-दीपक विश्वकर्मा(छविलाल)
पुषमाघको महिनामा उमराङ्सोमा निकै जाडो हुने कुरो पाँचौरातको तिलकदाजुसँगैको सुताइले आभाष दिलाएको थियो मलाई । आसाम सरकार अन्तर्गतको एरी फार्मको अफिसको नीजि क्वाटर थिएन त्यो क्वाटर । कुनै व्यक्तिको बनिबनाउ छाप्रोलाई भाडामा लिनुभएको थियो तिलकदाजुले ।
होँचो जस्तापाताको छानो भएको कोठा भएकाले रातिको चिसो टाउकोसम्म आउँदो रहेछ । सिरक बाक्लो थियो । त्यसैले शरीरलाई जाडोको महशुस भएको थिएन । तर टाउकोलाई टोपी लगाएर वा गम्छाले बेरेर सुत्नुपर्ने अवस्थाभने आइपरेको थियो । मैले टोपी बोकेको थिइन । साथमा गम्छाभने बोकेको थिएँ । त्यसैले टाउको बेरेर जाडोबाट बच्ने उपाय रचेको थिएँ ।
म नङ्पोबाट कामको खोजीमा हिँडेको पनि हप्ता दिन पुग्न थालिसकेको थियो ।
उमराङ्सो पुगेकोरात लिली होटेलमा खानाखाँदा र १९ किलो चन्द्रबहादुर क्षेत्रीलाई भेटगर्न जाँदाआउँदा जो पैसा खर्च भएको थियो, त्यसउप्रान्त एक पैसा खर्च भएको थिएन । होटेलमा कोठा खाली नहुनु, कालीबाडी धर्मशालाले थरको कारणले रात कटाउने बास नदिनुजस्ता घटनाहरू मेरोलागि बरदान साबित भएका थिए । धर्मशालाबाट अपमानित भएर बाटोमा भौतारिँदै हिँडेको पहिलो रात, १९ किलो चन्द्रबहादुर क्षेत्रीलाई भेटीओरी फर्केर मगरदाजुकोमै पुगेको दोस्रो रात, तिलक दाजुको क्वाटर खोजेर मगरदाजुको मै फर्केको तेस्रो रात, मगरदाजुसँग बिदावारी भएर तिलक क्षेत्रीदाजुकोमा बासबस्न पुगेको चौथो र रात र माछाको परिकार खाएर आँत बलियो बनाएको पाँचौ रात ।
यसरी मेरा दिनरातहरू पार हुँदै थिए । म उमराङ्सोको रनवनमा स्वैरकल्पनै कल्पनामा विचरण गरिरहेको थिएँ । पाँचौ रात चौथो दिनको सम्मको उमराङ्सो बसाइमा एकछाक खानाको खर्चबाहेक थप एकपैसा खर्च गर्न नपर्नु मेरोलागि सुखद संयोग थियो । श्यामश्वेत चित्रले आकार ग्रहण गरिरहेको भएता पनि त्यस चित्रमा रंगलेपनको प्रस्थानबिन्दु फेला परिरहेको थिएन । तिलकदाजुको पछिल्लो आश्वासन, तमाम नेपाली दाजुभाइहरूले रोगगारी पाएको प्रसंगले म औधि पुलकित भएको थिएँ । पुलकित हुनुको अर्को खासकारण के के थियोभने शिलाङका साथीहरूले सुझाउनु भएअनुसार उमराङ्सोमा प्रत्यक्ष भेट भइसक्नु भएका तिलकदाजु, अवतार बनेर आफै प्रकट हुनभएका मगरदाजु र अझै भेटगर्न बाँकी रहनुभएका दुईजना दाजुहरू जसकोमा म कामको मेसो नमिल्दासम्म बस्नखान सक्थे र त्यसको बदलामा मलाई एकपैसा खर्च गर्नु पर्थेन ।
कुनै सपाट सपनाको पटाक्षेप बिहानको निद्रा खुल्यो मेरो । उमराङ्सोको मुलबाटोसँग जोडिएको क्वाटर थियो तिलकदाजुको । बिहानमा सँगसँगै नीद खुलेको थियो दाजु र मेरो । एकछिन उठेर म बिस्तरामै बसेको संझना छ । दाजु घरबेटी नै हुनुभयो, उठेर सरनतरन उहाँलाई नै गर्नुपर्ने हुने नै भयो, बाल्टी उठाएर कुवातिर जाँदै भन्नुभएको थियो—म हल्काहुन जान्छुभाइ । उतैबाट कुवा जान्छु र पानी पनि बोकेर आउँछु । भाइलाई अफिसको पाइखानाको बारेमा थाहा भइसक्यो केरे । सरसफाइको पानी पानील्याउने भाइले भराइसके होलान् । उठेर तपाईं पाइखानातिर जानुस् । नुहाउन मन छ भने नुहाउनु होला । बाहिर चिसो भएपनि कुवाँबाट ल्याएको पानीले मज्जाले नुहाउन सकिन्छ ।
दिन बित्न बेरै लाग्दो रहनेछ । आरनमा बसेर बासँग फलाम पिट्दैगर्दा दाउ अर्जाप्न आएका अन्जान लामाबाको सल्लाहलाई शिरोपरगरि उमराङ्सो आएर बरालिएको पनि थुप्रै दिन भइसकेको थियो । मनमा कतिपय अनौठा सोँचहरूपनि आउँथे, हैन म यतै बिलुप हुने त होइन ? जुन कामको लागि म त्यतिटाढा पुगेको थिएँ, कतै काम बनेन भने नङ्पोमा रहेका बा, जहानलाई के मुख देखाउन जाउँदा ? खालीहात नङ्पो फर्केर गएँभने अर्कोदिनबाट के काम गरुला ? जुनसुकै हालतमा पनि घनमार्तोल समाएर फलाम पिट्न मलाई पटक्कै मन थिएन । मनमा जतिसुनै तानाबाना भएता पनि तिलकदाजुको बिस्तरामा बसेर तपस्या गरेर हुन्थेन मलाई । आङ तन्काउँदै उठेँ र दाँत माझ्ने ब्रस र गम्छा बोकेर तिलकदाजुको क्वाटरसँगै भित्तोजोडिएको एरी फर्मको अफिसको बाथरुममा छिरे ।
म सौचादीबाट निवृत्त भएर फर्केर आउँदा दाजु क्वाटरमा आइसक्नु भएको थियो । मैले ननुहाएको यो हप्तादिनको सेरोफेरो थियो । उमराङ्सोमा खानेपानीको सप्लाइ नभैसकेकाले खानेपानीको जोहो ठेलावालाबाट गराउनु पर्ने वा आफैले बोक्नु पर्ने रहेछ । टिनमा भराएर बोकाएको पानीले नुहाउनुपनि नसुहाउँदै नै हुन्थ्यो । उता तिलकखाजु एक्लैलाई खानेपानी कति पो चाहिन्थ्यो र ? दुई ग्यालेन भए पुग्ने । त्यसको जोहो उहाँ आफैले गर्नुहुँदो रहेछ । म क्वाटरमा पुग्दा दाजुले रहलपहल सरसफाइ गर्दै हुनुहुन्थ्यो । सबै कुरो आफैले गर्नु पर्ने भएकाले उहाँका हात यन्त्रजस्तै चल्दा रहेछन् । खाना खाइवोरी १० बजे अफिस जानैपर्ने भएकोले पनि हुनसक्छ, ९ बजेसम्म खाना पनि बनेर तैयार गर्नुहुँदो रहेछ । म भित्र पस्दा सिल्टीको डेक्चीमा चामल धोइपखाली गरेर लालचा पकाउँदै हुनुहुन्थ्यो । “बस्नुस् भाइ । बाहिर जाडो छ । दुईतीन महिना खुब जाडो हुन्छ यसठाममा । अरु मैनाभने पङ्खा नै चाहिन्छ । बस्नुस् चा उम्लिसको । तात्तातै खाम ।” दाजुले गिलासमा चिया खन्याउँदै भन्नुभएको थियो ।
म खाटमा पलेटी कसेर बसेँ । दाजुले गिलासमा राखेर चिया टक्र्याउँदै भन्नुभएको थियो— रातिको माछा छँदैछ भाइ । तरकारी बनाउन पर्दैन । खाना खाइवोरी म अफिस लाग्छु । तपाईं एकपटक ३ किलो गएर वेदुदाइलाई भेट्नुस् । उहाँले के भन्नुहुन्छ ? त्यसैअनुसार अगाडि बढ्नुस् । यति टाढा आउनुभएको छ । धेरै चिन्ता नगर्नुस् । चिन्ता गरेर फाइदा छैन ।
उमेरले दुईढाइवर्ष बढी भएता पनि तिलकदाजु व्यवहारमा निकै परिपक्क लागेको थियो मलाई ।
उमेरमै सरकारी जागीर खानु, उहाँकै कमाइबाट घरमा बाआमाको खर्च चल्नु आदि कारणले हुनसक्छ, उहाँमा त्यो किसिमको परिपक्कता आएको । आसामको बारेमा मलाई त्यति जानकारी नभएको कारणले पनि हुनसक्छ, उहाँले आफ्नो मूलघरको बारेमा बताएको भएता पनि संझन सकिने कुरो रहेन । नेपालको बारेमा भने उहाँलाई कुनै जानकारी थिएन । मलाई आसाम बारे थाहा नहुनु । तिलकदाजुलाई नेपालबारे थाहा नहुनु, संयोग मात्र थिएन, बास्तविकता थियो । भन्नुभएको थियो— हाम्रा बाआमा पनि यतै जन्मनुभएको हो । नेपाल जाने मेसो मिलेको छैन भाइ । एकपटक जसरी पनि जाने हो हेर्नलाई भएपनि ।
जे भयो भयो, सोको चिन्ता नगर्ने भन्ने दाजुको सल्लाहलाई ग्रहण गर्दै मैले भनेको थिएँ— हो दाजु जे भयो, भैगयो । अब चिन्ता गरेर के फाइदा । म ३ किलो जान्छु । एकपटक वेदुदाजुसँग सरसल्लाह गरेर कसरी अगाडि बढ्ने हो भन्ने बारेमा कुरो गछू । आइपर्दा हजुरसित पनि सल्लाह गरौला । काम खोजुल्जेल खानबस्न समस्या नहुनेभयो दाजु अब मलाई । हराइएला, बितरा परिएला भन्ने चिन्ता पनि हरायो । सबैभन्दा ठूलो कुरो खाने, बासबस्ने भन्ने नै हो । त्यसको चिन्ता गर्नु नपर्ने भएपछि मनमा आनन्द हुँदोरहेछ । मनमा यसठाउँमा पनि मेरा आफ्ना छन्, आइपर्दा काँध थाप्छन्जस्तो mाग्ने ।
लाल चिया पिएर सकियो । दाजुले चियाको साथमा बिस्कुट निकाल्नुभएको थियो, तर खोलिएन । गर्नुपर्ने कामधन्दा केही थिएन । सुत्यो, उठ्यो बसिबसि खायो । दिनचर्याको त्यो परिवेशमा भोक लागोस् पनि कसरी ? फेरि ९ बजे त खाना खाएर तैयार हुनुपर्ने थियो दाजुलाई । त्यसैले पनि बिस्कुटलाई खोल्ने जाँगर गरिएको थिइएन ।
चिया पिएर सक्दानसक्दै भातले छट्केमार्न शुरु गरिसकेको थियो । भात पाकेर रातिको माछा तताउँदासम्म दाजुले उमराङ्सोको बारेमा धेरै कुरो बताउनु भएको थियो मलाई । ३ किलोबाट भित्र जहाँ अहिले खण्ड्याम ड्याम बनेर पानीले छोपिएको छ, सो ठाउँमा गरमपानी भन्ने निकै पुरानो नेपाली बस्ती थियो । नेपालीहरू अधिकांशले खेतिपाती र गाईपालन गर्थे । ३ किलो बजारमा दुधघ्यु सप्लाई हुन्थ्यो । शिलाङका महाजनहरूको गाईगाठ थिए । पछि सो ठाउँमा बिजुली निकाल्नको लागि बाँध बन्यो र सरकारले नै नेपालीहरूलाई २९ किलोभन्ने ठाउँमा जग्गा दिएर बस्ती बसायो । २९ किलोमा स्थान्तरण भएका सबै मानिसहरू नेपाली हुन् । गरमपानी बस्तीमा खसिया, बंगाली, बिहारीहरू पनि थिए । तर उनीहरू नेपालीको साथ लागेर २९ किलोमा गएनन् । धेरै खसीयाहरू मेघालय तिर लागे भने कतिपय ३ किलो र उमराङ्सोमा बसोबास गरे । बिहारीहरूले उमराङ्सो र ३ किलोमा ब्यापार गरेर बसे । गरमपानी उमराङ नदीको मुहान हो । जसले आसाम र मेघालयलाई छुट्याउँछ । सो ठाउँको नाम गरमपानी रहनुको अर्थचाहिँ जमीन मुनिबाट तातोपानी निस्कनु नै हो ।
आफु रहनबस्न तम्सिएर गएको ठाउँको बारेमा जानकारी हुनु अत्यन्तै जरुरी हुन्छ । कामकै खोजीमा उमराङ्सो पुगेको हुनाले त्यस क्षेत्रको भौगोलिक जानकारी हुनु मेरा लागि अत्यन्त फाइदाजनक थियो । चन्द्रबहादुर क्षेत्रीले सुझाउनुभएको २९ किलोवाला सजातीय मास्टरसँग भेटगर्ने कुरालाई दाजुको गरमपानीको कथाले झन् स्पष्ट पा¥यो । त्यसमा पनि २९ किलोमा गरमपानीबाट बसाइ सरेर आएको सम्पूर्ण जनसंख्या नेपालीहरूको हो भन्ने सुनेपछि त झन् मेरो मन त्यसैत्यसै पुलकित भएको थियो ।
२ रात बिताएको थिएँ मैले तिलक दाजुको क्वाटरमा । मगरदाजुसँग बिदाबारी भएर आएको पहिलो रात, त्यसपछिको माछामासु खुवाउने निहुमा दाजुले नै करगरेर राख्नु भएको पछिल्लोरात ।
ती दुई रात दुई दिनले मलाई उमराङ्सो, गरमपानी र २९ किलोको बारेमा सिंगो जानकारी प्रदान गरे । कतै जाँदा पनि उप्रान्त हराउँदिन भन्ने मनमा विश्वास जागेको थियो ममा । १३ किलो गएपछि १९ किलोहुँदै २९ किलो पुग्न सकिने र शिलाङरोड समाउने हो भने ३ किलो वेदुदाइको क्वाटरमा पुग्न सकिने ज्ञान हाँसिल भएको थियो मलाई । अझै २९ किलोमा स्थापित बस्ती नेपालीहरूको मात्रै होभन्ने जानकारी पाउँदा म आफुलाई उतैको संझना थालेको थिएँ । बस्तुस्थितिको जानकारीलेपनि मानिसको मन बलियो हँदोरहेछ । र मलाई त्यस्तै भएको थियो । भात पाक्यो । पाकेको भात स्टोभबाट ओरालियो र स्टोभमा राति नतुरिएको माछा बसाइयो । माछा र माछाको झोल उम्लेपछि कराइ पनि भूइँमा ओरालियो । पकाउने काम फत्तेभएपछि स्टोभको पीन ढिला गर्नुभयो दाजुले । ढिलाभएको पीनबाट छुसछुस गर्दै हावा बाहिर आयो र कोठा एकहिसाबले चकमन्न हुनपुग्यो ।
माछाको झोल, रहलपहल टुक्राटाक्रीसँगै तात्तातो भात खायौं दुइभाइले ।
बासी माछाको स्वाद झन् बेजोडको लागेको थियो मलाई । खाना खाँदाखाँदै पनि योजनाहरू बनेका थिए हाम्रा । यत्ति हो, उहाँ सरकारी कर्मचारी र भिन्दै डिपार्टमेण्टको मान्छेभएको कारणले काठका ठेकेदारहरूसँग उठबस रहेनरहेछ । तर कामको खोजीमा जतिदिन उमराङ्सो बस्नुपरेपनि उहाँको कोठामा बस्न सकिने जो आश्वासन दिनुभएको थियो, त्यो आश्वासन नै मेरोलागि अर्को अलौकिक बचन थियो । खाना खाएर सकियो । उता समयले पनि नेटो काटिरहेको थियो । “हिड्नै पर्नेभएपछि सामान झोलामा राख्नुस्” आफुपनि अफिसजान तैयार हुँदै दाजुले भन्नुभएको थियो । खै किन होला कुन्नि, निकै भारी मनले मैले झोलामा गम्छा, दाँतमाझ्ने ब्रस थन्क्याएको थिए । यसैपनि धेरै सामान थिएनन् मसँग । एकएकजोर गंजी र भित्रीबस्त्र थिए नुहाएर फेर्ने । त्यतिका दिनसम्म पनि नुहाउने जाँगर नै पलाएन । त्यसैले ती कपडाले भिज्ने मौका नै पाएका थिएनन् ।
दश बजेको आसपास हुँदो हो । दाजु अफिस जान तैयार हुनुभयो । दाजुले दिनमा क्वाटरमै बसेर वा उमराङ्सो घुमेर समय विताउने सल्ला दिनु भएको थियो । तर कति घुम्नु उमराङ्सो ? वेदुदाजुकोमा पुग्न सकियोभने नयाँ केही कुरो हुनसक्छ भन्ने हेतुले मैले नै दाजुको सल्लाहलाई मानेको थिइन । उहाँ अफिसको लागि तैयार हुँदा मपनि ३ किलो जान तैयार भएँ । दुबै सँगसँगै क्वाटरबाट निस्कियौं । बिदाइको समयमा दुईभाइले दह्रोसँग हात मिलाएका थियौं । छुट्टिने बेलामा दाजुले भन्नुभएको थियो—म जतिबेला पनि यहिँ हुन्छु । रातविरात जहिल्यै आएपनि हुन्छ भाइ । तपाईंको लागि हमेशा ढोका खुल्ला रहने छ ।
क्वाटरको ढोका बन्द गरेर तिलकदाजु भित्तो जोडिएको आफ्नो एरी फार्मको अफिस तिर लाग्नु भयो । म झोला काँधमा भिरेर १३ किलोतिर उक्लिएँ । जहाँबाट गाडी समाएर मलाई ३ किलो पुग्नु थियो । हिन्दी उर्दु लवजमा एउटा प्रचलित शब्द छ मुसाफिर । शब्दसंयोजनको अंकगणित बुझ्दिन म । तर सो शब्दको अर्थ घुमक्कड होला । सो समय म मुसाफि अथवा घुमक्कडमा रुपान्तरण भएको थिएँ ।
२०८० भाद्र १३, बुटवल
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)