बुटवल ,कार्तिक २१ ।
नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले सरकारले जनताको काम गर्नुभन्दा भ्रम फैलाउने र अनावश्यक गतिविधिमा समय खर्चिरहेको टिप्पणी गरे ।
‘काम गरेर जनमत बढाउने हो, अनावश्यक हल्ला र भ्रम फैलाएर जनमत बढ्दैन,’ उनले भने, ‘सामाजिक सञ्जालमा दर्शक र समर्थक बढाएर मात्रै सरकार चल्दैन । जनताको काम गरेर जनमत आर्जन गर्नुपर्छ ।’
उनले सरकारका गतिविधिमा गल्ती भएको भए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने भन्दै काम प्रभावित हुने गरी आरोप–प्रत्यारोपमा नलाग्न आग्रह गरे । युवाको ऊर्जा र क्षमतालाई विकास निर्माणमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
कांग्रेस सभापति गगन थापाबारे बोल्दै भण्डारीले आफूले उनलाई लामो समयदेखि चिनेको उल्लेख गरे । थापालाई कांग्रेसका कुनै नेताले कारबाही गर्नुपर्ने काम गरेको भए कानुनी प्रक्रियाबाट कारबाही गरेर देखाउन उनले सरकारलाई चुनौती दिए ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)काठमाडौं महानगरपालिकाको मेयर हुँदा तत्कालीन सरकारले आवश्यक कर्मचारी उपलब्ध नगराउनु अहिलेको राजनीतिक परिस्थितिको एउटा कारण भएको भण्डारीले बताए । त्यसबेला आफूले एमाले, कांग्रेस र माओवादीका शीर्ष नेताहरूलाई यस विषयमा सचेत गराएको उनको भनाइ थियो । भण्डारीले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न नहुने धारणा राखे । लोकतान्त्रिक व्यवस्था र पूर्वाधार निर्माणमा विगतका सरकार तथा राजनीतिक दलको योगदान रहेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वले त्यसलाई स्वीकार गर्नुपर्ने बताए ।
`हामीले बनाएको घरभित्र बालेन आएका हुन् । यो घर बनाउन हजारौँको रगत र बलिदान परेको छ,’ उनले भने, ‘आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन ।’
कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन श्रेष्ठले कांग्रेसलाई कमजोर बनाउन विभिन्न शक्ति लागे पनि सफल नहुने बताए । गगन थापाले अघि सारेको अभियानले पार्टीसँगै मुलुकको भविष्यसमेत राम्रो बनाउने उनको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य सुशील गुरुङले वर्तमान सरकारका गतिविधि विधिको शासनविपरीत भइरहेको आरोप लगाए । जनताले अब सरकारका गतिविधिबारे आवाज उठाउनुपर्ने बताउँदै उनले पार्टीभित्र देखिएको अराजकता अन्त्य गर्न नेता तथा कार्यकर्तालाई आफ्ना आनीबानी सुधार्न आग्रह गरे ।
अर्का केन्द्रीय सदस्य बालकुमारी भण्डारीले कांग्रेस बलियो भएर अघि बढेको बताइन् । सो अवसरमा प्रदेश कोषाध्यक्ष प्रकाश राना,जिल्ला सभापति रामकृष्ण खांण , क्षेत्रीय सभापति प्रजापाल गिरी ,क्षेत्रीय सचिव छाया पोखरेल लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)