म र मेरो श्रीमान् सञ्चारकर्मी हौँ । श्रीमान् बुद्ध टेलिभिजन र नागरिक अनलाईनमा काम गर्नुहुन्छ र म त्याेसंगै रेडियो जाणरणमा समेत आबद्ध छु । मलाई भन्दा पनि बढी उहाँलाई फिल्डमा खटिनुपर्दछ । हाम्रो ७ वर्षको छोरीसहित हामी ३ जनाको परिवार मात्र बस्छौँ ।
हामी दुइले अफिस जाने र काम गर्ने समय फरक-फरक गरेर मिलाएका थियौँ । कहिलेकाही एकैपटक निस्कनु पर्दा छिमेकी साथी मनिसा वा नमुनाकोमा छोडेर जान्थ्याैँ । मेरो माईतीघर नजिक भएका कारण तिलाेत्तमा माईती घरमा छोड्थ्यौ । समय यसरीनै बितिरहेको थियो । यसैमा पहिलो लहरको कोरोनाको हल्ला चल्यो । विदेश तिर आयो आयो भन्दा भन्दै छिमेकी देश भारतहुँदै नेपालमा पनि कोरोनाको त्रास बढ्यो ।
२०७६ चैत्रमा पहिलो पटक लकडाउन भयो , हामी सबैमा त्रास छायो । तर हाम्रो कर्मले हामीलाई पनि घर भित्रै बस्नै दिएन । महामारीको बेला आफ्नो छोरीलाई आफैसंग राख्ने निर्णय गर्यौ तर डर भने उत्तिकै मनमा । की कतै हाम्रो कारण छोरी संक्रमित त हुने हैन , संक्रमित भै हालेपनि हामीले त संघर्ष गरौँला र जीतौँला पनि ,के हाम्रो छोरीले सक्लिन त ? भन्ने अनेक नकारात्मक प्रश्न मनमा आउँथे ।
हामीले काम गर्ने समय मिलाएकाले पालैपालो नानु हेर्थ्याैँ पनि । बजारमा कोरोना संक्रमित बढेसंगै हाम्रो छिमेकीको हेर्ने दृष्टिकोण पनि बदलियो। छिमेकीले हामीसंग सहज भेटघाट र बिस्तारै बाेलचाल गर्न पनि छाड्न थाले । यसै विचमा बुद्ध टेलिभिजनका ७ जना सहकर्मी साथिहरु कोराेनाबाट संक्रमित भए । त्यो खबरले झनै त्रसित बनायो ।
यो खबर छिमेकीले पनि थाहा पाएछन् । र सोध्न थाले हजुरहरूले कोराेना टेस्ट गराउनुभयो कि नाई ? हामी प्रति सहानुभुति भएर हैनकी हामीलाई लाग्यो भने उनीहरूलाई पनि सर्छ भन्ने डरले। उनिहरूको त्यो व्यवहारले हामीलाई नराम्रो महसुुस भएको थियो । तर हामीले हार मानेका थिएनौ । सुरक्षाका सबै उपाय अपनाएका थियौँ र हामी सुरक्षीत पनि थियौँ । अघिल्लाे पटक कोराेनाले हामीलाई भेट्टाउन सकेन ।
यसैबीच केही महिना पश्चात् स्थित अलि सहज भईदियो । यात्रा यसैगरी चलिरहेको थियो ।
फेरि दोस्रो लहरको कोरोनाको हल्ला चल्यो । यो अझै जटिल छ भन्ने खबरले कता कता मनमा चिसो पसेको थियो । छिमेकी मुलुकमा कोरोना व्यापक फैलिएको र धेरैको ज्यान गएको खबरले स्तब्ध बनाएको थियो । नेपालमा पनि फेरि दोस्रो लहरको कोरोनाले आतंकित बनाउन सुरू गर्यो ।
बालबालिका र युवापुस्तामा यसले आक्रमण गर्यो र कतिको ज्यान पनि लियो । र फेरि दोस्रो चरणको निशेधाज्ञा २०७८ बैसाख १६-३० सम्मका लागि सुरू भयो । 
रुपन्देहीमा पछिल्लाे २४ घण्टा (बैसाख २०-२१ गते) मा रुपन्देहीमा ५७९ जना संक्रमित थपिएका छन् भने थप ११ जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २ सय १६ पुगेको छ ।
तर यो लकडाउनमा छिमेकीको हामी प्रतिको धारणा फरक थियो । उनीहरूले अहिले भनी बुझिसकेका छन् कि भौतिक दुरी कायम गरियो भने कोरोना सर्दैन भन्ने । आज समाचार के छ भन्दै उनीहरू आफै बोलाउँछन् यो सुन्दा मनमा खुशी लाग्छ । उनीहरूको बुझाई सकारात्मक थियो । तर पनि छोरीको चिन्ता र मायाले सताउन छोडेको थिएन । हामी अफिस गएर फर्किदा छोरी आफै भन्छिन् बाबा-मामु धात धुनुभयो कि नाई, सेनिटाईजर लगाउनुभयो कि नाई ? छोरी पनि सचेत भैछिन भन्ने लाग्यो ।
कोरोनाको कहरलाई हामी सबै मिलेर अवश्य जित्नेछौ । सकारात्मक सोँचले हामी अगाडि बढ्नेछौ । नकारात्मक सोँचलाई हामीमा हावी हुन दिनेछैँनौ ।
सधै अग्रपंक्तिमा खटिने सबै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ,सफाईकर्मी र संचारकर्मीको सधैँ सकारात्मक सोच हुन जरूरी छ । सबैको आ -आफ्नो ठाउँमा महत्त्वपूर्ण भुमिका छ र निभाई रहनुभएको छ । प्रकृतीले लिएको यो कठिन परिक्षालाई हामी सबै मिली डटेर सामना गर्नेछौं र जित्नेछौ पनि ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)