बुटवल ।
चर्चित गायीका देविका बन्दनाले क्यान्सर जितेर फर्किएपछि पुस्तक मार्फत् अरुलाइ उर्जा भरिरहेकी छन् । देविका क्यान्सर निको भएपछि बाँकी जीवन संगीतकर्म र क्यान्सर पीडितलाई सचेतना जगाउने अभियानमा लाग्न चाहन्छिन् ।
‘अब एकल साँझ र पुस्तकको कामलाई अघि बढाउँछु । नेपाल र विश्व टुर गर्ने इच्छा छ । म बिरामी हुँदा त ११ गीत गाएँ, कसैले थाहा पाएन । अब त झन् निरन्तर रुपमा गायनलाई अघि बढाउँछु र क्यान्सर पीडितको लागि समाजसेवामा अघि बढ्छु । सहयोग गर्ने इच्छा छ,’ उनले भनिन् ।
डेढ वर्षअघि स्तन क्यान्सर लागेको थाहा पाउँदा देविका बन्दना निकै डराइन् । किमोथेरापी गर्दाका क्षण सम्झँदा उनलाई अझै कहाली लाग्छ । आफू क्यान्सर पीडित भएको कुरा परिवारबाहेक अरु कसैलाई पत्तो पनि दिइनन् । यसबीचमा उनले ११ गीत रेकर्ड गराइन् र सांगीतिक कर्मलाई सक्रिय रुपमा अघि बढाइन् ।
क्यान्सर पीडितको रुपमा भएको यात्राबारेका भिडियोलाई टिकटक र युट्युबमा राख्दै जाने पनि देविकाको योजना छ ।सुरुमा किमोथेरापी गर्दा उनी निकै डराइन् । ‘तिघ्रामा सुई लगाउँदा एकदमै दुख्थ्यो । चार-पाँच दिनसम्म मर्छु कि भन्ने लाग्ने,’ उनले भनिन् ।
‘क्यान्सर भन्ने बित्तिकै हामी डराउँछौं । मर्छु भन्ने त्रास भइरहन्छ । तर इच्छाशक्ति र परिवारको साथ भयो भने चाँडै निको हुने रहेछ । डराउनुपर्दैन,’ क्यान्सर जितेपछि देविकाले भनिन्, ‘यी सबै कुरा पुस्तकमा लेखेकी छु, यो पुस्तक पढ्नेले क्यान्सरलाई लिएर धारणा बदल्नुहुन्छ ।’
पुस्तक निकालेर अन्य क्यान्सर पीडितलाई सघाउने उनको योजना छ । यो किताब पढेपछि क्यान्सरलाई हेर्ने दृष्टिकोण बदल्ने उनको भनाइ छ । ‘सबै पुस्तक पसलमा पाइन्छ । यो बुक पढेपछि इच्छाशक्ति बढ्छ बिरामीको,’ उनले भनिन् ।
रोचक कुरा, उपचारको क्रममा रेकर्ड गराएका ११ गीतलाई समावेश गर्दै उनले लण्डनस्थित गिनिज वर्ल्ड रेकर्डको मुख्यालयमा कीर्तिमानको दाबीसहित डकुमेन्ट पठाएकी छन् ।
‘बिरामी भइञ्जेलसम्मको कामबारेका भिडियो प्रमाण समाबेस गरेर लण्डन पठाएकी छु । त्यसको एक महिनामै तपाईंले वर्ल्ड रेकर्ड पाउँदै हुनुहुन्छ भनेर फोन गर्नुभयो । उहाँहरुको हातबाट वर्ल्ड रेकर्ड कायम गरें,’ उनले भनिन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)