Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शब्द विन्यासका प्रसव पीडाहरू

शब्द विन्यासका प्रसव पीडाहरू

  • 1.9K
    SHARES

  • शब्द विन्यासका प्रसव पीडाहरू

    -छविलाल विश्वकर्मा(दीपक)

    उमराङ्सो बजारसँगको मेरो पहिलो संगत बेमिसाल रह्यो । धर्म, जात, रीतिरिवाज, संस्कृतिको नाममा खडा गरिएको खाडलको अतिसयोक्तिपूर्ण अपमान ! बासको खोजीमा मध्यरातको कठ्याङ्ग्रिदो जाडोमा अनिश्चित सडकयात्रा ! दोस्रो अवतारी पुरुष मगरदाजुसँगको जम्काभेट ! उहाँले दिनुभएको खास पाहुनालाईभन्दा पनि बढीको ३ रात ३ दिनसम्मको आथित्यपूर्ण सत्कार । तिलकदाजुको दिलेरी माया, यी सबैकुराहरूलाई मनको एक कुनामा संगालेर म फेरि अर्को अनिश्चत यात्राको शुरुवातमा तम्सिएको थिएँ । तिलकदाजुसँग बिदावारी भएर १३ किलोको यात्रा तयगर्दा इलाका वन कार्यालयको अफिस पुग्नुभन्दापहिले टिप्किने उमराङ्सो प्रहरी कार्यालयको भूत मनमा नजागेको होइन । तर पुग्नैपर्ने थियो १३ किलो, जहाँबाट मलाई ३ किलो वेदुराम शर्मादाजुको क्वाटरसम्म पुग्न बस अथवा काठकोइला बोक्ने ट्रकलाई समाउनु थियो ।

    कामको मेसो मिलाउन सकियोभने यतैयतै बसिएला । तिलक तथा मगर दाजुहरूसँग पुनः उठ्बस् होला । यदि हातलाग्यो सून्य भयो र बहिरंग नङ्पो फर्किनु प¥योभने यसठाउँमा आउने मेसो कहिल्यै नजुर्ला, मनमा गहन अवसाद पैदाभएको थियो । १३ किलो पुग्दानपुग्दै एकपटक फर्केर उमराङ्सो बजारलाई हेरेर मन धमिलो बनाएको थिएँ र मगरदाजुले जगाइदिनुभएको पुलिसको निर्मम यातनाको डरैडरको भारी बोकेर आसाम पुलिसको उमराङ्सो थानाको आगनलाई पारगरेको थिएँ । दश बजेको आसपासको समय थियो त्यो । सरकारी अफिस खुल्ने समय भएकाले वन कार्यालयको चलहपहल पनि शुरु भइसकेको थियो ।

    मगरदाजुको क्वाटरको आसपासबाटै शुरुभएको गाडीको लामो लाइन वनको गेटसम्म्म लमतन्न परेको थियो । काठ बोकेका एकाध गाडी बाहेक कोइला बोकेका गाडीहरू नै बढी थिए । कोइला र काठ बोक्न भित्री आसामबाट आउने गाडीहरूलाई गेटमा नाम ठेगाना टिपाउनु पर्दो रहेनछ । अथवा उनीहरूलाई वनको गेटमा इन्ट्री हुनु नपर्दो रहेछ । उमराङ्सोको ५-६ दिनको बसाइमा आसामबारे सामान्य जानकारी भइसकेको थियो मलाई । काठकोइला बोकेका धेरैजसो गाडीहरू लंका भन्ने बजारमा जान्छन् भन्ने धेरैथोरै जानकारी १९ किलोमा बस्नुहुने चन्द्रबहादुर क्षेत्रीलाई भेट गर्नजाँदा नै भइसकेको थियो । केहीबेर बसेर १३ किलोको चहलपहल हेरेको थिएँ मैले ।

    गेटमा राखिएका खातापातामा गाडीको नामठेगाना लेख्ने कतिपय गेटपालेहरूको चेहरा नेपालीहरूसँग मिल्थ्यो । गेटको चलहपहलमा लठ्ठिएर नहुने मलाई, ३ किलोहुँदै मेघालय जाने ट्रकसँग अनुरोध गरेर गाढीको सिटमा उक्लिएको थिएँ र मगरदाजुको क्वाटरलाई बायाँपारेर अगाडि बढेको थिएँ । पहिलो दिन शिलाङहुँदै उमराङ्सो प्रवेश गर्दा लगभग रात परिसकेको थियो । दिनको समाप्तीको काणरलेमात्र थिएन, उमराङ्सोको पहिलोबास कसरी बित्लाभन्ने मानसिक उल्झनको कारणले पनि मेरो मन उद्दिग्न भएको थियो । सायद पहिलोपटक नयाँठाउँमा जाँदा सबैलाई त्यस्तै हुँदो हो । त्यसमा पनि म त एक मुसाफिर वा फकिरजस्तै थिएँ । हिन्दी मुहावरा अथवा उखानटुक्काको सहारा लिएर भन्ने होभने जोगीकोरुपमा भिक्षा खोज्दै हिँडेको एक “थकाहार किस्मतले मारा मनुवा ।” कामको मेसो मिलिसकेको थिएन, तर उमराङ्सो प्रवेशको पहिलो दिनकोजस्तो मनस्थिति पनि थिएन ३ किलो वेदुदाइको क्वाटरको बाटो लाग्दा ।

    मगरदाजुको गहिरो माया, तिलकदाजुको काम बन्ने भरोषायोग्य बचनको कारणले पनि हुनसक्छ मेरो सोंचविचारमा थुप्रै परिवर्तन आइसकेको थियो । दिनको उज्यालोमा १३ किलोदेखि ३ किलोसम्मको त्यो १० किलोमिटरको यात्रामा उमराङड्यामको सौन्दर्यतालाई खुब नियाल्न पाएको थिएँ मैले । खण्ड्याम नदीमा बाँधिएको बाँधको कारणले जम्माभएको पानी भूमिगत सुरुङहुँदै ५ किलो आइपुग्दो रहेछ । माथि डाँडाबाट ठाडै विशाल फलामे पाइपमार्फत पावरहाउसमा खसालिदो रहेछ सो पानीलाई ।

    त्यसप्रकारको विशाल पाइप पहिलोपटक देखेको हुनाले पनि मेरो मानसपटलमा कुनै भावनात्मक उच्छावास थिएन । विजुलीको उत्पादन पानीको फोर्सबाट हुन्छ भन्ने सामान्य जानकारी बाहेक अन्य कुनै बिद्युतीय उत्पादन प्रक्रियाबारे सुन्यप्रायः थिएँ म । उमराङ्सो क्षेत्रमा ठाउँको नाम किलो मिटरको नामले हुँदो रहेछ । १२ किलो, १३ किलो, ८ किलो र ५ किलोहुँदै ३ किलो पु¥याइदियो कोइला बोक्ने ट्रकले मलाई । ट्रकका ड्राइभरखलासीलाई उमराङ्सोमा म नयाँ मान्छे भएको र कुनै जानकारी नभएको भन्ने जनाउ दिइसकेको थिएँ । पक्का संझना छैन, तर ती ड्राइभरखलासीले मसँग दश किलोमिटरको त्यो यात्राको भाडा सायद लिएका थिएनन् ।

    ५ किलोबाट ३ किलो उक्लिन ठाडै उकालो चढ्नु पर्नेरहेछ । मैले सवार गरेको मालवाहक ट्रक स्थानको जनाउखातिर ३ किलो लेखिएको साइनबोर्ड टाँगिएको ठाउँमा गएर घचक्क रोकियो । अनिश्तताको समयमा गाडीको यात्रा पनि मनको सकुन हुँदोरहेछ । ट्रक रोकियो । बडो असमञ्जस्यपूर्ण भावले सिट छोडेर तल ओर्लिएको थिएँ म । ट्रकबाट ओर्लिएर भूइँमा मेरा खुट्टा के टेकिएका थिए, यात्राका सम्पूर्ण सकरात्मक भावहरूमात्र होइन रहलपहल सकुन पनि मनबाट गायब भएको थियो ।

    उमराङ्सोभन्दा केही सानो तर चहलपहलवाला बजार रहेछ ३ किलो । दोहोराएर भनु, गाडीको यात्रासम्म ठिकै थियो, तर भूइँमा उत्रिनासाथै मउपर अर्को अनिश्चित दायित्व सिर्जनाभएको थियो । दश बजेको आसपासमा तिलकदाजुसँगको बिदावारी, एकछिनको १३ किलोको रमझमको रमाइलो र १० किलोमिटरको ट्रकको यात्राले डेडदुई घण्टा खाइसकेको थियो । ट्रकबाट ओर्लिएर उभिएरै समय बिताउन नहुने, नजिकैको एउटा दोकानमा गएर सोधेको थिएँ— नेप्कोको कर्मचारी वेदुराम शर्माको क्वाटर कता होला ?

    वेदुदाइको थरठेगाना सोधिएका मानिस नेपाली थिए वा भारतीय त्यो संझना छैन । तर उनी मृदुभाषी रहेको संझना छ । उनले धेरै कुरो नसोधेर उकालो पार गरेर पुगिने क्वाटरहरूको लाइन देखाउँदै भनेका थिए—उकालोको बायाँतर्फ देखिने सबै घरहरू नेप्कोका क्वाटरहरू हुन् । सरकारी मान्छेलाई नामले चिन्नेकुरो भएन । उतै गएर सोध्ने हो भने तिम्रो मान्छेको क्वाटर थाहा लाग्ला । त्यतै जाऊ भाइ । ट्रकले पार गरेको ससानो ओरालो पुनः उक्लिँदै उमराङ्सोकै दिशातर्फ लागेँ म । उकालोको दायाँ तिर समथर भूमि रहेछ र आजपनि छ ।पिचबाटोभन्दा केही भित्र सोही समथरभूमिमा लहरै आसामटाइपका घरहरू देखिए । तिनै घरहरूमध्ये एउटा घरको आगनमा गएर आवाज दिएँको थिएँ मैलै— यता वेदुराम शर्माको क्वाटर कुन होला ? 

    मेरो अगाडि उभिएका मान्छे के थिए, आसामी, बंगाली वा बिहारी ? तर उनी उमेरले मभन्दा निकै पाका थिए । उनले केही परको क्वाटर देखाउँदै जवाफ दिएका थिए— “वेदु शर्माको क्वाटर ऊ त्यही हो । त्यतै जाऊ ।”म जहाँ खडा थिएँ र दाइको क्वाटरको बारेमा सोधिरहेको थिएँ, सो ठाउँबाट वेदुदाइको क्वाटरको दूरी मुस्किलले ५० मिटर जति टाढा थियो होला । ती सहृदयी मानिसलाई धन्यवाद दिनैपर्ने थियो र दिएको पनि थिएँ । उनीप्रति कृतज्ञता जाहेर गर्दै दाइको क्वाटर तिर लम्किएँ म ।

    ती मानिसले देखाएको घर मगरदाजुको क्वाटरभन्दा केही माथिल्लोस्तरको थियो । पश्चिम मोहडाको ढोका । जुत्ताचप्पल बाहिरै राख्न मिल्ले ससानो मझेरी । शिसाका खापा भएका लहरै झ्यालहरू । डाँडामा बनेको घर हुनाले गर्मिको समयमा पनि सितल अनुभव हुँदो हो । म सरासर घरको ढोकैमा पुँगे र आवाज दिएँ— भित्र को हुनुहुन्छ होला ? म शिलाङबाट वेदुदाइलाई भेट्न आएको हुम् । बास्तवमा म उमराङ्सोको लगभग हप्ता दिनको बासीमनुवा थिएँ । हप्तादिने बासी भएता पनि बोलिको मेसो जो मिलाउनु थियो मलाई, वेदुदाइको क्वाटरमा पुग्दा सो घरको लागि नयाँ नै हुनेभएँ ।

    त्यसैले पनि शिलाङबाट आएको कुरो गरेको थिएँ । मेरो आवाज सुनेर आमनेपालीहरूको चेहराभन्दा फरक देखिने महिला ढोका खोलेर बाहिर निस्कदै भन्नुभएको थियो “दाइ घरमा हुनुहुन्न । हिँजै अफिसको कामले शिलाङ जानुभएको छ । कहाँबाट के कामले भेट्न खोज्नु भएको हो कुन्नि दाइलाई ? आउनुस् भित्र ।”आसाम प्रवास लागेपछि नेवार प्रधानमा गनिन्छन् । ब्राह्मणहरू शर्मामा रुपान्तरित हुन्छन् । दमाई परियारको कुरो थाहा लागेन मलाई, तर कामी जति सुनार कहलिँदा रहेछन् । भारी बोक्ने सुनार, फलाम पिट्ने सुनार, झुलखानीमा कोइला खन्ने सुनार, आरा चलाउने सुनार, गाडी चलाउने सुनार हुँदाहुँदै सुनका गहना बनाउनेहरू पनि सुनार । जातथर पहिचानको यो विचित्र चलन शिलाङआसाम जहाँतहिँ फैलिएको रहेछ ।

    संभवतः विश्वकर्माकोरुपमा चिनिने म एकमात्र सुनार थिएँहुँला सारा आसाम र मेघालय राज्यमा । मेघालयको नङ्पोमा आधुनिक कृषि औजार कारखानाको उखर्माउलो बेला स्टेट बैंक अफ इण्डियामा आफ्नो नाममा खाता खोल्दा बाको थर पनि सुनार नै लेखाएको थिएँ । उता क्षेत्रीहरू जुनसुकै थरको भएपनि क्षेत्री र मगरहरू थापाको सरनामले परिचित हुँदारहेछन् । वेदु दाजु पनि शर्मा वा ब्राह्मण कुलकै हुनुहुन्थ्यो । तर मलाई ढोकामा उभिएर स्वागत गर्ने दिदी घरबेटीको हैसियतमै प्रस्तुत भएपनि चेहराको नापनक्सा, बोलीबचन, लवजको हिसाबले नेपाली ब्राह्मण महिलाको पहिचान खुल्थेन । तर पनि घरबेटी हुनुको हैकम भने उहाँमा देखिन्थ्यो । त्यसै हैकमको अन्दाजमा मैले अनुमान गरेको थिएँ—दाइले स्थानीय खासी अथवा यतैको रैथाने महिलासँग बिहे गर्नुभएको रहेछ ।

    घरबेटी दिदीको पछिलागेर म कोठामा पसेँ । सामान्य सजावटयुक्त बैठककोठामा लगेर सोफामा बसाउँदै दिदीले भन्नुभएको थियो—दुइभाइ छोराहरू स्कुल गएका छन् । सानो सानै छ । उनीहरू ३ बजेतिर आउँछन् । दाइ साहेवलाई लगेर शिलाङ जानुभएको छ । एकदुई दिन लाग्छ, आउन । उतै शिलाङतिर भेट गरेको भए त हुन्थ्यो नि । दुःख पाउनु भएछ । म सोफामा बसेँ । सोफामा बस्दाबस्दै साथमा बोकेको झोला सोफाको किनारमा थन्काएको थिएँ । तबसम्म दिदीले सिसाको गिलासमा पानी भराएर टक्र्याउनु भएको थियो । पानी मनतातो थियो । पानी पिएर गिलास अगाडिको टेवलमा थन्काउँदै जवाफ फर्काएको थिएँ मैले — दाइलाइ कहिल्यै भेटेको छैन दिदी मैले । मलाई यता उमराङ्सोमा नआइनहुने काम प¥यो । यो कुरो शिलाङका दाइहरूलाई सुनाएको थिएँ । उहाँहरूले नै दाइको नामठेगाना दिइपठाउनु भएको हो ।

    पाहुनालाई प्रथमतः पानीले स्वागत गर्नु आमप्रचलनको विषय हो । यसमा कुनै जातीय विशेषताको परिधि छैन । वेदु शर्मा दाजुलाई दाइ सम्बोधन गरेपछि उहाँलाई भाउजु मानार्थ नामले सम्बोधन गर्नुपर्ने हो, तर मलाई दिदीनै भन्न सजिलो लाग्यो र उहाँलाई आफ्नो बारेमा थप प्रष्ट पार्दै भनेको थिएँ— म यता आएको हप्ता दिनजति भयो दिदी । बा, श्रीमती नङ्पोमा बस्छन् । म कामको खोजीमा आएको हुँ उमराङ्सोमा । यहाँको बारेमा केही थाहा थिएन । शिलाङबसले सिधै उमराङ्सो बजारमा पु¥याइदियो । जसरीतसरी उतै बसेँ । तपाईहरूकै कम्पनीमा एकजना मगरदाइले काम गर्नुहुँदो रहेछ । उहाँले आफ्नो क्वाटरमा लगेर राख्नुभयो तीनचार रात । एरी फारममा काम गर्ने तिलक क्षेत्रीदाजुको क्वाटरमा बसे तीनदिन जति । घुमफिर गरेँ । उमराङ्सोको बारेमा बुझेँ । दाइलाई पनि भेटुम भनेर आज एता आएको हुम् दिदी ।

    वनको बाघले वास्ता नगर्दानगर्दै पनि मनको बाघले खाएको कहावतजस्तै धर्मशालाको दुःखान्तकथा सुनाइन दिदीलाई । कतै मेरो जातप्रति उहाँको मनमा पनि नकारात्मक भाव पैदा हुनेहोकि ? मेरो चोर मनमा भएको आक्रान्त तन्तु छट्पटाइरहेको थियो । श्रीमान खाँटी कम्युनिष्ट विचारधारले ओतप्रोत हुँदाहुँदै पनि जहान परिवारहरूले सुनपानी छर्केको भुक्तभोगी मनुवा थिएँ म । सोही कारणले पनि बाको नङ्पोको पेसालाई उहाँको अगाडि जाहेर नगरेरै आफ्नो बारेमा धेरै कुरा बताएको थिएँ मैले । १९ किलोसम्म पुगेर चन्द्रबहादुरलाई भेटेको कुरा पनि बताउँदै यसक्षेत्रमा चलेको लकडीको कामबारे जानेसुनेका कुराहरू सबै सुनाएको थिएँ ।

    घरबेटी दिदीसँग कुरोकानी चल्दै गयो । सकेसम्म कुराकानीको अन्य नहोस्, मेरो भित्री मनसाय थियो । तबसम्म दिदीले चिया पनि पकाइसक्नु भएको थियो । दिदीले चियाको कप मेरो अगाडि टक्र्याउँदै खानाखाए नखाएको सोधपुछ पनि गर्नुभएको थियो । वेद्ुदाजु घरमा हुनुहुन्थेन । तर मसँग दाजु घरमा नहुँदैमा उहाँहरूको बास छोडेर अन्यत्र जाने कुनै उपाय थिएन । कुरोलाई छिमल्नै पर्ने थियो । छिमल्दै भनेको थिएँ—म कामको खोजीमा आएको हुँ दिदी । १२ किलो बसेर धेरै कुरो जान्नेबुझ्ने मौका पाएँ उमराङ्सोको बोरमा । १९ किलोमा भेटभएका मान्छेले २९ किलो गएर एकजना मास्टरलाई भेटगर्न भन्नुभएको छ ।

    एउटो काठ कम्पनीमा हाइदर अली नामका मोहरी छन् रे । उनीसँग कुरो गरेर चन्द्रबहादुर क्षेत्रीले काम मिलाइदिन्छु भन्नुभएको छ । एकदुईदिन यतै बस्न आएको हुम् मत दिदी । अहो ! शब्दबिन्यास, बिन्यासित कतिपय शब्दको उच्चारणको अतिसय प्रशवपीडा ! त्यो पीडालाई बिर्सनु कसरी ? दिदीसँग एकदुईदिन बस्ने अनुमतिको याचना गर्दा पानीको रहमा डुबेर निस्सासिएको सिकारु पौडिवाजजस्तै हुन पुगेको थिएँ म । मेरो सो याचनालाई दिदीले भने सहजै स्वीकार गर्नुभएको थियो । भनिन्छ, मनको भाव चेहराले प्रष्ट्याउँछ । दिदीको चेहरा मेरो स्वागतमा जस्तो उज्यालो थियो, सोही उज्यालो मेरो याचनाको बेलामा पनि कायम रह्यो ।

    उहाँले कत्ति समय नलगाएर भन्नुभएको थियो— काम नबन्दासम्म बस्नुस् । काम बन्योभने यतैको हुनुहुनेछ । घरपरिवार रहेछन् । साथी बनम्ला । भएन र उतै फर्किनुभयो भने पनि देखभेट हुने नै छ । तपाईंले काम मिलाउँदासम्म शिलाङबाट दाजुपनि आइपुग्नु हुन्छ । दुइभाइको भेट पनि हुनेछ । जता गएपनि दाइलाई भेट गरेर जानुहोला ।

    सानो बाबु स्कुल जाने भएका थिएनन् । घरमै लडिबुडी गरिरहेका थिए । चिया पिएर कुराकानी गर्दागर्दै जेठामाइला छोराहरू स्कुलबाट आइपुगे । दिदी छोराहरूको स्याहारमा लाग्नुहुँदै मलाई पाहुनाकोठा देखाउँदै भन्नुभएको थियो— लौ यो कोठामा झोला राख्नुस् र आराम गर्नुस् । म यिनीहरूको स्याहारमा लाग्छु अब । 
    २०८० भाद्र २२
    बुटवल ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology