Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अन्ततः तिलक क्षेत्रीको बासमा पुगेँ म

अन्ततः तिलक क्षेत्रीको बासमा पुगेँ म

  • 1.9K
    SHARES

  • अन्ततः तिलक क्षेत्रीको बासमा पुगेँ म

    -दीपक विश्वकर्मा(छविलाल)

    मगरदाइ अफिस जानुभयो । बगलको क्वाटरका छोरा मान्छेलाई त्यो बिहान पनि देखिन मैले । नानीहरू थिए, दुइटी । ती नानीहरूमध्ये नौदशवर्षकी नानी मगरदाइको क्वाटरमा आइरहन्थिन् । स्कुल जाने समय भएको थियो । यद्यपि बगलका ती दुइटी नानीहरू स्कुल गएगएनन् संझना छैन ।

    त्यो लाइनका क्वाटरहरू सबै एकै प्रकारका थिए, मध्यमस्तरका । म खुसी यसमानेमा थिएँकी नेपालीहरूले पनि त्यस सरकारी कम्पनीमा काम गरिरहेका थिए । रहनसहन, बोलिबचन तथा दाइको कामको प्रकृतिबाट दाइको पोष्ट त्यति माथिल्लो होइनभन्ने संकेत पाइन्थ्यो । यद्यपि उहाँको पोष्टसँग मेरो कुनै सरोकार थिएन । पदको भार जेसुकै होस्, मेरो सन्दर्भमा उहाँ पनि देवदूतीय लामा बाभन्दाबढी उद्दारकर्ता बनेर प्रकट हुनुभएको थियो ।

    बिहानको नौ या दश यस्तै बज्दै थियो । कर्मचारीहरू साइकलको सवारी अथवा पैदल नै अफिस धाउँदै थिए । दाइ अफिस हिँडेपछि म एक्लो भएँ । उमराङ्सोको मेरो त्यो दोस्रो दिन थियो । १९ किलोमा भेट हुनुभएका चन्द्रबहादुर क्षेत्रीले सुझाउनुभएको २९ किलोमिटरमा स्कुल पढाउने सुनार मास्टरलाई भेटगर्न जाने सो दिन मेरो योजना बनेको थिएन । किनकि त्यो संजोक अपर्झट आइपरेको संयोग थियो । चन्द्रबहादुरसँग कामको मेसोको बारेमा कुरो गर्दैजाँदा स्वजातीयताको हिसाबले भेट गर्दा उचित हुन्छ भन्ने उहाँको सुझाब मात्र थियो त्यो ।

    उमराङ्को बसाइ, कामको खोजी र बन्दोबस्तीको लागि मलाई हरमान्छेहरूसँग भेट गर्नु थियो, सबैका सुझावहरू सुन्नु, विचार ग्रहण गर्नु थियो । तर पनि सो दिन तिलक क्षेत्रीसँग भेट गर्ने योजना बनेको कारणले २९ किलो जाने मेलो जुराइन । खाना खाइओरी एकाध घण्टा दाइको क्वाटरमा समय बिताएपछि दाजु तिलक क्षेत्रीलाई खोज्ने र बजार पनि हेर्ने मन बनाएर चाबी बगलको क्वाटरकी दिदीलाई थमाएर बजार तिर निस्किएँ ।

    नङ्पोमा बाको आरनमा टुपुक्क आइपुगेका लामाबाको कथन थियो, तिमी पढालेखा रहेछौ । गरमपानी जाऊ, त्यहाँ एकजना आसामी र अर्को मारवाडी मिलेर चलाएको काठ कम्पनी छ, कम्पनी ठूलो छ, त्यहाँ काम पाइन्छ । काम काठको हो । तर उहाँको काठको काम पाइन्छ भन्ने सुझाव नै अमुर्त थियो । काठको काम भनेको के हो ? मैले उहाँसँग सोधपुछ गरेको थिइन । बरु १९ किलोमा भेट हुनुभएको चन्द्रबहादुर क्षेत्रीले मोहरी भन्ने पदको कुरो गर्नुभएको थियो । त्यो पदको मान्छेले काठको नापजाँच गर्ने भन्ने कुरोपनि उहाँले सामान्य बताउनु भएको कारणले मलाई १३ किलोहुँदै उमराङ्सो बजार जान मन लागेको थियो । किनकि १३ किलोमिटरमा वनको अफिस रहेछ र त्यहिँबाट जाँचपास भए पछि मात्र काठ बजारमा जाँदो रहेछ ।

    १३ किलो पुगेँ म । अघिल्लो दिन जसरी गाडीहरू लाइनमा खडा थिए सो दिन पनि त्यसरी नै थुप्रै गाडी खडा थिए । काठका गोलीया(मुढा) बोकेका विशाल गाडीहरू, कोइला बोकेका डब्बा आकारका गाडीहरूको लामो लाइन थियो त्यहाँ । हिँजो जे देखेको थिएँ मैले सो दिन पनि त्यहिँ देखे । गाडीका चालक, खलासीहरूमध्ये एक कागजको मुठो बोकेर अफिस भित्र गएको छ, कागज पास गराएर फर्किएको छ ।

    काठको गाडीको लागि भने समय बढी लागेको देखेको थिएँ । अफिसबाट कागजको मुठोको साथमा गाडी छेउँ आएका वनका कर्मचारीले काठका गोलीयाको पछाडि अंकित नम्बरलाई कागजसँग मिलान गर्दारहेछन् । सो कामले लामो समय लिदो रहेछ । “गोलीया बोकेको गाडीको अगाडि पछाडि वनको कर्मचारीसँग कुँदाकुँद गर्दैगरेका मान्छे नै मोहरी होलान्” मैले मनमनै लख काटेको थिएँ ।

    अन्त्यमा कागज र गोलीयामा अंकित नम्बरको मिलान भइसकेपछि वनका कर्मचारीले गोलीयामा मोहर हान्दारहेछन् । त्यति प्रक्रिया पुगेपछिमात्र गेट खुल्दोरहेछ । र गाडी १९, २९ किलो हुँदै अगाडि बढ्दोरहेछ । तर, त्यो अगाडि कहाँ गएर टुंगिन्छ, कुनै मेलोमेसो थिएन मलाई ।
    १३ किलोको चमक अनौठो लाग्यो मलाई । बायाँहात तिर थुप्रै आसाम टाइपका घरहरू थिए । सबै एकतले, टिनले छाएका थिए ती घरहरू । दाहिना हाततिर टिनैले छाइएको लामो टहरो थियो ।

    त्यसमा लहरै दोकानहरू थिए । मुलबाटो र टहरोको बीचमा सानो घुम्ती दोकान थियो । त्यस घुम्तीमा पानतामुल, चुरोटबिडी, खैनी बिक्री हुँदोरहेछ । ती सबै दोकानहरूमा एकाध बंगालीहरू बाहेक अरु सबमा नेपालीहरूको नै चहलपहल थियो । वनका कर्मचारीको चेहराभने हाम्रौ देशका मगरगुरुङ्ग समुदायका मानिसहरूसँग मिल्दोजुल्दो देखिन्थ्यो । सबैले स्थानीय लवजको हिन्दी भाषा बोल्दारहेछन् । अरुभन्दा नेपालीभाषीहरूको त्यस किसिमको उपस्थितिले ममा एकप्रकारको उत्साह पलाएको थियो । केही छिन १३ किलोको रमाइलोको स्वाद लिइसकेपछि म उमराङ्सो बजारतिर हानिए, जहाँजान फनक्क फर्केर बाँया हातहुँदै अगाडि बढ्नु पर्ने रहेछ बजार पुग्न ।
    वनको रमाइलो छोडेर उमराङ्सो बजारको बाटो लागे म । तर, पहिलो गासमै ढुङ्गा भनेझै प्रथम नजरमै बाँया किनारमा ठिङ्ग उभिएको एकतले मन्दिरजस्तै संरचनासँग साक्षात्कार भयो मेरो ।

    मन्दिरमा नजर पर्नासाथ मेरो मुटुको धड्कन तेज भयो र हातखुट्टा ललाकलुलुक भए । त्यस्तै किसिमको मन्दिरको पुजारीले त थियो अघिल्लो रात मलाई मेरो नामको पछाडि झुण्डिएको थरको कारणले रात बिताउन धर्मशालाको एक कुनासम्म नदिएकोे । शास्त्रमा जे लेखिएको होला, तर व्यवहारत् हिन्दुधर्म मानवता विरोधी धर्म हो । यसको अन्तर्यमा सहिँष्णुता नामको कुनै गुञ्जाइस रहेको छैन । मलाई उमराङ्सो बजार पुग्नुथियो, बजार पुगेर एरी फार्म खोज्नु थियो र क.तिलक क्षेत्रीलाई भेट्नु थियो । त्यसैले गासमा लागेको त्यो किरकिरे ढुङ्गालाई ओकलेर म अगाडि बढेँ । बिडम्बना, मन्दिर काटेर केही पाइला के अगाडि बढेको थिएँ, त्यहाँ त झन् ठूलो ढुङ्गाको पहरो नै फेला प¥यो । साइनबोर्डमा लेखिएको नाम पढिसक्दा मगरदाइले भनेको झलक्क संझेँ ।

    “कस्सो पुलिसको फेला परेन्चौ भाइ, परेओ भा चिसो छिडियाँ सड्ने थ्यौ ।” मन्दिर काटेपछि मैले भेटेको अर्को एकतले भवन आसाम पुलिसको उमराङसो इकाइ कार्यालय रहेछ । आसाम तथा मेघालय पुलिसको स्वाद पहिलइै चाखिसकेको हुनाले पुलिस भनेपछि मेरो सातो जान्थ्यो । पहिलोपटक बाको खोजीमा रेलयात्रा मार्फत मेघालय जाँदा जलपाइगुरीमा पुलिस चेकिङ्गमा परेको थिएँ म ।

    सो बेला आसाममा विदेशी भगाऊ आन्दोलन उफानमा थियो । सिलिगुडीबाट पचासौं किलोमिटर अगाडी पुगेर पुलिसको फन्दामा पर्नु अतिसय पीडायुक्र घटना हो । धन्न एकजना भारतीय सेनाका सिपाहीले आफ्नो झोलाबाट खागी ड्रेस निकालेर मलाई लगाउन दिएको हुनाले म विपतबाट बचेको थिएँ । खागी ड्रेसमा सजिएको देखेर आसाम पुलिसले मात्र सोधेको थियो— “सिक्स जिआर ?” मैले उत्तरमा बडो आत्मविश्वासका साथ टाउको हल्लाउँदै जवाप दिएको थिएँ—“हाँजी” ।

    यद्यपि मलाई सिक्स जिआर बारे घुनपुत्लो थाहा थिएा । अर्कोपटक बर्निहाटमा आफ्नै गल्तीको कारणले दिल साहनी, तील कार्की तथा कुन्दन भट्टराईलगायत दाइहरूले समेत मेरो खातिर मिनी हिरासतमा बस्नु परेको थियो । त्यसैले पनि पुलिस देख्योकि मेरो सातो जान्थ्यो । त्यसमा पनि मेरो आश्रयदाता दाइले देखाएको डरको कारणले पनि होला, मन्दिर पछि आइपरेको त्यो थानाको विपत र बजार पुग्ने बाटोलाई स्वास रोकेर पार गरेको थिएँ मैले । 
    मन्दिर कट्यो । मन्दिर मेरो लागि अभिषाप थियो । थाना पनि कट्यो, पुलिस थाना हरकोही नेपालीको लागि महाविपत थियो । जो मेघालय र आसाम पस्न खोज्थे, नेपालबाट आएको होभन्ने भेउपाएपछि  नाङ्गोझार पारेर बोर्डर कटाउँछ भन्ने अनेकौ जनश्रृतिहरू प्रचलनमा थिए सो बेला । थाना कटेपछि केही ओरालो बाटो आयो । दाइनातिर दाइको अफिका क्वाटरहरू बल्ल छ्याङ्ग देख्न पाएको थिएँ मैले । सो साइडमा नेप्कोका क्वाटरहरूबाहेक अन्य घर थिएनन् । सिमाना छुट्याएर तारबार समेत लगाएको रहेछ नेप्को साइडतर्फ । दाँयाबाँया नियाल्दै म अगाडि बढ्दै गएँ र अघिल्लो राती मगरदाइसँग जम्काभेट भएको ठाउँमा पुगेर टक्क अडिएँ । 
    १९ सताब्दी अर्थात, सन् १८१८, आजभन्दा २०५ वर्ष पहिले जर्मनीमा कार्ल माक्र्सको जन्म भयो । उनको जन्म सामान्य व्यक्तिको जन्ममात्र थिएन, संसारलाई एक अमूल्य उपहारसमेत थियो ।

    जीवनलाई कसरी बुझ्ने ? इतिहासको ब्याख्या कसरी गर्ने ? समाज रुपान्तरणका अहम् तत्वहरू के के हुन् ? सामाजिक संरचनागत स्वरुपको निर्धारण के र कसरी तय भएको हुन्छ ? समग्रमतामा समाजको आजको जुन स्वरुप खडा छ, त्यसको निर्माणको आधार नै भौतिक संरचना हो । यसै सामाजिक स्वरुपको अध्ययनको गहन विषय नै द्वन्द्वात्म भौतिवाद हो । 
    ३० को दशकमा म तत्कालिन कम्युनिष्ट पार्टी नेकपा(माले)मा सामेल हुँदा कम्यनिष्ट पार्टी भन्ने शब्द सुनिएको थियो ।  तर कम्युनिष्ट पार्टीको दार्शनिक आधार भौतिकवाद हो भन्ने कुरो सुनिएको थिएन । अझै भौतिकवादी दर्शन भनेको कुन चरीको नाम हो भन्ने कुराको त जानकारी नै थिएन ।  ओँठ निचोरे दुध आउने हामी कलिला ठिटाहरूको बुद्धि भुटेर पार्टीमा भर्ती गर्ने कमरेडलाई पनि दर्शन के हो, यसका प्रकार कति प्रकारका हुन्छन् ? सामाजिक रुपान्तरणका भौतिक आधार के के हुन् ? वर्गहरूको निर्माण, रुपान्तरण र क्रान्तिको पुृष्ठभूमि तथा धर्मलाई माक्र्सले कसरी व्याख्या गरेका छन् आदि बारेमा जानकारी थियो जस्तो लाग्दैन ।

    धर्मको प्राचीन स्वरुप र उत्पत्तिको कथा पढ्न माक्र्सवाद पढेर मात्र पुग्दैन, इमाइल दुर्खिक, म्याक्स वेभर, अगस्त कम्टलगायत थुप्रै दार्शनिकहरका विवेचनाहरू पढ्नु पर्दो रहेछ । हामीलाई क्लास लिने नेताहरूले अतिरिक्त मुल्यको सिद्धान्तबारे रटिरटाउ कथा पढाउथेँ । साहुले हामीलाई काममा लगाउँछ, हामीलाई कम ज्याला दिन्छ, उसले बढी नाफा लिएर बस्तुको बिक्री गर्छ र धनी हुन्छ । हामी अवोध विद्यार्थी पृष्ठभूमि भएका बालसैन्यहरूलाई ज्याल, उत्पादन, लागतमूलय,  बस्तुको बिक्री तथा नाफा घाटाको जानकारी कसरी हुनु ?

    हो, ती यावत कुराहरूको छेउटुप्पोको भेउ नपाएपनि एउटै कुरो बुझिएको थियो, धर्म जातपातको मूल जड हो । कम्युनिष्टहरूले धर्म मान्दैनन् । धर्मै नमानेपछि जात रहने कुरै भएन । त्यसैले कम्युनिष्ट पार्टीमा सामेल हुनु पर्दछ । र त्यहि अतिवादी सोंचको अफिमीय नसामा लठ्ठिएर म कम्युनिष्ट पार्टीमा सामेल भएको थिएँ । 
    कार्लमाक्र्सले समाजको भैतिकवादी व्याख्या गरे । सामन्तवाद र पूँजीवादको समुल नष्ट गरेर समाजवाद हुँदै साम्यवादको परिकल्पनामा संसारलाई रमाउन सिकाए । साम्यवाद वर्गबिहिन समाज हुने छ, जहाँ कोही धनी हुने छैन । कोही गरिव हुने छैन र आफ्नो दक्षता अनुरुप काम पाउने छ र आवश्यकता अनुरुप ज्याला पाउने छ । 
    कैफियत जे सुकै होस्, विद्धानहरू, समाजशास्त्रीहरूको तर्क छ, कार्लमाक्र्सको जन्म नभएको भए, उनले समाजलाई हेर्ने, बुझ्ने भौतिकवादी दर्शनको सही व्याख्या नगरेको भए, संसार भुतैभुत, मसानै मसानको साम्राज्यमा जकडिएको हुने थियो । जताततै पण्डितै पण्डित, मुल्लैमुल्लाह, पादरीहरूको लामो साम्राज्यय खडा हुने थियो र धर्मका ठेकेदारहरूको पञ्जामा संसार तड्पिरहेको हुने थियो ।

    निःशन्देह नङ्पोमा भेट हुनुभएका मोती पाण्डे, रणबहादुर क्षेत्री, शिलाङमा जुरेका दाजुहरू कुन्दन भट्टराई, तील कार्की, प्रेम खनाल गुवाहाटीमा भेट हुनुभएका बाबुराम खनाल, इश्वरी खनाल, जंगबहादुर क्षेत्री लगायत बाह्मण, क्षेत्री कुलबंशका सुपुत्रहरूले माक्र्सवाद नपढेको भए, जीवनलाई भौतिकवादी दर्शनको कसीमा नढालेको भए, मैले कहिकतै बास पाउन सक्ने थिइन । धर्मशालाको रखवालाले जस्तै खेदाइएको हुने थिएँ ।

    मगरदाइसँग पहिलो भेट भएको स्थानमा पुगेर एरी अफिस खुट्याउन खोजे मैले । मलाई तिलक क्षेत्रीको खोजी थियो सो बेला । उहाँसँग मेरो कुनै जातीय नातो थिएन । थियो त केवल उही सुदूरअतितमा कार्लमाक्र्सले निर्माण गरेको सैदान्तिक, दार्शनिक शब्दसेतुको झिनो नातासम्बन्ध । उहाँ तत्कालिन नेकपा(माले)समर्थक हुनुहुन्थ्यो र समर्थक भएकै कारणले जातभन्दा माथि हुनुहुन्थ्यो ।

    म उभिएको ठिक अगाडि लहरै टिनले छाएका छाप्राहरू थिए । तत्कालै एरी अफिसको साइनबोर्ड कतै देखिन मैले । तिनै टिनका छाप्रामध्ये एउटा छाप्रोको अगाडि पुगेर ढोकामा हातले ढपढपाएको थिएँ । सम्भवतः एकजना व्यक्ति टिनको ढोका खोलेर बाहिर निस्केका थिए र उनलाई मैले तिलक क्षेत्रीको बारेमा सोधेको थिएँ । उनले नजिकैको छाप्रोतिर संकेत गर्दै हातले इसारा गर्दै तिलक क्षेत्री बस्ने घर देखाइदिएका थिए । 
    २०८०, असार १५ 
    बुटवल । 

      

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology