Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जुरेका अनमोल संगतहरू 

जुरेका अनमोल संगतहरू 

  • 2.0K
    SHARES

  • जुरेका अनमोल संगतहरू 

    दीपक विश्वकर्मा(छविलाल)

    “काँ काँ घुम्नुभओ भाइ आज ? रमाइलोसित बितो होला दिन ।” तिलकदाजुको क्वाटरको टिनको ढोका खुलै थियो । म सरासर भित्र पसेर खाटमा ज्यानलाई बिसाउँदै उहाँका प्रश्नहरूको उत्तर दिन थालेँ । “बिनाकामले दिनकाट्न गाह्रो हुँदो रैच दाजु । काँ काँ घुम्नु र ? हिँजोजस्तै आज नि लिली होटेल पारगरेर बसस्टपसम्म पुगेँ ।” यो दुईतीन दिनमा म लिली होटेल र कालीबाडी नेपाली धर्मशालाबारे हाजिरजवाफ भइसकेको थिएँ ।

    घुमफिरको वृतान्तलाई जोड्दै गएँ— “फर्केर कालीबाडी मन्दिरको उकालो माथिसम्म गएँ । तर मना जगजगी लाग्नी के दाजु । नयाँ मान्छे परियो । कतै झ्याम्म पुलिसको आँखाँ परिने होकि भन्नि चिन्ता लाग्दो रच । घुम्न त सबैतिर घुमे आज । उमराङ्सोआँ हराउन्न अब म । रातविराताँ आए नि यसपाली बाटाँ झौतारिएजस्तो भौतारिन पर्दैन अब । बास खोज्न सकिने आइडिया भओ मलाई ।”

    “जसरीतसरी काम खोज्नुस् । लामा बाले भेट गर्न भनेया मान्छेला फेरि भेट अर्नुस् । यतातिरका मान्छेरू सहयोगी हुन्चन् । आइपर्दा एक नेपालीले अर्को नेपालीलाई काँध थाप्छन् । मेरो अर्कै पेसो भओ भाइ, काठका मान्छेरूला चिन्दिन । १९ किलोका क्षेत्रीले काम मिलाउँचु भनेया रैचन् । उनले भनेसी जसरी नि मिलाउँचन् । सप्पै नेपालाँ दुख्ख पार कामको खोजियाँ यता आका हुन् । बचनका पक्का हुन्चन् । त्यै हो दुईचार दिन पर्खिनु पर्ला । काम होइजान्च ।” आसाम मेघालयतिर बसोबास गर्ने नेपालीहरूको नेपाली भाषाको उच्चारण भिन्दै किसिमको हुन्छ । लेखनीय जस्तो हुन्छ, भन्छ, गर्छजस्ता शब्दमा छ उच्चारण हुँदेन । पछिल्लो छको ठाउँमा च समावेश गरेर हुन्च, गर्च, भन्च यस्तैयस्तै शब्दहरूको प्रयोगले भारतीय भूमिमा बास गर्ने नेपालीहरूले बोलीबचनलाई मिठासपूर्ण बनाएका छन् ।

    नेपाली समाज विशमतायुक्त समाज हो । सामाजिकरूपमा यस समाजमा अनेकौ खाडलहरू छन् । हिन्दुत्वको गहिरो जराले जेलिएको यो समाजको स्वरूप कठोरभन्दा कठोर परिबन्धहरूको साङ्लोले जेलिएको छ । विसम विभाजनबीचमापनि कुनै न कुनैरूपले एकशुत्रमा बाँधिएका बासिन्दा हौ हामी ।

    यहाँ जात छ, भात छ र उचनीचको अथाह विभेद पनि छ । यद्यपि यो अथाह विभेदभित्र पनि नजानिदो बन्धुत्व छ । सद्भाव छ र परिआउँदा एकले अर्कोलाई काँध थाप्ने सदियौँ पुरानो परम्परा समेत छ । कहालीलाग्दो पुषमाघको जाडोमा मैले कालीबाडीमा बास पाइन । त्यो जीवनको एक मनबाट कहिल्यै नहट्ने पीडायुक्त सम्झनाको पाटो रहेता पनि त्यही अध्यारो पाटोभित्र अर्को उज्यालो पाटोपनि जोडिएर सँगसँगै आउने गर्दछ । त्यो पाटो हो मेरो उमराङ्सोसम्मको यात्राको रूपरेखा कोर्ने सहृदयी मित्रबन्धुहरूको जमात । जो मेरा सजातीय थिएनन् । थिए त ब्रह्माण क्षेत्रीकुलका नयाँ जीवनदर्शनले ओतप्रोत भएका नौला मान्छेहरू । जसले माक्र्सवादी दर्शनलाई जीवनदर्शनको रुपमा ग्रहण गरेका थिए ।

    दाइसँगको सम्बादको अन्तिम बाक्य “काम होइजान्च”बाट म यति पुलकित भएको थिएँ कि त्यसको व्याख्या नै गर्न सकिदैन । “मैले उमराङ्सोमा काम पाउने छु । परिवारलाई यतै लिएर आउने छु । बाले फलाम पिट्ने छन् । मैले काठ कम्पनीमा काम गर्नेछु । मिल्योभने भाइलाई पनि नोकरी लगाउने छु र कथम् भाइले काम पाएन भने उसले बासँगै आरनको काम गर्ने छ । बाउछोरा मिलेर काम गरियोभने नेपाल फर्किने बन्दोवस्त जुर्ला । म पुनः राजनीतिमा लाग्न सकुला ।” यिनै त थिए मेरा मनका तन्तुहरू । तर पोखराबाट मेघालयको लागि साइत जुराउँदा मनको कुनामा पोकोपारेर हिँडिएको ब्याकपकेटमा नोटबुक घुसारेर कलेज जाने र डिग्री हाँसिल गर्ने सपनाको तन्तुभने मनको कुनाबाट विस्तारै विस्तारै बिलाएर जाँदै थियो ।

    तिलकदाजु र मबीचमा कुराकानी चल्दैपनि थियो र दाइको हात चियानास्ता बनाउनमा पनि ब्यस्त थियो । बिहान दाइसँगै खाएर बजार चहारेको मैले कहिँकतै पानीसम्म पनि पिएको थिइन । जाडो मौसम थियो । त्यसउसले पनि पानीप्यास नलाग्दो रहेछ । दिनमा भोक नलागेको भने होइन तरपनि होटेलमा पसेर नास्ता खान हिम्मत जुरेको थिएन । बजार घुम्दा चियानास्ताका होटेल देखेको पनि थिएँ । तर मसँग खर्चको सिमितता थियो । उमराङ्सोमा कतिदिन बस्नुपर्ने हो ठेगान थिएन । त्यसैले पनि तिलकदाजुसँगैको बिहानको भान्साको आडमा सारा दिन गुजारेको थिएँ ।

    लालचा बनाउनु भएको थियो तिलकदाजुले । दुई भाइलाई दुईटा गिलासमा खन्याएर ¥याकबाट बिस्कुट निकाल्दै भन्नुभएकामे थियो—लु चा खाम भाइ । खाएर पछाडि पट्टी जाम । माछामासुको बजार लागिसकेओ च । कुखुरा खाने कि माछा खाने लौ भन्नुस् । आज तपैँला जे मन पर्च त्यै किन्ने । चिया बिस्कुटको रापले ज्यानमा तरंग पैदा भयो । जाडोको बेलामा तातोपानीको स्वाद पनि बेग्लै स्वादकोे हुँदोरहेछ । लालचामा बिस्कुट चोबेर खानुको पनि आफ्नै स्वाद हुँदोरहेछ । दिउरीमा पकाउनु भएको थियो चिया दाजुले । रहलपहल दुबैले बाँडेर खायौँ । चिया खाइसकेपछि दाइको इसाराअनुरूप ढोका तानेर एरी फार्मको अफिसलाई बगलमा पारेर क्वाटर पछाडि गइयो । जहाँ टिनको लामो टहरोमा माछाको व्यापार चलिरहेको थियो । टहरोको पल्लो छेउँमा थुुन्सेका थुन्से लोकल कुखुराको बजार पनि चालु थियो ।

    अघिल्लो रात मगरदाजुले कुखुराको मासु खुवाउनु भएको कारणले पनि तिलकदाजुले माछाको स्वाद चखाए हुन्थ्यो भन्ने मेरो भित्री अभिलाषा थियो । यद्यपि त्यो अभिलाषा प्रकट गर्न मेरो मनले मानिरहेको थिएन ।  तर दाइले मलाई रोज्न भन्नुभएको हुनाले “आज माछै खाम भो दाजु । मासु त अस्ति मगरदाजुको मै खाएको हुम् ।” मेरो इच्छाको जाहेरीपश्चात दाजुपनि माछाको बजार तिर लम्किनु भयो । म पनि उहाँको पछिपछि लागेको थिएँ ।

    माछाका अनेकौ प्रकार थिए सो बजारमा । त्यतिधेरै माछाको प्रकारसँग साक्षातकार भएको त्यो पहिलोपाली थियो मेरो । तिलकदाजुसँग सबै माछा तथा कुखुरा व्यापारीहरूसँग बेस्सरी हेलमेल रहेछ । जसले पनि दाजुको साइनो लगाउँदै मेरोमा आउनुस् चन्दै तानातान गरिरहेका थिए । तर उहाँले सबै दोकान चहारेर झोल मिठो हुने प्रकारको माछा किन्नुभएको थियो । माछा दोकानमा चाहिनेजति र आफुलाई मनपर्ने साइजमा माछा किन्न पाइँदो रहेछ । माछाको बारेमा म अनभिज्ञ थिएँ । त्यसैले खरिदमा मेरो कुनै भूमिका रहेको थिएन । माछाको खरिद काटकुट र पोको पारेर हामी जताबाट आएका थियौं त्यहीबाटो फर्कियौं । त्यतिबेलासम्म घाम पनि अस्ताइसकेको थियो ।

    सो रात माछाको तरकारी बन्यो तिलक दाजुको भान्सामा । उहाँलाई माछाको परिकार बनाउँन खुब आउँदोरहेछ । म माछाको परिकार मात्र होइन, त्यसको भिन्नस्वादको बारेमा समेत अनभिज्ञ थिएँ । माछा नखाएको भने होइन त्योभन्दा पहिले । तर माछा तेलमा फ्राइगरेर बनाउने तरिका तिलकदाजुको भान्सामा पहिलोपटक देखेको थिएँ । भाँडगाउँमा माछा हुन्थेन । स्कुलको होस्टेलको खानामा कहिल्यै माछाको परिकार खाएको सम्झना छैन । शिलाङ आइजाइ गर्दा धेरैजसो तील कार्की दाजुकोमा बसोवास हुन्थ्यो । त्यहाँ धेरैजसो खसीकै मासु पाक्थ्यो । त्यो रात ती सबै सम्झनाबिर्सनाहरूलाई एकैठाउँ जम्मा गरेर तिलकदाजुले माछाको झोलमा डुबाइदिनु भएको थियो ।

    आइजङ चामलको खिरिलो भात माछाको झोलसँग खुब जँचेको थियो त्यो रात । खाउँखाउँ लाउँलाउँ उमेर थियो मेरो । गधापच्चीसे काटेको पनि थिइन वा त्यही सवारीमा सवार हुँदोहुँ सायद । खाना खौधी रुच्ने बेला हो त्यो । आफ्नै ससाना गल्तीको कारणले त्यो हण्डर खान पुगेर मात्र हो, नत्र भने टेलुवमा परिकार सजाएर खानसक्ने औकातको सिर्जना गर्नसक्ने हुर्मत जुरेकै थियो । “भोलि ब्यानला भनेरा अलि बढी किन्यो हुम् के भाइ । भोलि बेन दालभात पकाउनी । माछा तताउनी । यति माछा भएसि तरकारी चाहिन्न । फेरि भोलि तपैं जाँ जाने भा नि खाना खार जाने हो है । होटेलाँ खाँदा बढी खर्चहुन्च । खर्चपानी के कति बोकेरा आउनु भाच कुन्नि । प्रदेशको ठाम । सोँचेर बुझेर चल्नुपर्च । उमराङ्सोमा  हामी छँदाछँदै खानबस्न चिन्ता गर्न पर्दैन” बचेको माछालाई चोखो भाँडोमा खन्याउँदै दाजुले मेरो असान्त मनउपर अमृतजल छर्किनु भएको थियो ।

    अर्को दिन बिहान मलाई जता गएपनि उमराङ्सोबाट हिड्नु थियो । जानेबाटा दुईटा थिए, एउटा १९ किलोहुँदै २९ किलो र अर्को फर्केर ३ किलो जहाँ दाजु वेदुराम शर्मा बस्नुहुन्थ्यो । वेदुराम शर्मा अर्थात वेदु शर्मादाजु तत्कालीन नेकपा(माले)को सम्पर्कको व्यक्ति हुनुहुन्थ्यो, तिलक र प्रेम लामादाजु जस्तै । प्रेम लामा दाजुलाई भेटगर्न जान मेरो मनले खोजिरहेको थिएन । किनकि बास बस्नको लागिमात्र उहाँकोमा जानु समय खेर फाल्नु बाहेक केही हुन्थेन । त्यसरी म समयलाई खेर फाल्न चाँहदैन थिएँ । तिलक दाजुसँगको छलफलमै वेदुदाइ धेरै हिँडडुल गर्ने मान्छे भएकोले उहाँसँगबाट कामको मेसो मिल्ने सम्भावना देखेको थिएँ मैले । सोहि कारणले पनि अर्कोदिन मैले २९ किलो सजातीय मास्टरलाई भेटगर्न नगएर ३ किलो नै जाने निधो गरेको थिएँ । सोहि निधो गरेको कुरो तिलकदाजुलाई सुनाउँदै भनेको थिएँ— भोलि ३ किलोतिर जान्छु दाजु । साथीहरूको सल्लाहपनि पहिले वेदुदाइलाई नै भेट गर्नेभन्ने थियो । उहाँलाई थाहा हुनसक्छ काठको काम बारे । चन्द्रबाहुरले पनि मिलाउँछु त भन्नु भएकै छ । तर पनि वेदुदाइले पनि कतै भनसुन गर्दिनुभो भने काम अलि छिट्टै बन्ने थ्यो ।

    “हो भाइ हो । वेदुदाइलाई धेरैकुरो थाहा छ । उहाँ गाडी चलाएर जहाँतहिँ जानुनुन्च । धेरै मान्छेलाई चिन्नुन्च । दाइका क्वाटराँ नि मेराँजस्तो बस्नखान तपैँला कुनै समस्या हुन्न । तर बसेर मात्र भएन । काम खोज्न आको मान्छेले काम खोज्नपट्टि लाग्न परो । भोलि खाना खाइओरी ३ किलो लाग्नुस् । दाइको सरकारी क्वाटर हो । बस्न सुत्न कुनै समस्या छैन ।” बस्नखान समस्या नहुने कुरो दाजुले दोहो¥याएर भन्नुभएको थियो । मैले नाइनास्ति गर्दागर्दै पनि दाजुले माछा र भात थपेरै खुवाउनु भएको थियो । खाना खाइओरी मैले मेरो थालबटुको आफै माझेँ । मुटु कमाउने जाडो थियो उमराङ्सोमा ।

    बचेको खाना अर्कोदिनसम्मको लागि बिग्रिनेभन्ने कुरो हुन्थेन । दुई भाइको भान्सा उत्रियो । खानाकै दौरानमा हाम्रो सम्बाद पनि चालु रहेर एउटा टुंगोमा पुगेको थियो । बातचित गर्दागर्दै सुत्नेबेला भएको थियो । ओछ्यान मिलाएर अघिल्लोरात जस्तै एउटै खाटमा लम्पसार प¥यौ हामी दुई भाइ । सिरक आआफ्ना भएकाले मनमा कुनै खसखस हुनेकुरो थिएन । गन्थनमन्थन गर्दागर्दै राति १० को आसपास दाइले बिस्तरामा सुतिसुति टाउको माथि झुण्डिएको बत्तीको स्वीच अफगर्दै भन्नुभएको थियो—उपाय लाग्च भाइ । यति धेरै नेपालीले काम पाका छन् यस ठाममा । जताततै नेपालीरूको ठेलमठेल देखिहाल्नु भओ ।

    अझै बजारलाग्ने दिनमा देख्न पाइन्च नेपालीरूको भीड । आरावाला नेपाली, बाटोखन्ने नेपाली, सर्दार नेपाली, डाइभरखलासी नेपाली, साइट ठेकेदार नेपाली । नेपाली नभै काठकोइलाको काम चल्दैचल्दैन । यत्रा साराले काम पाचन भने तपैँ एउटाले नपाउने भन्ने हुन्न । मनाँ धेरै कुरो नखेलार मस्तसित निदाउनुस् । त्यो रातको सपनाको कुनै संझना छैन । सुदूर अतितका ती हिमश्रृङ्खलाहरू यति दुरूह थिएकि कसैको न कसैको सहाराबीना आरोहणको प्रयास अधुरो हुनजान्थ्यो । देवदूतीय अवतार लामा बा त निमित्तमात्र थिए, अगाडिको यात्रा त मआफैले फतेह गर्नुपथ्र्यो ।

    सो यात्रामा अदम्य साहस जुटाइदिनुभएको थियो, ३ किलोका वेदुराम शर्मा । १२ बिलोका तिलक क्षेत्री । १२ किलोकै प्रेम लामा र मध्यरातमा मसिहा बनेर अवतरित हुनुभएका नेप्को कम्पनीका कर्मचारी अर्घाखाँची घरहुने परियार थरका मगरदाजु ।
    उहाँहरूसँगका ती संगतहरू कुनै सामान्य संगतमात्र थिएनन् । ती संगत त मेरो जीवनमा आइपरेका अनमोलभन्दा पनि कताहो कता माथिल्ला संगतहरू थिए । जसको बदौलत म जीवित रहन सकेँ । 
    २०८०, भाद्र ७
    बुटवल । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology