Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उमराङ्सोमा तेस्रो रात

उमराङ्सोमा तेस्रो रात

  • 1.7K
    SHARES

  • उमराङ्सोमा तेस्रो रात

    -दीपक विश्वकर्मा(छविलाल)

    सुदूर अतित जसलाई खोतलेर हेर्दा यस्तो लाग्छ, वर्तमानमा म जहाँ बाँचिरहेको छु, निःशन्देह स्वर्णीम जिन्दगी जिइरहेको छु । अनेकौ संभावनाका ढोकाहरू हुँदाहुँदै मैले अनकण्टार बाटो रोजेको थिएँ, त्यसमा जीवित दुई तथ्यहरू विद्यमान रहेका छन् । पहिलो थियो मैले पार्टीसँग प्रदेश लागेर गायव भएका पिताजीलाई नेपाल फर्काउने जो वाधा गरेको थिएँ, त्यो पुरा गरेँ ।

    अर्को थियो घरबारी लिलाम हुन दिन्न, सरकारी ऋणधन मिलाउँछु र त्यति काम सकेपछि नेपाल फर्किन्छु । पछिल्लो कार्य सम्पन्न गर्न जुग लाग्यो मलाई । यद्यपि त्यो बाचा पनि पुरा गरेँ ।आर्थिकपाटोसँग जोडिएका सबै पाटाहरूलाई साम्य पारेँ । तर एउटा प्रतिज्ञामा भने च्युत हुनपुँगे । त्यो थियो दुई वर्ष भित्रैमा उपरोक्त सबै काम सकेर नेपाल फर्किने र पार्टीमा पूर्णकालीन रुपमा पुनः जोडिएर काम गर्ने । त्यो बाचा पुरा गर्न सकिन । त्यहि पुरा गर्न नसकेको बाचाका साथ पार्टीलाई लगानी गरेको मेरा सबै पसिना  पानीसरह भए र म आसामबाट फर्केर आएको लाहुरेमा रुपान्तरण हुन पुगेँ ।

    पार्टी, साथीहरू र अनिताजीलाई समेत जाहेर नगरेको अर्को कुटिल योजना पनि संयोजित थियो भित्री मनमा । त्यो थियो, सकेसम्म बालाई फर्काउन सकेपनि आफु नेपाल नफर्किने र शिलाङका कुनै कलेजमा भर्ना भएर छुटेको पढाइ पुरा गर्ने । यद्यपि त्यो सोँच मेरो बचकना सोँच थियो । साँच्चै भन्नेहो भने त्यो सोंचलाई हावादारी सोंच पनि भन्न सकिन्छ । बालाई नेपाल फर्काउन धन चाहिन्थ्यो, बालाई फर्काएर मात्र हुँदैन थियो । घरको यावत चाँजोपाँजो मिलाउनु पर्थ्यो । त्यसको लागि पनि धन नै चाहिन्थ्यो । हामी बुढाबुढी शिलाङमा बस्नखान पनि धन नै चाहिन्थ्यो । धनको लागि गतिलो नोकरी अथवा कुनै भरपर्दो व्यवसाय चाहिन्थ्यो । जो मसँग थिएन । ती अभाव र कठिनाइको बीचमा पनि सो किसिमको शिशमहलको परिकल्पनालाई हावादारी सोंच नभनेर के भन्ने ? 
    र पनि मैले जहिल्यै उडानयुक्त सपना देँखे । जहिल्यै धनैधनको कन्तुर बोकेर यात्रा गरेको सपना देखेँ । जहिल्यै लचकदार बिस्तरामा सुन्दर सपनाहरूले घेरिएर निदाउँदै जीवनमा सुनौलो बिहान झुल्किने आशामा लोटपोट भएँ । एक मुसाफिर जोगीकोरुपमा फिरन्ता जीवन जिइरहेको अवस्थामा पनि हिम्मतै हिम्मतको सो प्रकारको उम्मिद मनमा राख्न कसले सिकायो मलाई ? यसको उत्तर भने म आफैसँग छैन । 

    तिलक क्षेत्रीदाजुसँग विदावारी भएपछि उही कछुवागतिमा पाइला सार्न थालेँ म । अलिकति माथि पुगेपछि दाहिने मोडिएर ससानो कल्भर्ट पार गरे । उमराङ्सो बजार र नेप्को कोलोनीलाई ससानो सिमसारले छुट्याउँदो रहेछ । थोरै उकालो उक्लेपछि दोबाटो आएको थियो । त्यहाँबाट दाहिना मोडिएर अगाडि बढ्दा बाटोमाथि लहरै आसामटाइप घरहरू भेटिएका थिए । सबै घरहरूको बनोट एकसमान थियो । सबैभन्दा किनार वा अन्तिमको क्वाटर मगरदाजुको क्वाटरसँग म परिचित भइसकेको थिएँ । त्यो मेरो उमराङ्सोको दोस्रो दिन र तेस्रो रात थियो । होटेल र पौवामा बास नपाएको म नाथेलाई ज्वाईको हिसाबले स्वागतको मौका जुरीरहेको थियो । त्यो तीन रात होटेलमा बस्नुपरेको भए, मामुली पचाससाठीको हिसाबले पनि डेडदुईसयको आसपास खर्च भइसक्ने थियो । बीसपच्चीस रुपैयाँमा मासुभात पाइने जमाना थियो त्यो ।

    गोडा पाँचेक रुपैयाँमा पेटभर नास्ता पाइथ्यो ।पोखरा छोडेर मेघालय पस्दाताकासम्म पनि होटेलमा बासबसेको अनुभव भने थिएन मसँग । लिली होटेलमा बेड पाइएको भए, साथीहरूको संगत नजुरेसम्म बस्दा सय आसपास खर्च अवश्य हुने थियो । कल्पनातित आवेगमा रमाउँछु म कहिलोकाँही । होटेलमा बेड खाली नहुनु, कालीबाडी धर्मशालाको रखवालाले थरको अड्को थापी बास नदिनु, बाटोमा भौतारिँदे हिँडेको मुसाफिरलाई उद्दार गर्न मगरदाजुजस्ता परोपकारी मान्छे अवतरित हुनु, उनले आफ्नो सरकारी क्वाटरमा लगेर पाहुनाको सत्कारसिहत न्यानो सिरकामा लुटपुट हुन दिनु । ती यावत कुराहरू हामी बसेको, बसेर बेहोरेको समाज पुराका पुरा गएगुज्रेको नहुनुका प्रमाणहरू थिए । तिनै प्रमाणहरूले मलाईलाई कहि न कहिँ कतै न कतैबाट जीवनको गोरेटो प्रदान गरिरहेको थियो र छ ।

    मगरदाजुको क्वाटरमा पुग्दा बत्तीबाल्ने बेला भइसकेको थियो । महिना पुष अथवा माघमध्ये कुनै एक थियो, यसै पनि दिन छोटा हुने महिना हो पुषमाघ । त्यसमा पनि सुदूरपुर्व भारतको एक छेउँ हो उमराङ्सो । घडीको हिसाबले घाम छिटो उदाएर छिट्टै अस्ताउने । दाइले आफ्नै धुनमा काम गर्दै हुनुहुन्थ्यो । काम भनेको उही भातभान्साको कै हुने भयो, बेलुकी भएपछि । म बरण्डामा खुट्टा के राखेको थिएँ सोधिहाल्नु भयो— भेट्टे त तिलक क्षेत्री ? मलाई पनि आजको कार्यविवरण दाजुलाई कतिबेला सुनाउँ सुनाउँ भन्ने भइरहेको थियो । निमेष ढिलो नगरेर भनिहालेको थिएँ— भेट भो दाजु ।

    निकै फरासिला हुनुन्दो रच । बिहाना वाँ अलि हताराँ हुनुन्थो, धेरै कुरा गर्न पाइएन । वाँला अफिस जानु पर्ने । अफिस नि क्वाटरसँगै जोड्डेको तालेघर रच । एकछिन कुरो गरेर वाँ अफिस लाग्नु भो । म नि दिनभर बजार घुमे पो दाजु । थानातिर भने गैन । अरु बजारतिर, कालीबाडी, बसपार्क सप्पै घुमेर टाइम पास गरेँ । वाँको अफिस सकिने बेलाँ टुपुक्क पुगेँ र सबै बताएँ । चिया बिस्कुट खाएँ । आज उतै बस्न कर गर्नु भा थ्यो । बसिन । भोलि आउँचु भनेर आएँ दाइ । 

    बास्तबमा म परिस्थितिको दासमा रुपान्तरण भइसकेको थिएँ । अवस्था नै त्यस्तै सिर्जना भएको थियो कि कसैको आडभसोषा बेगर म चल्न सक्ने अवस्थामै थिइन । एकप्रकारले दयाको पात्रकोरुपमा खडा थिएँ म । रात बिताउन बास दिनुपर्ने, पेट भर्न पाको गास दिनु पर्ने, यता जाउ, उता जाउ, फल्नासँग हात जोर, अनुनयविनय गर, उसको मनमा दया जाग्योभने बेडा पार हुनसक्छ । अलिकति पनि अहं, थोरैपनि बडप्पनले मेरो बेडा भूमरीमा फस्नेमात्र होइन, समुन्द्रको अथाह गहिराइमा हमेशाको लागि डुब्न सक्थ्यो र त्यो संभावना पुराकापुरा सत्य थियो ।

    त्यो रात मगरदाजुले कुखुराको मासु ल्याउनुभएको थियो । बुच्चडखानाबाटै काटकुट गरेको मासु पाइँदो रहेछ उमराङ्सोमा । जीउँदो किनेर घरमा ल्याएर काट्नुभन्दा कता हो कता सजिलो हुँदोरहेछ, बजारबाट काटेको मासु ल्याउँदा । “भाइला मासु ख्याम्ने हो आज भनेर” दाइले मलाई स्वागत गर्दै भन्नुभएको थियो । “लौ बस, म सधैको एक्लो मान्छे, छिटो पकाउने छिटो खाने छिटो नै सुत्ने बानी छ मेरो । धन्न अस्तिको रात खाना खाइवोरी एसो बजार घुमुम् भनेर निस्किनाले तिमीसित भेट हुन पाओ । मसित भेट नभएको भा, काँ बस्दा हौ ? मेरो मनाआँ त्यै आइरन्च भाइ ।” दाइले अस्तिको जम्काभेटलाई कुरैकुरामा ताजा बनाइदिनु भयो । त्यो बिपत सम्झेर म पनि झसंग भए । 

    “हो दाजु हो । तिलक दाजुको क्वाटर पारगरेसी १३ किलो आम्दासम्म घर रैनचन । पुरैबाटो सुनसान । बाटैमा सिंगो पुलिस थाना रच । त्याँ रातीयाँ पुलिसको पहरा हुन्च होला । थाना पारभएसी १३ किलो आम्दो रच । १३ किलो तल त घर नै देखिन मैले । अहो दाजु ! त्यो रात म बासको खोजीमा काँसम्म पुग्दो हुम् ? भो कुरो नगरम दाइ । मनै जिरिङ्ग हुन्च ।” मेरो कुरो सुनेर दाइ हल्का मुसकुराउनु भएको थियो र भन्नु भएको थियो— आ ! भाइ । यस्ता दुःख त कति पर्चन् कति । मैले नि कम्ता दुःख पाएको थिइन यता आउदाका दिनाआँ । धन्न नेप्को कम्पनी खुलो र काम पाइयो । नत्र कोइलाखानीमा बास हुने” । आफ्ना विगतका दुःखका दिनहरूको बारेमा बताउँदै दाजुले मेरो मनलाई ढाडस दिनु भएको थियो ।

    कुरैकुरोमा दाजुले कुखुराको मासु पकाएर तैयार गर्नु भयो । मरमसलाको मगमगले कोठै बसाएको थियो । मासुको झोल भएपछि दाल किन चाहियो ? त्यो रात दाजुले तिउनतरकारी बनाउनु भएको थिएन । “जाडो छ भाइ, आज झोलसित भात खानी है । पर्देश लागेसी वितरा परिन्छ । नेपाली दाजुभाइ भन्नुमात्रै हो । कतै बासबस्न पुग्एम् भने पहिल्यै थरी सोध्चन् । जातथर ढाटेर साध्य हुन्न भाइ । ढाँटेर एक्थोक बताओ, फेरि गोत्र सोध्च । कैरन सोध्च । बिराइयो भने फसिन्च । ए ! फल्ना त हाम्रा नाता हुन् नि, चिन्चौ ? भन्न थाल्च । त्यसै दमाई भर नि मगर लेखाको हुम् र मैले मेरो अफिसाँ थर भाइ ?” दाजुको कुरो सुनिसकेपछि मैले अनुमान गरेँ—जातको पीडाले मगरदाजुलाई पनि खाएको रहेछ कतै न कतै ।

    “एउटो कुरो सोधुम् भाइ ।” दाइले कराइको मासुलाई हिटरबाट टेबलमा राख्दै भन्नुभयो । तिलक क्षेत्री क्षेत्री नै भए । उनी उपल्लो जाति नै हुन् । प्रेम दाइ लामा भएपनि ठूलैजात हुनुभओ । बेदुदाइ झन् बाहुन हुनुभो । नातापाता पर्ने कुरो नि भन । तिमी र म पो एकैभेकका परेम, गुल्मीअर्घाखाँचीका । जात नि नजिककै परिम । वाँरु त कोइ पुर्वको, कोइ काँ को कोइ काँ को । कसरी भेटघाट गर्ने कुरो भओ त भाइ वाँरु सित ?”

    बास्तवमा मगरदाजुको त्यो प्रश्न नभएर जिज्ञासा थियो । हुन पनि नेपाली समाजले कर्मसँगै आफ्नो सभ्यता, संस्कृति, लवाइखवाइ, रीति, थिति यवात् कुराहरू डोकोमा बोकेर आसाममेघालयका कुनाकाप्चासम्म पुगेको छ । जातको गहिरो धब्बा त मैले नङ्पोको मकैबारी र खुद नङ्पोमा पनि देखेको हुँ । नङ्पोले मलाई त्यो हदसम्म सामाजिक स्वीकार्यता प्रदान गर्‍यो, जुनहदसम्म कार्लमाक्र्सको वैचारिकीको रोसनीले ती व्यक्तिहरुलाई  छोएको थियो, जसले मलाई गासबास दिए ।

    उहाँहरू जो  भाकपा(माले), नेकपा(माले) सँग आवद्ध हुनुहुन्थ्यो, वैचारिकरुपमा परिपक्क नभएता पनि कम्युनिष्ट सिद्धान्तले जात मान्दैन र मान्नहुन्न भन्ने विचारले निर्देशित हुनुहुन्थ्यो । जो विशुद्ध सामाजिक जीवन जिइरहेका थिए, उनीहरू अंजुलीमा सुनपानी बोकेर नै आसाम मेघालयको कुनाकुनामा पुगेका थिए ।

    मकैबारीमा मेरो जन्मगाउँ भाडगाउँकै एक खप्तरी आमै थिइन् । बा र उनी उमेरले समवय थिए, तर व्यवहार, सम्बोधनमा बासँग उनी तँ तँ र म म गर्थिन् । चियाचमेना खाइसकेपछि भाँडा पखाल्न लगाउँथिन् । यद्यपि त्यसप्रकारको विभेद सामाजिक क्वीकार्यता सँगैको विभेद थियो । बासँग कहिलेकाँही खप्तरीआमैको घरमा गएर फर्किने बेलामा सिल्डीको जगभरी मइ दिदै भनेको देखेको थिएँ- ला माइला, लैजा बुहारीले खाली । त्यस्ती पुतलीजस्ती बुहारी पाओछस्। 
    मगरदाजुको जिज्ञासाको माने थियो । अर्थ थियो । र मैले केही न केही जवाफ दिनु नै पर्ने थियो । तदनुसार कुरालाई बटार्दै भनेको थिएँ—“वाँरु शिलाङ आइजाइ गरिरहनु हुँदो रच दाइ । जाँदाआउँदा शिलाङेसाथीरु सित दोस्ती बनेच । शिलाङमा मेरा नि आफन्त छन् । त्यै जाँदाआउँदा वाँरुसित चिनजान भओ । यता कामको खोजीयाँ आउने कुरो सुनेसी नामठेगाना देर पठाउनु भओच । एकजनालाई भेँटे, दुईजनालाई नि भेट्चु दाइ ।”

    कम्युनिष्ट पार्टीमा लागेर काम गर्दा सहजीवनको महत्व मात्र सिकिएको थिइएन, कार्यशैली गोपनीयताका कुराहरू पनि सिकिएको थियो । दुई दिनको संगतको दौरानमा उहाँसँग भएका कुराकानीको आधारमा मुल्याङ्कन् गर्दा उहाँ कुनै राजनीतिक पार्टीसँग आवद्ध भएजस्तो लागेको थिएन मलाई । जोगीको भेषमा भिक्षा माग्दै भौतारिएको मुसाफिरले सुहाउँदै नसुहाउने पार्टीको कुरो गर्नु पनि थिएन मलाई । गोलमटोल कुरा गरेर उहाँको जिज्ञासालाई सान्त पारेको थिएँ मैले ।

    दाइले पस्किनु भएको थियो थालैभरि भात र एक बटुको निख्खर झोल सहितको कुखुराको मासु ।“ थपेर खानी नि भाइ । आफ्नै दाइ सम्झ मलाई ।” साँच्चै थपेर खाएको थिएँ मैले भातमासु दुबै । खाँदाखाँदैको दाइको अन्तिम प्रश्न थियो— भोलि क्यार्च्यौ त भाइ ? अब कस्लाई भेट्ने बिचार गर्‍या चौ ? उता नङ्पोआँ कतिबेला आम्च भनेर गाडी कुरेर बसेया होलान् ।”

    मैले उमराङ्सोको चककर लगाउँदै गर्दागर्दौ भोलिको कार्ययोजना मनमनै बुनिसकेको थिएँ । मगरदाइलाई नसुनाएर कसलाई सुनाउने ? तुरुन्तै जवाफ फर्काएको थिएँ— भोलि एक रातको लागि भएनि तिलक दाजुकाँ बस्न जान्चु दाजु । आजै बस्न भन्नुभको थ्यो । बसिन । भोलि तिलक दाजु । वाँ काँ एकरात बसेसि वेदुदाइला भेट्न जान्चु पर्सि । प्रेम लामा दाइलाई नि भेट्नुच । त्यस पछि के हुन्च ? हेरौ दाजु ।

    आतै कमाउने उमराङसोको जाडोलाई त्यो रातको कुखुराको झोलले थामथुम पारियो । र भोलिको सुनौलो दिनको पर्खाइमा सपना बुन्दै दुबै दाजुभाइ सिरकको ओत लागियो । मनका सबै क्लेसहरूलाई थाँती राखेता पनि निदको पर्खाइमा धेरैबेर कुर्नु पर्‍यो मलाई । निदले कतिबेला आएर गाँज्यो, थाहा पाउने कुरो भएन, अर्को दिन बिहान मगरदाइले जगाएपछि बल्ल होस् खुल्यो ।
    बाहिर उहि आँत कमाउने जाडोको साम्राज्य थियो । 
    २०८० साउन ५, 
    बुटवल । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology