बुटवल,कार्तिक २१ ।
नेपाली काँग्रेस १५ औं महाधिबेशन अन्तर्गत सम्पन्न रुपन्देही २ (ख) को अधिबेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
पार्टीका नवनिर्वाचित सभापति रविन्द्रमान श्रेष्ठको सभापतित्व तथा केन्द्रिय सदस्य बालकुमारी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नवनिर्वाचित महाधिबेशन प्रतिनिधी र प्रदेश प्रतिनिधीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका बोल्दै केन्द्रिय सदस्य बालकुमारी भण्डारीले पार्टीलाई थप मजबुत बनाएर लैजाने जिम्मेबारी १५ औं महाधिबेशनबाट युवाहरुको हातमा पुगेको बताउनु भयो ।
पार्टीमा ४० प्रतिशतभन्दा बढि युवा नेतृत्व आएको दावी गर्दै केन्द्रिय सदस्य भण्डारीले ंअग्रजहरुको योगदानको कदर गर्नुका साथै अनुभवलाई सम्मान र आत्मसात गर्दै अघि बढ्नुको बिकल्प नरहेको बताउनु भयो ।
पुर्व केन्द्रिय सदस्य रामबहादुर कार्कीले कसैलाई काखा र कसैलाई पाखा नगरि पार्टीलाई एकढिक्का बनाएर लैजान सकेमा पार्टी र लोकतन्त्र थप बलियो हुने उल्लेख गर्दै गाउँगाँउ, टोलटोल र शहरमा संगठन बिस्तारमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
सो अवसरमा पार्टीका लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले नेपाली काँग्रेस स्थापना कालदेखिनै आम जनताको पार्टी भएकोले जनताको बिश्वासलाई साथमा लिएर मात्रै अघि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
सो अवसरमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रकाश राना, महाधिबेशन प्रतिनिधी दिर्घकुमार केसी, रुपन्देही २ का क्षेत्रिय सभापति प्रजापाल गिरी, क्षेत्र २ (क) का सभापति जोवनसिंह ठकुरी, बुटवल उपमहानगर सभापति खेलराज पाण्डेय, निर्वाचन अधिकृत माधव लगाएतले नेपाली काँग्रेसले अवलम्बन गर्नुपर्ने अवको बाटो र पार्टीका नेता कार्यकर्ताले खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)