बुटवल,कार्तिक २४ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रूपन्देहीले शुभ दीपावली–२०८३ को अवसरमा आयोजना गरेको देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ।
नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनसँगै कलाकारहरूको कल्याणकारी कोष बृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमबाट करिब दुई लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
प्रतिष्ठानले कार्तिक २३ गते सोमबार बुटवलको बीपी चोक र नेपालगन्ज रोड गरी दुई स्थानमा देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरू, प्रतिष्ठानका पदाधिकारी, सदस्य, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले आ–आफ्नो मौलिक भेषभूषामा सजिएर विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। प्रत्यक्ष दोहोरी, लोकगीत, नाचगान, अभिनयलगायतका प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। सोरठी नाच, मारुनी नाचलगायत नेपाली मौलिक लोकसंस्कृति झल्काउने प्रस्तुतिमार्फत कलाकारहरूले परम्परागत कला र संस्कृतिको महत्त्व उजागर गरेका थिए।
देउसीभैलो कार्यक्रममा सयौँको संख्यामा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो। मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले देउसीभैलोमार्फत नेपाली लोकसंस्कृतिको जगेर्नामा ऐक्यबद्धता जनाएका थिए।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रूपन्देहीकी अध्यक्ष रितु थापा मगरले कार्यक्रमबाट करिब दुई लाख ५० हजार रुपैयाँ संकलन भएको जानकारी दिनुभयो।
उहाँले नागरिक अनलाइनसँग कुरा गर्दै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
अध्यक्ष मगरले देउसीभैलोबाट संकलित रकम संस्थाको आर्थिक अवस्था सुदृढ गर्न, कलाकारहरूको हकहित संरक्षण गर्न तथा उनीहरूको क्षमता विकास र कला संस्कृतिको प्रवर्द्धनमा खर्च गरिने जानकारी दिनुभयो। कलाकारहरूको पेसागत हित, अधिकार र सुरक्षाका सवालमा संस्थालाई थप क्रियाशील बनाउन पनि संकलित रकमले सहयोग पुग्ने उहाँको भनाइ छ।
उहाँले लोकगीत, संगीत, नृत्य र मौलिक सांस्कृतिक पहिचानको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै समुदाय र कलाकारबीचको सम्बन्धलाई समेत बलियो बनाउने बताउनुभयो।
देउसीभैलोबाट आर्थिक संकलन मात्रै नभई नेपाली मौलिक संस्कृति, परम्परा र लोककलाको संरक्षणमा सामाजिक सहभागिता बढाउनसमेत सहयोग पुगेको आयोजकको विश्वास छ।
कार्यक्रमको संचालन तथा संयोजन कल्पना कुसुमले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)