Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय बर्ष पुरानो

रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय बर्ष पुरानो

  • 234
    SHARES

  • रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय बर्ष पुरानो

    एक स्वस्थ मानिसको शरीरबाट निकालिएको रगत र रक्ततत्त्वलाई विभिन्न रोग परिक्षण गरि,रगतको आवश्यक्ता परेको बिरामीलाई रगत चढाउनुलाई रक्तसञ्चार भनिन्छ। विश्वमा रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय बर्ष पुरानो छ।मानव शरीर चिकित्सा विज्ञानमा रक्तसञ्चारको महत्त्वपूर्ण भुमिका मानिन्छ।

    १६१६मा वैज्ञानिक डा.विलियम हार्वेले मानव जाति लगायत सम्पुर्ण प्राणीहरुमा रक्तसञ्चार हुन्छ भन्ने तथ्य पत्ता लगाएका हुन।सन १६६५मा डा.रिचार्ड लोबेरले एउटा कुकुरको रगत अर्काे कुकुरमा सफल सञ्चार गराएका थिए।त्यसपछि जनावरको रगत मानव शरीरमा सञ्चार गर्ने क्रममा मानिसको मृत्यु भयो।

    यसबाट अन्य प्राणीको रगत मानव शरीरमा सञ्चार हुँदैन भन्ने तथ्य पत्ता लागेको हो।सन १८१८ मा डा.जेम्स ब्लेण्डेलले मानव शरीरको रगत अर्काे मानवमा सञ्चार गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएका हुन।सन १९०१ मा डा.कार्ल ले्डेस्टेनरले नाम गरेका अष्ट्रियाका वैज्ञानिकले मानव शरीरमा सञ्चार भैरहने रगतको समूह पत्ता लगाए।

    ए,ओ र बि रक्त समूह हुन्छ भनेर मानव शरीरमा हुने रगतको रक्त समूह पत्ता लगाए।यसले चिकित्सा विज्ञानमा महत्त्वपूर्ण उपलव्धि भएको छ। सन १९१४ मा बेल्जियमका डा.हस्टिनले मानव शरीरबाट निकालिएको रगतलाई आवश्यक तरल पदार्थ राखि निश्चित दिनसम्म सुरक्षित रहने गरि बोत्तलमा राख्न सकिने तथ्य सार्वजनिक गरेका थिए।

    सन १९३० मा डा.कार्ल लेण्डेस्टेनरलाई नोवेल पुरस्कारबाट सम्मानित गरेका थिए। मानव रगतमा ए,ओ र बि रक्तसमुह हुन्छ भन्ने महत्त्वपूर्ण तथ्य पत्तालगाएकोले उनलाई सम्मानित गरेको हो।विश्व स्वास्थ्य संगठनले तिनै कार्ल लैण्डेस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व रक्तदाता दिवसको रुपमा मनाउने निर्णय गरेको हो।


    हरेक बर्ष १४ जुन विश्वभरि रक्तदातालाई सम्मान गर्ने दिवसको रुपमा मनाउँदै आईएको छ। सन १९३२ मा एशियाका डा.एन्डी बाग्दासरावले बोत्तलमा राखिएको रगतलाई ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म सुरक्षित राख्न सकिने तथ्य पत्ता लगाए।उनले यो प्रविधिको विकास गरे।

    सन १९३६ मा क्यानाडाका डा.नर्मल बेश्युनले स्पेनको म्याड्रिड शहरमा विश्वको पहिलो ब्लड बैंक स्थापना गरेका हुन।सन १९४० मा डा.कार्ल लैण्डेस्टेनर र डा.एलेक्जेण्डरको संयुक्त अध्यनबाट मानव रगतमा आर.एच.(नेगेटिभ/पोजिटिभ)समूह पत्ता लगाए।मानव शरीरमा हुने रगतको ए,बि र ओ समूह संगै आर.एच.समूह चिकित्सा विज्ञानमा सवैभन्दा महत्त्वपूर्ण उपलव्धि मानिन्छ।बिरामी मानिसको उपचारमा रक्त समुहको आधारमा सम्भव भएको हो।

    सन १९४२ मा कोलकातामा भारतको पहिलो ब्लड बैंक स्थापना भएको हो। नेपालमा वि.सं.२०२०चैत्र २० गते नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको थियो। नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको ३ बर्षपछि वि.सं.२०२३श्रावण १२ गते वीर अस्पतालको एउटा सानो कोठामा पहिलो व्लड बैंक स्थापना भएको हो।

    लक्ष्मी ब्लड बैंक नामाकरण गरिएको सो बैंकले पहिलो बर्ष १सय५७ युनिट रगत जम्मागरी आवश्यक बिरामीलाई उपलब्ध गराएको थियो। १सय१०युनिट रगत पेशेवर रक्तदाताबाट(रगत बेच्ने भरियाहरु),३२युनिट बिरामीका आफन्तहरुबाट,१५युनिट मात्र स्वयंसेवी रक्तदाताबाट रगत जम्मा गरि विरामीलाई वितरण गरीएको थियो।यसरी नेपालमा औपचारिक रुपमा रक्ततसञ्चार शुरु भएको मिति श्रावण १२ लाई हरेक बर्ष नेपाल रेडक्रस सोसाईटिले रक्तसञ्चार दिवसको रुपमा कार्यक्रम गर्दै मनाउँदै आईरहेको छ।

    नेपाल रेडक्रस सोसाईटीले क्रमिक रुपमा आफ्नो क्षमता विस्तार गरि देशभरी १०० भन्दा धेरै स्थानबाट रगत व्यवस्थापन गर्दै आएको छ।आर्थिक बर्ष २०८२/८३ मा नेपाल भरिका ब्लड बैकबाट २९१३१९ रगत संकलन गरि ४०४५९७  युनिट  रगत र  रक्ततत्त्व वितरण गरेको छ।

    प्रारम्भमा रगत बेच्ने पेशेवर व्यक्तिहरुवाट रगत संकलन गरिन्थ्यो।थुप्रै भरियाहरुले पैसा लिएर रगत बिक्री गर्ने गर्थे।वि.सं.२०४०मा तत्कालिन सरकारले रगतको बेचविखन पुर्णतया अवैध घोषणा गरेपछि स्वयंसेवी रक्तदाताहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ।

    वि.सं.२०४८ चैत्र २४ गतेबाट मन्त्रीपरिषदको निर्णयअनुसार रक्त संकलन र वितरणको एकल जिम्मेवारी नेपाल रेडक्रस सोसाईटीलाई सुम्पिएको थियो।नेपाल रेडक्रस सोसाईटी अन्तर्गत केन्द्रीय रक्तसञ्चार केन्द्र काठमाडौंमा स्थापना गरिएको थियो र त्यस केन्द्रबाट आवश्यक सहयोग र नियन्त्रणमा देशभरी रक्तसञ्चार केन्द्र, रक्तसञ्चार ईकाई र ईमर्जेन्सी युनिटको रुपमा गठन भएका छन।चितवन,पोखरा ,नेपालगन्ज र विराटनगरमा क्षेत्रीय रक्तसञ्चार (हाल प्रादेशिक) रुपमा ब्लड बैंक सञ्चालन हुँदै आएको छ।

    बुटवल,धनगढि,धरान,चितवन,काठमाडौ,बिराटनगर लगायत अन्य शहरहरुमा भएका रक्तसञ्चार सेवा केन्द्र धेरै रगत संकलन र वितरण हुने स्थान हुन।
    नेपालमा रक्तसञ्चार सेवाको ईतिहास ६०बर्ष पुगेको छ।नेपाल रेडक्रस सोसाईटि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले आजको दिन अर्थात श्रावण १२ लाई रक्तसञ्चार दिवसको रुपमा मनाउँदै आएको छ।यस दिन प्रत्येक रक्तसञ्चार केन्द्रले आर्थिक बर्षभरि रगत संकलन र वितरण गरेको विवरण प्रस्तुत गर्ने,अत्याधिक रक्तदान गर्ने संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिन्छ।

    नेपाल रेडक्रस सोसाइटी एक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो।यस संस्थाप्रति सम्पुर्ण संघसंस्था एवं सर्वसाधारण नागरिक,स्वयंसेवी रक्तदाताहरुको विश्वास रहेको छ।वास्तवमा यतिधेरै मात्रामा रगत रक्ततत्त्व संकलन एवं वितरण गर्नु धेरै नै चुनौतिपुर्ण कार्य हो।

    तर अहिले नेपाल रेडक्रस सोसाईटीलाई रगतको अत्याधिक मागलाई सहज व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ।नेपाल सरकारले रक्तसञ्चार निती २०७१ जारी गरिसकेको छ।यस नितीले रगत व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटिको एकल जिम्मेवारी हटाएको छ।

    अब  अस्पताल एवं स्वास्थ संस्थाले न्युनतम मापदण्ड पूरा गरि ब्लड बैंक संचालन गर्ने अनुमति पाउन सक्छन।रक्तसञ्चार सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र मापदण्ड अनुसरण र विकसित गरि देशव्यापी रुपमा सबै केन्द्रहरुमा समानरुपले कार्यन्वयन गर्ने गरि नयाँ नितिको व्यवस्था गरिएको हो।

    यस नितिको प्रमुख उद्देश्य शतप्रतिशत स्वैच्छिक रक्तदान र सवस्थ रक्तदान हो।विरामीलाई समयमै रगत रक्ततत्त्व व्यवस्थापन गरि उपचारमा सहयोग गर्ने समेत यसको उद्देश्य रहेको छ। नेपालको रक्तसञ्चार सेवा नियमनको लागि राष्ट्रिय रक्तसञ्चार व्युरो स्थापना गरिएको छ ।

    यस व्युरोले हाल सञ्चालित सम्पुर्ण ब्लड बैंकलाई अनुगमन,नियमन र वार्षिक नविकरण गर्ने गर्दछ।साथै नयाँ ब्लड बैंक खोल्न चाहने संघसंस्थालाई निश्चित प्रक्रिया र आवश्यक मापदण्ड पुराभए पश्चात् संचालन अनुमति दिनेगर्दछ।  रक्तसञ्चार निती जारी भएपछि केही निजी अस्पतालहरुले समेत रक्तसञ्चार(ब्लड बैंक) केन्द्र सञ्चालन गर्दै आईरहेका छन।यसबाट बिरामीलाई रगत व्यवस्था गर्न नेपाल रेडक्रस सोसाईटिको विकल्प तयार भएको छ।

    रगत व्यवस्थापनमा केही सहजता भएको छ।निजी स्तरबाट सञ्चालित ब्लड बैंकहरुले रगत तथा रक्ततत्त्वको शुल्क अत्याधिक राखेर,रगत तथा रक्ततत्त्वको व्यापार गर्दै आईरहेका छन। काठमाडौंमा रहेका केही नाम चलेका ग्रान्डि,मेडिसिटि लगायतका हस्पिटलहरुले रु २ हजार १ सय सम्म रगतको शुल्क असुल्दै आईरहेकाे समाचार प्रकाशन भएकाे  थियाे।नेपाल रेडक्रस सोसाईटिबाट सञ्चालित बुटवलकाे  ब्लड बैंकले रु ९ सय ५०मा रगत तथा रक्ततत्त्व वितरण गर्दै आईरहेका छन।स्वयंसेवी रक्तदाताहरुबाट स्वैच्छिक रुपमा निःशुल्क लिईएको रगत तथा रक्ततत्त्वको व्यापार गर्ने होडबाजी चलेको छ।नियमनकारी सरकारी निकाय नेपाल रक्त ब्युरो यस सन्दर्भमा मौन छ।

    बुटवलमा रगत तथा रक्ततत्त्व व्यवस्थापन
    वि.सं. २०२७ श्रावण ७ गते नेपाल रेडक्रस सोसाईटी रुपन्देहि जिल्ला शाखाको स्थापना भएको हो।नेपाल रेडक्रस सोसाईटी स्थापना पछि वि.सं.२०३४ सालमा बुटवल ब्लड बैंकको स्थापना भएको थियो।त्यसैगरी हस्पिटल युनिटको रुपमा वि.सं.२०५७ बाट युनिभर्सल मेडिकल कलेज,सिद्धार्थनगर भैरहवामा समेत ब्लड बैंक स्थापना भएको थियो।वि.सं.२०६८ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त ब्लड कम्पोनेन्ट छुट्याउने मेसिनबाट बिरामीको सेवा पुर्याउँदै आएको छ।बुटवल तथा नजिकका क्षेत्रहरुमा रक्तदानको राम्रो अभियान चलेको छ।

    झण्डै ६ सयभन्दा धेरै संघसंस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेका छन।राजनैतिक दल,तिनका भातृ संगठन,व्यवसायिक संघसंस्था,गैर सरकारी संघसंस्था,बैंक तथा वितीय संघसंस्था,सहकारी संघसंस्था,धार्मिक संघसंस्था शैक्षिक संघसंस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आईरहेका छन।आर्थिक बर्ष २०८२/८३ मा बुटवल ब्लड बैंक र सिद्बार्थथनगर ईकाईबाट ३३ हजार ७ सय युनिट रगत संकलन गरि ३९ हजार  ४३ युनिट रगत तथा रक्ततत्त्व वितरण भएको छ।रगत प्रयाेग हुने सन्दर्भमा महिला बिरामी तर्फ २१ हजार २ सय बयासी र पुरुष बिरामी तर्फ १७ हजार ७ सय ६१ रहेकाे देखिन्छ।रगत संकलन तर्फ  पुरुष रक्तदाताबाट २८ हजार ६ सय १६ र महिला रक्तदाताबाट ५ हजार ८४ युनिट रहेकाे देखिन्छ।महिला रक्तदाताहकाे संख्या १५ प्रतिशत देखिन्छ।रगत प्रयाेग हुने सन्दर्भमा महिलामा बढि देखिन्छ।याे तथ्यांकमा लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवामा सञ्चालित 
    ब्लड बैंककाे तथ्यांक समावेश गरिएकाे छैन।

    लुम्बिनी प्रादेशिक अस्पतालले सबैभन्दा धेरै ११२९१ युनिट रगत तथा रक्ततत्व खपत गरेको छ।युनिभर्संल मेडिकल कलेज भैरहवाले ६६४३ र देवदह मेडिकल कलेजले २७६४,गाैतम बुद्ध सामुदायिक मुटु अस्पतालले २५८७ युनिट रगत तथा रक्ततत्व खपत गरेको छ।रुपन्देही जिल्लामा स्वयंसेवी रक्तदाताहरु धेरै सकृय छन। स्वयंसेवी रक्तदाताहरुको अत्याधिक संख्या रहेको यस क्षेत्रले रगत नपाए बुटवल जानू भनेर अभियान चलाएको छ। यसबाट बुटवलको गरीमा बढाउँदै बुटवललाई नयाँ चिनारी दिएका छन।

    अब सहज रगत व्यवस्थापन संगै निःशुल्क रगत र रक्ततत्त्व वितरण हुनुपर्छ।स्वयंसेवी रक्तदाताहरुको अभियानले गर्दा रगतको सहज आपुर्ति हुँदै आएको छ। स्वयंसेवी तरीकाले निःशुल्क दान गरेको रगत र रक्ततत्त्वलाई निःशुल्क वितरण हुनुपर्छ,भन्ने माग स्वयंसेवी रक्तदाताहरुको रहेको छ।

    राज्यले रगत व्यवस्थापनमा लाग्ने सम्पुर्ण लागत व्यवस्थापन गर्नुपर्दछ र रगत र रक्ततत्त्व निःशुल्क वितरण गर्नुपर्दछ।यस सम्बन्धमा लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा लाग्ने रगत तथा रक्ततत्वको शुल्क निःशुल्क गरेको छ।त्यसैगरी रुपन्देहीको सैनामैना बाहेक अन्य पालिकाले निःशुल्क रगत तथा रक्ततत्व वितरण अभियानमा सहकार्य गरेका छन।

    गुल्मी,कपिलवस्तु र अर्घाखाँचीका समेत केही पालिकाहरुले रगत निःशुल्क वितरण अभियानमा सहयोग गरेका छन।नेपाल रेडक्रस सोसाईटिले निर्धारण गरेकोे रगत तथा रक्ततत्त्वको शुल्क रु ९ सय ५० रक्तसञ्चार ब्युरोले निर्धारण गरेकोे अधिकतम शुल्कभन्दा रु १०० धेरै भएको गुनासो लुम्बिनी प्रदेशका स्वयंसेवी रक्तदाता संघसंस्थाले उठाउँदै आएका छन।

    लुम्बिनी प्रादेशिक अस्पतालमा ब्लड बैंक सञ्चालनमा आएको छ।यो ब्लड बैंकलाई सबै स्वयंसेवी रक्तदाता संघसंस्थाहरुको सहकार्यमा अघि बढाउनुपर्छ। लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरुलाई यस ब्लड बैंकले रगत तथा रक्ततत्व व्यवस्थापन गर्नुपर्छ।रगतको सहज व्यवस्थापनमा अस्पताल र चिकित्सकहरुको सहयोग महत्त्वपूर्ण हुन्छ।रगतको व्यवस्थापनमा चिकित्सकहरुको भुमिका महत्त्वपूर्ण हुन्छ।

    नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाको स्थापना संगै स्वयंसेवी रक्तदान अभियानले अर्काे उचाई थपेको छ।हरेक बर्ष सर्वाधिक रक्तदान गर्ने संस्थाको रुपमा सम्मानित हुँदै आएको छ।यस बर्ष नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाले ४२७९ युनिट रगत संकलन गरेर नेपाल रेडक्रस सोसाईटि रुपन्देही जिल्ला शाखा अन्तरगतको ब्लड बैंकलाई हस्तान्तरण गरेको छ। त्यसैगरी तिलोत्तमा शाखाले ९७०युनिट संकलन गरेर तेश्रो भएको छ।त्यसैगरी ६३७ महिला रक्तदाता सहभागी गराई उत्कृष्ट संस्थाको रुपमा सम्मान प्राप्त गरेको छ।त्यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह शाखाले १२३ युनिट र स्वयंसेवी रक्तदाता सहकारी संस्था लि.बुटवल रुपन्देहीले १४८ युनिट रगत तथा रक्ततत्व संकलन गरेकाेमा रक्तसञ्चार दिवसकाे अवसरमा सम्मानित हुने अवसर प्राप्त भएकाे छ।
    रगत तथा रक्ततत्व व्यवस्थापन,ब्लड बैंक सञ्चालन, अनुगमनकाे जिम्मेवारी लिएकाे रक्त व्युराेले नितिगत सुधारकाे कार्यक्रम ल्याउनुपर्छ।अब स्वयंसेवी रक्तदाता संघसंस्था हरुले समेत ब्लड बैंक सञ्चालन गर्न पाउने गरि नीति ल्याउनुपर्ने माग स्वयंसेवी रक्तदाताहरुकाे रहेकाे छ।

    कृष्ण चौहान क्षेत्री
    अध्यक्ष
    नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, श्रावण १२ २०८३१०:२७:५३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology