-दीपक विश्वकर्मा(छविलाल)
यसरी नै जीवननैया अगाडि बढ्ला भन्ने हुँदोरहेनछ । पहिलो सफरमै विशाल टाइटानीक जहाज हिमचट्टानसँग ठोक्किएला र एटलान्टिक महासागरको विशाल गहिराइमा विलाउला भन्ने कसले सोँचेको थियो ?
टाइटानीकको सुन्दरता अतुलनीय थियो । त्यसको विशालताको वर्णन दन्त्यकथाका सर्जकले फुलैफुलको पहाडको सुन्दरताको बखान गरेजस्तै लाग्छ । निर्माण कम्पनीको दावा थियो टाइटानीक कहिल्यै समुन्द्रमा डुब्ने छैन । तर कम्पनीको आकंलन सहिसाबित भएन । १५ सय जना यात्रुहरू सहित समुन्द्रमा समाहित भयो र अनेकौका सपना, विपना सहित टाइटानिकको जीवनको पनि इतिश्री भयो ।
पदमार्गको चौबाटोमा आफैले गरेको सानो गल्तीको कारणले लाक्षणिक मेरो टाइटानिक पनि समुन्द्रमा समाहित हुन पुग्यो । म बाँचे तर बाँच्नुको अर्थबिना आजसम्म जिइरहेको छु । मेरा सपनाविपनाहरू पनि त्यसरी नै विलाए, जसरी टाइटानीकका यात्रुहरूका सपनाहरू विलाएका थिए ।जीवनमा सबैभन्दा महान कुरो ज्ञान हो । जसलाई जीवनको सच्चाइको रुपमा अथ्र्याउने गरिन्छ । त्यो ज्ञान निरन्तरको साधनाबाट मात्र प्राप्त गर्न सकिन्छ । साधनाका मूल साधनहरू स्कुल, कलेज र विश्वविद्यालय वा गुरुकुलहरू हुन् ।
टाइटानिकरुपि तिनै शैक्षिक धरोहरहरूलाई लात मार्नु कै कारणले म त्यो लावारिस जस्तो जीवन बोकेर त्यो अनकण्टार जंगलमा बासको खोजिगर्दै हिड्नुको परेको थियो । अघिल्ला दुई रात बितेसरि त्यो रात पनि बितिगयो । रातीको लोकल कुखुराको झोलसँगको भरपेट भातको कारणले पनि हुनसक्छ, सो बिहान आफै नीद खुलेको थिएन मेरो । एकाबिहानै उठेर गर्नु पनि के पो थियो र मलाई ? देवदूतीय अवतार लामा बाको सुझावलाई पछ्याउँदै त्यति टाढा उमराङ्सो पुगेको थिएँ म । होटेल तथा धर्मशालामा बास नपाउँदा कस्सो आसाम पुलिसको फन्दामा जाकिएको थिइन !
त्यसपछिका घटनाक्रमहरू भने सोझिँदै गइरहेका थिए । २९ किलोवाला चन्द्रबहादुर क्षेत्रीले गतिलो आश्वासन दिनुभएको थियो । काठकम्पनीका कर्मचारी हाइदर अलीलाई भनेर काम मिलाइदिने कुरो भएको थियो तर कहिले र कसरी काम बन्ने वा नबन्ने आदिको खबर पाइने बारे कुनै कुरो भबे भएको थिएन । चन्द्रबहादुरले सजातीय २९ किलोमा पढाउने मास्टरलाई भेटगर्ने सल्लाह दिनुभएको थियो ।
त्यो सुझाव एकदमै उपयुक्त लागेको थियो मलाई र सुझाव अनुरुप मास्टरलाई भेट गर्ने मन पनि बनाएको थिएँ । तर त्यो सब गर्नुभन्दा पहिले मलाई उमराङ्सोमा टिक्ने आधार बनाउनु थियो । किनकि होटलमा बसेर काम खोज्नसक्ने मेरो ल्याकत थिएन । काम नबन्दासम्म मगरदाजुको क्वाटरमा डेरा जमाएर बस्न पनि भएन ।
अन्तत्वगत्वा उमराङ्सो बस्नसक्ने आधारको निर्माण भनेको तत्कालिन नेकपा(माले) समर्थक साथीहरूलाई भेटेपछि मात्र बन्न सक्थ्यो । तिनै समस्याको मध्यनजर शिलाङका साथीहरूले उमराङ्सोका केही साथीहरूको नाम कागजमा टिपेर मेरो खल्तीमा राखिदिनु भएको पनि थियो । दिन उज्यालियो । घामको उकालो सँगै जाडो क्रमशः कम हुँदै गयो । मगरदाजुको क्वाटर अगाडि शिलाङ उमराङ्सो हाइवे रहेकोले गाडीहरूको क्रकसध्वनि सुनिन थालिसकेको थियो ।
उठेर हातमुख धोएँ मैले ।
त्यो दिन पनि दाइले नुहाउने सुभाव दिँदै तातोपानी बनाउन समस्या नरहेको कुरो गर्नु भएको थियो । तर नुहाउने जाँगर पलाएको थिएन मेरो ज्यानमा । सामान्य शरीर पोछपाछ र दन्तमञ्जन गरेर नित्यक्रम सकेको थिएँ । उता मैले नित्यक्रम सकिसक्दा दाजुले एकचरण धन्दा पनि सकिसक्नु भएको थियो । परिवार सानो होस् वा ठूलो, सर्जाम त उही चाहिने रहेछ । मात्राको मात्र कम बेस हो । बिना दुधको चियालाई लाल चाय भनिदो रहेछ भारतीय परिवारमा । सोही लवजलाई अलिकति छोट्याएर प्रवासी नेपालीहरूको स्वादमा लालचाको स्वाद बनेको चाल पाएको थिएँ मैले ।
“नुहाएनौ कर । आऊ बस चा खाम अब । धेरै चिन्ता नगर । एउटा उपाय लाम्चन भौमानले ।” कर, भएपार, गएपार, हुन्तो, हुन्नकर जस्ता गुल्मी अर्घाखाँचीका देहाती लवजलाई मगरदाजुले बिर्सन सक्नुभएको थिएन । दाइ मेरो अवस्थाको बारेमा पूर्णतः जानकार भइसक्नु भएको थियो । नङ्पोमा रहेका बा, भाइ र श्रीमतीको दारूण चित्र उहाँको दिमागमा छाप बन्न थालिसकेको थियो । एक अन्जान विजातीय मान्छेलाई ज्वाईको मानखातिरका साथ पालिरहनु भएको थियो मगरदाजुले ।
मैले जो भोगिरहेको थिएँ, अथवा जो अवस्थाबाट गुज्रिरहेको थिएँ, त्यो सबै अवयवको जानकारी राख्ने मान्छेले ममाथि बनाउने धारणा कस्तो हुनुपर्ने ? सहजै अनुमान गर्न सकिन्छ, दाजुको ममाथिको धारण अथाह करुणाको भावधारा बाहेक अरु केही थिएन । एक मुसाफिर, फिरन्ता जोगी र टेक्ने थात नभएको मान्छेउपर आम मान्छेको धारणा त्यहाँभन्दा फरक हुने कुरो पनि भएन ।
सिंगो तीन रात, सिंगो दुई दिन सहजै बिते मेरा । त्यो छोटो समयमा श्यामश्वेत चित्रहरू पनि कोरिदै गए । तर चित्रमा कलरको मिश्रणको बिन्दु उभारमा आइसकेको भने थिएन । चन्द्रबहादुरलाई पुनः भेट गर्न कहिले जाने भन्नेकुरोको कुनै टुङ्गो थिएन । किनकि उहाँले हाइदर अलीसँग कुरो गर्छु र भन्छु भएको थियो, तर कहिलेसम्म भनेर मलाई समय दिनु भएको थिएन । यिनै कुराहरूले मलाई उद्दिग्न बनाइरहेका थिए । सोही कारणले पनि म केही मुर्झाएको, हतास र चिन्तित देखिएको चाल पाएर होला, मगरदाजुले भगवानले पार लाउने कुरो गर्दै मलाई ढाढस दिनुभएको ।
लालचा खायौं दाजुभाइ दुबैले । उहाँलाई नौ बजेतिर नै अफिस जानु पर्नेरहेछ । त्यसैले चिया पिउँदापिउँदै भान्साको काम चालु राख्नु भएकोथियो । दाउरा बाल्नु नपर्ने, मट्टीतेलवाला दमचुली नचाहिने, सबैकाम बिजुलीबाट हुने भएकाले दालभात बसालेर अरु काम गर्न सकिने ।
लालचा र बिस्कुट खाएर सकिसक्दा भात पाकिसकेको थियो । दालको भाँडो हिटरमा राख्दै दाजुले सोध्नुभएको थियो-क्यार्चौ आज ? को कसलाई भेट्ने मन बनाचौ त ? भरे बेलुकी तिलकजीकाँ जान्चौ हुन्तो ?
मगरदाजुको तिनै प्रश्नको प्रतीक्षा थियो मलाई । कतिपय कुराहरूको छिनोफानो आपसी सम्बादबाट हुँदा सहज हुनजान्छ । “हँ दाइ, म आज तिलक दाजुकाँ जान्चु । आउन भन्नु भा च । आजओ रात त्यतै बसेर भोलि बिहान वेदु दाइला भेट्न जान्चु । वेदुदाइला भेटेसी मात्र प्रेम दाइला भेट्चु । हजुर खाना खाइओरी अफिस जानुस् । म बिहानै निस्केर काँ जाम र दाइ ? उमराङ्सो हिँजै हेरियो, घुमियो । तिलक दाजु नि अफिस जानुन्च होला अब । त्याँ गएनि भेट हुन्न । बरु आज यतै १३ किलोतिर घुम्चु र बेलुकी भएसी वाँकाँ जानु पर्ला दाइ ।” मगरदाजुको जिज्ञासालाई शान्त पारेको थिएँ मैले ।
“त्यसो भा खाना खाइओरी आराम गर । १३ किलो त्यै पर त हो । दिनभर कोठाआँ बस्न नि सकिन्न । बाहिर जाँदा चावी पल्लो क्वाटरको दिदीलाई दिनु । लौ अब खाना खाम ।”
कुरैकुरामा समय गएको थाहै नहुँदो रहेछ । दालभात तरकारी पाकेर तैयार भइसकेको थियो । खाना खाइयो । खाना खाइओरी दाजु अफिसको लागि निस्कनु भयो । जाँदाजाँदै भन्नुभएको थियो— म आएर मात्र जाउला उता । छिटै गचौ भने भोलि फेरि यतै बस्न आम्नु नि ।
खाना खाएको लगत्तै बाहिर निस्कन मन लागेन मलाई । सिंगो दिन कहाँ गएर बिताउनु ? उदाउँदो र अस्ताउँदो घामको फासला निकै लामो र पटयारलाग्दो हुँदोरहेछ । त्यसकुराको भेउ मैले तिनै मगरदाजुकोमा तेस्रो बिहानको खाना खाइसकेपछि महशुस गरेको थिएँ ।
मुस्किलले १० मिनेटमा पुग्न सकिने तिलक क्षेत्री दाजुको क्वाटरमा पुग्नु थियो मलाई । बासै बस्न जान परेपछि झोलाझाम्टी बोकेरै जानु पर्यो । बिहानै झोला बोकेर हिँड्न पनि भएन । त्यसैले पनि दिनकाट्ने मेसोको लागि मनमनै १३ किलो तिर गएर रमिता हेर्ने जुक्ति निकाले र केहीबेरको सुस्तता पछि क्वाटरको चाबी छिमेकी दिदीलाई सुम्पिएर कछुवा गतिमा १३ किलोको गन्तब्य तय गरेँ ।
उमराङ्सो आएको अर्कोदिन १९ किलो जाँदा एक झलक हेरेको थिएँ १३ किलोलाई । अर्कोदिन तिलक दाजुलाई भेटगर्न जाँदा पनि सोही बाटो गएको थिए । त्यसैले पनि १३ किलोसम्मको बाटो मेरो लागि नौलो थिएन । क्वाटरबाट निस्केपछि पूर्व लाग्नुपर्ने संकेत हिजोँकोआज भुल्ने कुरो थिएन । विशाल काठका मुडा(गोलिया) तथा कोइला बोकेका भीमकाय गाडीहरूलाई साइड दिँदै म पनि तिनीहरू गएतिरै लम्किएँ । बायाँहाततर्फ विशाल जंगल रहेछ । आँखैले भेउनपाइने यति ठूलो जंगल मैले पहिलोपटक देखेको थिएँ ।
सामान्य सल्लाका रुख र साउनेको आसपास ढाँडा, रोलखोलामा धाइरो चिलाउनेका ससाना रुख देखेको मलाई ती रुखहरूसँगको साक्षतकार ताज्जुव लाग्ने खालको थियो । बाटो किनारमा थैली थैलीमा माटो भराएर बिरुवा पनि हुर्काइदै रहेछ । यद्यपि ती हुर्किदै गरेका बिरुवाहरूको बारेमा मलाई कुनै जानकारी थिएन । जंगल आफै उम्रिन्छ, कसैले खेती गरेर जंगल बनेको होइन भन्ने मेरो धारणा थियो । क्वाटरको एकडेडसय मिटर पर पुग्दा देखेको थिएँ, ससाना आसाम टाइपका घर । झट्ट हेर्दा तिनीहरू पनि मगर दाजुको क्वाटरजस्तै देखिन्थे । पाँचसात मिनेट हिँडेपछि आइपुगेको थियो १३ किलो । जहाँ जाँचपासको पर्खाइमा लाइन लागेर खडा थिए काठ तथा कोइला बोकेका विशाल ट्रकहरू । अनकण्टार जंगलको बीचमा त्यो स्तरको चहलपहल किन छ ? मेरो दिमागमा घुसिसकेको थिएन । चहलपहलको कुरो भन्दा पनि सो ठाउँमा नेपालीहरूको चहलपहल देखेर म अचम्मित भएको थिएँ । चल्तीको एउटा होटेल रहेछ, जहाँ विभिन्न प्रकारका रक्सीका बोत्तलहरू बाहिरैबाट देखिनेगरि लहरै राखिएको थियो । सो होटेलमा पनि नेपालीहरूको नै चहलपहल देखिन्थ्यो ।
पानतामुलका दोकान रहेछन् लहरै । लामो टहरोजस्तो घरमा सञ्चालित थिए सबै दोकान, होटेलहरू । पहिलोपटक असमीया भाषामा मान्छेहरूले एकआपसमा कुरोकानी गरेको पनि देखेँ सुने मैले ।अघिल्लोदिन तिलक दाजुको खोजीमा यहि बाटो भएर गएको हुनाले धेरै कुराहरूसँग परिचित भइसकेको थिएँ । सबैभन्दा ठूलो कुरो त, नेपालीहरूको त्यो स्तरको चहलपहलले ममा एकसाथ आत्मविश्वास पलाएको थियो । धेरै कुरा सोँचेको थिइन । मात्र सोँचेको थिएँ—लामा बाले यति टाढा अनकण्टार जंगलमा त्यसै पठाएका होइन रहेनछन् मलाई ?
भरदिन नै बिताएको थिएँभन्दा पनि हुन्छ मैले १३ किलोमा । हर एक मान्छेको गतिविधि नियाँलेको थिएँ । हर गाडीका ड्राइभर, खलासीहरूले गर्ने कामलाई नियालेको थिएँ । वनको अफिसबाट कागजात पास गराएर आउने र गोलियामा मोहर लगाउने प्रक्रियालाई गौरका साथ नियालेको थिएँ । सबै जाँचपास भइसकेपछि गेटमा बाधिँएको लामो बाँसको छेकबार कसरी खोलिन्छ भन्ने बृतान्तको जानकारी लिएको थिएँ मैले ।
१३ किलोको तमासा हेरेरै बिताइदिएँ मैले सारा दिन । सो सबै गतिविधिलाई यसहिसाबले पनि चाख दिएर हेरेको थिएँ कि लामा बाले मलाई काठ कम्पनीमै काम गर्न पठाउनु भएको थियो । यता चन्द्रबहादुरले पनि “तिमीले काम गर्ने भनेको मोहरीको हो” भन्नुभएको थियो । सो दिन मैले मोहरीको अर्थ बुझेको थिइन । गोलियाको नापजाँच, वन कार्यालयको मोहरको ठोकाइ, कागजको मुठोलाई गेटमा दाखिला, सबै गतिविधिले संकेत पाएको थिएँ, मोहरीले गर्ने भनेको त्यस्तै त्यस्तै काम होला ।
अन्दाजी तीन, साडेतीन बजेतिर मगरदाजुको आउने बेलाको अन्दाज गर्दै १३ किलोको तमासालाई थाति राखेर उहाँको क्वाटर तिर फर्के म । दिनमा न्यानो अनुभव भएको थियो । त्यसैले जाकेट उहाँको क्वाटरमा छोडेर गएको थिएँ । घामको ओरालोसँगै बिस्तारै जाडोको पारो पनि चढ्न थालेको थियो । तीन किलो तिरबाट आउँदै गरेका ट्रकहरूलाई दाहिना पार्दै दाइको क्वाटर फर्किएँ म ।
दाइ क्वाटरमा आइसक्नु भएको रहेछ । उहाँलाई देख्नासाथ हतार हतार रिपोर्ट बुझाइ हालेको थिएँ—“तिलक दाजुकोमा छिट्टै गएर के गर्नु ? म त १३ किलो मै दिन बिताएँ दाइ । वाँको अफिस नि बन्द हुनि टाइम भो । अब त गए नि हुन्च होला ।” भएको एउटा झोलामा तुथब्रस, तुथपेस्टलाई हाल्न बिर्सिन मैले । तिलक दाजुकोमा जाँदा रहलपहल सामान मगरदाजुकोमा छोड्दा पनि हुन्थ्यो, तर त्यसो गर्न मन लागेन । उहाँलाई कत्ति दुःख दिनु ? आफ्नाले नगर्ने सहयोग गर्नुभयो । यहाँभन्दा धेरै दुःख दिनुहुन्न । अब नयाँ उपाय खोज्नु पर्छ । सायद त्यहि सोँच मेरो मनमा आएको हुनसक्छ । सोही सोँचको कारणले पनि होला, सबै सरसामान पोको पारेर मगरदाजुसँग बिदाबारी भएको थिएँ ।
“छिट्टै काम बनो र फक्र्याै भने जे जे हुन्च, के के गर्न पर्च मलाई भनेर जानु नी । अफ्ठेरो परे दुःख नपाउनु, जाँ गएनि बास बस्न यहि आउनु । लम्फु(नङ्पो) फर्किदा पसेर जानु । अब आउँदाजाँदा होटेल खोज्न पर्दैन ।” अहो ! मान्छेको मन ! कतिपय मानिसहरू कति विशाल मन लिएर जन्मिन्छन्, जसको मापन नै गर्न सकिँदो रहेनछ । एक अन्जान बटुलालाई जीवनको भरोषा दिलाउनु जस्तो महान काम अरु के हुन सक्छ ? मगरदाजु मेरा जीवनका पालक मात्र होइनन् आजको यो घामछायाँको जग समेत हुन् ।
म सवार टाइटानिक जहाज हमेशाको लागि विशाल समुन्द्रमा समाहित भएको थियो । तर केही नाविकहरूले मलाई हातको सहारा दिएर उद्दार गरे, बचाए भनौ जिवनको भिख दिए । ती उद्दारकर्तामध्य एक थिए उमराङ्सोको सुनसान रातमा भेटिएका अर्घाखाँची घरहुने एक परियार आमभाषामा सम्बोधन गरिने दमाई थरका विशाल मनका धनी ती मगरदाजु ।
मगरदाजुसँग बिदा होइओरी म तिलक दाजुको क्वाटरमा जानको लागि विदा भएर निस्किएँ । “अस्तिको बाटो जाऊ, नजिक पर्च ।” “हस् दाइ, त्यहि गर्चु ।” दाजुलाई जवाफ फर्काउँदै पहिलो रात उहाँले बोकेर ल्याएकै बाटोहुँदै बजार तिर निस्किएँ । म ओझेल नपर्दासम्म मलाई हेरिरहनु भएको थियो दाजुले आगनमा उभिएर । उहाँको बगलमा उभिएकि थिइन, छिमेकी क्वाटरकी सानी छोरी ।
२०८० साउन ११,बुटवल
२०८० साउन ११
बुटवल
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)