Logo बिहिवार, आश्विन १ गते २०८३
images

साह्रै लामा र अत्यास लाग्दा भए आमा गुमाएका दिनहरू...

साह्रै लामा र अत्यास लाग्दा भए आमा गुमाएका दिनहरू...

  • 3.9K
    SHARES

  • साह्रै लामा र अत्यास लाग्दा भए आमा गुमाएका दिनहरू...

    -कल्पना ढकाल

    आमा अर्थात् सृष्टिकर्ता । जन्मेपछि मृत्यु अपरिहार्य छ र सत्य नै यहीँ हो । हरेक जन्म मृत्युका लागि हुन्छन् । तर, कतिपय मृत्यु एकदमै पीडादायी र स्वीकार गर्नै नसकिने हुँदा रहेछन् ।

    हामीले हाम्री ममतामयी आमाको देहावसान भएको एक वर्षमा यो दुखद पीडा र छटछटी भोगेका छौं । यो बीचमा हामीले आमाको यदि ज्यादा अभाव महशुस गर्यौं कि त्यस अभावालई शब्दमा उतार्न सम्भव नै छैन । ममतामयी माताको वार्षिक पून्य तिथिका अवसरमा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

    आमा, खोइ कहाँबाट सुरु गरौँ, खोइ कसरी बित्यो यी एक वर्ष ? तर सारै लामा र अत्यास लाग्दा भए आमा गुमाएका यी दिनहरू । आफूले सक्दो गर्ने हो तर अरु जे आउँछ सबै जिन्दगीमा भोग्नुपर्ने रहेछ । परिवारमा अरू सबैलाई सानै उमेरमा गुमाउनु को पीडा त छँदै थियो फेरि अर्को कालो बादल जसरी ढपक्क ढाकेर गयो तर कहिल्यै नउघारिने गरी ।

    हजुर हुनुहुन्न आँखा अगाडि आज तर आँखा बन्द गर्दा यही वरिपरि भएजस्तै लाग्छ । त्यसैले होला जे काम गर्दा नि जहाँ जाँदा नि हजुरले हेरिरहनुभएको छ जस्तै लाग्ने । आमाको साथ सधैं छ र त सधैं राम्रो काम गरुँ लागिरहन्छ र गर्ने कोसिस गरिरहेकै छु ।

    हजुरलाई गुमाएको केही समयमा नै हाम्रो आफन्त भाइबहिनीहरूको बिहे थियो । विभिन्न समारोहको आयोजना भए । आमाको सम्झना गर्दै र पीडाका दिन भुल्नका लागि त्यस्ता समारोहहरुमा म जान लागेँ । भनिन्छ नि हाम्रो समाजमा एक वर्ष नहँुदै जान हुँदैन भनेर तर पनि म गएँ । अनि कसैले आमा भनेर प्रश्न गर्दा म अकमक्क पर्थें ।

    ए साँच्चै आमा त हुनुहुन्न भनेर । कहिलेकाहीँ के बिर्सेँ, के बिराएँ जस्तै लाग्थ्यो अनि आमाको नम्बरमा कल डायल गर्थेँ । कतिपटक त त्यो फोन गर्दै गर्दा मम्मी हुनुहुन्न साँच्चै भनेर फोन काटेर आँखा चिम्म गरेर रोएरै बस्थेँ । यसरी बिते आमाबिनाका एक वर्ष ।

    आमाको भौतिक साथ हुँदाका पल वास्तवमै उमंगका थिए, उत्साह हुन्थ्यो र हर पल रमाइला थिए । तर, आमाबिना यो संसारमा अरु केही छैन जस्तो लाग्छ र निरश पनि लाग्छ ।

    दिदी, भाउजू, सानिमा अनि माइजुले धेरै माया गरेर फोन गर्नुहुन्थ्यो तर मोबाइलमा नाम हेर्नेबित्तिकै हजुर कै याद आउँथ्यो र फोन उठाउन सक्दैनथेँ । कसैले पनि हजुर को बारेमा कुरा नै ननिकाले हुन्थ्यो जस्तो लाग्ने ।

    अहिले पनि हजुर को यो वार्षिकी श्राद्ध आउनै लाग्दा यो मन अत्तालिएको जस्तो के गरौँ, कसो गरौँ भइरहेको छ । मनभित्रका पीडा र रोदनलाई कसरी लुकाऊँ, कसरी सम्हालूँ भन्ने भइरहेको छ । मनभरि आमाको झलझली याद आइरहेको छ, आमाको अभाव महसुश भइरहेको छ, एकप्रकारको मनमा औडाह छुटिरहेको छ । यसलाई कहाँ गएर पोखौँ जस्तो भइरहेको छ ।kalpana dhakal.jpg

    हो, हामीलाई जति नै पीडा परेपनि बित्नुभएको आमा अब फर्केर आउनुहुन्न भन्ने थाहा छ । तर, यसलाई स्वीकार्न मनले अझै मानिरहेको छैन । सपनामा देख्दा मात्रै होइन एकान्तमा बस्दा पनि आमालाई वरिपरि नै पाएको जस्तो आभास हुन्छ तर, बोलाउँछु आमाको आवाज आउँदैन, आमाले हई छोरी भन्नुहुन्न । तै पनि सम्हालेर मन बुझाउने प्रयास गर्दै यो वर्ष बितेको छ ।

    क्यान्सर रोग विशेषज्ञलाई पनि क्यान्सर रोग, मुटुरोग विशेषज्ञलाई मुटुको रोग, अनि मनोरोग विशेषज्ञलाई पनि मनोरोग लाग्नसक्छ भने जस्तै अरूलाई सम्झाउने उच्च मनोबल बनाउन प्रेरित गर्ने म आफैँ कमजोर भएको महशुस गर्थेँ र ती भावना अरूसँग व्यक्त नगरी कपीका पानामा कोर्थेँ, भलै मेरो अनुहारमा ती पीडा झल्किँदैन सकभर दिन्नथेँ ।

    तर, श्रीमान्ले मेरो अनुहार हेरर थाहा पाइहाल्नुहुन्थ्यो । उहाँले पनि कैयन्पटक सम्झाउने र सम्हाल्ने काम गर्नुहुन्थ्यो ।

    उहाँको साथ, घर परिवारको साथ, माया ममता र छोराछोरीसँग कुराकानी बसेर मन सम्हाल्ने काम गर्दै समय बिताउँदै आएँ । पीडामा आफन्तको साथ, माया र ममता पाएपछि केही हलुका हुँदो रहेछ । पीडामा परेका बेलामा को कसले के भनेर सहानुभूति दिए, कसरी समवेदना प्रकट गरे, को को सामेल भए भनेर पनि अर्थ राख्दो रहेछ । सबै सबैप्रति फेरि पनि हार्दिक आभार प्रकट गर्दछु ।

    छोरी मेरो आशीर्वाद छ, सधैँ तिम्रो शिर उच्च रहनेछ भन्दै आशीष दिने आमालाई भौतिक रुपमा गुमाएँ । तर, आमाको आशिष र सत्कर्ममा लागिरहने प्रेरणा भने मेरा साथमै छन् । आमालाई वरिपरि खोई कता हुनुहुन्छ भनेर खोज्दा खोज्दै वर्षदिन बित्यो । तर, आमाले बैकुण्ठबासबाट मलाई र हामीलाई नियाली रहनुभएको छ ।

    घर उही छ, हजुरले प्रयोग गर्ने पलङ, दराज कोठा उहीँ उस्तै छन् केवल मात्र हजुर हुनुहुन्न तर त्यहीँ हुनुहुन्छ कि भन्ने आभास दिलाइरहन्छ अनि यताउता खोज्छन् आँखाले तर फेरि मनले भन्छ अदृश्य भएर आफूले मात्र देख्ने अनि सुन्ने गरी भगवानहरू बस्ने ठाँउमा जानुभएको छ र त्यहीँबाटै मलाई सत्मार्गको जीवनयात्रा तय गर्ने ऊर्जापूर्ण आशीर्वाद दिइरहनभएको छ । ममतमयी माताजीप्रति सत्सत् नमन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, जेठ १८ २०८००८:२४:५७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology