-प्रा.डा.हिरण्यलाल ज्ञवाली
मेरो जीवनयात्राको निकै महत्त्वपूर्ण मोड २०७९ माघ १० गते, यस मोडलाई मेरो जीवनका महत्त्वपूर्ण मोडहरूमध्ये अन्तिम मोडभन्दा पनि फरक परोइन । नीतिशास्त्रका अनुसार गर्भैदेखि प्राप्त हुने आयु, कर्म, धनसम्पत्ति–आर्जन, विद्याध्ययनर निधन यी पाँच कुरामध्ये जीवनमा देख्न र अनुभूति गर्न नपाइने आयु र निधन यी दुई कुरा बाहेक मेरो जीवनमा अन्य कुराको छिनोफानो भईसकेको अवस्था छ । अनौपचारिक विद्या अध्ययन आजीवन चलिरहने प्रक्रिया भए तापनि औपचारिक रूपमा यसको पनि टुङ्गो लागिसकेको छ किनभने अब मैले कुनै औपचारिक अध्ययन गरी कुनै तह पार गर्ने वा उपाधि लिने सोच बनाएको छैन । मेरा पुर्पुरामा गर्भैमा लेखिएको जीविकोपार्जनको कर्म त शिक्षण रहेछ जुन कर्मको थालनी गरेर मैले जीवनका चार दशक बिताइसकें र बिदा लिइसकें । अब रह्यो अर्थोपार्जनको पाटो ।
त्यो पनि टुङ्गिइसकेको अवस्था छ किनभने मैले आर्थिक उन्नति गरेर सम्पन्न बन्ने सपना देख्न छाडिसकेको छु । मैले जीवनमा आर्थिक समृद्धिको बाटो नरोजेर येनकेन जीविका चलाउने बाटो रोजेर त्यतैतिर लागेँ । त्यसैले अब त्यो सपना देख्नु झन् मूर्खतापूर्ण काम हुनेछ । यसरी हेर्दा मैले जीवनका महत्त्वपूर्ण मोडहरू पार गरिसकेको अवस्था छ ।
आजभन्दा त्रिचालिस वर्ष आठ महिनाअघि २०३७ साल जेठ महिनामा पाल्पा, चहलामा अवस्थित श्री गौरादेवी नि.मा.वि (हाल : मा.वि.) मा निम्न माध्यमिक तहको नेपाली विषयको शिक्षकमा नियुक्त भई मेरो शैक्षणिक यात्रा थालनी भएको हो । त्यस वेला निम्न माध्यमिक तहका शिक्षकको मासिक तलब रु ३७०/ – ( तीन सय सत्तरी रुपिया) मात्र थियो ।
(सेवा निवृत्ति हुँदाको यस क्षणमा म प्राध्यापक पदमा आसीन भएकाले सो पदको मासिक तलब रु झन्डै ७६०००/- छहत्तर हजार) रुपियाँभन्दा केही बढी पुगेको छ । ) त्यसपछि जीवनयात्राका विभिन्न घुम्तीहरू छिचोल्दै २०४५ माघ १० गते म त्रि.वि.सेवामा प्रवेश गरेको हुँ । २०४५ माघ १० गतेदेखि २०४७ माघ १० सम्म सप्तरीको राजविराजमा र त्यसपछि बुटवल बहुमुखी क्याम्पसमा सरुवा भई आजसम्म चलिरहेको यो यात्रा त्रिवि नियमानुसार २०७९ माघ ८ गतेसम्म मात्र कायम रहने र ९ गतेदेखि मैले यो सेवा छाड्नै पर्ने भएकाले छाडिसकेको अवस्था छ । त्यसो त क्याम्पसको हाजिरी पुस्तिकामा गत पुस १४ गते नै मैले अन्तिम उपस्थिति भइसकेको छ । पुस १४ गतेदेखि माघ ८ सम्म हिउँदे बिदा भएको र हाजिर हुने दिनमा मेरो अनिवार्य अवकास हुने भएकाले नै क्याम्पसमा गत पुस १४ गतेको हाजिरी मेरो विश्वविद्यालयीय जागिरे जीवनको अन्तिम हाजिरी बन्न पुगेको तथ्यसमेत यहाँ स्पष्ट पार्नु उपयुक्त हुने देखिन्छ ।
त्रिसठ्ठी वर्षको उमेरको हदका कारण विश्वविद्यालयीय अध्यापन कर्मबाट मेरो औपचारिक (सरकारी) शैक्षणिक यात्रा समाप्त भएतापनि निजी संस्थामा समेत कार्यरत रहेकाले मेरो यो यात्रा अझै पनि टुङ्गिइसकेको छैन तथापि चौंतिस वर्ष अघि सुरु भएको विश्वविद्यालयीय सेवाबाट निवृत्त हुने यो क्षण निश्चय नै मेरा लागि महत्त्वपूर्ण तथा ऐतिहासिक रहेको छ ।
२०४५ सालमा सहायक प्राध्यापक(अस्थायी) बाट सुरु भएको विश्वविद्यालयीय यो यात्रा ९ वर्षपछि २०५४ सालमा उपप्राध्यापक, एक्काइस वर्षपछि २०६६ सालमा सहप्राध्यापक र २६ वर्षपछि २०७१ सालमा प्राध्यापक पदमा पुगी कतै ठेस नलागी टुङ्गिएकोमा निराश वा असन्तुष्ट हुनुपर्ने अवस्था छैन । यस यात्रामा प्राप्त सफलताका लागि म हर्षित र सन्तुष्ट नै छु । यस यात्रामा प्रवेश गराउनेदेखि लिएर अग्रगमनका लागि घच्घच्याउने सम्पूर्ण आफन्तजन, मित्रगण, तथा सहृदयी शुभेच्छुकप्रति सधन्यवाद हार्दिक कृतज्ञता चढाउँछु । यस ऐतिहासिक क्षणमा सहकर्मी मित्रगणप्रति पनि हार्दिक आभार व्यक्त गर्दै मैले पढाएका विद्यार्थीहरूलाई धन्यवाद भन्छु ।
त्रिवि सेवाको ३४ बर्षे सेवा अवधिमा ९ वर्ष सहायक–प्राध्यापक, बाह्र वर्ष उप–प्राध्यापक, पाँच वर्ष सह–प्राध्यापक र प्राध्यापकमा पदोन्नत भई आठ वर्ष सेवा गर्ने अवसर पाएँ । २०६० मार्गदेखि २०६५ साल कार्तिकसम्म अध्ययन बिदा लिई विद्यावारिधि उपाधि प्राप्त गरेको हुँ भने २०५४देखि २०५५सम्म स्वाध्ययन विदा लिई प्रस्तावित शोधकार्य सम्पन्न गरेर शोधपत्र बुझाई स्वीकृतिपत्र समेत प्राप्त गरेको हुँ । यसरी मेरो विश्वविद्यालयीय यो यात्रा निर्वाध गतिमा निरन्तर अघि बढ्दै आजको अवस्थामा आइपुगेको हो । त्रिवि सेवामा रही अध्यापन कार्यमा वाधाव्यवधान नपुग्ने गरी मैले सिर्जनात्मक, समीक्षात्मक तथा अनुसन्धानात्मक लेखनलाई पनि निरन्तरता दिइरहें र त्यसैको फलस्वरूप मैले प्राध्यापक बन्ने स्वर्णिम अवसर प्राप्त गर्न सकेँ । मैले जेजति र जस्ता कर्म गरेँ ती कर्महरूको प्रतिफल पनि प्राप्त गर्न सकेँ । यसरी हेर्दा मेरो जीवनयात्रामा कर्म र कर्तु दुवैको संयोजन भएको मान्नु पर्दछ । यस अर्थमा म आफूलाई भाग्यमानी ठानेको छु ।
पूर्णरूपमा भाग्यमा मात्र विश्वास नगरे तापनि हरेक मान्छेको व्यक्तित्व विकास वा सफलतामा कर्मका साथै केही मात्रामा भाग्यले समेत साथ दिनुपर्ने हुन्छ भन्ने कुरामा विश्वास गर्ने हुनाले मलार्ई भाग्यले समेत साथ दिएको कुरा गरेको हुँ ।
विश्वविद्यालयीय औपचारिक यात्राबाट निवृत्त भएपनि मैले आफ्नो लेखनयात्रालाई अझ द्रुतगतिमा अगाडि बढाउनु पर्ने भएको छ । त्यसरी नै अब छिटोभन्दा छिटो मैले मेरा अपुरा–अधुरा कृतिहरूलाई पूर्णता प्रदान गरी प्रकाशनमा ल्याउनुपर्ने भएको छ । त्यसका लागि म अझ बढी सक्रिय हुनुपरेको छ । त्यसैले मलाई सेवा निवृत्त भई बेकार बस्नुपर्ने होकी भनेर चिन्ता लागेको छैन, बरु मेरा काँधमा अझ बढी जिम्मेवारी थपियो भन्ने लागिरहेको छ । अब मैले मेरो साहित्यिक यात्रा, शैक्षिक यात्रा र जागिरे जीवनका चार दशक भन्दा लामो अवधिको यात्राका क्रममा प्राप्त अनुभवहरूलाई समेटी आत्म वृत्तान्तमूलक ग्रन्थ तयार गर्नुपरेको छ ।
अहिलेसम्म जागिरका कारणले गर्दा सिर्जनात्मक लेखन कर्म अघि नबढेको भन्न मिलेको थियो तर अब मैले त्यसरी बहाना गर्न पनि पाउने छैन । त्यसैले लेखन यात्रालाई अगाडि बढाउनै पर्नेभएको छ । त्यसरी नै स्वदेशका विभिन्न भूभागको दर्शन र विदेशको भ्रमण गर्ने रहर पनि मैले पूरा गर्नुपरेको छ । त्यसका लागि मैले अहिलेदेखि नै तयारी गरिरहेको छु ।
अध्यपनका क्रममा मैले भनेको नमानी अटेर गर्ने कतिपय विद्यार्थीलाई उनीहरूकै सुधारका लागि हातले र बातले प्रहार गरेका घटना पनि यस क्षणमा मेरा मानसपटलमा नाचिरहेका छन् । मेरा हात र बातबाट प्रताडित विद्यार्थीहरूले त्यो ताडना वा यातना बिर्सिदिनुहुन समेत अनुरोध गर्दछु । त्यो प्रताडना पूर्वाग्रह वा प्रतिशोधका कारणले नभई विशुद्ध रूपमा विद्यार्थीहरूलाई सुधार गर्ने उद्देश्यले दिइएको हो । त्यसैले त्यसलाई सोही रूपमा लिनुहुन पनि यसै लेखमार्फत पुनः अनुरोध गर्दछु ।
२०३६ सालमा संस्कृतमा स्नातक गरेर एक वर्ष पाल्पा चहलामा अध्यापन कार्य गरी २०३८ सालमा काठमाडौं गएपछि २०४५ सम्मको कालखण्डका जम्माजम्मी सात वर्षको समयावधिमा मैले नेपाली विषयमा स्नातकोत्तर गर्नुका साथै ललितपुर बुङ्गमतीको काय विनायकदेखि भक्तपुरको सूर्यविनायकसम्म र काठमाडौं कोटेश्वर महादेवस्थानसम्मका विभिन्न विद्यालयहरूमा पढाउने काम मात्र गरिनँ अरु ठाउँमा जागिर खानेदेखि लिएर सिर्जनात्मक काम पनि गरेँ । त्यस्ता कामहरूमा तथ्याङ्क विभाग अन्तर्गत कृषि गणना अधिकृत र उद्योग गणना अधिकृत पदमा रही काम गरेँ भने लोकसेवा आयोग केन्द्रीय कार्यालयमा समेत अधिकृत भई काम गर्ने अवसर पाएँ । त्यस्तै चार पटक राष्ट्रिय स्तरका कविता प्रतियोगितामा पुरस्कृत हुन पनि सक्षम भएँ । यसै कालखण्डमा विभिन्न पत्रपत्रिकाहरूमा मेरा लेखरचनाहरू प्रकाशित पनि भए । साहित्यिक क्षेत्रमा हल्का चिनारी दिने काम पनि यसै समयमा भयो । यसरी हेर्दा मेरो काठमाडौं प्रस्थान उपलब्धिपूर्ण रहेको देखिन्छ । काठमाडौं नगएको भए मैले यो उपलब्धि हासिल गर्न कदापि सक्दिनथेँ ।
त्रिवि सेवामा प्रवेश गरेपश्चात् आजसम्म दर्जनौ पुरस्कार तथा सम्मान प्राप्त गर्नुलाई पनि मैले जीवनको महत्त्वपूर्ण उपलब्धि ठानेको छु । विद्यालय तहमा र विश्वविद्यालय तहमा अध्यापन गर्नका लागि नियुक्ति पाउँदाका क्षणमा होस् वा निजामतीतर्फको अस्थायी अधिकृत पदमा जागिर पाउँदाका क्षणमा होस् सुरूमा निकै खुसी लाग्ने गथ्र्यो । त्यस बेला आफूले विश्व विजय गरेजस्तो लाग्थ्यो । ससाना सफलता र उपलब्धिलाई पनि ठुलै उपलब्धि र सफलता ठानेर रमाउने मेरो स्वभावले गर्दा मैले हरेक सफलताका क्षणमा अपार आनन्दको अनुभूति गरेँ । तर निवृत्त हुँदाका बखत भने न हर्ष न त विस्मात्, यस बेला खासै मानसिक अवस्थामा परिवर्तन आएकै छैन भन्दा पनि हुन्छ । ममा आर्थिक महत्त्वाकाङ्क्षा छँदै छैन, जीविकोपार्जनका निम्ति निवृत्तिभरण आउनेभएकाले यतिमै म सन्तुष्ट छु ।
२०६२ पौष ३ गते तृतीया तिथिमा ८१ वर्षको उमेरमा बुवा स्वर्गे हुनुभएको र २०७८ पौष १३ गते दशमी तिथिमा आमाको निधन भएपश्चात् मातृपितृ ऋणबाट समेत म मुक्त भएको छु । यही २०७९ पौष ३ गते आमाको वार्षिकी समेत समाप्त भएको छ । तीनजना छोरामध्ये सबैजना विवाहित तथा आत्मनिर्भर भइसकेका र तीनजना बुहारीसमेत आत्मनिर्भर भएकाले मलाई सन्तति ऋणबाट पनि मुक्त भएँ भन्ने लागेको छ । यसरी हेर्दा पारिवारिक अवस्था पनि सन्तोषजनक मान्नुपर्ने हुन्छ । त्यसैले अब मैले तुरीय अर्थात् सन्यास मार्ग अवलम्बन गरे पनि फरक नपर्ने देखिन्छ तर अझै पनि सामाजिक उत्तरदायित्व पूर्ण भएजस्तो नलागेकाले केही वर्ष सिर्जनात्मक लेखनमा र समाजसेवामा आफूलाई समर्पण गर्ने निश्चय गरेको हँु । वर्तमानमा जस्तै आधा दशकसम्म स्वास्थ्यले साथ दिएमा मेरा अपुरा–अधुरा आकाङ्क्षा अवश्य पूर्ण हुनेछन् भन्ने कुरामा म विश्वस्त रहेको छु ।
मलाई भर्खरै जस्तो लाग्छ चहलाका लागि अस्थायी शिक्षकको नियुक्तिपत्र बुझ्दाको खुसी, काठमाडौं गएर त्यहाँका तीनोटै सहरका विभिन्न विद्यालयहरूमा पढाउने जागिर पाउँदाको खुसी, तथ्याङ्क विभाग र योजना आयोग, लोकसेवा आयोगमा अस्थायी अधिकृतको जागिर पाउँदाको खुसी, त्रिवि सेवामा अस्थायी सहायकप्राध्यापक पदमा नियुक्ति पाउँदा र स्थायी हुँदाको खुसी, राजविराजबाट बुटवल सरुवा हुँदा र पदोन्नति हुँदाजस्ता अनेक क्षणका खुसीहरू, तिनलाई मैले हृदयको फूलबारीमा सजाएर राखेको छु । त्यसरी नै अनेकानेक पीडा पनि अनुभूत गरेको छु मैले । त्रिवि सेवा आयोगद्वारा प्राध्यापक पदमा सिफारिस हुँदा मेरो सफलतालाई आफ्नै सफलता सम्झी खुसीले रमाउने र ईष्र्याले आफैलाई जलाउनेहरूलाई पनि मैले यस क्षणमा सम्झिरहेको छु र सबैप्रति मैले समभावले हेरेको छु ।
लोकसेवा आयोगद्वारा लिइएको निजामती कर्मचारीको प्रशासनसेवातर्फको शाखा अधिकृत पदको र गुठी संस्थानद्वारा लिइएको प्रशासन अधिकृत पदको समेत लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्तामा अनुत्तीर्ण हुँदाको पीडा पनि मैले सम्झेको छु ।यस्ता सुख–दुःखका अनन्त अनुभूतिलाई अक्षरको रूप दिएर विस्तृत रूपमाभविष्यमा पोख्ने नै छु । त्यति मात्र होइन मेरो जीवनको उर्वरावस्थाका बत्तीस वर्ष बिताएको बुटवललाई विषय बनाएर मेरो बटौली नामक काव्यकृतिसमेत अर्पण गर्ने वाचाबन्धनसहित अहिलेलाई यत्ति ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)