Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सपनाविहिन रातहरू

सपनाविहिन रातहरू

  • 1.8K
    SHARES

  • सपनाविहिन रातहरू

    -दीपक विश्वकर्मा(छविलाल)

    नोर्थ इस्ट पावर कर्पोरेशन अर्थात नेप्को कम्पनीका सिनियर चालक वेदुराम शर्मा उर्फ वेदु शर्माले ३ किलोखण्डको साइड अफिसको हाकिमको गाडी चलाउनु हुँदोरहेछ । शिलाङका साथीहरूको सुझाव थियो, प्रेम लामा, तिलक क्षेत्रीभन्दा पार्टी सम्पर्कको हिसाबले वेदु शर्मादाजु नै सिनियर हुनुहुन्छ । सोही कारणले पनि  उहाँसँग उमराङ्सोको बसोबासको बारेमा सहयोग लिनुहोला । तर रातको समयमा उहाँलाई दुःख नलिने मनसायले म उमराङ्सो पुगेको थिएँ ।

    भूगोलको जानकारी नहुनु र उमराङ्सो क्षेत्र किलोमिटरको नामले चिनिन्छ भन्ने जानकारी नहुनाको कारणले पनि मलाई उमराङ्सोको भुक्तमान बेहोर्नु परेको थियो । उमराङ्सो बसाइको पाँचछ दिनमै मैले जो भुक्तमान बेहोरे, सो भुक्तमानले मान्छेलाई चिन्ने, हिन्दुधर्मको काठोर चेहरा पढ्ने मौका पाएँ । जातभात, थर, वंश, गोत्र सर्लक्कै बोकर नेपाल संसारमा फैलिएको छ भन्नेकुराको भेउ त मैले नङ्पोको मकैबारीमा बसोवास गर्ने गाउँकै खप्तरी परिवारको बासँगको आपसी सम्बन्ध, बोलिबचनले नै पाएँको थिएँ । यद्यपि विचारको निमेषभरको झिल्कोसँग मान्छे एकाकार हुने हो भने कसरी मानवीय सम्वेदनासँग जोडिन पुग्दोरहेछ भन्ने उदाहरणको नमुना हुनुहुन्थ्यो तिलक क्षेत्री । महाकवि देवकोटाको शब्दसापटी लिएर भन्ने हो भने एक क्षेत्रीको छोराले उचनीचको प्र्रलयकारी भावनालाई तिलाञ्जली दिएर मलाई एउटै बिस्तरामा सुताएको थियो । मैले खाएका भाँडा माझेको थियो ।

    नतुन विचारको संगममात्र होइन, मनमा धर्मको पाखण्ड होइन, मानवता हुनेकोभने जातधर्म र परम्परा बिर्सेर कसरी एक दमाईले मलाई शरण दिएको थियो भन्ने कुराले प्रष्ट पारेको थियो । उमराङ्सोबासका ती बिर्सनासंझनालायक परिघटनाहरूले मलाई अगाडिका अन्जान पाइलाहरूमा होसियारीका साथ चल्नुपर्ने असंख्य सीख, शिक्षाहरू प्रदान गरेका थिए । हाकिमको सवारी चालककोरुपमा वेदुदाजु शिलाङ गएको कुरो दिदीको मुखबाट सुनेपछि ममा एउटा अर्को उल्झन् थपियो । यद्यपि वेदुदाजुसँग कामको ठूलो आशा गरेको थिइन मैले । मलाई त सो ठाउँमा बसेर अवतारी देवदूतीय लामाबाको आशीर्वचनलाई साकाररुप दिनु थियो । त्यसको लागि उमराङ्सोमा केही दिनलाई टिकिनु पथ्र्यो । काम नबन्दासम्मको लागि आश्रय चाहिएको थियो ।

    टिकिन पर्नको लागि मजस्तो मुसाफिर जोगीलाई होटेलको बास कतै सम्भव थिएन । मेरो पकेटमा पैसो भनेको आइजाइको भाडा, सामान्य चियानास्ताको रकम बाहेक अरु थिएन । सोंचेजस्तो नहुँदो रहेछ जीवन, कसैले कहिँकतै भनेको उक्ति मेरो सम्बन्धमा सटिक ठहर्छ । नङ्पोबाट हिँड्दा सोंचेको थिएँ, उमराङ्सो दिनमै पुगिएला । साथीहरूले दिनुभएका सम्पर्कका साथीहरूलाई खोजतलास गर्छु । बसोबासको बन्दोबस्ती होइजान्छ । तर साँच्चै नै भनेजस्तो र सोंचेजस्तो भएन । बसले रातको समयमा अन्तिमबिन्दु उमराङ्सो बसस्टप पु¥याएर ओरालिदियो । साथीहरूलाई खोज्नुभन्दा होटेलको खोजिगर्दा सजिलो हुने अड्कल काटियो । उमराङ्सोको एकमात्र होटेल लिली होटेलमा गासबास खोज्न पुगियो । होटेलमा गास पाइयो, बास भएन । त्यसपछि त अनेकौ भुक्तमानहरूको सामना गर्नु प¥यो । यद्यपि ती भुक्तमानहरूले मलाई खारे । म यति खारिएँकी नम्बरी इट्टा हुन पुँगे ।

    आउनुहोला दुईचार दिनमा दाजु शिलाङबाट, मनमनै कल्पना गर्दै दिदीले देखाउनुभएको कोठामा पसेर कुर्चिमा बसेँ म । उता स्कुलबाट आएका छोराहरूको रडाको शुरु भयो । आठदश वर्षका थिए दुई बाबुहरू । दिदीलाई उनीहरूका लत्ताकपडा, जुत्तामोजाको स्याहारमा भ्याइनभ्याइ थियो । बैठककोठा सँगैजोडिएको कोठामा मेरो बन्दोबस्ती भएको हुनाले उनीहरूको सबै गतिविधि नियालीरहेको थिएँ । अभिभावक विशेषतः आमाको काम नै छोराछोरीको स्याहार गर्ने हो । स्कुल पढ्दा दुई वर्ष यस्तै आठदश वर्षका बालबच्चाहरूको रेखदेख गर्न स्कुले खटाएको थियो मलगायत काठमाण्डौ निवासी रामकृष्ण महर्जन र तम्घास निवासी महेन्द्र श्रेष्ठलाई नीलगिरी होस्टेलमा होस्टेल वाय बनाएर । त्यहाँ बस्दा बच्चाहरूको पिसावले लतपत भएको विस्तरासम्मको ख्याल गरिन्थ्यो । वेदुदाजुका छोराहरूको उछलकुद देखेर ती पुराना कुराहरू मानसपटलमा ताजा भएर आएका थिए ।

    अहो ! मैले बेहोर्न बाँकी के पो थियो र ? छोराहरूको लागि दिदीले नास्ता तैयार गर्नुभयो । त्यहि मेसोमा म पनि मिसिएँ । नास्ताको दौरानमा मैले आफ्ना बेथाहरू सुनाएँ दिदीलाई । आफ्ना कुराहरू सुनाउने दौरानमा दिदीको बारेमा पनि जानकारी भयो । उहाँले आफु खासी समुदायको छोरी भएको, वेदुदाजुसँग जानपहिचान हुँदाहुँदै बिहेवारी भएको कुरो बताउनु भयो । पूर्वीय हिन्दु संस्कारयुक्त ध्रुतसमाजले नसिकाएसम्म जनजाति समुदायले जातीय विभेदको प्रपञ्च सिक्दैन । वेदुदाजुले पनि दिदीलाई सो प्रपञ्च सिकाउनु भएको रहनेछ । त्यसकुराको भेउ मैले उहाँलाई मेरा बाले नङ्पोमा गर्ने कामको कुरो खुलस्त बताउँदा कुनै नकारात्मक टिप्पणी नगरेको देख्दा महशुस गरेको थिएँ । 
    बिस्तारै दिन ढल्किदै थियो । नास्ता खाएर बाबुहरूले होमवर्क गर्न थाले । नेप्को कम्पनीका कर्मचारीहरूका छोराछोरी पढ्न खोलिएको अंग्रेजी स्कुलमा पढ्दारहेछन् बाबुहरूले । सबै होमवर्क अंग्रेलीमा हुँदोरहेछ । आठ दश वर्षकै उमेरमा अंग्रेजीप्रतिको उनीहरूको दखल देखेर म चकित परेको थिएँ । दिदीले चियानास्ताका भाँडाबर्तनको सरसफाइ गरेर बेलुकीको भातभान्साको धन्दा गर्नतिर लाग्नुभयो । मैले गर्नु पर्ने केही थिएन । बसेर बाबुहरूको होमवर्क गराइ हेर्न थालेँ ।

    समय बिस्तारै ढल्किदै गयो । पश्चिम दिशाहुँदै घामले विश्राम लियो । यता दिदीले भातभान्सा पनि तैयार गर्नुभयो । आठ बज्दानबज्दै थालथालमा खाना पनि पस्किनु भयो । ठूला दुई छोरा र मलाई सँगै राखेर खाना खुवाउनु भएको थियो । हामीले खाइसकेपछि आफु र सानो बाबुले खान थाल्नु भयो । वेदु दाइदिदीको त्यो बेजोड जातीयसंगम संस्कारको एक नमुना थियो । जातबाट माथि उठेको त्यो परिवारको संगतले उमराङ्सोमा उमराङ्सो पुग्दाकै पहिलो रातमा मैले भोगेको हृदयविदारक घटनालाई ओझेलमा पारेको थियो ।

    ३ किलोमा बितेको सो रात अर्को सकुनको रात रह्यो । खाना खाइसकेपछि उमराङ्सो बसाइका दिनहरूको सामान्य कुराहरू सुनाएको थिएँ मैले उहाँलाई । दिदीले मगरदाजुलाई चिन्नु हँदोरहेछ । एउटै कम्पनीमा काम गर्ने कर्मचारीको नाताले नचिन्ने भन्ने कुरो हुन्थेन । मगरदाजुले होटेलमा बास नपाएर बाटोमा भौतारिएर हिँडेको कुरो सनाएको थिएँ दिदीलाई । तर धर्मशालाको पण्डितले ममाथि गरेको जातीय अपमानलाई भने सुनाएको थिइन । मगरदाजुको क्वाटरमा बसेर १९ किलो पुगेको कुरो पनि सुनाएको थिएँ । त्यसपछिको बासको कुरो पनि सुनाएको थिएँ उहाँलाई । तर तीलक दाजुको अलग कम्पनी भएको कारणले उहाँलाई चिन्नु हुँदोरहेनछ । शिलाङका साथीहरूले सम्पर्कको लागि सुझाउनु भएको प्रेम तामाङदाजुको बारेमा दिदीलाई थाहा रहेछ । तर उहाँलाई नभेटेको कुरो पनि सनाएको थिएँ र काम कुरो बन्योभने र यतैतिर बस्न थालियोभने उहाँलाई पनि भेट गर्ने कुरो भने गरेको थिएँ । 
    दिदीलाई सबैकुरो सनाउनुको अर्थ थियो । अर्थ के थियो भने— लोग्नेमान्छे घरमा नभएको मौका पारेर त्यसरी रातबिरात बासबस्न पुगेको मान्छेले भएगरेका घटनाहरू सुनाएन भने विश्वास गर्नु कसरी ? अन्जान मान्छेलाई कसरी एउटै छतभित्र रातभर सुताउनु ? त्यसैले पनि ती तमाम कुराहरू उहाँलाई सुनाउनु परेको थियो, जसबाट म उहाँको नजगरमा सद्देमान्छे दरिउँ र उहाँको रात भयरहित तरिकाले कटोस् । कुरैकुरामा मैले शिलाङका सबै साथीहरूको बारेमा पनि सुनाएको थिएँ । उहाँले तिल कार्की, प्रेम खनाल, कुन्दन भट्टराईलगायत धेरैजसो दाजुहरूलाई चिननुहुँदो रहेछ । कुराले कुरो तान्दै लग्यो र तिनै कुराको पेटारोले उहाँको नजरमा म कुनै फरेवी मान्छे नभएको साविती भयो । 
    वेदुदाजुकोमा विताएको सो रात मगरदाजुको क्वाटरमा विताएभन्दा कुनै मानेमा कम थिएन । बरु अब्बल थियो । खसीया महिलाहरू संस्कारगतरुपमा उच्चस्तरका हुन्छन् । घरको सजावट, भाँडाबर्तनको सरसफाइ, लत्ताकपडाको रखरखाब देख्नलायक हुन्छ । दिदीले मलाई उपलब्ध गराएको पाहुना कोठाको सजावट पनि सानदार थियो । खाट, खाटउपर मुलायम बिस्तरा, बिस्तराउपर रंगीन तन्ना ! वेदुदाजुको क्वाटरमा रात बिताउँदा मलाई मआफु मुसाफिर हुँ र कामको खोजिमा भौतारिएको एक बेरोजगार युवक हुँ भन्ने कुराको आभाष नै भएको थिएन । सो रात पनि मैले सानदार सकुनको नीद सुतेँ ।

    सुत्नुभन्दा, अथवा नीदको काखमा लुटपुटिनुभन्दा पहिले संझेको थिएँ, पोखरादेखि नङ्पोसम्मका तितामिठा पलहरू । संझेको थिएँ बेलुकी भएपछि सबै दुःखदर्द बिर्सेर मारुनीको भाका सुसेल्ने बाबुलाई, रातदिन मेरो पर्खाइमा आँखा भिजाएर बसेकि जीवन संगिनीलाई । नेपालमा बाको पर्खाइमा दिनगनेर बसेका आमा र ससाना भाइबहिनीलाई । 
    मनको तानाबानाबीच कतिबेला नीद आयो थाहै भएन । पाहुनाको लागि अलगसँग छुट्याइएको पाइखाना दिदीले दिउँसै देखाइदिनुभएको थियो । बास्तवमा भन्ने होभने सो बेला म कुनै सपना देख्नलायक नै थिइन ।

    सपनाका सबै तन्तुहरू विश्रङ्खलित भएका थिए । पढाइ छुट्नु, राजनीति छुट्नु, नङ्पोको अघोरी दिनचर्या छुट्नु, साथमा श्रीमती हुनु, बाको कुनै भरपर्दो कमाइ नहुनु, सो प्रकारको भवसागरमा सपनाका तन्तुहरूको विजारोपण कसरी हुनसक्छ ? कसैले तिमी त पढालेखा रचौ यसरी बासँग घन ठोकेर नबस, फल्ना ठाउँमा जाऊ काम बन्छ मात्र भनिदिएको कारणले मुसाफिरनामा यायावरी जिन्दगी विताइरहेको मान्छेको कुनै सपना हुन सक्दैन थियो । सो रातमात्र होइन, कृषि औजार कारखानाको उखर्माउलो असपलतापछि मैले कुनै सपना देख्न छोडिसकेको थिएँ । र सो रात पनि कुनै सपना देखिन ।
    अर्को बिहान उठ्दा घाम झुल्किएर एकबित्ता माथि उक्लिसकेको थियो ।

    दिदी उठेर घरधन्दा शुरु गरिसक्नुभएको थियो । बाथरुम, ट्वाइलेटबारे अघिल्लोदिन मै जानकार भइसकेको थिएँ म । मगरदाजुको क्वाटरमा जस्तै भित्रै नुहाइधुवाइ लगायत यावत कुरा गर्नुपर्ने सुविधा रहेछ त्यहाँ पनि । बिजुली कम्पनीको कामदार भएको कारणले बिजुलीको प्रयोग मफतमा हुँदो रहेछ । नुहाउने पानी तताउन रडको ब्यवस्था रहेछ । के कसरी बाल्टीमा पानी तताउने भन्ने बारे दिदीले सिकाउनु भएको थियो । नङ्पो छोडेको पनि हप्ता दिन पुग्न थालेको थियो । त्यो हप्ता दिनमा नुहाउने मेसो जुरेको थिएन । त्यसैले पनि दिदीसँग आग्रह गरेर सो बिहान नुहाएर तनमन पखालेर हल्का भएको थिएँ म । 
    दिन उघ्रिएपछि उकालो लाग्न के बेर ? दिदीलाई बाबुहरूलाई आठै बजे खाना खुवाएर तैयार गर्नु पर्नेरहेछ । साथमा दिनको नास्ता पनि बनाउनु पर्ने अर्को जिम्मेबारी रहेछ । सानो बाबुको स्याहार अलगसँग थियो । तर ती सबै काम उहाँले समयमै सक्नु भएको थियो । उता म धेरैदिनको मयल पखालेर हलुङ्गो भएको थिएँ । फेर्ने कपडा झोलामा बोकेर गएको थिएँ ।

    लगाएका कपडा धोएर क्वाटर पछाडि कपडा सुकाउन बनाएको तारमा लगेर टाँगेको थिएँ । डाँडामा बनेको क्वाटरबाट ५ किलोको आधा भागसँगै उमराङ्सोको विशाल जंगल देखिएको थियो । जंगलको त्यो विशलता मैले पहिले कहीँ कतै देखेको थिइन । चारैतिर रुखैरख । जताततै हरिया समथर पहाड । 
    दिदीले बाबुहरूसँगै मेरोलागि पनि खाना पस्किनुभएको थियो । रातिको मुलायम बिस्तरामा निदाउनु अघि भोलिका कार्यसूचिको नमुना पनि तैयार गरेको थिएँ मैले । वेदुदाजु घरमा नभएता पनि दिदीले मेरो जुनसम्मान गर्नुभएको थियो, त्यो सम्मानले मलाई  उमराङ्सोमा ठहरिन कुनै बाधा रहेजस्तो ठानिन । मसँग सामान्य यातायातको खर्चको जोहो थियो । खाना खाइसकेपछि दिनभर क्वाटरमा बस्नुभन्दा २९ किलोको सफर गर्नु नै मलाई सबैभन्दा उचित लाग्यो । सजातीय मास्टर मेरो उमराङ्सोको रोजगारीका अर्का संभावित अवतार हुनसक्थे । टेवुलमा बसेर खानाखाँदै दिदीलाई सुनाएको थिएँ— केही दिनलाई वेदुदाजुसँग भेट हुनेकुरो भएन दिदी । दिनभर याँ बसेर के गर्नु ? म एकपटक २९ किलोसम्म पुगेर मास्टरलाई भेटेर आउँछु । १९ किलोमा भेट भएका चन्द्रबहादुरले त्यहाँ गएर मास्टरलाई भेट्न भन्नुभएको छ । हिँजो भइसकेका कतिपय कुराहरूलाई पुनः दोहोराएँ ।

    “जानुस् । नयाँ ठाउँमा आउनु भको छ । नहराउनुहोला । यहाँबाट २९ किलो जाने बस जान्नन् । बस चल्नेभनेको शिलाङबाट आउने एउटामात्र बस हो । दाजु भएकोभए कोपिली साइटमा जाने कम्पनी कै गाडीमा पठाइदिनुहुन्थ्यो । काठकोइला बोकेका गाडीले लैजान्छन् । तिनै गाडीमा जानुस् । बेलुकी यहीँ फर्केर आउनुहोला नि फेरि । उतै नबस्नु होला ।” दिदीको व्यवहार, सद्भाव र दिलेरी मनले म बसिभूत भएको थिएँ । एकरातको पाहुनाप्रति यतिबिघ्न अपनत्व ! सो अपनत्व र सद्भावको वर्णाणित् शब्द मैले मेरो शब्दकोषमा पाउन सक्ने छैन । 
    बाबुहरूको स्कुलबस आइपुग्यो । उनीहरूले पढ्ने स्कुल १२ किलो मै रहेछ । मपनि बाबुहरू सँगसँगै पुन्टुरे झोला बोकेर निस्किएँ । उनीहरू स्कुलबस चढेर पढ्न गए । म हिजोँ उमराङ्सोबाट आएर जुनठाउँमा ट्रकबाट ओर्लिएको थिएँ, सोही ठाउँमा पुगेर काठकोइला बोकेका ट्रकहरूको प्रतिक्षा गर्न थालेँ । 
    २०८० भाद्र २९
    बुटवल । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology