-दीपक विश्वकर्मा (छविलाल)
होटेल साहुनी दिदीले चिया खाएको पैसा नलिनु पाहुना सत्कार थियो वा दिदीको दिलेरी मन रु विवेचनाको विषय होला । तर म उमराङ्सोमा पाहुनाकै रुपमा थिएँ । होटेल लिलीमा पाहुनाकै रुपमा गएको थिएँ । होटेलका सबै कोठा भरिभराउ भएको कारणले बास पाउन सकिन । नेपाली धर्मशालामा पनि पाहुना लाग्नैखातिर पुगेको थिएँ । महान् हिन्दु परम्परा मेरो सत्कारमा बाधक बन्यो । म त्यो धर्मशालाको पाहुना बन्न सकिन ।
यो अपवाद थियो, जीवनको एक आदि बिद्रोही घटनाको प्रतिबिम्ब । उपरान्त मध्यरातमा बासको खोजीमा भौतारिँदै हिँडेको मवेसहारासँग अकस्मात भेट हुनपुगेका आश्रयदाताले मलाई आफ्नो सरकारी क्वाटरमा लगेर पाहुनालाई जस्तै माया गरेका थिए । अर्को दिन १९ किलोमा भेट हुनपुगेका चन्द्रबहादुर क्षेत्रीले काम पाइने ढाडसमात्र दिएनन् अगाडि चाल्नुपर्ने कदमको बारेमा रुपरेखा कोरेर दिएका थिए, होटेल साहुनी दिदीले चिया खाएको पैसा नलिनु आदि कारणले म जहाँ जान्छु त्यहिँ नतमस्तकको अवस्थामा पुगेको थिएँ । यो क्रम म बाको खोजीमा पहिलोपटक नङ्पोको मकैबारीमा आउँदाताकाबाट नै शुरु भएका सुखद घटनाहरु थिए । साथमा केही थिएन तर जहाँ जाला जोगी भातै खालाजस्तो जिन्दगी फुक्काफाम चलिरहेको थियो ।
चन्द्रबहादुर क्षेत्रीसँग कुरो भइसकेपछि मलाई १९ किलोबाट फर्केर उमराङ्सो आउनु थियो । काठका गोलीया, खनिज कोइला बोकेर ट्रकहरु कहाँ जान्छन् र ती ट्रकहरु कतिबेला वापस आउँछन् भन्ने बारे मलाई जानकारी हुने कुरो भएन । किनकि म दुईदिने पाहुना जो ठहँरे उमराङ्सोको । कुन गाडी रु बस या ट्रक, कति बजेको गाडी वापसीको बारे यतिका वर्षपछि सम्झिने कुरो भएन । यतिमात्र सम्झना छ, वापस उमराङ्सो फर्किदा म उज्यालिएको थिएँ, तममन दुबैले ।
१९ किलोबाट वापस १२ किलो आएँ म । १२ किलो भनिएता पनि गाडी १३ किलोमा रोकिदो रहेछ । १३ किलोबाट बाटो फाट्दो रहेछ । फाटेर एउटा बाटो हिँजो राति म उत्रिएको बसपार्कसम्म पुग्दोरहेछ । अर्को बाटो आश्रयदाता दाइको क्वाटरलाई बाँया पारेर ३ किलोहुँदै कोइलाखानी तिर जाँदोरहेछ । यहिबाटो अगाडि बढ्दै ज्वाई, शिलाङ, नङ्पो हुँदै गुवाहाटी पुग्दोरहेछ । बिहान १३ किलोमा १९ किलो जानका लागि गाडी चढ्दा जस्तो अनुभूति जागेको थियो मनमा, फर्किदा त्यो भन्दा फरक मनमस्तिष्क बनिसकेको थियो मेरो ।
चन्द्रबहादुरसँगको एकैभेटमा मानसिकरुपमै म बदली हुन पुगेको थिएँ र आफुलाई उमराङ्सोको एक सदस्यजस्तै ठान्न थालेको थिएँ । १३ किलोमा गाडीबाट ओर्लिएर दुईढाईसय मिटर पैदल हिँडेर आश्रयदाता दाइको क्वाटरमा पुग्दा मेरा पाउ यति हलुंगा भएका थिए कि मानौ म कुनै युद्धमा विजय हाँसिल गरेर फर्किरहेको सिपाही हुँ ।
“दाजु चन्द्रबहादुर क्षेत्रीसँग भेट भयो नि मेरो ।” सफलताको पहिलो सुसमाचार कसलाई सुनाउँ मैले ? अगाडिको भवसागर तर्नै बाँकी थियो । युद्ध लड्न कुनै छहारीदार रुखको हाँगोमा टेकिनु थियो । त्यस छहारी भित्र चराले जस्तै एउटा गुड बनाउनु थियो । त्यस गुडमा ओसार्नु थियो, नङ्पोमा साँझ परेपछि मारुनीको भाका सुसेल्ने बालाई, उनले जन्माएर बेसहरा छोडिदिएका उनको माहिलो छोरालाई र गरमपानीबाट कहिले फर्किएला भन्दै आशाको सागर आँखामा सजाएर मेरो फिर्तिको कामना गरेर बसिरहेकी एकबालालाई ।
“ए १ हो रु भेट भयो रु राम्रो भयो” आश्रयदाता दाइले कौतुहलता, आश्चर्यता र सन्तुष्टिका सबै भाव एकैसाथ व्यक्त गर्नु भएको थियो, मेरो कुरो सुनेपछि । “हो दाइ, वाँसित भेट भओ । टाइम लागेनि काम पाइने कुरो अर्नु भओ ।” जुत्ता खोलेर बैठक कोठा भित्र पस्तै सुसमाचार सुनाएको थिएँ मैले । त्यतिबेलासम्म उहाँले तातोपानी तताएर गिलासमा राखिसक्नुभएको रहेछ । “जोडो छ, लौ तातोपानी पिउ ।” मलाई गिलासको पानी देखाउँदै थप जिज्ञासा पोख्नु भएको थियो—अब के गर्ने भन्ने कुरो भओ त चन्द्रबादुर सित रु
के गर्ने रु कहिले गर्ने रु भन्ने विषयमा बादल हटेको थिएन । काम पाइने भन्ने बारेमा मात्र कुरो सकिएको थियो चन्द्रबहादुर क्षेत्रीसँग । चन्द्रबहादुरले थप भनेको कुरो मैले उहाँलाई सुनाउने मौकै पाएको थिइन । उहाँले आफै जिज्ञासा लिनु भयो । मलाई चन्द्रबहादुर सँग भएका कुरा सुनाउन बाटो पनि खुल्यो, सुनाएको थिएँ— १९ किलोभन्दा पर २९ किलोमा मेरै जातका मास्टर छन् रे । ती मास्टरले स्कुलमा पढाउँछन् रे । त्यहाँ जान भन्नुभएको छ चन्द्रबहादुरले । भोलि त्यता जान्छु । मारवाडीले मास्टरहरुले भनेको मान्छन् रे भन्ने कुरो गर्नु भयो चन्द्रबहादुरले । मास्टरले कुनै काठ कम्पनीमा काम लगाइदिन सक्ने कुरो भयो । यी कुरा आश्रयदाता दाइलाई सुनाउँदा भने म केही मन्थर भएको थिएँ । अनिश्चताका बादलका छिटाहरु तैरिएजस्तै त्यहाँनिर आउँदा म आफै धरमर धरमर हुँदै जवाफ दिएको थिएँ । के ठेगान ती मास्टरले मलाई दुत्कारे भने, सपना सबै उडेर जान के बेर १
“ल अब खाना बनाम, म एक्लै छु । जहान केटाकेटी पहाड गाका छन् । दुईभाइ मिलेर बनाम्ने, खाने ।” दाइले रित्तो गिलास उठाएर बासिनमा राख्नु भयो र पकाउने धन्दामा लाग्नु भयो । मैले पनि दाइले अह्राएको काम गर्न थालेँ ।
पकाउने, खाने, खाइओरी भाँडाबर्तन माझ्ने काम सकियो ।
मैले आफुले खाएका थालबटुका आफैले माझे । त्यसैपनि भाडा माझ्न मलाई खुब आनन्द आउँथ्यो । भाँडा माझ्ने महान् ज्ञान गण्डकी बोर्डिङको उपहार थियो मेरो जीवनमा । घरघन्दा पनि सकिदै थियो र बिस्तारै रात पनि छिप्पिदै थियो । बिजुली कम्पनीको नोकरी भएको कारणले विजुली फ्री रहेछ सबै कर्मचारी आवासमा । खानापकाउने देखि कोठा तातो बनाउने काम समेत विजुलीबाट नै हुँदोरहेछ । कोठामा हिटर जलेको थियो । बाहिरको जाडो भित्र नपसोस् खातिर झ्यालका खापाहरु बन्द गरिएको थियो । काम सकेर कुर्चिमा बस्दै दाइले नै कुरो कोट्याउनु भएको थियो—बिहेवारी भएको पनि भन्छौ, बालाई खोज्न नङ्पो आएको पनि भन्छौ, साथमा दुलही पनि ल्याएको कुरो गर्छौ, हातमा कुनै काम छैन, यस्तो कसरी भयो त भाइ ?
“भयो दाइ, यस्तै भयो । घरबाट टाढा पोखरा बसेर काम पनि गर्ने, कामगर्दै पढ्दै पनि थिए । त्यै बेलाँ बिहे नि भै गयो । यता गुल्मी घरबाट बा प्रदेश लागेको खबर पोखरासम्म पुग्यो । आमालाई भाइबहिनी हुर्काउन दुःख भएको खबरले मलाई साह्रै दुःख लाग्यो । पहिले जहानलाई पोखरामै छोडेर बालाई खोज्न नङ्पो आएँ । बालाई भेटेँ । उनको जुन हालत थियो, सोही हालतमा उनलाई नेपाल फर्काउनु भन्दा आफुपनि सँगै बस्योभने केही होलाजस्तो लाग्यो ।
फेरि फर्केर पोखरा गएर जहानलाई लिएर पनि लिएर आएँ ।” कतिपय कुरा दोहोरिए । कति नौला निस्किए । राति राति नै भइहाल्यो । बिहान खानाखाइवोरी दाइ अफिस म १९ किलो जाने काम भयो । दुईभाइको बीचमा मल खोलेर बातचित भएकै थिएन । पढाइको स्तर, राजनीतिको रंगबारे भने मैले मुख खोलिन । अरु सबै कुरा बताएँ ।
“दाइ को होलान् रु, घर अर्घाखाँची भन्छन्, थर के होला रु मलाई यति बिघ्न माया किन गर्छन् रु” मेरो मन भित्रभित्रै बाउँडिएको थियो । सोधौं कसरी सोधौ रु नसोधौं मनले मानेकै थिएन । आफुलाई यत्रो सहयोग गर्ने मान्छेको बारेमा जानकारी हुनु आवश्यक पनि थियो । कुरै कुराको दौरानमा मैले मुख खालेको थिएँ—दाजु के थरी हुनुुन्छ नि ?अर्घाखाँचीयाँ हाम्रा फुपुहरु छन् । वाँरुलाई कतै चिनिपो हाल्नुहुन्छ कि ?
“म दमाई हुम् भाइ । तिमीलाई किन लुकाम्न परो र । तिमी र ममा त्यति फरक भएन । तर मैले अफिसमा मगर थर लेखाको छु । सबैले मलाई मगर भन्छन् । आसाममा बोलाउँदा नामले बोलाइन्न । थरले बोलाइन्च । अफिस जताततै मलाई मगर भनेर बोलाउँचन ।” दाइको सपाट उत्तरले म विभोर हुँदै मनमनै उनलाई प्रणाम गरेको थिएँ । कुरो अरु पनि भएको थियो । कसरी अर्घाखाँचीको मान्छे उमराङ्सो पुग्यो रु सरकारी नोकरी कसरी लाग्यो रु मगर थर किन राख्नु प¥यो रु यावत विषयमा कुराकानी भएको थियो त्यो रात मगरदाइ सँग । तर समयको लामो अन्तरले ती कुराहरु सबका सब ओझेलमा परे ।
मगरदाइको उमेर ३० को हाराहारीमा थियो । एउटा हात जखमी रहेछ । खाना पस्किदा सोही जखमी हातमा मेरा आँखा परे । बायाँ हातको बीचको औला गायब थियो उहाँको । तर त्यस विषयमा सोधखोज गर्न मन लागेन । अफिसमा रनरको काम गर्ने कुरोको बारेमा उहाँ आफैले बताउनु भएको थियो । रनर भनेको एउटा अफिसको चिठी अर्को अफिसमा पु¥याउने काम रहेछ । भारत सरकारको नोकरी रहेछ दाइको । तमाम सुविधाहरु रहेछन् । क्वाटर रहेछ ससानो परिवार बस्न मिल्ने सुविधा सहितको । हिटरमा खाना पकाउने सुविधा रहेछ । नुहाउँदा पानी तताउने बिजुलीकै रडको ब्यवस्था रहेछ । एक नेपालीले यति राम्रो नोकरी पाएकोमा मनमनै खुशी भएको थिएँ म । मगरदाइले यस ठाउँमा नोकरी पाउनु भएको थियो र त मलाई उमराङ्सोको जाडोमा कठ्यांग्रिएर मर्नु वा पुलिसको चिसो छिडीमा बास बस्नु परेको थिएन ।
कुरैकुरामा त्यति नजिक भइसकेपछि मलाई आफ्नो साथमा रहेका ठेगानाहरुको बारेमा मगरदाइसँग सोधपुछ गर्न मन लाग्यो । किनकि शिलाङका साथीहरुले दिनुभएको दुईजना सम्पर्कका साथीहरुको ठेगाना नेप्को कम्पनी कै थियो । एउटै कम्पनीमा काम गर्ने भएकाले मगरदाइको उहाँहरुसँग चिनजान नहुनेभन्ने हुँदैन थियो । हिन्दीमा एउटा घरलाग्दो कहावत छ “छोटी मुख, बडी बात” कुनै भूमिका नबानेरै मैले दाइसँग बडी बात भने झै कुरो जाहेर गरेको थिएँ—शिलाङमा मेरा केही साथीहरु छन् दाइ । म उमराङ्सो आउने भन्ने कुरो उहाँहरुलाई बताएको थिएँ । मेरै सजिलोको लागि उहाँहरुले आफ्ना साथीहरुको नाम दिई पठाउनु भएको छ । वितरा परेको बेलामा उहाँहरुकोमा जानु भन्नु भएको छ । दाइकै कम्पनीमा काम गर्ने वेदु शर्मा र प्रेम लामालाई चिन्नुहुन्छ होला केरे हजुरले ?
प्रेम लामा र वेदुराम शर्मा तत्कालिन नेकपा९माले० समर्थक साथीहरु रहेको कुरो मलाई शिलाङका साथीहरुले सुनाउनु भएको थियो । देवदूतीय लामा बाले बाको आरनमा आएर मलाई उमराङ्सो जाने सल्लाह दिएपछि लामाबाको कुरोलाई शिलाङसम्म पु¥याएको थिएँ । नेपालबाट पार्टीसँग घरको व्यवस्था मिलाउने तथा प्रदेशिएका बालाई घर फर्काउने सर्तमा दूई वर्षको विदा स्वीकृति गराएर मेघालय हानिएको थिएँ म । पार्टीमा सक्रिय नभएता पनि पार्टीसँगको नाता तोडिएको थिएन । त्यसैले पनि पार्टीको मालाको धागोभित्र अविछिन्न थिएँ म । त्यसैले गर्दा पार्टीको भूमिगत शैलीलाई सतहमा ल्याउन अनुमति थिएन मलाई । मगरदाइसँग तिनै तानाबाना मिलाएर वेदु शर्मा र प्रेम दाइको बारेमा सोधखोज गरेँ ।
“चिन्छु किन नचिनम भन्चु वाँरुलाई । वेदुदाइ कम्पनीको गाडी चलाउनुन्च । धेरैजसो साहेवको जीप चलाएर शिलाङ गुवाहाटी जानुहुन्छ । कम्पनीको अर्को कोपीली साइट पनि छ, त्याँ नि जानुन्च । ३ किलोआँ छ वाँको क्वाटर । भेट भैरन्च हाम्रो ।” केही बेर सुस्ताएर उहाँले प्रेम दाइको बारेमा बताउनु भएको थियो । प्रेम तामाङ विशेषतः प्रेम लामाको नामले चिनिनुहँदोरहेछ अफिसमा । उहाँको नेप्को सेन्टर कोलोनी भित्रनै क्वाटर रहेछ । उहाँको कामको बारेमा मगरदाइले बताएको भएपनि सम्झनामा छैन । वेदुराम शर्मा र प्रेम लामादाइहरुको बारेमा मगरदाइबाट सकारात्मक कुरो सुनेपछि मेरो मन ढुक्क भयो । “३ किलो अली पर भओ, प्रेम दाइकोमा जानेभए भोलि लैजाम्ला भाइ । ढुक्क होऊ ।” दाइले मलाई उत्साहित बनाउनु भएको थियो ।
शिलाङबाट हिड्दा साथीहरुले टिपाएको अर्को नाम पनि थियो मसँग, तीलक क्षेत्री । उहाँको कार्यालयको नाम थियो, एरी फर्म यस्तै केही । उहाँको पनि सरकारी नोकरी नै रहेछ, आसाम सरकार अन्तर्गतको । एरी फर्म भनेको सिल्क उत्पादन गर्ने किरा पाल्ने फर्म हो । नेपालीहरुले आमभाषामा रेडियोको च्यादर भनेर जो च्यादर ओड्ने गर्दछन्, सो च्यादर बुन्ने रेशमी धागो उत्पादन एकप्रकारको किराबाट हुन्छ । त्यस किराले खाने रुखलाई एरी भनिन्छ र सोही एरी सिल्क फर्ममा दाजु तीलक क्षेत्रीको नोकरी रहेको कुरो साथीहरुले मलाई बताउनु भएको थियो । यस कुरालाई भने मगरदाइको अगाडि खोल्न मन लागेन । जोगीको भेषमा दरदर ठोक्कर खाँदै हिडिरहेको मान्छेले ठूलो कुरो गरेको सुहाउँदैन थियो र सुन्नेले सुनेर पत्याउने खालको पनि हुनुपथ्र्यो ।
बिगत जेजस्तोभएपनि बर्तमान बेलाह थियो मेरो । मैले अलिकति पनि बढाएर कुरो गर्ने हो भने जुरेलीले बाँस नुहाउने उखानजस्तै हुन जान्थ्यो । त्यसैले वेदु र प्रेम दाइको बारेमा मात्र मगरदाइसँग सोधपुछ गर्ने हिम्मत गरेको थिएँ मैले । तीलक क्षेत्रीको बारेमा आइपर्दा मात्र आफैले खोजीगर्ने निधोगरी कुरो निकालिन ।
जीवनका यी अनमोल रंगहरु धोइ जाउन् कि पखाली जाउन् टाँसिएर बसेका छन् मेरो शरीर, दिल दिमागमा । यी रंगहरुको वास, सुगन्ध बिछट्टै प्यारो लाग्छ मलाई । बाटो बिराएको थिएँ, त्यो गल्ती अक्षम्य गल्ती थियो । तर सोही गल्तीको कारणले सिंगो दुनियाँ विश्वविद्यालय बनेर मेरा सामुन्ने खडा छ आज । मेचीको पुल, जहाँ आफ्नै नेपाली दाजुभाइहरुले पारीको कस्टम अफिसरसँग मिलेर कसरी ठग्छन् भन्ने नमिठो अनुभव छ मसँग । जलपाइगुडी, बोगाइगाउँ, न्यु बोगाइगाउँमा कसरी नेपालीहरुलाई विदेशीको आरोप लगाउँदै पकेट झारझुर पारेर वापस सिलिगुडी पठाउँछन् भन्ने गहन पाठ सुरक्षित छ मेरो दिलदिमागमा ।
संगतले जुराएको नातासम्बन्धले मानवीय व्यवहारमा कति फरक पार्दोरहेछ भन्ने कुरो मैले वेदु र प्रेमदाइहरुसँगको मैले बोकेर आएको सम्पर्क ठेगानाको बारेमा मगरदाइलाई सुनाउँदा थाहा पाएको थिएँ । जब उहाँका दुई सहकर्मी साथीहरुको ठेगाना मैले बोकेर आएको कुरो उहाँलाई सुनाएँ, त्यो कुरो सुन्नासाथ उहाँको बोली बचन झन् मिठासपूर्ण भएको मैले अनुभव गरेको थिएँ ।
मेरो यो जीवन संजोगै संजोगले संयोजित
एक अनौठो संयोग, त्रिवेणी जस्तै ।
२०८० असार १ बुटवल
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)