Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आकार लिँदै गरेका श्यामस्वेत चित्रहरू

आकार लिँदै गरेका श्यामस्वेत चित्रहरू

  • 1.6K
    SHARES

  • आकार लिँदै गरेका श्यामस्वेत चित्रहरू

    -दीपक विश्वकर्मा(छविलाल)

    २०४० सालको असार महिनामा मेघालय पस्दा सोँचिएको थियो, एकाध वर्षमै बालाई घर फर्काउन सकिन्छ । पार्टीमा मैले समयसीमा तोकेर दुई वर्षको छुट्टी लिएको थिएँ । यद्यपि पार्टीमा रहेको मेरो सहभागिता सरकारी नोकरी जस्तो थिएन र हुने कुरो पनि भएन । पार्टीको काम भावनात्मक वा उत्सर्गको काम हो, जहाँ प्रतिवद्धताको प्रचुर आवश्कता पर्छ । अथक क्रान्तिकारीहरुलाई सोही भावनात्मक लगाव, प्रतिवद्धताले कहिलेकाँही सहादतको विन्दुसम्म पु¥याएको समेत देखिएको छ । 
    पार्टीमा काम गर्दैजाँदा कहिलेकाँही व्यवहारिक कठिनाई उत्पन्न हुन्छन् ।

    मेरो हकमा साइलोभाइले पठाएको पारिवारिक विछिन्नताको दर्दनाक कथा बोकेको चिठीले मेरो पार्टी, क्रान्ति हुँदै जनवादी सत्ता प्राप्तिको भावनात्मक उत्सर्गलाई पछाडि पा¥यो र बालाई खोजेर नेपाल फर्काउने नाममा मेघालय नपसिनहुने अवस्था आयो । असार महिनामा मेघालय पसेको मान्छेले पुषमाघसम्म धनपैसा कमाउने बहानामा जेजति काम गरिएको थियो, ती कुनै पनि काम सार्थक भएनन् ।  नङ्पो पुग्नासाथ पहिलो काम बाको आरनलाई मकैबारीबाट नङ्पो स्थान्तरण गरियो । खसियाहरूले घरघरमै बुनेर हाटबजारहरूमा बिक्रीका लागि पु¥याउने नागाच्यादरको देखासिकी तानका सरसामान किनी लगाएरु च्यादर, झोला बुनियो । तान बुन्न किलो गाड्दा हातको औलो किचिमिची भएको कारणले सो धन्दालाई पनि पाखा लगाइयो ।

    पछि आधुनिक कृषि औजार कारखानाको चक्करमा फसेर दुईचार महिना बिताइयो । सो उद्योग सञ्चालन गर्न पूँजी चाहिने, सोही पूँजीको चक्करमा पेँगाली महाजन विष्णु पाण्डेसँग हात जोर्न पुगियो । उहाँलाई बैंकले मागेको जमानत बसिदिन आग्रह गरिएको थियो । उहाँले सुरुमा आश्वासन त दिनुभयो, पछि बैंकमा गइदिनु भएन । अरु जमानत बसिदिने मान्छे पाइएन र अन्ततः बाको आरनलाई नै मुक्तिको विकल्प ठानेर घन ठोक्न थालियो । सोही घन ठोकाइकोक्रममा अवतारी देवदूत लामा बा दाउ अर्जाप्ने निहुमा टुपुक्क आरनमा पदार्पण हुनु भई मलाई उमराङ्सोको बाटो देखाइ दिनु भयो । उमराङ्सो जानुभन्दा पहिले सो ठाउँमा पार्टी सम्पर्कमा रहनुहुने साथीहरूको नाम शिलाङका साथीहरूले उपलब्ध गराउनु भयो । र त्यही सम्पर्क शुत्र र लामा बाले सुझाउनु भएको सम्पर्कका मानिसहरूको खोजीमा त्यो तेश्रो रात म उमराङ्सोमा बिताउँदै थिएँ ।  

    लामा बाले टिपाउनु भएको खास नाम थियो, चन्द्रबहादुर क्षेत्री । उहाँलाई मैले दुई दिन पहिले नै भेटेर सबै बृतान्त सुनाइसकेको थिएँ । चन्द्रबहादुरले काम पाइने, तर समय लाग्ने कुरो भन्नुभएको थियो मलाई । साथै उहाँको  गहन सुझाव थियो, २९ किलो गएर सुनार थरका मेरा सजातीय मास्टरलाई भेट गर्ने । चन्द्रबहादुरको सुझाव एकदमै उपयुक्त थियो । तर पनि पहिले शिलाङका साथीहरूले टिपाउनुभएका माले समर्थक साथीहरूलाई भेट गर्ने मैले मन बनाएको थिएँ । उहाँहरूले उपलब्ध गराउनुभएको तीन जनाको नामहरू मध्येको एक नाम थियो तिलक क्षेत्री । जोसँग बसेर जीवनका तितामिठा दुखेसाहरू सुनाएँ र केहि हल्का भएँ म । उमराङ्सो पुग्दाको रातको यथार्थ विवरण पनि रिठ्ठो नबिराइ सुनाउन पुगेँ । मेरो कुरो सुनेर उहाँले सुस्केरा हाल्दै उमराङ्सो पुलिसको बर्बरताको बारेमा बताउँदै भन्नु भएको थियो— धन्न मगर भेटिएछन् ।

    अलि अगाडि पुगेको भा थाना आउँथ्यो । नयाँ मान्छे रातको बेलामा त्यसरी लुखुरलुखुर हिँडेको फेला पारेको भा, थाना भित्र हुल्थ्यो र नाङेझार पाथ्र्यो । धन्न बच्नु भएछ ।  मगरदाजु र तिलक दाजुको आसाम पुलिसबारेको मलाई सुनाइएको कथन एउटै थियो । सन् ४० मै आसामबाट विदेशी भगाउ आन्दोलनले उग्ररुप लिइरहेको थियो । पहिलोपटक मेघालय आउँदा म जलपाइगुडी र न्यू बोगाइगाउँबाट धन्न वापस सिलिगुडी फर्काइएको थिएँ । तिलक दाजुले “धन्न बच्नु भएछ” भन्दै कुरोको बिट मार्दा मेरो आङबाट चिसा पसिना निस्केका थिए ।  महिना पुष या माघ यस्तै थियो । उमराङ्सोमा सो बेला खपिनसक्नु जाडो हुँदोरहेछ ।

    छोटा दिन भएकाले घाम पनि अस्ताउने सुरसारमा थियो । लिली होटेलको अलि दक्षिण तिरबाट घाम अस्ताउँदो रहेछ । अफिसले उपलब्ध गराएको सो एकछाप्रे क्वाटरमा तिलक दाजु एक्लै हुनुहुन्थ्यो । पारिवारिक कुरो सोध्न मन लागेन मलाई । सामान्य एउटा खाट, जसरीतसरी भित्तामा झुन्ड्याइएका कपडा, खाना पकाउने एउटा टेवल, सोही टेवल माथि थियो मट्टीतेलबाट आगो बाल्ने दमचुलो (स्टोभ)। छाँयाचित्रले प्रष्ट्याइरहेको थियो दाइ एक्लै बस्नुहुन्छ भन्ने कुरो । त्यहि भएर परिवारको बारेमा सोध्न मन गरेको थिइन मैले । 
    कुरै कुरामा समय वितेको थाहै भएन । साँझ पर्न थालेपछि उहाँले नै कुरो निकाल्नु भएको थियो— झोला उता रहेर केही हुन्न । आज एतै बसम् भो भाइ । खाना पकाउन थाल्छु म । “भो दाइ, आज उतै जान्छु । मगरदाजुसँग हजुरलाई खोजेर आउने कुरो गरेको छु । बरु भोलिको रात हजुरसँग बस्न आउँछु । दुईचार दिन यतै बस्नु पर्लाजस्तो छ । आइयो आइयो कामको मेसो मिलारमात्र नङ्पो फर्किने हुम् दाजु म ।” तिलक दाजुसँग मनको बह पोखेको थिएँ मैले ।

    यी कथन, परिस्थिति र अवस्थाहरू मेरा अपरिहार्यताहरू थिए । तिनै अपरिहार्यताहरू बीच म एक निरीह दुश्मनको चक्रब्यहमा फसेको सिपाही जस्तो अवस्थामा थिएँ । गुल्मीको तम्घास स्थित महेन्द्र माविमा पढ्दाताकाको गुरुहरूको चहेता छात्र, तत्कालिन समयको राष्ट्रिय स्तरको स्कुल गण्डकी आवासीय स्कुलको  एक होनहार उपज, पार्टीको ४ वर्षे भूमिगत बसेको प्रतिवद्ध कार्यकर्ताजस्ता कुनैपनि गौरवगाथा मेरो साथमा थिएनन् सो बेला । साथमा थियो त, पारिवारिक बेहाल अवस्था, पारिवारिक अवस्थामा पनि जुन समयमा पनि सन्तानको आमा बन्नसक्ने अवस्थाकी जहान, सो अवस्थाबाट जसरी पनि उम्किनु पर्ने अर्को अपरिहार्य परिबन्ध ।

    “हँ दाजु, तील कार्कीदाइहरूले अरु दुईजना साथीहरूको नाम पनि दिनु भएको छ । वेदुराम शर्मा र प्रेम लामा दाइ । उहाँहरूलाई हजुरले चिन्नुहुन्छ होला ।” दाजु तिलक लगायत उहाँ दुबैजना पार्टी समर्थक कमरेडहरू भएको कारणले मैले दुबैको नाम लिएको थिएँ । भिन्दाभिन्दै क्षेत्रमा कार्यरत रहेता पनि एउटै पार्टीको समर्थक वा कार्यकर्ता भएको कारणले आपसमा चिनजान हुनुपर्ने मेरो अडकल थियो । तिलक दाजुले कुनै आश्चर्य नमाने रै भन्नुभएको थियो— चिन्छु नि, किन नचिन्नु ? अफिसको व्यस्तताले संगठनको काम गर्न त भ्याइन्न । तर हाम्रो भेट हुन्च । शिलाङतिरको खबर, नेपालको हालखबर उहाँहरूबाटै पाउने हो । प्रेम दाइ त अफिसकै काम गर्नुहुन्च, वेदुदाइ भने गाडी चलाउने भएको हुँदा अफिसको काममा शिलाङ गैरहनुन्च । वेदुदाइलाई धेरैजसो शिलाङ गरमपानी गर्दा नै ठिक्क हुन्च । नेप्कोको हाकिमको गाडी चलाउनु हुन्छ नि ।” तिलक दाजु दुबैजना दाइहरूको बारेमा स्पष्ट पार्नु भयो ।

    यद्यपि मगरदाइले पनि वेदुदाइहरूसँग एउटै कम्पनीमा काम गर्ने भएकोले चिनेको कुरो गर्नुभएको थियो मसँग । तर मगरदाजुसँगबाट प्राप्त जानकारी भन्दा तिलकदाजुबाट प्राप्त हुने जानकारीमा धेरै फरक हुन्थ्यो । किनकि उहाँहरू तत्कालिन नेकपा(माले)को भातृ संगठन अखिल भारत प्रवासी नेपाली संघसँग आवद्ध हुनुहुन्थ्यो ।

    “वाँरुलाई पनि भेट्न परो । आइसकेपछि सबैला भेट्दा कामको मेसो मिल्ला ।” जताबाट कुरो गरेपनि मलाई कामकै चिन्ता थियो । यताको कुरो गरे पनि काम, उताबाट कुरो गरेपनि काम, म कामको पासोमा यसरी फसेको थिएँ कि थोरै पनि यताउता हुने हो भने, डोरी घाँटीमा कसिएर एकबारको त्यो मनुख्खे चोला चट हुनेवाला थियो । जताबाट कुरो गरे पनि काम कै गौडोमा लगेर कुरो बिसाउने बानी परेको थियो मलाईतिलकदाजुको अगाडि फेरि निरीहता प्रदर्शन गरेँ मैले । दुबै दाजुहरूको बारेमा मगरदाजुले भनेका उनै कुराहरूलाई केही पारिवारिक बनोट सम्बन्धित् कुरो थपथाप गरेर भन्नुभयो— वेदुदाइ ३ किलो बस्नुहुन्छ ।

    ३ भाइ छोरा, भाउजु र दाइ गरेर ५ जनाको परिवार छ । यता प्रेम दाइ नेप्को मुल अफिसमा काम गर्नुहुन्छ । भाउजु हुनुहुन्छ । छोराछोरी बारे त्यति जानकारी छैन मलाई । तर सबै नेप्को क्वाटरमै बस्नु हुन्छ ।” वेदुदाइको बसोवासस्थल पुग्ने दिशाको बारेमा जानकारी दिँदै बताउनु भएको थियो— ३ किलो जान शिलाङ जाने गाडी कुर्नु पदैन । कोइला, काठ बोक्ने गाडीमा चढेर गए नि हुन्च । ३ किलो उत्रेर यतै फर्किनु । बजार भन्दा यतै डाँडामा वाँको क्वाटर छ । वेदुदाइको नाम लेसी सबैले बताइदिन्चन् । सजिलैरी जान सकिन्छ । 

    काम सम्बन्धमा सबै कुरा भए तिलकदाजुसँग । यद्यपि उहाँले मलाई काम खोजिदिने आश्वासन भने दिनु भएको थिएन । मैले पनि तिलकदाजुसँग त्यसप्रकारको गहन आशा गरेकै थिइन । मलाई त मात्र उमराङ्सोमा बस्दासम्मको लागि आड चाहिएको थियो र कहिँकतै तलमाथि परिएछ भने शिलाङका साथीहरू, नङ्पोमा बसोवास गर्ने परिवारजनसम्म खबर पु¥याउने सेतु चाहिएको थियो । कामको गन्तब्य र भरोषा मलाई लामा बाको सल्लाह बमोजिम चन्द्रबहादुर क्षेत्रीउपर नै थियो ।

    चन्द्रबहादुर क्षेत्रीले सुझाउनु भएको २९ किलोमा स्कुल पढाउने सजातीय मास्टरसँग बिना भेटघाट कामको आशा गर्ने कुरो झन् हुनै सक्दैन थियो । तर पनि उमराङ्सो पुगेको दुई रात दुई दिनमा पेन्सिलका धर्साले नै सहि किरमिर किरमिर एउटा चित्रले आकार लिइरहेको थियो ।

    आकार लिँदै गरेको त्यस श्यामस्वेत तस्बिरउपर भर्नु थियो इन्द्रेणीको सप्तरंग र बनाउनु थियो एक कालजयी चित्र, जो चित्र समयवेगमा मेरो तपस्या बनोस् र म बरदानको हकदार बन्न सकुँ । साँझ पर्न थालिसकेको थियो । तिलक दाजुलाई सुनाउनु पर्ने र भन्नुपर्ने जति कुरा सकिएका थिए । “अब मगरदाजुको मै जाँदा ठिक होला” मनले भन्यो र दाजुसँग बिदा हुँदै बाहिर निस्किएँ । तिलक दाजुले मगरदाजुको क्वाटरसम्म सँगै जानुपर्ने भए जान्छु भनेर देखाउनु भएको मनको विशालतालाई आजसम्म पनि संझनामा राखेको छु ।

    उमराङसो हराइने खालको बजार थिएन । “पर्दैन दाजु, पहिलो राति उहाँले मलाई लगेर गएको बाटो बिर्सेको छैन । एक्लै जानसक्छु । हजुरले दुःख पाउनु पर्दैन ।” धन्यवाद तथा कृतज्ञताका भावनाहरू व्यक्तगर्दै म उहाँसँग बिदा भएको थिएँ । 
    २०८०, असार २९
    बुटवल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology