दीपक विश्वकर्मा (छविलाल )
शशि पन्थीसरको घरबाट किरण पुस्तकालय लाकुरीबोटको अगाडि सर्यो । त्यो एकतले भवन कुन प्रयोजनको लागि बनेको थियो, त्यसको इतिहास होला । तर त्यो भवन पुस्तकालयको लागि उपयुक्त थियो । भवनको पछाडि खोलो थियो । खोलापारी बाजेको खिर दोकान थियो । खिरबाजेको बारेमा कुनैदिन लेखौला ।
मेरो चित्रकारीतामा विशेष लगाव थियो । सोभियत संघमा प्रकाशन हुने सोभियत भुमिले पनि मेरो चित्रकारीतालाई बढवा दिएको थियो । शुरूवातमा पेन्सिल आर्क गर्थे मैले । हाम्रो घरबाट देखिने धौलागिरी लगायत हिमालको चित्र कोर्थें । विशेषतस् नागपन्चमीमा नागको चित्र बनाउँथ्यौ गणेश दाजु र मैले । बनाएका नागको प्राणप्रतिष्ठा भर्न मित्र बाबुराम मरासिनीको घरमा लगेर जान्थ्यौं र उप्रेत बालाई सुकामोहोर दक्षिणा दिएर प्राणप्रतिष्ठा गराएर घरमा ल्याउँथ्यौं । चोख्याएका नागलाई टोलका घरघरमा बाँड्थ्यौं । त्यसबाट अलिअलि कमाई पनि हुन्थ्यौं । भनौ कलर पेन्सिल र आर्ट पेपरको खर्च उठ्थ्यो ।
७ वा ८ कक्षाको महेन्द्रमाला किताबमा रामसिताको फोटो छापिएको थियो । बहुत सुन्दर स्केच थियो त्यो । त्यो स्केचलाई जस्ताको तस्तै कापीमा उतार्न मैले ज्यामिती बक्समा हुने इन्स्ट्रुमेन्टहरुको प्रयोग गरेको थिएँ ।
फोटोलाई दुरुस्तै कागजमा उतार्न डिभाइडर र स्केलको प्रयोग सबैभन्दा उपयुक्त हुँदोरहेछ । नाकको टुप्पोलाई सेन्टरबिन्दु मानेर कान, आँखा, चिउँडो, गर्दन कति दुरीमा छ भन्ने पत्ता लगाइसकेपछि त्यो दुरीको मापलाई आवश्यकताअनुसार गुणन वा घटाउ गरेर रेसियोमुताविक माप तैयार गरेर बिन्दु कायम गर्नेहो भने दुरुस्तै चित्र उतार्न सकिने बुद्धि आर्जन गरेको थिएँ मैले ।
किरण पुस्तकालयको हेरालुकोरूपमा एकजना चक्रबहादुर कार्की थरका चित्रकार चन्द्रकोट तिरबाट तम्घास आउनुभएको थियो । उहाँलाई तत्कालीन प्रमुख जिल्ला अधिकारी चक्रबन्धु अर्यालले बालमन्दिरमा शिक्षकको रुपमा नियुक्ति गर्नुभएको थियो । उहाँले सिडियो चक्रबन्धुका छोराछोरीहरुलाई ट्युसन पनि पढाउनुहुन्थ्यो । तम्घास कै मित्र गोकर्ण मरासिनीका अनुसार चक्रबहादुर राम्रो आर्टिस्ट हुनुहुन्थ्यो । उहाँकै कथनअनुसार उहाँ बर्माबाट आउनुभएको थियो । उहाँको चित्रकारीताले झन् उत्साहित भएँ म र जसरीतसरी पैसाको जुगाड गरेर कलर मसी र आर्ट पेपर किन्न थालेँ ।
पेन्सिल स्केचको कुरो गर्दा ७ वा ८ कक्षाको विज्ञान किताबमा छापिएको माइक्रोस्कोपको फोटो पनि त्यही ज्यामितीय औजारहरु प्रयोग गरेर जस्ताकोतस्तै कापीमा उतारेको थिएँ । यद्यपि त्यस्तो किसिमको होमवर्कको काइदा भने सरासर चिटिङ थियो ।
नागपन्चमी कै दिनमा बारेको कुनामा गएर दुधधार दिने चलन थियो । हाम्रो घरमा दुधधार दिने बापछि ममा सर्यो । तम्घास बजार जाने बाटोमा सल्लेरी भन्ने ठुलो भीर छ । त्यही हाम्रो पुर्ख्यौली खरबारी थियो । एउटा सिङ्गो विशाल पाखोको एकतिहाईमा बारी थियो । त्यो बारीलाई आधाआधा पारेर बा र कान्छा बाको नाममा पारिएको थियो । माथि सिरानमा जेठीआमाको नाममा बाहरुको भन्दा केही कम खरबारी छुट्याइएको थियो । बादरले खुब सताउँथ्यो सो खरबारीमा, त्यसैले सानो छाप्रो बनाएर दिनभर बादर धपाउन बसिन्थ्यो । तर पनि मकैलाई बचाउन सकिन्थेन ।दुधधार चढाइसकेपछि मात्र नयाँ मकैउपर हाम्रो अधिकार कायम हुन्थ्यो । नागलाई धार नदिएसम्म मकै खानहुन्न भन्ने चलन परम्पराको रूपमा स्थापित थियो ।सल्लेरीको त्यही ठूलो पाटोमा मात्र नाग पुजन गर्नुपर्ने चलन किन चल्यो रु बाआमालाई कहिल्यै सोधिएन । बारीको सिरानमा ठूलो खनियाको बोट थियो । खुब फल लाग्थ्यो सो बोटमा । घास भैसीलाई फल हामी केटाकेटीलाई, बडो काइदाको उपयोगिता थियो सो खनियाको बोटको ।
घरमा नभएपनि खोजेरै गाईको दूध, गोबर र अन्य पुजासामाग्री बोकेर बहिनीहरुलाई साथमा लगेर सल्लेरीको खरबारीमा जान्थे म । भाइहरु ससाना थिए । त्यसैले पछि लाग्न सक्दैनथे ।गोबरको ससानो कुन्टो बनाइन्थ्यो । साइला दर्जीमामाको घरबाट लगिएको विभिन्न रंगका धजा चढाइन्थ्यो । बाको देखासिकी पुजा गरिन्थ्यो । बत्ती बालिन्थ्यो र गिलासमा लगिएको गाईको दुधलाई नागको नाममा कुन्टोमा खनाइन्थ्यो ।
सायद कुखुराको चल्लोको चढवा पनि हुन्थ्यो जस्तो लाग्छ । तर यकिन गरेर भन्न सकिने अवस्था रहेन । समयको अन्तरालले ती विधि विधानहरु बिर्सदै जान थालियो ।त्यो सबै रस्मप्रक्रिया पुरा गरेपछि मात्र बारिमा फल्ने एमान हातभरका मकैउपर हाम्रो अधिकार स्थापित हुन्थ्यो । हामीलाई मकै पोल्न आगोको कुनै समस्या थिएन । किनकि बाहरुको आरन दिनभर चालू रहन्थ्यो । तदनुसार हाम्रो पोलेको मकैको भेट्नोतिर ससानो छेस्को घुसाएर ज्युनार गर्ने क्रम पनि चालू रहन्थ्यो ।
सबैलाई नागपन्चमीको शुभकामना ।
२०८० भाद्र ४, बुटवल ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)