ हजार ६२३ जनाको गरिएको थियो भने ७८८ जनाको एन्टिजेन परीक्षण भएको थियो।
पछिल्लो २४ घण्टाको अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म ३ लाख ६ हजार ७९४ जना कोरोनाबाट निको भएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)