Logo मंगलवार, श्रावण १२ गते २०८३
images

विश्व क्यान्सर दिवस : क्यान्सरमुक्त समाज निर्माणमा जुटाैँ

विश्व क्यान्सर दिवस : क्यान्सरमुक्त समाज निर्माणमा जुटाैँ

  • 2.2K
    SHARES

  • विश्व क्यान्सर दिवस : क्यान्सरमुक्त समाज निर्माणमा जुटाैँ

    -प्रजापाल गिरी

    मानव शरीरको कुनै अङ्ग वा तन्तुमा कोषिकाहरुको अनियन्त्रित वृद्धिले गर्दा उत्पन्न हुने र शरीरका अन्य भागहरुमा फैलिन सक्ने प्राणघातक प्रकृतिको रोगलाई क्यान्सर रोगको रुपमा चित्रण गरिन्छ ।

    विश्व स्वास्थ्य संगठनले सन् २००८ मा चारवटा रोगहरु २१औं शताब्दीको लागि मानव स्वास्थ्यको सबैभन्दा ठुलो खतरा भनेर किटान गरिसकेको रोगहरु मध्ये क्यान्सर पनि हो । संसारमा मृत्युको दोश्रो ठुलो कारण बनिरहेको यो रोगको कारण संसारमा मृत्युु हुनेको कुल संख्या मध्ये १४ प्रतिशत यसै रोगबाट मर्ने गर्दछन । महादेशहरुको तुलनात्मक अध्ययन गर्दा संसारका कुल क्यान्सर रोगीहरु मध्ये ४८ प्रतिशत क्यान्सर विरामी एसिया महादेशमा बस्ने गर्छन् ।

    अझ डरलाग्दो त के छ भने नेपालमा प्रत्येक बर्ष २६ हजार भन्दा बढी नयाँ क्यान्सर रोगीहरु थपिने र यसै रोगका कारण बर्षेनी १५ देखि १८ हजार मानिसको मृत्यु हुने गरेको देखिन्छ । यस्ता डरलाग्दा वैश्विक तथ्यांकले वर्तमान विश्व त्रसित छ । त्यसैले क्यान्सर रोग सम्पुर्ण विश्व र अझ स्वास्थ्य प्रणाली कमजोर र महँगो उपचार खर्च भएको नेपाल जस्ता देशको लागि त ठूलो चुनौती भएको छ ।

    यस रोगको रोकथाम र नियन्त्रणका लागि विश्वभर स्वास्थ्य क्षेत्रमा अनुसन्धान र काम  गरिरहेका संस्था र विश्व स्वास्थ्य संगठनले क्यान्सर हुनुको मुख्य कारक तत्वको रुपमा धूम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन, वातावरणीय प्रदुषण, विकिरणको प्रभाव, अखाद्य तथा अस्वस्थकर खाध्यपदार्थ, वंशाणुगत कारण जस्ता बिषय जिम्मेवार छन् भन्ने पहिचानका साथ संसारको ध्यानाकृष्ट गर्दै आइरहेको छ ।

    विश्वव्यापी चुनौती बनेको यस रोगको बढ्दो समस्या र सम्भावित भयावहलाई न्यूनीकरण र समाधान गर्न यस रोगको अनुसन्धानबाट प्राप्त तथ्यमा आधारित भएर सुझाईएका उपायहरूको अनिवार्य अवलम्बन गर्नु क्यान्सरमुक्त समाज निर्माणको आवस्यकता हो । क्यान्सर हुनै नदिन रोकथामका उपायको प्रभावकारी कार्यान्वयन, समयमै क्यान्सर निदान गर्न स्क्रिनिङ्गको व्यवस्था मिलाउने र क्यान्सर बिरामीको उचित र सुलभ उपचारको व्यवस्था मिलाउन सक्नु क्यान्सर मुक्त समाज निर्माणको आधार हुनेछ । सम्पुर्ण विश्व र  मानव समाजले यिनै तथ्यलाई आफ्नो अनिवार्य दायित्व बनाई त्यसै अनुरुपका रणनीति अख्तियार गर्नु अपरिहार्य छ । 

    यस रोगको रोकथाम र नियन्त्रण सरकारको एक्लो प्रयासबाट मात्र संभव हुनसक्दैन । यसका लागि सरकार, नागरिक समाज र स्वयं व्यक्तिले आआफ्नो स्तरबाट भुमिका र जिम्मेवारी वहन गर्न सक्नु पर्दछ । क्यान्सर रोग लाग्नुको मुख्य कारणका रुपमा पहिचान भएका धूम्रपान, मध्यपान तथा सुर्तीजन्य पदार्थको सेवन र अखाद्य बस्तुको प्रयोग जस्ता बिषयलाई निरुत्साहन गर्न सरकार पक्षले मौजुदा कानुनको प्रभावकारी कार्यान्वयन र कानुन अपर्याप्त भए कानुनको निर्माण र शुन्य सहनशीलताको नीति अन्तर्गत कार्यान्वयन गर्नुपर्दछ ।

    त्यस्तैगरि नागरिक समाजले क्यान्सर रोगको कारण र प्रभावबारे आममानिसमा सचेतनाको सञ्चार गराउन भुमिका निर्वाह गर्नपर्दछ । यसैगरि व्यक्ति स्वयमले आफ्नो आहार बिहार, खानपान र दैनिक जीवनमा सुधार ल्याउने गरि काम गर्ने हो भने विश्वलाई आक्रान्त बनाएको क्यान्सर रोगको निदान सहज हुनेछ ।cancer day.jpg

    अन्यथा यो रोगले मानव समाजलाई सम्पुर्ण रुपमा ध्वस्त पार्नेछ। क्यान्सर  रोगको नियन्त्रण,निर्मूल गर्न उपचारात्मक क्षेत्रको बिकासबाट मात्रै सम्भव छैन प्रतिकारात्मक क्षेत्र को विस्तार अझ बढी महत्त्वपूर्ण छ भन्ने सत्यलाई आत्मसात गर्नु पर्दछ । उपचारात्मक क्षेत्र भन्दा प्रतिकारात्मक क्षेत्रको विस्तार क्यान्सर रोगको नियन्त्रणमा महत्त्वपूर्ण छ भन्ने सत्यलाई मनन गर्नु आवस्यक छ । तसर्थ क्यान्सर रोगको यो कहालीलाग्दो सम्भावनालाई नियन्त्रण गर्न हाम्रो देशको सन्दर्भमा तीन तहकै स्थानीय, प्रदेश र केन्द्र सरकारले "सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने)" ऐन २०६८ र अन्य मौजुदा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागी गम्भीर ध्यान दिनुपर्ने देखिन्छ ।

    ढिलो नगरी आज फेब्रुअरी ४ अर्थात विश्व क्यान्सर दिवसकै दिन देखि हाम्रो देश र समाजलाई क्यान्सर रोगबाट बचाउन प्रतिकारात्मक र उपचारात्मक क्षेत्रको समान बिस्तारका लागि नागरिक स्तरबाट दबाब सृजना गरौं ।

    यस रोगबाट हुनसक्ने ठुलो जन धनको क्षति रोक्न व्यक्ति, नागरिक समाज र राज्य पक्षबाट सहकार्य गर्दै क्यान्सर हुनै नदिने दिशा तर्फ हातेमाले गरौं । क्यान्सर रोग सरकार, नागरिक समाज वा व्यक्तिको एकल प्रयासबाट  नियन्त्रण र निर्मूल हुनसक्दैन क्यान्सर मुक्त समाज निर्माणका लागि सबै पक्षको इमानदार सामुहिक प्रयत्नबाट मात्र सम्भव छ भन्ने निष्कर्षलाई कर्मद्वारा स्थापित गरौं ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology