Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आत्मग्लानीको सिंगो सागर

आत्मग्लानीको सिंगो सागर

  • 1.7K
    SHARES

  • आत्मग्लानीको सिंगो सागर

    -दीपक विश्वकर्मा (छविलाल)

    तिलकदाजु र मेरो निद्रा बिहान लगभग सँगै खुल्यो । एरी फार्मको अफिससँगै जोडिएको उहाँको क्वाटर जस्तापाताले छाएको एकपाखे छाप्रो थियो । दुईजना सुत्न मिल्ने खाट, पकाउने भाँडाकुँडा राख्नमिल्ने ठिक्कको ठाउँ, तिउनतरकारी र चामल राख्नसकिने ससानो काठको ¥याक, तिलकदाजुको कोठाको बृतान्तको संझना छ मलाई ।

    उहाँले कामगर्ने अफिस भने आसाम टाइपको नभएर इट्टासिमेण्टको पक्की घर थियो । सो घरमा आधुनिक घरमा हुनुपर्ने सबै सुविधाहरू रहेका थिए । बिहानको निवृत्तिको काम सोही अफिसको बाथरुममा हुँदोरहेछ । पानीको सप्लाइको व्यवस्था भने थिएन । कुवाबाट टिनमा भरेर बाँसको खर्पनजस्तै गरालोमा बोकेर ल्याइदोरहेछ । सरकारी अफिस भएर होला, एरी फार्मको अफिसमा मासिक तलव वा ठेक्का यस्तै कुनै सर्तमा पानी बोकाइने कुरो दाइले भन्नुभएको थियो । तिलकदाजुले भने आफ्नो क्वाटरको लागि चाहिने पानी आफैले नजिकैको कुवाबाट बोकेर ल्याउनु हुँदोरहेछ । बन्दै गरेको सहर थियो उमराङ्सो । न उँधोको न उँभोको जस्तै थियो त्यो बेलामा सो सहरको अवस्था ।

    ३ रात २ दिन मै मानिसहरूको अनेकौ संगम देँखे मैले उमराङ्सोमा । आसाम तथा मेघालयमा बसोवास गर्ने मानिसहरूको जातीय संरचना बारे अलिअलि जानकारी मलाई नङ्पोमा रहँदाबस्दा थाहा भइसकेको थियो । बिहार र उत्तरप्रदेशका बासिन्दाहरूको नापनक्सा एउटैजस्तो भएपनि आनिबानीमा केही फरक हुँदोरहेछ । त्यसको भेउ पनि मैले नङ्पो मै पाएको थिए । यद्यपि कुन बिहारी कुन देशवाली छुट्याउन भने निकै मुस्किल हुन्थ्यो । बिहारीहरू भन्दा देशवालीहरू(युपीबासी) हक्की स्वभावका हुँदारहेछन् । त्यसको भेउ पनि नङ्पो मै पाएको थिएँ ।

    तिलकदाजुको क्वाटरको आसपासमा अनेकौ जातिजनजातिहरूको संगम देखे मैले । खसिया, देशवाली, बिहारी, नेपालीमा पहाडीया चेहराभएका जनजातिहरू र प्रचुरमात्रामा बाहुन क्षेत्रीहरूको चहलपहल थियो उमराङ्सोमा । स्थानीय जातिहरूको बारेमा भने म अनभिज्ञ थिएँ । मगरदाजुले ती सबै कुराहरूको बारेमा बताउनु भएको थिएन र तिलकदाजुसँगको उठबस त बल्ल शुरु भएको थियो । 
    आफ्नो अफिसमा लगेर कुनठाउँमा बिहानको सौचादी गर्ने भन्ने कुरो देखाइदिनु भयो दाजुले । त्यतिलामो यात्रा, पहिलोरातको हण्डर, १९ किलोको पहिलो यात्रा, मगरदाजुको क्वाटरको दोस्रो रात र तिलक दाजुकै क्वाटरको यो तेस्रोबास पारहुँदासम्म पनि मलाई नुहाउने जाँगर चलेको थिएन ।

    मगरदाजुकोमा कलको पानीको छेलबेल, विजुलीबाट पानी तताउन मिल्ने सुविधा हुँदा त नुहाइनभने तिलक दाजुकोमा खर्पनले बोकेको पानीले नुहाउने त कुुरै भएन । सामान्य धोइपखाली गरेर फ्रेस भएको थिएँ र कपालमा पानी छम्केर नुहाएकोजस्तै बनेको थिएँ म ।
    म फ्रेसभएर कोठामा आउँदा तिलकदाजुले चुलोचौकोको धन्दा गर्दै हुनुहुन्थ्यो । “यस्तै छ भाइ । अफिसले क्वाटर बनार देको छैन । अफिस नि नयाँ हो । केन्द्र सरकारकोजस्तो सुविधा आसाम सरकारले दिन्न । कामचलाउ तरिकाले चलियो छ ।” दाजुले कुरो सकिसक्दासम्म म उहाँको खाटमा बस्न पुगिसकेको थिएँ । “लाल चा खाम भाइ, बनाइसकेओ चु ।” उहाँले म खाटमा बस्न नपाउँदै चियाको कप टक्र्याउनु भएको थियो । बिस्कुट, टोस यस्तै खानेकुरा पनि थियो चियाको साथमा । खाटमा पलेटी कसेर म बिहानको पाहुना लाग्न थालेँ । दाजुले चिया पिउँदै धन्दा गर्न थाल्नु भयो ।
    अफिस टाढा थिएन दाजुको । तर समयमा पुग्नुपर्ने भएर होला, मट्टीतेलबाट चल्ने दमचुली(स्टोभ)मा भात बसाली सक्नुभएको थियो । “लु भन्नुस्, आज के गर्नुन्च ? कामको खोजीयाँ कतै जानुन्च कि, आज यतै उमराङ्सो बजाराँ घुमघाम गर्नुन्च ?” दाजुले मेरो मनको प्रश्नलाई सतहमा ल्याउनु भएको थियो । मैले उहाँलाई तत्कालै जवाफ दिएको थिएँ । “यता आकोनि तीनचार दिन भैसको दाजु, उता नङ्पोआँ सबै आत्ते होलान् । बजार त कति हेर्नु र ? छिटो काम मिलार फर्किन पाए मन शान्त हुँदो हो ? जानु त उही १९ किलो चन्द्रबादुर क्षेत्रीकाँ हो । तर त्याँ जान्न आज । बरु बेलुकीपख ३ किलो वेदु दाइला भेट्न जान्चु ।”

    कुराकानी कै दौरानमा खाना तैयार भयो । सामान्य दालभात र तरकारी बनेको थियो त्यो बिहान । खाना तैयार भएपछि रुँगेर बस्ने कुरो पनि भएन । दाजुले दुईवटा थालमा भात पस्किनु भएको थियो र बटुकोमा दालतरकारी टक्र्याउनु भएको थियो । खाना खाँदै गर्दा मेरो कामको बारेमा पनि कुराकानी चल्दै ग¥यो । मगरदाजुभन्दा वैचारिक हिसाबले नजिक हुनुहुन्थ्यो तिलकदाजु । सोही कारणले उहाँसँग मैले कतिपय आन्तरिक कुराहरू पनि खोलेको थिएँ । के कति कारणले मैले सुविधासम्पन्न पढाइ छोँडे, के कति कारणले चारचार वर्ष लगानी गरेको राजनीति छोँडेर मेघालय आइपुगेँ भन्ने बारे अर्धकुराकानी भएका थिए हामीबीच ।

    मभन्दा दुईढाई वर्ष जेठो हुनुहुन्थ्यो उहाँ । सोही कारणले पनि जीवनभोगाइहरू मेराभन्दा बढी थिए उहाँका । मेरो सबै कुराकानी सुनिसकेपछि सायद उहाँको मनमा मप्रति दया पलायो होला, ढाडसदिँदै भन्नुभएको कुराको सार थियो— जे भयो भयो अब आत्तिएर काम छैन भाइ । मनमा धैर्यता राख्नुस् । दुःख सबैलाई पर्छ । ३ किलो गएर वेदुदाइलाई भेट्नुस् । प्रेमदाई घुमफिर गर्न भ्याउनुहुन्न । उहाँलाई बाहिरी फेरो थाहा छैन । घुमफिर गर्ने वेदुदाइ नै हो । उहाँले पनि तपाईंलाई काम मिलाउन सक्नुहुन्छ ।” र अन्तिममा भन्नुभएको थियो—तर आज म तपाईंलाई बिदा गर्दिन । एकछाक माछामासु नखुवाइकन तपाईंलाई जान दिन्न भाइ म । टाढा जान पर्दैन । हाम्रै क्वाटरको पछाडि माछामासु बिक्री हुन्च । बेलुकी भाइलाई जे मन पर्च त्यै ल्यार पकाम्ला ।

    बल्ल भोलि ३ किलो जाने । सो बेलाको कालको हिसाबले भन्नुपर्दा पुगनपुग ढाइ दशकको जीवनकालमा थुप्रै मानिसहरूसँग संगत गर्ने मौका जुरेको थियो मलाई । घोर सामाजिक अपमानका अनेकौ श्रृङ्खलाहरूको भुक्तमानी हुँ म । हिन्दुधर्मको बन्धनमा बेरिएको आर्थिक सामाजिक परंपराले सिर्जना गरेको वर्ण व्यस्थाको चरमघृणाको तीतो स्वाद कति हो कति पटक चाखेको थिएँ र छु मैले । मैले जति अपमान भोगेँको थिएँ र छु त्यसको हिसाबकिताब गरिसाध्य छैन ।

    जन्मथलो भाडगाउँकै एक क्षेत्री परिवारकी सन्मानित हजुरआमाले हतारहतार स्कुलजाँदै गरेको मलाई बाटोमै ठिङ्ग उभ्याएर अभियुक्तलाई केरकार गरे जसरी भनेकि थिइन्— तँ फल्नाको छोरो हैनस् केटा ? तँ त स्कुलाँ पढ्न जान्चस् रे । हेर बाबै तँ स्कुल पढ्न थालिस् भने गाउँका हैसाकोदाला कस्ले अर्जाप्च ? कोदालो बच्चरा कस्लै बनाम्च ? पढ्नेलेख्ने भनेओ त बाहुनक्षेत्रीको काम हो । तिमेरुले त बिष्टका भाँडा पिट्ने हो । यी र यस्तै अनेकौ घटनापरिघटनाहरू बीच रातबिरात बासबस्दा थुप्रैपटक आफुलाई बाहुनक्षेत्रीमा रुपान्तरण समेत गरेको थिएँ मैले । यसलाई अपवाद त भनिनहालौं, तर उमराङ्सोमा म सो बेला जसको भान्सामा बसेर भविष्यको रुपरेखा कोर्दै थिएँ उहाँ वर्ण व्यवस्थाको दोस्रो दर्जाको क्षेत्री हुनुहुन्थ्यो र वर्ण व्यवस्थाकै सर्बोच्च प्रतिमान वेदुराम शर्मा उर्फ वेदुदाइलाई भेटेर कामको मेसो मिलाउने अभिलाषा जाहेर गरिरहेको थिएँ ।

    तिलकदाजु कै सल्लाहअनुरुप म सो दिन उमराङ्सो बजार नै घुमघाम गरेर दिन बिताउने निधो गरेको थिएँ । खाना खाइओरी तिलकदाजु भित्तो सटिएको अफिस तिर जानुभएको थियो । उहाँ अफिस हिँडेपछि मसँग मुखबोला कोही भएन । त्यसरी एक्लै धुमधुम्ती दिनभर एक्लै कोठामा बसेर के गर्नु ? दाजु अफिसतिर लागेपछि केही बेर जागेको भाते निद्रालाई मन्थर पारेर उमराङ्सो बजारको अवलोकन खातिर कोठाबाट निस्किएको थिएँ म । 
    सो दिन १३ किलोतर्फ गएको थिइन म । १३ किलो जानको लागि दाजुको क्वाटरबाट पुर्वतर्फ लाग्नु पर्ने र त्यहाँ पुग्दानपुग्दै उमराङ्सो पुलिस थाना भेटिने कारणले गर्दापनि म त्यता जान मन गरेको थिइन । पहिलोरातको मगरदाजुसँग भएको जम्काभेट र “धन्न पुलिसको फन्दामा परेन्चौ भाइ” भन्ने उहाँको भएङ्कर उद्गारले उडाएको मेरो आधा सातो तबसम्म पनि फर्किएको थिएन । त्यसैले सो दिन १३ किलोको वन कार्यालयको रमझम नहेरेर उमराङ्सो बजार नै हेर्ने निधो गरेर बाहिर निस्केको थिएँ ।

    तिलकदाजुको क्वाटरको भित्तो जोडिएको एरी फार्मको अफिसको ठिक अगाडि माछामासु बिक्री गर्ने टहरो थियो । तर म क्वाटरबाट निस्केर त्यहाँ पुग्दा सबै टहरा खाली थिए । रहेछ के भने माछामासु बिक्री हुने भनेको बेलुकी भएपछि मात्र रहेछ । मासु पसलबाट नियालेर हेर्दा उमराङ्सो बजारको सिंगो स्वरुप देख्न सकिने रहेछ । मलाई त अवलोकनभन्दा समय बिताउनु थियो, त्यसैले हर घर, हर दोकानलाई नियाल्दै कछुवागतिमा पाइला चालिरहेको थिएँ । सारा बजार घुमेरसक्दा म आत्मविश्वासले यति लवालव भएकि त्यसको वर्णन गर्ने शब्दहरू छैनन् मसँग । मैले उमराङ्सो बजारको खासियत के देँखे भने, उमराङ्सोमा बसोबास गर्ने जनसंख्याको आधा हिस्सा त नेपालीहरूको रहेछ । जताततै नेपाली नै नेपाली देखिन । हो, त्यही नेपालीहरूको विशाल जमघट मेरो आत्मविश्वासको परिणति थियो ।

    त्यो स्तरको नेपालीहरूको घनत्व देखेपछि अवतारी देवदूतीय लामा बाले सही र उपयुक्त ठाउँमा पठाएजस्तो लाग्यो मलाई । उमराङ्सो पुग्ने रातिमात्र चरम कठिनाई भोग्नु परेतापनि, त्यसपछिका दिनहरू त “मनकारी सासुससुराको मनको ज्वाइको” तरिकाले बितेका थिए मेरा दिन । बिहान बेलुकीको खानाखर्चको त कुरै छोडौं चियानास्तामा समेत एक पैसा खर्च गर्नुपरेको थिएन मैले । बास्तवमा भन्ने हो भने मसँग केही पनि थिएन, कमाइको कुनै बाटो थिएन । तर मसँग थियो आत्मविश्वासको अथाह सागर र सो आत्मविश्वासलाई थमाउन सहयोग गर्ने विशाल मनका धनि तिलक क्षेत्री र अर्घाखाँची तिर घर हुने मगर उर्फ दमाईदाजु ।

    तानाबाना मै बिताएको बिताएको थिएँ त्यो दिन मैले । तानाबानाका विषय थिए पर्देशबाट पनि महापर्देश पुगेका विचारका तन्तुहरू । बा, भाइ र श्रीमती शिलाङगुवाहाटीको आधाआधी ठाउँमा पर्ने नङ्पोमा मेरो पर्खाइमा बसेका चिन्ता र सन्तापहरू ।  र नङ्पोबाट करिव ३ सय किलोमिटर पूर्वी आसामको पल्लोछेउ उमराङ्सोमा भौतारिनु परेका आत्मग्लानीका भावसागरहरू ।

    आधा किलोमिटर बजार घुम्न कति समय लाग्ला ? समयको मापन सिर्जनाको कसीले हुँदो रहेछ । म त मुसाफिर न ठहरिएँ । न सिर्जना, न उपति न वापति । पाइलापाइला घिसारेर बेलुकीको ४ बजाएँको थिएँ मैले । फर्केर तिलकदाजुको क्वाटरमा पुग्दा उहाँ अफिस बन्द गरेर आइसक्नु भएको थियो ।

    भाद्र २, २०८०
    बुटवल । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology