Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अमृतमय सम्बन्धका सेतुहरू

अमृतमय सम्बन्धका सेतुहरू

  • 2.7K
    SHARES

  • अमृतमय सम्बन्धका सेतुहरू

    -दीपक विश्वकर्मा(छविलाल)

    तिलक क्षेत्री दाजुको एरी फार्मवाला क्वाटर र मगरदाजुको क्वाटरको यात्रिक फासला मुस्किलले ३ सय मिटर थियो होला । तर त्यो छोटोबाटो नेप्पो कर्मचारीको लागि मात्र खुल्ला थियो ।

    नेप्को कर्मचारी बाहेक अन्य सर्वसाधारण मान्छेहरू लगभग १ किलो मिटर हिँडेपछि मात्र तिलक दाजुको क्वाटर रहेको क्षेत्रमा पुग्नसक्थे । मेरा उमराङ्सोमा जसरी दिनहरू वितिरहेका थिए, ती वित्दै गरेका दिनहरू खानपिन, उठबसको हिसावले मगनमग्न देखिएता पनि यथार्थमा मर्मभेदी थिए ।

    उकुसमुकुस, अनिश्चितता, संदेह र विरक्तिपूर्ण थिए । लिली होटेल वा नेपाली धर्मशालामा बास नपाएर के भो ? तातो सिरकको तापमा पसिना निकाल्न पाइएको थियो । तर नङ्पोमा रहेका आफ्नाहरूको संझनामा शरीरबाट निस्किरहेको त्यो तातो पसिना छिनमै हिउँजस्तै चिसो हुन जान्थ्यो ।

    अवतारी देवदूतीय लामा बाको सल्लाहअनुरुप उमराङ्सोमा त पुगियो तर काम नपाएर रुझेको बिरालोजस्तै भएर वापस नङ्पो फर्किनुप¥यो भने के होला ? बासँगै बसेर आरनमा तताएको फलामउपर घनठोक्ने काम कदापि गर्ने मन थिइन मेरो । यसैपनि लामोसमय मुठ्ठी कसेर मार्तुल, घनबञ्चरो,कोदालो समाउन मिल्ने मेरा हात थिएनन् र आज पनि छैनन् । लाग्छ मेरा हातहरू कलम समाएर नै जिन्दगी गजार्न बनेका हुन् ।

    यस्तो किसिमको नाजुक हात भएको मान्छेले तामाफलाम पिटेर खानसक्ने, परिवार पाल्नसक्ने स्थिति पनि हुन्थेन । आधुनिक कृषि औजार कारखाना त कामदारसहितको परिकल्पना थियो मेरो । यदि बैंकले पत्याएर नगद प्रदान गरेको भए र काम शुरु गर्न सकेको भए आफै घन नठोकेर कामदार लगाएर उद्योग गर्ने विचारमा थिएँ म । फर्केर पोखरा जान नसकिने भने थिइन ।

    चारचार वर्षको अमूल्य समय खर्च गरेको पार्टीले दुत्कार्ने भन्ने कुरो पनि नहुँदो हो । यसैपनि एउटै स्कुलका उपज विष्णुराम गुरुङ(किरण)को लहैलहैमा पार्टीमा लागेको कारणले पनि उनीसँग मनका यावत दुःख बिसाउन सकिन्थ्यो ।

    प्रवासबाट नेपालमा काम गर्न खटाइएका अर्का एकजना धर्मदत्त देवकोटा उर्फ क. शेखरनामका कास्की जिल्ला सेक्रेटरीसँग मेरो खुब दोस्ती थियो । उहाँको बिन्धवासिनी मन्दिर नजिककै घर हुने बालकृष्ण सुवेदीकि कान्छी बहिनी सकुन्तलासँग पार्टीकै आयोजनामा बिवाह भएको थियो ।

    पोखरा फर्किएर लालसलाम टक्राउँदै “मत फर्किएँ कमरेड । देश र जनताको मुक्तिको लडाइँलाई लत्याएर म कसरी विदेशमा बस्नु” भन्दै सफेद झुट बोल्न सकेको भए, अर्मला, रुपाकोट, बेगनास, विजयपुरका गाउँहरूमा खटिन पक्कै पनि पार्टीले बाधा खडा गर्ने थिएन ।

    त्यो विकल्पलाई अन्तिम हतियारकारुपमा प्रयोग गर्न नसकिने होइन । तर सो हतियारद्धारा मेरा पारिवारिक समस्याहरूको जरो काट्न सकिनेवाला थिएन । हरेस खाएर नेपाल फर्किएको भए, हुन्थ्यो के भने बा उतै मेघालयमा भासिने थिए । उनीसँगै बस्दै गरेको भाइ बाकै आरनमा खलाती चलाउँदो हो अथवा उनलाई छोडेर दिल्लीतिर हानिएर कोठीमा बुहार्तन गर्दो हो । यी सबै परिदृष्यहरू मेरा आदर्श र परिकल्पनाका बर्खिलाप थिए । त्यसैले पनि अन्तिम सास रहेसम्म म अवतारी लामा बाको सल्लाहलाई मूर्तरुप दिन चाहन्थेँ र त्यसैमा लागिपरेको पनि थिएँ ।

    मनमा यावत कुराहरू खेलाउँदाखेलाउँदै तिलकदाजुको एरी फारमवाला क्वाटरमा पुगेको थिएँ म । साँझ पर्न थालिसकेकोले जाडोको पारो बढिरहेको थियो उमराङ्सोमा । मानिसहरूको चहलपहल पनि कम भइसकेको थियो । दाजुको क्वाटरको टिनको ढोका खुलै रहेछ ।

    नजिकै गएर नाम लिँदै आफु आएको जनाउ दिएको थिएँ । तिलकदाजु कोठामै हुनुहुँदोरहेछ । उहाँले हार्दिकताका साथ स्वागत गर्नुभएको थियो मलाई । उही हिँजो बिहानको कुरो दोहोराउँदै भन्नुभएको थियो— बस्ने खाटमै हो भाइ, कुर्चिसुर्चि छैनन् । बस्ने सुत्ने यही खाटमा हो मत । बस्नुस्, जुत्ता खोलेर खाटमै । बाहिर जाडो छ । ढोक भने बन्द गरम ।

    उत्तरपूर्वी सो अनकण्टार जंगलैजंगलको बीचमा बन्दै गरेको उमराङ्सो बजारमा म कामको खोजीमा जानेभन्ने कुरो थाहा पाएपछि शिलाङका साथीहरूले उमराङ्सो क्षेत्रमा बस्नुहुने साथीहरूको नाम ठेगानामात्र दिनु भएको थिएन, सो ठाउँमा बसोवास गर्ने नेपालीहरूको बीचमा पार्टी तथा प्रवासी संगठनको कामको जिम्मा पनि दिनुभएको थियो ।

    यसउसले मगरदाजुकोमा पाहुना लाग्दा म विशुद्ध पाहुना थिए भने तिलकदाजुकोमा ओतलाग्न पुग्दा मुसाफिरमात्र नभएर पार्टीको कार्यकर्ताको मुखौटो भिरेको पाहुना थिएँ । चार वर्ष कास्कीका गाउँबस्तीहरूमा सांगठनिक काम गरेको हुनाले पार्टी कमिटीहरूको गठन, बैठकको सञ्चालन सम्बन्धी थेरधोर अनुभव थियो । यति हुँदाहुँदै पनि भित्री मनमा म आफुलाई भने पार्टीको कार्यकर्ता हुँ जस्तो ठान्दिनथे ।

    मलाई त पार्टी संगठनको निर्माण, प्रवासी नेपालीहरूको संगठनको विस्तारभन्दा पनि मेरो आफ्नै रोजगारीको विस्तार चाहिएको थियो । पार्टीलाई दिइएको समयसीमा भित्र पैसा कमाएर नेपाल फर्किने वा उतै बसेर पत्लुङ्गको ब्याकपकेटमा नोटबुक घुसारेर कलेज धाउनेभन्ने कुरो जालझेलयुक्त कुरो नै थियो । तर पनि तिलकदाजुसँग उत्ताउलो भएर कामको खोजीको मात्र कुरो गर्नु हुन्थेन मैले । सो रात मैले उहाँसँग नेपालमा चलिरहेको पार्टीको गतिविधि, शिलाङमा भएको अखिल भारत प्रवासी नेपाली संघको क्षेत्रीय सम्मेलनको सामान्य जानकारी दिँदै उहाँसँग आफू पार्टीको मान्छेभएको प्रमाण पेश गरेको थिएँ ।  

    २०४० सालको असार महिनामा मेघालय छिरेको थियौं हामी बुढाबुढी । आसामको नोर्थ कछारहिल्स् जिल्लामा घुमफिर गर्दाको महिनालाई समेत गणनागर्दा ७ वा ८ महिना भइसकेको थियो । साउनेसंक्रान्ति, तीज, दशै र तिहार बिना रमझम बिते हाम्रा । बा साथमा थिए, यही नै ठूलो कुरो थियो हामीलाई ।

    बसोबासको स्थिति, कमाइको स्रोत तथा आइआफन्तको अभावमा मेलापर्व मेलापर्वजस्तो लाग्दोरहेनछ वा हुँदोरहेनछ । नागाच्यादरको तानको खेती, कृषि औजारको उखर्माउलो सोँचको सेरोफेरो मै बिते महत्वपूर्ण सातआठ महिना । नेपालबाट पार्टीका साथीहरूको उपलब्ध गराउनु भएको सम्पर्क ठेगाना लगेर गएको हुनाले “जहाँ जाला जोगी भातै खाला” जस्तो फुक्काफाम जिन्दगी जीउनभने आइतबार कुर्नुपरेको थिएन । यसैबीच अखिल भारत प्रवासी नेपाली संघको उत्तर पूर्वी क्षेत्रीय सम्मेलन भयो ।

    सो सम्मेलनको लागि एकाध महिना खर्च गरियो । उद्घाटनसत्रमा अखिल नेपाल किसान संघको नेपाल प्रतिनिधिको हैसियतले मन्तब्य दिइयो । त्यही सिलसिलामा सीपी मैनालीसँग जानपहिचान पनि भयो । सो समय उहाँलाई पार्टीले भारत प्रवासको काममा खटाएको रहेछ । सो उठबसले ममा एकप्रकारको आत्मविश्वासको जागरण भएको थियो ।

    कामको लागि भन्दा पनि समय व्यतित गर्ने हिसाबले शिलाङ आइजाइ गर्दा दिवंगत दाजु कुन्दन भट्टराई, तील कार्की, प्रेम खनाल तथा सो समय शिलाङमै रहनुभएका दाजु लक्षण रायमाझीसँग गहन सम्बन्ध बन्न पुग्यो । प्रवासी संघका अध्यक्ष दाजु तील कार्कीको घर त सेल्टरजस्तै थियो हाम्रो लागि । सम्मेलनभरि कमरेड सीपीको बास पनि त्यहीँ भएको थियो ।

    ती सबै सम्बन्धको कारणले हुनसक्छ मलाई तत्कालिन नेकपा(माले)सँग अलग छु भन्ने आभाष नै हुन्थेन । मलाई लाग्थ्यो म पार्टीको पेशेवर कार्यकर्ता नै हुँ र पार्टीले पार्टी कै नीति अनुरुम मलाई नीजि कामलाई सल्ट्याउन केही समय बिदा दिएर पठाएको छ । नेकपा(माले) भारत प्रवासको उत्तरपूर्वी पार्टी कमिटीले पनि मलाई सामान्य कमाइ गर्न आएको लाहुरेको हिसाबले व्यवहार गर्दैन थियो । पार्टी र मेरो सम्बन्ध लगभग पेशेवर कार्यकर्ताकै स्तरको थियो । किन थियो ? त्यसको विवेचना गर्ने क्षमता मसँग छैन आज । 

    यी सबै तथ्यहरूको कारणले पनि म पार्टीका होलटाइमर वा पार्टी समर्थक साथीहरूसँग भेटहुँदा सहजै घुलमेल हुनसक्थेँ । दाजु तिलक क्षेत्रीलाई भेटगर्दा पनि सोही आत्मविश्वासका साथ पेश भएको थिएँ र निर्धक्क भएर यावत कुराहरू गरेको थिएँ । तर, कुरैकुराको दौरानमा मलाई के थाहा लाग्यो भने उमराङ्सोमा पार्टीको उपस्थिति शुन्यप्रायः रहेछ ।

    ३ किलोमा दाजु वेदु शर्मा, नेप्कोको हेडअफिसमा काम गर्ने अर्का दाजु प्रेम लामा र दाजु तिलक क्षेत्रीबाहेक जनस्तरमा संगठन तथा पार्टीको कामको विस्तार भएको रहेनछ । तिलक क्षेत्री दाजुसँग समर्पणभाव, सहयोगी भावना बाहेक माक्र्सवादी चिन्तनको “च” सम्मपनि रहेनछ । उहाँलाई यति मात्र जानकारी रहेछ, कम्युनिष्ट भनेका समानताका पक्षधरहरू हुन् । यिनीहरूले अन्याय सहँदैनन् । जातपात मान्दैनन् । हामी फर्केर नेपाल जाने हो । नेपालमा राजा छन् । तिनै राजालाई फालेर नेपालका कम्युनिष्ट शासन ल्याउने हो । आदि इत्यादि । 
    म आफै पो कहाँ सिद्धान्तनिष्ट कम्युनिष्ट थिएँ र ? हामी पार्टीमा लागेर केही सपाट कुराहरू सिकेका थियौं । कम्युनिष्ट पार्टीको घोषणापत्र पढिएको भने पक्कै हो, तर त्यो पढाइ पुराणवाचनभन्दा बढी थिएन ।

    पकेटबुक आकारको रेडबुक पढेर “जनतासँग सियो र धागोसम्म पनि लिनु हुँदैन” भन्ने महान नैतिकताको पाठ पढिएको थियो र त्यहि पाठ पढेको नाममा आफुलाई खाँटी सर्वहारा कम्युनिष्ट भएको  स्वघोषणा गरिन्थ्यो । कम्युनिष्ट हुन नास्तिक हुनु पर्दछ, त्यसैले धर्मको विरोध गर्नु पर्छ भन्ने खतरनाक सोँचयुक्त शिक्षा ग्रहण गरिएको थियो ।

    बास्तवमा भन्ने हो भने म्याक्सिम गोर्कीको आमा उपन्यास थियो हाम्रो दार्शनिक महापुराण, जसलाई दोहोराइ तेहराइ पढिन्थ्यो र उपन्यासको क्रान्तिकारी पात्र पावेल बन्ने जमर्को गरिन्थ्यो । 
    कुरैकुरामा समय बितेको थाहै भएन । आसाम पसेपछि वा आसाममा रैथाने नेपालीहरूले नाम पछाडिको थर लेख्दा बाहुन जतिले शर्मा, क्षेत्री सबैले क्षेत्रीमात्र, मगरले थापा, नेवार—श्रेष्ठहरूले प्रधान र विश्वकर्माहरूले सुनार लेखाउँदा रहेछन् । कतिपय पढालेखा नेपालीले भने थर लेख्दा रहेछन् ।

    तिलक क्षेत्री दाजु पढालेखा नै हुनुहँदोरहेछ । तर पनि उहाँले आफ्नो नामको पछाडि थर नजोडेर क्षेत्री नै लेख्नुभएको थियो । उहाँको विवाह भएको कुनै संकेत देखेको थिइन मैले । र सोध्ने हिम्मत पनि गरिन । घर तेजपुर, नौगाउँ कतै बताउनु भएको थियो । त्यो बाहेक पारिवारिक बनोट बारे धेरै कुरो गरिएको थिएन । 
    तिलक दाजुलाई मैले बताउन मिल्नेजति कुरा बताएँ । बा, श्रीमती र एउटा भाइ नङ्पोमा बसेको कुरो लुकाइन । अवतारी लामा बाको कुरो पनि सुनाएँ । उमराङ्सो आउँदाको अर्को दिन १९ किलो पुगेर लामा बाले सुझाएको व्यक्ति चन्द्रबहादुर क्षेत्रीलाई भेटेको कुरा पनि दोहोराएँ ।

    उहाँले भेटगर्न सुझाउनुभएका व्यक्ति २९ किलोका मास्टरको बारेमा पनि कुरो गरे । सबै कुरो सुनाउँदा सुनाउँदै भातभान्सा पनि तैयार भयो । माछा वा मासु दुईमा एक पाकेको थियो । निखन्ने पाकाउने सबै काम दाजुले एक्लै गर्नुभएको थियो सो रात । उहाँले पकाउँदासम्म मैले आफ्नो रामकहानी बाचन गरेर पनि सुनाइ भ्याएको थिएँ । 
    “हात धुनुस् भाइ । अब खानतिर लागम् । टेम धेरै भइसको । जाडो बेलाँ छिटै खानुपर्च ।” दाइले पस्किने सुरसार गर्दैगर्दा मैले मगमा पानी बोकेर कोठाको एउटा कुनामा रहेको जुठ्यानमा पुगेर हातमुख धोएको थिएँ ।
    जीवनमा अनेकौबार उदाउँदै अस्ताउँदै गरेका ती सबै घामछाँयाहरूलाई पूर्णता दिलाउने ध्याउन्नमा म हरमौका, गौडाहरूलाई कुरिरहेको थिएँ ।

    ओँठ निचोर्दा दुध आउने वयमै मैले पार्टीमा जुन तन, मन र धन लगानी गरेको थिएँ, त्यसको प्रतिफल नङ्पो, शिलाङहुँदै उमराङ्सोका साथीहरूबाट असुल गरिहेको थिएँ । दाजुले थपिथपि खुवाउनु भएको थियो खाना । खाना पछि खाएका भाँडासम्म माझ्न मनाही गर्नुभएता पनि सो काम म जहाँ गएपनि आफै गर्थेँ । होस्टेलमा बसेर पढ्दा साप्ताहिक ड्युटीकोरुपमा स्कुलले भाँडा माझ्ने जो सिप सिकाएको थियो, त्यो सिपलाई मैले जहाँजाँदा पनि प्रयोगमा ल्याउँथे । खाना खाइओरी केही समय खाटमा बसेर गफगाफ गरिएको थियो । मगरदाजुकोमा जस्तो तिलकदाजुकोमा अलग खाट रहेनछ । तर दुइटा खाट नभएतापनि दुईजनालाई लडिबुडी सुत्नमिल्ने साइज थियो त्यसको ।

    बिस्तरामा पस्नुभन्दा पहिले भोलि के गर्नेभन्ने ससानो रुपरेखा मैले उहाँलाई सुनाएको थिएँ— यति छिटो काम बन्छभन्ने कुरो भएन दाजु । चन्द्रबहादुरले हाइदर अलीलाई कैले भेट्ने हुन् ? हाइदरले मालिकलाई भन्लान् नभन्लान् ! मालिकले बोला तेरो मान्छेला भने न हाइदरले चन्द्रबादुरलाई भन्ने हुन् ! सो बारे मैले कैले र कसरी चाल पाउने ? यसरी पर्खेर बस्नुभन्दा बरु एकपटक २९ किलोका मास्टरलाई गएर भेटछु । चिनजान पनि हुन्च । आफ्नो बेथा पनि सुनाम् । उहाँले के भन्नुन्च ? सो कुरो सुनेर फर्किदा १९ किलो ओर्लेर चन्द्रबादुरलाई पनि भेट्चु । हाइदरसित कुरो भाको भा, सुनाउनु होला वाँले । तर त्यता जानुभन्दा पैले ३ किलो पुगेर वेदुदाइलाई भेट्चु । साथीहरूले वाँला जसरी पनि भेट गर्नु भनेर भन्नु भओच ।

    ती अनकण्टार दिनहरूलाई संझदा ती भोगाईहरू भोग्ने म आफै हुँ र मैले नै ती सबै भुक्तमान बेहोरेको हुँ भन्ने लाग्दै लाग्दैन मलाई । कुनै उपन्यासका दर्दनाक पाना पढिरहेको छु जस्तै भानहुन्छ आफ्नै भोगाइका लिखतहरू पढ्दा मलाई । कहिल्यै नभेटेका, कहिल्यै नचिनेका, कहिँकतै साइनो नजोडिएका, जातभातले कता हो कता भिन्न समुदायका मानिसहरूसँगको संगत कसरी त्यतिबिघ्न मिठासपूर्ण बन्न गयो ? सायद अनेकौं भिन्नताहरू बीचमा पनि एउटा अमृतमय सेतु थियो जो हामीसबैको बीचमा, रुग्रणाताभन्दा कता हो कता माथि सदाबहार वा छहारीदार पीपलको ओतको अर्को अवतार थियो । 

    खाट एउटै भएता पनि सिरक भिन्दाभिन्दै थिए हाम्रा । बाटोसँगै जोडिएको क्वाटर भएको कारणले गाडीहरूको आवातजावतको आवाज प्रष्टै सुनिन्थ्यो । बिस्तारै रात छिप्पिदै गयो र गाडीको आइजाइको स्वर पनि हराउँदै गयो । हामी पनि आआफ्नो सिरक भित्र गुडुल्कियौं । तिलक दाजुले बिजुलीको बुलुक अफ गर्नु भयो । 
    २०८० साउन २५
    बुटवल । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology