Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘दुर्गमता भौगोलिक मात्रै हुँदैन,व्यक्तिको चेतनाले पनि सेवालाई दुर्गम बनाउँछ’

‘दुर्गमता भौगोलिक मात्रै हुँदैन,व्यक्तिको चेतनाले पनि सेवालाई दुर्गम बनाउँछ’

  • 3.9K
    SHARES

  • ‘दुर्गमता भौगोलिक मात्रै हुँदैन,व्यक्तिको चेतनाले पनि सेवालाई दुर्गम बनाउँछ’

    -डा.शम्भु खनाल

    एउटै घरभित्र बस्ने व्यक्तिहरूमा दूरी कम त हुन्छ, तर आत्मीयता अभावमा कोसौं टाढा हुन सक्छ। व्यक्तिको घर–दैलो–आँगनमा स्वास्थ्य संस्था हुन त सक्छ तर उसैलाई ठूलो समस्याग्रस्त रोग लाग्न सक्छ।

    दुर्गमता भौगोलिक मात्रै हुँदैन। व्यक्तिको चेतनाले पनि सेवालाई दुर्गम बनाउने गर्छ। जहाँ चेतनाको कमी हुन्छ त्यहाँ सेवाप्रवाहले मात्रै कार्य पूर्ण हुँदैन। सेवा लिन पनि चेतनाको आवश्यकता हुन्छ।

    झट्ट हेर्दा १०-१२ वर्षकी, ज्यान मोटाएको, गोलो अनुहार, पुक्क फुलेको पेट भएकी छोरीलाई उनकी आमाले पिठ्युँमा बोकेर ओपीडी प्रवेश गर्छिन्। टुलमा राख्छिन्। बच्चाको ओपीडीमा जानुपर्नेलाई झुक्किएर फेरि यता ल्याएछन् भनेर टिकटमा नाम र उमेर हेर्छु। तीन पटक त्यो नानी र कार्डमा लेखेको विवरण तुलना गर्न खोज्छु। पत्याउन गाह्रो हुन्छ।

    किञ्चित पत्यार नै लाग्दैन, ती आमाले आफ्नी २४ वर्षकी छोरीलाई अस्पताल ल्याएकी हुन् भनेर।उनको बालापन कहिले आयो र कहिले सकियो ! उनको किशोरावस्था कहिले फक्रियो र कहिले जवान भइन् ! उनका साथीहरू वयस्क छन् कि बालक छन् ! यी सबै आश्चर्यजनक प्रश्नहरू एकाएक ठेलमठेल गरेर मनमा आए।

    नाम त प्रिया रहेछ। कति मीठो नाम। तर नामानुसार जीवन जिउन वञ्चित प्रिया।

    उनी सानैदेखि पुक्क फुलेकी रहिछिन्। गोलोमोलो शरीरलाई पुष्टिएको ज्यान मान्ने हाम्रो समाजलाई त नौलो कुरो नै लाग्ने भएन। कुनै रोगको शंका मान्नु त झन् पाप नै हो कि भन्ने जस्तो गर्छन्। खेती किसानी गरेर जीवन धान्ने परिवारलाई बच्चाको पढाइ कत्तिको अब्बल छ भनेर ध्यान कम नै हुन्छ।

    लेख्न पढ्न जाने जागिर खान्छ, नभए खेती किसानी नै गर्छ भनेर उत्ति महत्व नदिने बानी हुन्छ। उनको पढाइ पनि त्यस्तै नै रहेछ। पढेको कुरा स्मरण गर्न गाह्रो हुने र भुल्ने हुनाले पढाइ गतिलो नभएकोमा दु:ख भने मानेका थिए ती बुवाआमाले।

    बल्लतल्ल ६ कक्षा पढ्दै रहेछिन्। धेरै अल्छी गर्छे भनेर पनि गुनासो रहेछ। त्यही पनि जीवनचर्या चलिरहेको थियो आफ्नो छोरीलाई दुई चार वटा टिप्पणी गर्दै, ‘कस्तो सुतेको सुत्यै गर्छ। अल्छी ! राम्रोसँग पढ्।’

    हरेक कुराको एउटा सीमा हुन्छ। त्यो परिधि नाघेपछि बल्ल आत्तुरी हुन्छ। वर्षौंदेखिको कमसल गुणस्तरको जीवन बिताएकी छोरीलाई हिंड्न नसक्ने भएपछि अस्पतालको खोजीमा हिंड्न बाध्य हुन्छन् परिवार। चार महिनामा बल्ल प्रादेशिक अस्पताल आइपुग्छन्।

    धेरै टाढाबाट ? होइन, मात्रै २४ किलो मिटर टाढा कपिलवस्तुबाट !

    सायद प्युठानको स्याउलीबाङबाट पनि एक महिनामा त बुटवल आइपुगिन्छ ! स्वास्थ्य संस्था नजिक नभएको पनि हैन। सानोमा भ्याक्सिन लगाएको पनि रहेछ। स्वास्थ्य संस्थामा तौल नापेको पनि रहेछ। गाउँघरे क्लिनिक नभएको पनि हैन। तर कसैलाई पनि त्यो उमेर र शरीरको कत्ति पनि तालमेल नमिलेको ध्यानमा आएन त ?  त्यो बालक मन, किशोर मन र जवानी मनका वसन्तहरूबाट अन्योलमा रहेको त्यो नानीको मनलाई कसैले छाम्न सकेनन् त ?

    हिपमा दुख्दा दुखाइको औषधि दिएर थामथुम पार्ने क्लिनिकको मनमा त्यो कलिलो देखिने शरीर किन दौडिन सकेन त भनेर प्रश्न नै जन्मिएन त ? के २४ किलोमिटर साह्रै टाढा नै हो त !

    फेरि हाछ्युँ आउँदा मात्रै पनि काठमाडौं दौडिहाल्ने उग्रचेतना पनि हामी माझमै विद्यमान छ।सबैको मनमा जिज्ञासा हुन सक्छ- त्यो नानीलाई के भएको रहेछ त !

    ती २४ वर्षकी नानीलाई थाइराइड हर्मोनको कमी सानैदेखि भएको थियो। जसले गर्दा उनलाई ‘हाइपोथायरायडिज्म’ को समस्या भएको रहेछ। यसलाई सामान्य भाषामा थाइराइड हर्मोनको कमी भनेर बुझ्न सकिन्छ। यो हर्मोन जीवनको गुणस्तरको हर्मोन हो। जसको कमी समयमै परिपूर्ति नगर्नाले प्रियाले गुणस्तरयुक्त जीवन बिताउन सकिनन्। र अहिले उनका हड्डीहरू आफ्नो वास्तविक उमेर अनुसार वृद्धि हुन सकेनन्, जोडिन सकेनन्। बच्चाको हड्डी जस्तै भएर बसिरहे।

    थाइराइड हर्मोनको कमीले बुद्धिमा तीक्ष्णता हुन पाएन। शरीरमा फुर्ती हुन पाएन। छाला राम्रो हुन पाएन। शरीर र दिमाग ऊर्जाविहीन भयो। चुस्तदुरुस्त इन्जिन विनाको गाडी जस्तै जीवन कमसल बन्न पुग्यो।Hospital-and-patent-1024x624.jpg

    यो सबै कुराको दोष कसको हो त ? नियति वा चेतनाको ? राज्य वा समाजको ? बाउआमा वा स्वास्थ्य संस्थाको ? रोग पहिचान गर्न नसक्ने समाज वा स्वास्थ्यकर्मीको ? च्याउ जस्तै उम्रिएका चिकित्सा विज्ञान संकाय पढाउने कलेजहरूको ?

    सायद उत्तर विचार विमर्शको विषय होला। तर सत्य के हो भने शिक्षाले चेतना जन्मिन्छ। चेतना विना न अधिकारको ज्ञान हुन्छ न सुविधाको सदुपयोग। स्वास्थ्यको पहुँच केवल भौगोलिक मात्रै हुँदैन। दूरी मात्रै दुर्गमको मापन यन्त्र हुन सक्दैन। चेतनाशून्य समाजमा आँगनकै सुविधा पनि प्रयोगमा आउँदैन। तसर्थ, पहुँच के हो- दूरी वा चेतना ? विचार गरौं।

    (लेखक लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन्।)

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology