Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जीवनका अपरिहार्यताहरू

जीवनका अपरिहार्यताहरू

  • 1.7K
    SHARES

  • जीवनका अपरिहार्यताहरू

    -दीपक विश्वकर्मा (छविलाल)


    कतिपय विषयवस्तुको उठानको प्रसवपीडा निकै घातक हुन्छ । मसँग उठानका विषयहरू के कति छन् ? त्यसको कुनै हिसाब नै छैन । मेरो कलमले ओकल्नु पर्ने विषयवस्तुहरू यति धेरै छन् कि लाग्छ ती कहिल्यै लेखेर मात्र होइन भनेर पनि सकिने छैनन् । उपल्लो भाडगाउँको पदेलपोखराबाट पाल्तिर खोँचमा देखिने मेरो जन्मघरदेखि आसामका घनघोर जंगलबीचको बाससम्मका कहानीहरू दर्दनाक मात्र छैनन्, रोमाञ्च, साहस र हिम्मतका ज्युँदाजाग्दा सबुत समेत हुन् । यद्यपि कहानीका शुत्रहरू पहिल्याउँदै अगाडि बढ्दा दर्वित हुन पुगिन्छ कहिलेकाँही ।  तर यी सबै दुःखका भारीहरू मलाई कसैले बोकाइ दिएका भएपो गुनासो गर्नु । आफैले बोकेका भारीहरूथिएँ ।

    देश बदल्न सत्ता बदल्नु पर्छ, सत्ता बदल्न क्रान्ति गर्नु पर्छ र त्यो क्रान्तिको ज्वाला दन्काउन युवाहरूले बलिदान दिनुपर्छ । यहि बलिदानी भावना र सोँचको फन्दामा बेरिएर म घर न घाटको हुन पुगेको थिएँ । पछि त्यस बलिदानी भावनालाई घरको परिस्थिति, बाआमा, भाइबहिनीको दुःखको अंकगणितीय भारसँग जाँच्दा घरको पारिस्थितिक् भारले नै ओझिलोे लाग्यो मलाई । म जन्मिएको घर साहुले खाइदेला, बैंकले लिलाम गर्देला, बनिबनाउ गुड बोकेर बाआमा कहाँ ओत लाग्न जालान् ? भन्ने सोँच नै जीवनमा गरेको सबैभन्दा ठूलो अतिवादी सोँच थियो मेरो । त्यो सोँच किन पनि अतिवादी थियो भने ४६ सालसम्म मैले घरको अवस्थासुधारको नाममा कुनै सिन्को भाँचेको होइन । ४६ पछि त नेपालमा राजनीतिक परिवर्तन भयो । साथीहरूको सल्लाहलाई मानेर खुरुखुरु राजनीतिमा टिकेको भएत अरु नेताहरुले जसरी भाग पाए मैले पनि पाउँदो रहेछु नि ।

    फेरि छोराछोरी जन्माएपछि पालनपोषणको जिम्मा त बाआमाको हो, जेठो छोराको त होइन नि । मलाई हैसियतभन्दा बाहिरको जिम्मा लिनुपर्ने आत्मघाती सोँच कहाँबाट आयो होला ? कहाँबाट आयो ? त्यसको विवेचना नै हुन सक्दैन मबाट । त्यति ठूलो पारिवारिक जंजाल, ऋणधनको मामिला र जीविकाका अनेकौ सवालहरूको बोझ उठाउन सक्ने उमेर पनि त भएको थिएन मेरो । उमेरले २४ वर्ष चल्दैगरेको मान्छेले बाआमा, भाइबहिनी, ऋणधन सबैको डुबन्ती नौकालाई पार गर्छुभन्ने आत्मघाति अठोठ र सोँचले मलाई आसाम सरकारका कर्मचारी तिलक क्षेत्रीको दरबाजा खटखटाउनेसम्म बनाएको थियो ।

    टिनको ढोका अर्धखुला थियो । सरासर भित्र जान भएन, बाहिरै उभिएर मैले हातले ढोका थपथपाएको छाप्रोबाट निस्किएका थिए बिहारीजस्तो देखिने एक अधबैंसे व्यक्ति र तिलक दाजुको खोजिको कुरो उनीसँग गरेपछि उनले  देखाइदिएका थिए तिलक क्षेत्रीको क्वाटर एवम् सोही क्वाटरसँग जोडिएको एरी फार्मको अफिस । तिलक क्षेत्री दाजुको क्वाटर मगरदाइको जस्तो आसामटाइपको घर थिएन । ती बिहारीले देखाएको क्वाटरमा सरासर पुगे म । क्वाटरको ढोका खुला थियो । छाप्रोको नजिक पुगेर ढोकाभित्र चियाउँदै आवाज दिएको थिएँ— म शिलाङबाट आएको हुँ दाजु । हजुरलाई भेट्ने काम थियो । धेरै भूमिका नबानेरै थप कुराहरू पनि जोडेँ— तिल कार्की र कुन्दन भट्टराई दाइले हजुरलाई भेटेर आउन भन्नुभएको छ । दाजुहरू तिल कार्की र कुन्दन भट्टराईको कुरो मैले उहाँलाई मेरो आगमनको महत्व दर्शाउनखातिर जोडेको थिएँ । 


    बिस्तरामा बसेर केही गर्दै हुनुहुन्थ्यो तिलक दाजु । झट्ट हेर्दा मभन्दा दुईतीन वर्षले जेठोजस्तो लागेको थियो मलाई । मेरो कुरो सुनिसकेपछि उहाँले बिस्तराबाट उठेर मलाई स्वागत गर्नुभयो । आउनुस् भित्र । बस्नुस् यतै । कुर्चीको व्यवस्था थिएन कोठामा । बिस्तरामै मलाई बसाउनु भएको थियो । “मेरो अफिस संँगै जोडिएको घर हो । बस्ने कोठा र अफिस नजिकै भएकोले सजिलो छ ।” आफ्नो बसोबासको स्तरको कारणले होला, बसोबासको बारेमा उहाँले सहज तरिकाले बताएजस्तो लागेको थिएन मलाई । 
    म कोठा भित्र पसे । झोला मगरदाइको मै छोडेर गएको हुनाले हात खाली थियो ।  हातमा झोला सरसामान केही नदेखेपछि उहाँले नै कुरो निकाल्नु भएको थियो— कति बेला आइपुग्नु भएको हो र यता ? झोलाझाम्टी केही ल्याउनु भएको छैन ? 
    म आएको दुई दिन भयो दाजु उमराङ्सोमा ।

    अस्ति आएको थिएँ । एकजना पावरकम्पनीको कर्मचारी दाइकोमा बास बसे सो रात । झोला उतै छोडेर ऐले हजुरलाई खोज्न आएँ । उहाँले हजुरलाई चिन्नुहुन्न रे । म त हजुरलाई खोज्दै पो आए त । आउँदा सरासर यहिँ आएको भएत हुन्थ्यो नि । कसरी पुग्नु भो त नेप्को क्वाटरमा ? चिनेका मान्छे हुन् र उनी ? दाइले जिज्ञासा राख्नुभएको थियो “मेरा त सबै आप्mना दाजु । प्रदेश लागेपछि सबै नेपालीहरू आफ्ना लाग्दा रहेछन् । बताउँदै गरम्ला सबै कुरो दाजै । वाँ कहिल्यै नदेखेको नभेटेको मान्छे हो, तर पनि बास दिनु भो ।” तत्कालै सबै परिबन्धहरू खोल्न मन लागेन । तिलक दाजुले पनि धेरै जिज्ञासा राख्नु भएन । उहाँ अलि हतारमा हुनुहुन्थ्यो । सायद अफिसको टाइम भएको कारणले गर्दा पनि उहाँलाई थपकुरा गर्न चाहना नभएको हुनसक्छ ।

    उहाँले मात्र भन्नुभएको थियो—त्यसो भा तपाई यही बस्दै गर्नुस् म अफिस जान्छु र कुरो मिलार आउँछु । मैले खाना खाइसकेँ । भोकै हुनुहुन्छ होला । गएर आइहाले । आएर खाना पकाउँछु है ? “मैले खाना खाइसके दाजु । बास बसेकै दाजुकोमा खाएँ । खाएर वाँ अफिस जानुभो । म १३ किलो हेर्दै हेर्दै याँ आएको हुम् । खाना पकाउन पर्दैन । जानुस् हजुर अफिसाँ । 
    “ए ! त्यसोभए तपार्इं आराम गर्नुस् । अफिस टाइम हो ऐले । अफिस क्वाटर नजिक भएको हुनाले आइजाइ गर्न सजिलो छ मलाई । म एकछिन् अफिस जान्छु । पछि कुरो गरम्ला है ?

    मलाई कोठैमा छोडेर बाहिर निस्कदानिस्कदै तिलक दाजुले शिलाङबारे खबर लिनुभएको थियो— सबै दाजुहरूलाई सन्चै होला । वाँरुसित भेट नभएको नि धेरै भो । अफिसले पठाए जाने हो, शिलाङ । आफै जान मेसो मिल्दैन ।
    “सबैलाई सन्चै छ दाजु । वाँहरूले नै हजुरलाई भेटघाट गर्न भन्नुभएको हुनाले आएको हुम् । हजुर अफिस जानुस्, म पनि बजार हेरेर आउँचु । पछि सबै कुरो गरम्ला ।” मैले तिलक दाजुलाई सहज बनाइदिएको थिए ।

    “हुन्छ नि, घुम्नुस् । त्यति ठूलो छैन बजार । याँ हराइन्न घुम्दा । बसमै आउनुभको भए, त्यैसम्मको हो बजार । जानुस् घुम्न । घुमेर आउनुस् । म पनि एकछिन अफिस जान्छु ।” कुरोकानी गर्दै दाजु र म दुबै निस्कियौं कोठाबाट । जोडिएको घर नै एरी फार्मको अफिस रहेछ । अफिस जाँदा ढोका ढप्काएमात्र पुग्दो रहेछ । ढोका ढप्काएर उहाँ अफिसतिर लाग्नु भयो । म उमराङ्सो बजारतिर निस्किएँ ।

    जीवनका अपरिहार्यताहरू निकै कठोररुपमा प्रतुत हुँदारहेछन् कहिलेकाँही । धेरै अगाडिको कुरो उल्लेख नगरौं, मामुली नङ्पोको कुरोमात्र गर्ने होभने पनि ममाथि भारोषा गरेर बसेको आधा परिवार थियो त्यहाँ । बा, उनीसँगै बस्दैगरेको उनको माइलो छोरो थियो र मसँग जीवनभर साथ र सहयोगको बाचाबन्धनमा बाँधिएकी श्रीमती सहितको ब्याकुल पर्खाइ थियो । उनीहरू सबैको उद्दारकर्ता थिएँ म । बा र भाइलाई घर फर्काउने, श्रीमतीलाई म जहाँजान्छु त्यहिँ सँगै लैजाने र मनग्ये पैसा कमाएर बिग्रेको भत्केको सबै टालटुल गर्ने गहनजिम्मेवारी मैले मउपर लिएको थिएँ ।

    यिनै अपरिहार्यताहरूको साङ्लोमा जकडिएको थिएँ म । आमाको काखमा हुर्किदै गरेका ससाना भाइबहिनीहरूको पढाइ, सरकारी तथा गाउँमै पसल थापेर बसेको नेवारको चक्रबर्ती ऋण, नङ्पोको मकैबारीको राजमार्गसँग जोडिएर बनेको खरको झोपडीमा उपरखुट्टी लगाएर अनिताजीलाई दिएको बुटवलमा सिमेन्टको पिलरसहितको पक्की घरको बाचा, बुर्जुवा शिक्षा बहिष्कारको नाममा तिलान्जली दिइएको पडाइको भर्पाइ ।

    अहो ! यिनै थिए मेरा अपरिहार्यताहरू । जसलाई मैले जसरी पनि सामना मात्र होइन, प्राप्ति गर्नु थियो । महिनामा नसकुँला, वर्षमा नसकुँला । तर दशकसम्म त बेडापार गर्न कसोगरि नसकुँला ? पार्टीमा काम गर्दा रेडबुकको साथमा पढ्ने गरिन्थ्यो चिनीया मुर्ख बुढाको कथा । जो सिङ्गो पहाडलाई पन्छाएर बाटो बनाउन चाहन्थ्यो । ताकि आउँदो पिँडीलाई सुख होस् । बुढो लगातार लागिरह्यो र एकदिन आफ्नो लक्ष पनि प्राप्त ग¥यो । सो बेला म पनि सोही मुर्ख बुढामा रुपान्तरण हुन्थेँ र सबै कुराको प्राप्ति हुने आफैलेआफैलाई विश्वास दिलाउँथे ।

    तिलक दाजु दशपन्ध्र हात अगाडि बढेर दाहिना मोडिएर ओझेल पर्नुभयो । अफिसको ढोका दक्षिण पश्चिम दिशामा रहेछ । म मगरदाइसँग भेट भएको ठाउँलाई पार गरेर अगाडि बढेँ उमराङ्सो बजारको अवलोकन गर्न । 
    जीवनमा कहिलेकाँही यस्तो अवस्था पनि आउँदो रहेछ, जहाँ समयको कुनै पाबन्दी नहँदो रहेछ । तिलक दाजुको क्वाटरबाट निस्केपश्चात मउपर पनि समयको कुनै पाबन्दी थिएन । त्यसैले हिमशिखरको आरोही जस्तै बाटोमा पैतला घिसारी रहेको थिएँ मैले । मलाई आजको दिन कटाउन थियो जसरी तसरी । छिटो लम्किएर, हिँडेर कहाँ पो जानु थियो र ? मगरदाजु अफिस, यता तिलक दाजु पनि अफिस, दुबैको सरकारी नोकरी ।

    उहाँहरूलाई मसँग बात मारेर बसेर पनि नहुने । त्यसउसले पनि अस्तिको त्रासद् रातलाई बिर्सेर म लिली होटल, कालीबाडीको धर्मशाला हुँदै बसपार्कसम्म जाने मन बनाएर कछुवागतिमा घर्सिन थालेँ । नेप्को गेट चौराहजस्तै रहेछ । बायाँतर्फ लाग्ने हो भने उमराङ्सो बजार गइदो रहेछ । “यतै बसियो भने बजार हेर्दै गरम्ला” बजार पसेको थिइन म । दायाँबायाँ हेर्दै अगाडि बढ्दै गएको थिएँ । ५० मिटर अगाडि पुगेपछि बजार पस्ने अर्को विशाल गल्ली रहेछ ।

    दुबैतिर लहरै दोकान घरहरू रहेछन् । नङ्पो शिलाङमा रहँदाबस्दा आसामी, बंगाली, देशवाली तथा नेपालीहरूको नाकनक्साको फरक छुट्याउन सक्ने भइसकेको थिएँ म । उमराङ्सो बजारमा नेपाली र बंगालीहरूको चल्ती रहेजस्तो लाग्यो मलाई । सो गल्ली पार भइसकेपछि लिली होटेल आयो । साइनबोर्ड अंग्रेजीमा थियो र त्यसमा लेखिएको थियो लिली होटल, उमराङ्सो—१२, किलोमिटर ।

    एकछिन उभिएर होटललाई नियाले । दिन भएर होला, त्यति चहलपहल  देखिन । होटलसँगै जोडिएको जग्गामा चालुहालतको एउटा आरन देखेँ । बाको आरनले नै सातोपुत्लो जाने भइसकेको थिएँ म । आधुनिक कृषि औजार कारखानाको हावादारी उद्योगले चित खाएपछि आरनलाई देख्दै डर लाग्थ्यो मलाई । त्यसैले होला नजिक गएर हेर्न पनि मन लागेन । अगाडि बढ्दै जाँदा कालिबाडीको मन्दिर पनि आयो ।

    बास माग्न जाँदा रात भएकाले त्यस क्षेत्रको बस्तुस्थितिबारे थाहा पाएको थिइन । थोरै उकालो चढेर दोकानघरको बगलबाट अलिकति माथि उक्लिएपछि आउँदो रहेछ कालीबाडी । सानो गल्ली पार हुनु पर्दोरहेछ त्यहाँ पुग्न । मान्छेले बनाएको ढुंगामाटोको संरचनाको सामाजिक विभेदसँग के दोष ? दोष त पबित्रताको नाममा मान्छेले मान्छेलाई हेर्ने अपबित्र भावनाको हो । मन्दिर पारहुँदा प्याच्च थुकेर आफैलाई अपबित्र बनाउनु हुन्थेन मैले, त्यसैले थुकिन र अगाडि बढ्दै गएँ ।

    केहि पर पुगेपछि बाटो विभाजित भयो । एकहाँगो उकालो चढ्दै आँखाबाट ओझेल भयो । म सरासर अगाडि बढ्दै गएँ । इलाका हुलाक कार्यालय रहेछ, बाटोको ढिक तल । केहि पर स्टेट बैक रहेछ । त्यसपछि आयो बसस्टेसन । बसस्टेसन के भन्नु ? बस आएर रोकिने, प्यासेन्जर ओराल्ने र बिहानको बस जहाँबाट आयो त्यतै फर्किने र बेलुकीको चाहिँ त्यहि बासबस्ने ठाउँ रहेछ । 
    बसस्टेसनको थोरै अगाडि गएपछि भने विशाल फलामे गेट भेटियो । नेप्कोको एरिया रहेछ गेट भित्रको सो क्षेत्र । गेट नजिक पुगिन । के हो ? कसो हो ? अगाडि गएर नियाल्न, सोधपुछ गर्न हिम्मत जुरेन । बसस्टेसनबाटै फनक्क फर्किएर कछुवागतिमा पुनः उमराङ््सो बजार तिर नै हानिएँ । 

    मलाई जसरी तरसी समय कटाउनु थियो । दुबै दाजुहरूको सरकारी नोकरी थियो । त्यसैले दिनमा मेरो सेवा गरेर बस्न नमिल्ने । फेरि म सेवा गर्नैपर्ने खालको पाहुना पनि थिइन । त्यसउसले पनि जस्कोमा गएपनि मलाई समयको पाबन्दी चार बजेसम्मको थियो । स्टेट बैंक, हुलाक, कालीबाडी मन्दिर, लिली होटल, बजारलाई नियाल्दै समय बिताउन थालेँ म ।

    त्यो ३-४ घण्टा मैले कसरी बिताए हुँला ? आज सम्झना छैन । तर उमराङ्सो बजार, नेप्कोको एरिया, त्यहाँको चहलपहल नियालेरै मैले समय बिताएँ सायद । जाडोको महिना भएकोले जाकेट भने आङमा भिरेको थिएँ । हातमा घडी थिएन, चारबज्यो होला भन्ने अडकल नेप्कोको गेटबाट निस्किरहेका मान्छेहरूको हुलले जानकारी दियो । मैले पनि तिलक दाजुको क्वाटरमा पुग्न कछुवागति खरायोको गति त नभनौ थोरै रफ्तार दिएको थिएँ ।

    तिलक दाजुलाई अफिस र बासको निकै सुबिधा मिलेको रहेछ । क्वाटरबाट निस्केको एक मिनेट मै अफिसमा पुग्न सकिने । उमराङ्सो घुमेर म उहाँकोमा पुग्दा दाजु क्वाटरमा आइसक्नु भएको थियो । टिनको ढोका खुलै रहेछ । म सरासर भित्र पेसेर रिपोर्ट बुझाएँ— घुम्नुसम्म घुमे उमराङ्सो दाजु आज ।

    “ए ! हो ? ल बस्नुस् । बस्ने खाटैमा हो । मेरोमा कुर्ची टेबल छैनन् । अफिसले क्वाटर बनाएर देको छैन । भाडामा आफैले खोजेको कोठा हो यो । उमराङ्सोमा पक्की घर पाइन्न । सबै मान्छेहरू यस्तै घरमा बस्ने गर्छन् । दाइले हातमुख धुनुभयो । मलाई पनि हातमुख धुन सल्लाह दिनुभयो । मन त्यसै बाउँडिएको बेलामा के को हातमुख धुनु ? मैले धोएको थिइन । बिस्तरामा आसन जमाएर बसे म । दाइले चिया बनाउँदै सोध्नु भएको थियो— अघि राम्ररी कुरो गर्न पाइएन ।

    अफिस जान हतारोको बेला आउनु भो । लु बताउनुस् कुरो के हो ? किन आउनु भएको हो उमराङ्सो ? संगठनको कामको लागि आउनु भएको पो होकि ?  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माले)को प्रवासी भातृ संगठन थियो अखिल भारत प्रवासी नेपाली संघ । सो संघको पूर्वाेत्तर राज्य संगठन भित्र पर्थे उत्तरपूर्वका सातै राज्यहरू । संघको हेडअफिस शिलाङमा थियो र अध्यक्ष हुनुहुन्थ्यो—दिवंगत दाजु तिल कार्की ।

    संगठनले द्रुत गतिमा आफ्नो कामलाई बिस्तार गरिरहेको थियो । पेशेवर कार्यकर्ताहरू थिएनन् । तर सम्पर्कको माध्यमबाट काम हुन्थ्यो । म उमराङ्सो जाँदा संगठनले सोही ठाउँमा बस्ने मेसो मिल्योभने कामको जिम्मा पनि दिएको थियो । एक राजनीतिक सचेत मान्छेले पार्टी र संगठनका मान्छेहरूको तर्फबाट आएको मान्छेलाई राजनीतिक हिसाबले हेर्नु, प्रश्न सोध्नु स्वाभाविकै थियो । तिलक दाजुले पनि तदनुसार नै मलाई संगठन निर्माणको लागि आएको अनुमान गर्नु एकदमै जायज थियो ।

    चिया पाक्यो । चियाको चुस्की लिँदै दाजुलाई मैले भन्न मिल्नेजति सबै दर्दभरी कहानी सुनाएको थिएँ । मेरो कहानी सुनेर उहाँ पनि जडबत हुनुभएको थियो । कुरोको बिटमार्दै मैले उहाँलाई भनेको थिएँ—काम खोज्नु छ दाजु । हजुरको सहयोग चाहियो मलाई ।

    महाकवि देवकोटाको मुनामदनको एक अंशले भन्छ—
    क्षेत्रीको छोरा त्यो पाउ छुन्छ, घिनले छुँदैन
    मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन । 

    जीवनका यी अपरिहार्यताहरू कसरी सहज बन्दै गए ? कसरी उमराङ्सो मेरो लागि कर्मभूमि मात्र होइन, जन्मदिने बाआमाको ऋणको भार चुक्ता गर्ने थलो बन्यो ? बास नपाएर बाटोमा भौतारिदै हिँडेको एक थकाहारा मनुवा कसरी सोही उमराङ्सोको एक पौरखी मनुवा बन्यो ? उत्तर सहज छ, तिलकजस्ता सहृदयी क्षेत्रीहरू र मगरजस्ता मानवीय भावनाले ओतप्रोत दमाईहरूको अपार माया, सद्भाव र उहाँहरूकै हातको पबित्र जलले सिंचन हुन पाउनु नै मेरा सफलताका शुत्रहरू थिए । 
    २०८० असार २१ 
    बुटवल । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology