Logo बिहिवार, आश्विन १ गते २०८३
images

सपनाको साँघुरो गल्छी

सपनाको साँघुरो गल्छी

  • 1.5K
    SHARES

  • सपनाको साँघुरो गल्छी

    -दीपक विश्वकर्मा(छविलाल)

    आजआज भोलिभोलि भन्दाभन्दै उमराङ्सोमा मेरा थुप्रै दिनहरू बिते । छोटो समयको राजनीतिक जीवनको दौरानमा आममान्छेहरूसँग के कस्तो व्यवहार गर्नेभन्ने काइदाकानुन मनग्गे सिक्ने मौका जुरेको थियो मलाई । मैले बेहोरेको गरिबीलाई चरम गरिबी भन्न मिल्दैन । किनकि बाको हातमा सीप थियो र सोही सीपको आर्जनमा उरिमभकारीभरी अन्नपात जम्मा हुन्थ्यो । भाडगाउँलाई उपल्लोतल्लो भनेर छुट्याइएको छ । उपल्लो भाडगाउँबासीमध्ये तालेघर बस्नेत मुखियाको बाहेक कसैको पनि खेत थिएन । हाम्रा बाखलकहरू कसैको पनि खेत थिएन, तर खरवारी, पाखोबारीको कमी थिएन ।

    यसैपनि भाडगाउँले कामीहरू हुनेखानेमा गनिन्थे । मदमदिराप्रतिको बाको किंचित साइनोको कारणको मात्र आर्थिक तालमेलमा भंगालो पर्दै गयो र सो भंगालोको परिपूर्तिखातिर उनलाई पर्देशको चस्को पस्यो । हामी सानोछँदा भाडगाउँले कामी भनेपछि गाउँ थर्किन्थ्यो । बाउबाजेले प्रसस्त पाखो जोरिदिएका थिए । सबै बाहरू आफ्नो पेशाप्रति प्रतिबद्धमात्र थिएनन् महासिपालु पनि थिए । तामा, पित्तल, सिल्टी, गिल्टी, फलामको प्रचुर हातको सीप, कमाइकोलागि सिंगो अर्खले गाविस, खानीगाउँ र धागीथुममा छरिएर रहेका बालीघरे ग्राहकहरू जसलाई आमरुपमा बिष्ट भनिन्थ्यो, ग्राहकको कुनै कमी थिएन । यो बिष्ट भन्ने शब्द जातिसूचक शब्द नभएर  बालीघरे प्रथासँग जोडिएको साइनो थियो । फल्नो बाहुन मेरो बिष्ट, फल्नो मगर तेरो बिष्ट, यसरी बिष्टको पहिचान तथा बाँडफाँड हुन्थ्यो । भाइ छुट्टिभिन्न हुँदा पनि बिष्टहरू भाग लाग्थे । बिष्टहरूलाई आवश्यकपर्ने कृषि औजार, र ती औजारउपर हाम्रा बाहरूको एकलौटी पेटेन्टराइट थियो । हातखाली बस्नु नपर्ने त्यस्तो किसिमको सदाबहार कामलाई च्यात्तै छोडेर बा किन शिलाङतिर हानिए होलान् ? प्रदेश लाग्नासाथ भकारीमा पैसा ओइरिन्छ भन्ने बुद्धी उनलाई कसले दियो होला ? बाको प्रवाशनको सानो गल्तीले मलाईसमेत लपेट्यो । अनुभव, भोगाइ तथा आर्थिक उपार्जनको हिसाबले नाफाघाटा भए होला तर, त्यो लपेट्याइले राजनीतिमा खर्चिएको चारवर्षे अनमोलपूँजी बालुवामा पानी खन्याएजस्तो चौपट भयो । जीवनवृतान्तको लामो पाठ पढियो, भाइबहिनी, छोराछोरी सबैलाई एउटा मुकाम तयगर्न आड दिनसक्ने भइयो, तर जहाँ र जुन क्षेत्रमा सदाबहार दिनहरू लगानी गरिएको थियो, त्यसको प्रतिफल शुन्यमा झ¥यो ।

    ३ किलोको मुख्यचोकमा उभिएर मलाई २९ किलोसम्म जाने गाडीको खातिर लामो समय पर्खिनु परेन । प्रदेशमा पनि नेपालीहरूको त्यो विशाल उपस्थितिले मेरो मनमाभने सकुनको भाव पलाएको थियो—मेरा बामात्र रहेनछन् प्रदेश लाग्ने ! मनका तानाबानाको जालो बुन्दानबुन्दै खण्ड्याम ड्यामतिरबाट ओरालो झर्दे गरेको ट्रकलाई हात दिएको थिएँ मैले । ट्रक रोकियो । उमराङ्सोतर्फ जाने ममात्र रहेनछु, मलगायत केही यात्रुहरूलाई सिटमा बसाएर गाडी वेदुदाजुको क्वाटरको उकालो चढेर फेरि ओरालो झर्दै ५ किलोको अर्को विशाल ओरालोबाटो ओर्लिन थाल्यो ।

    उही बाटो, ३ किलो, ५ किलोमा बन्दैगरेको विशाल पावरहाउस, ८ किलो र सोही ठाउँमा बनेको उमराङड्यामको कारणले  बनेको विशाल ताललाई हेर्दाहेर्दै गाडी १३ किलो पुग्यो । उमराङ्सोसम्मका यात्रीहरू ट्रकलाई भाडा दिएर त्यहि ओर्लिए । मेघालयको कोइलाखानीबाट कोइला बोकेर आएको ट्रक थियो त्यो । उमराङ्सो आसामराज्य अन्तर्गत पर्नेभएकाले मेघालयबाट आएका गाडीहरूलाई फरेस्ट अफिस भित्र गएर आवश्यक प्रशासनिक कार्य गर्नु नपर्दो रहेछ । गाडीको खलासी कागजको मुठो समाएर इन्ट्री गेटतिर गयो । म गाडीमै बसिरहेँ । १३ किलोको चिरपरिचित रामरमाइलो हेर्दै ड्राइभरसँग सकेसम्म शुद्धताको ख्याल गर्दै हिन्दी भाषामा बात मारेर समय बिताएँ ।

    धेरै समय लागेन गेटमा कागजपत्र इन्ट्री गरेर खलासीलाई गाडीमा आएर बस्न । मैले ड्राइभरलाई गन्तब्यको बारेमा बताइसकेको थिएँ । अवतारी लामा बाको सल्लाहलाई पछ्याउँदै उमराङ्सो पुगेको दोस्रो दिनमै १९ किलो गइसकेको हुनाले त्यहाँसम्मको लागि म नयाँ यात्रु थिइन । तालमेल मिल्योभने यतैको होइएला, यात्राको बेला ड्राइभरसँग बात मार्नुभन्दाबढी सो ठाउँको वस्तुस्थितिबारे जानकार हुन चाहन्थेँ म । त्यसैले बाटोमा आइपर्ने हरबस्ती, चौर, चौताराको ख्याल गरिरहेको थिएँ । गाडी १९ किलो पार भयो । चन्द्रबहादुर क्षेत्रीसँग भेटभएको छाप्रोमा एकनजर परेको थियो ।

    तर उहाँले दोकानको भित्र बसेर लाउपानी खाँदै हुनुहुन्थ्यो वा साइडमा जानुभएको थियो, देख्न सकिएन । १९ किलो पारभइसकेपछि केही किलोमिटरको यात्रापछि एउटा ससानो बस्ती फेला परेको थियो । बाटोको साइडमा गाडिएको किलोमिटर संकेतमा लेखिएको थियो २२ किलोमिटर । ससाना छाप्राजस्ता घर, गुजुमुजु परेको बस्ती, मेरो जिज्ञासामा ट्रक ड्राइभरले कार्बी जातिको बस्ती भनेर चिनाएका थिए । हाम्रै गाउँघरमा देखिने मगरगुरुङ्ग समुदायका छोराछोरीजस्ता चेहरा भएका बालबालिकाहरू आगनमा खेलिरहेको देखिन्थ्यो । २२ किलोबाट थोरै अगाडि बढ्दा बाटोको बायाँतर्फ झोपडी जस्तो खरबाँसले बनेको घर देखिएको थियो । सो घर र त्यहाँ खडा भएका गाडी र फाट्टफुट्ट देखिएका मानिसहरूको बारेमा ड्राइभरलाई जानकारी होला, सोधिहेरेको थिएँ । “माथि कम्पनीको क्याम्प छ । ठूलै काठ कम्पनी हो ।” ड्राइभरले प्रष्ट्याएका थिए ।

    चन्द्रबहादुर क्षेत्रीले पहिलो दिनमै मलाई मारवाडी आसामी ठेकेदारको मोहरीको बारेमा कुरो गर्दा सो कम्पनीको बारेमा बताएका थिए । “यहिँ बस्दाहुन् अवतारी लामाबाले सुझाएका ठूला ठेकेदारहरू” ड्राइभरले माथिको क्याम्प र ठूलो कम्पनीको कुरोगर्दा मेरो शरीरमा भिन्दै रक्तसञ्चार भएको थियो । गाडी १३, १९, २२ र २३ किलोहुँदै अगाडि बढिरहेको थियो । मनमा भय थियो, त्रास थियो र थियो अद्भुत पश्चाताप पनि । त्यो यात्रा र अन्जान गन्तब्यहिन परिस्थितिको वर्णानात्मक परिवेश संस्कृत कहावत— भूतो न भविष्यति जस्तै थियो । कस्ता हुनन् मेरा सजातीय मास्टर, जो गरमपानीमा भारत सरकारले बाँध बनाउने निर्णय गरेपछि स्थानन्तरण गरिएका बासिन्दाहरूका छोराछोरीलाई पढाउने गर्दछन् ? सजातीय भन्दैमा के मलाई काम खोज्नमा सहयोग पु¥याउलान् ? वा मास्टरजस्ता पढालेखा मान्छेले मजस्तो कथित आइएवालालाई संघारैबाट उल्टापाउ खेदाउलान् ?
    २३ किलोदेखि अगाडि कुनै बस्ती देखिएन वा भेटिएन ।

    बाटोको किनारमै बस्ती हुनुपर्छ भन्ने पनि त थिएन । बाटो साँघुरो थियो । कतिपय ठाउँमा लोडगाडीले आउँदै गरेका गाडीहरूलाई साइड दिन हम्मेहम्मे परेको थियो । आइजाइ गर्ने गाडीका ड्राइभरहरू सबै एकआपसमा चिनजानका हुँदारहेछन् । कतिपय त एकछिन रोकिएरै बात मार्थे । कुन डिपोमा कोइला होला ? कुन मालिकको खानीमा पुगे राम्रो कोइला पाइएला ? विशुद्ध छात्रवृत्तिवाला पढाइ, जनताको घरदैलोमा मुफतको बास र पार्टीले तोकिदिएको सिमीत रकमबाट पकेट खर्च गरेर हुर्किएको मनाथेलाई व्यापारबारे घुनपुत्लो थाहा थिएन ।

    नङ्पोको आधुनिक कृषि औजारे कारखानाको उखर्माउलो त मात्र तीनपत्तिको त्रुपमात्र थियो । निमेषभरमै पैसा कमाएर नेपाल फर्किने वा शिलाङतिरै सानदार जिन्दगी बिताउने प्रलयकारी सोँच । जीवनभर खलाती चलाएर हँसिया कोदालो अर्जाप्दै घरघर पु¥याउँदै वार्षिक मानापाथी र डोकोमा मकै उठाएर बालबच्चा हुर्काएका अनपढ बाउको भरोषामा कारखाना खोलेर दाउँ, चुलेसी, फरुवा आदिको व्यापारिक उत्पादनको सपना देख्ने मजस्तो नादानमान्छे संसारमा सायदै कोही होला ।

    बाटोमा ड्राइभर खलासीसँग मिठामसिना कुराहरू भएका थिए । तम्घासमै ६÷७ कक्षा पढ्दाताकैबाट विक्रान्त र कर्नल रंजीतका जासुसी उपन्यास पढेर लेकिनसेकिन, अगरमगर सिकिसकेको थिएँ मैले । पछि गण्डकी बोर्डिङ्गको पुस्तकालयले हिन्दी मज्जाले बुझ्न सक्ने बनायो । मासिक उपलब्ध हुने ओपनसटर्डे र रामकृष्ण टोलमा रहेको सिनेमाहलले थोरैधेरै बोल्न पनि सिकायो । स्कुलबाट निस्केपछि रानुका कलात्मक उपन्यास यति पढियोकि आता है, खाता हैं जस्ता सम्बादउपर जवाफ फर्काउन सकिने भइयो । असार महिनामा मेघालयको नङ्पो पसेर शिलाङगुवाहाटीको ओहोरदोहोरले झन् हिन्दीमा प्रष्ट बोल्नसक्ने बनायो । ड्राइभर खलासीसँग सोही सीपको प्रयोग गरेको थिएँ ३ किलोदेखि २९ किलोसम्म पुग्दासम्म । बाटोको दुबैतिर लहरै घर, फराकिलो गाडी पार्किङ्ग गर्नमिल्ने ठाउँमा पुगेपछि कोइलागाडी रोकियो । “लो भाइ तिम्रो ठाउँ आइपुग्यो, ओर्ल” ड्राइभरले गाडी रोक्नु र खलासीले ढोका खोलिदिनु एकैसाथ भयो । भाडा के कति तिरेको थिएँ सम्झना छैन ।

    जतनले काखमा राखेको पुन्टुरे झोला बोकेर ड्राइभर खलासीसँग विदा भएर म सिटबाट ओर्लिएँ । मलाई सिटबाट ओरालेर गाडी बहुतै मस्किलले अगाडि बढ्यो । गाडी अगाडि बढ्यो, म नितान्त एक्लोबटुवा भने केहीबेर ओर्लिएकै ठाउँमा उभिएर जडवत गाडीलाई आँखाबाट ओझेल नपरेसम्म हेरिरहेँ । जीवनका कतिपय सच्याइहरू बहुतै कष्टदायक हुँदारहेछन् । ती सच्याइहरूको सामना गर्ने मेरो आफ्नो ल्याकत कतै थिएन ।

    गण्डकी बोर्डिङ्ग स्कुलको विशाल लाइब्रेरीमा भेटिएको म्याक्सिम गोर्कीको युगान्तकारी उपन्यास आमा, संसार बदल्न कम्मर कसेको अद्भूत पात्र पावेल, क्रान्तिप्रति आमाको अटुट विश्वासको दिमागी उल्झन, ०३५÷३६ सालको विद्यार्थी आन्दोलन, त्यसपछि लगत्तै भएको जनमतसंग्रह, स्कुलबाट निस्किएपछि एउटै होस्टेलमा अगाडिपछाडि पढेका मित्र विष्णुराम उर्फ किरण गुरुङ्गमार्फत थेग्रिदै गएको तत्कालिन मालेका नेताहरूसँगको भेट, बास्तवमा भन्नेहो भने ओठ निचोर्दा दुध निस्कने वयमै मैले लत छोडिसकेको थिएँ । पार्टीमा समर्पित भएर काम गर्दागर्दै साइलोभाइले लेखिपठाएको घरबारी लिलाम हुने बनावटी चिठ्ठी, सोही चिठ्ठीको स्वस्तीश्री छश्रीको भावनामा बहकिएर बेसाएका ती दुःखहरू आफैले बेसाएका दुःःखहरू थिए । जुन दुःखहरूलाई म एक्लैले भोग्न अभिषप्त थिएँ । आफैले आर्जन गरेको दुःखको भारी बोकेर हिँडेकोले ती दुःखहरूउपर कतै गुनासो गर्ने ठाउँ पनि थिएन ।  
    गाडी आँखाबाट ओझेल प¥यो । ओर्लिएको ठाउँमा मूर्तिजस्तै खडाभएर काम बन्नेवाला थिएन । अगाडिको यात्राको चाँजो मिलाउनु जो थियो मलाई— ट्रकबाट ओर्लिएको ठाउँ नजिकैको एउटा दोकानमा गएर मास्टरको बारेमा जिज्ञासा राख्दै सोधेको थिएँ— एकजना नेपाली मास्टरजीलाई भेट्नु थियो, कता भेटिनुहुन्छ होला ?
    “भर्खर त स्कुलको समय हो । अब एकछिन पछि छुट्टी हुन्छ । छुट्टीपछि क्वाटरमा जानुहुन्छ होला ।” उमराङ्सोबाट आउँदा दाहिनातर्फ देखिने लहरै दोकानहरू देखाउँदै ती सहृदयी मान्छेले भनेका थिए— त्यो घुम्तीपसलबाट दखिनतिर उहाँको क्वाटर छ । स्कुल पनि सँगै छ । जानुस् त्यतै, त्यतै भेट हुन्छ ।

    ब्रह्मापुत्र नदीउपर बनेको विशाल सराइघाट पुल, सो पुल पारगरेपछि पुगिने गुवाहाटी सहर, खानापाडाहुँदै पुगिने जोराबाट, जोराबाटको उकालो लागेर आधाघण्टाको यात्रापछि पुगिने बर्निहाट चेकपोष्ट, त्यसपछि शुरु हुने उम्लिङ्गको उकालो, त्यसपछि आउने नोङ्ख्रा र अन्तिममा पुगिने हाम्रा बाको ठेगाना नङ्पोह (नङ्पो, नेपाली जनजिब्रोमा झुण्डिएको लम्फु) । मेरा बाको त्यो बास छिचोलेर शिलाङ, ज्वाइ, आठमाइल हुँदै उमराङ्सोको लामोयात्रा । उमराङ्सोमा मैले व्यतित गरेको कुनै दर्दनाक औपन्यासिक वर्णनजस्तैजस्तै दिनचर्या र अन्तिममा आफ्नो जातथरका मान्छेको खोजीगर्दै २९ किलोको यात्रा । यो मेरो आत्मवृतान्तको साँगोपाँगो पाना थियो ।

    वेदुदाजुको सरकारी क्वाटरबाट बाबुहरू स्कुलको लागि निस्कदा मपनि सँगै निस्केको थिएँ । त्यसहिसाबले म साडे नौ बजेको आसपासमा २९ किलोको यात्रा तय गरेको थिएँ होला । कोइला बोकेको विशाल ट्रकको यात्रा थियो त्यो । १३ किलोको फरेष्ट गेटमा ट्रकका कागजपत्र इन्ट्रीमा गयो होला बीसपच्चीस मिनेट । सबै जोड्दा डेडदुई घण्टा । हिसाब जोड्दा एकबजेको आसपासको समय निस्किन्छ । एकडेड बजे स्कुलको छुट्टीको बेला हुन्छ । जाडो बेलाको समयको कारणले पनि स्कुलहरू छिट्टै छुट्टी हुने ।  ठिकै समयमा पुगेको रहेछु २९ किलो म । घुम्तीपसलका साहुले देखाएको बाटो समाउँदै दाहिना हानिएँ र चल्तीको एउटा पानपसलमा गएर ठिङ्ग उभिएँ ।

    पानपसलका भाइ यति ब्यस्त थिएकि उनलाई बोल्ने फुर्सदसम्म थिएन । उमेरले चौधपन्द्र वर्षपनि काटेजस्तो लाग्दैन थियो, तर उनका हात यति छिटो चलिरहेका थिए कि देख्दै रमाइलो लागेको थियो मलाई । पान बनाउने, सो बेलाको चल्तीको बिडी मुठाका मुठा ग्राहकको हातमा थमाउने, पैसा बुझ्ने, छुट्टापैसा फिर्ता गर्ने सबै काम एक्लै गरिहेका थिए भाइले । म केही बेर उभिएर उनको फुर्सदको पर्खाइमा बसेँ । धेरै बेरदेखि उभिएको देखेर होला, भाइले नै मलाई ग्राहकोरुपमा सोधेका थिए— तपाईंलाई के चाहियो ? पान कि बिडी ?

    म ग्राहक थिइन । थिएँ त एक थकाहारा मुसाफिर जो कामको जाहोमा दरदर ठोक्कर खाँदै भौतारिइरहेको थियो । मैले जवाफ फर्काएको थिएँ— याँ एकजना मास्टरले पढाउनुन्च रे भाइ । उहाँलाई भेट्नु थियो । कता बस्नुन्च कुन्नि ? 
    ए ! रामप्रसाद माड्साब ? वाँला भेट्न आउनुभको तपाई ? काँट आउनु भको नि ? भाइले दुईतीन प्रश्न एकैसाथ सोधेका थिए । भाइ कदकाठीमा सानै थिए, तर उनको व्यापारको शैली र बोल्ने तरिकाभने उमेरभन्दा पाको थियो । मैले पनि कत्ति ढिलो नगरेर भाइको प्रश्नको जवाफ फर्काएको थिएँ— म त शिलाङतिराट आको हुम् भाइ । वाँसित पहिले भेट भको छैन । चिनजान पनि छैन । पैलोपटक भेट गर्न आको हुम् ।

    अरु धेरै कुरो भएको थिएन वा कुरो गर्ने मौका मिलेको थिएन भाइसँग । किनकि भाइलाई पान तामुल बनाउनमै फुर्सद थिएन । ग्राहकसँग मोलमोलाइ गर्दागर्दै मलाई बटो देखाउँदै भनेका थिए— ऊ त्यो गल्लीबाट ओरालो लाग्नुस् । एउटा कुवा आउच । कुवाको दाहिनातिर बाँसको छाप्रोजस्तो घर छ । वाँ त्यहि बस्नुन्छ । अब त स्कुल नि छुट्टी भओ होला । त्यतै जानुस् भेट हुन्च । 
    भाइसँग म कृतज्ञताका बचनहरू जाहेर गर्दै विदा भएको थिएँ ।

    भाइले संकेत गरेको गल्ली गल्ली नभएर साँघुरो गल्छी थियो । जो एउटा लामो खरको टहरो र मिठाइपसलको बीच भएर अगाडि बढ्थ्यो । बोकेको पुन्टुरे झोलालाई काँधमा मिलाइओरी भाइको सल्लाह पछ्याउँदै सोही गल्छीको ओरालो लागेको थिएँ म । 
    पानपसले भाइले देखाइदिएको त्यो साँधुरो गल्छी जसलाई मैले बहुतै उपेक्षाभावले पार गरेको थिएँ, समयक्रममा सोही साँघुरो गल्छी मेरो जीवनको सपनाको सेतुमा परिणत भयो ।  

    २०८० असोज १९
    बुटवल । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology