- ध्रुवराज भण्डारी
जीवनशैली भन्नाले मानिसको जीवन जीउने तरीकालाई बुझाउँछ । यसअन्तरगत खाने आहार, मानिसले गर्ने शारिरीक कार्यहरु/ शारिरीक सकृयता, मनमा आउने/ ल्याउने विचार तथा सामाजिक व्यवहार पर्दछन ।
उपर्युक्त कुराहरु समयवद्ध व्यवस्थित र नियमित गर्न सक्नुलाईनै स्वस्थकर र राम्रो जीवनशैली मानिन्छ । तर बढदो आधुनिकतासँगै बदलिदो जीवनशैली र खानपानशैलीले स्वास्थ्य अवस्था खस्कदै गएको र यसले मानिसको आयु पनि घटदै गईरहेको छ ।
मानिसमा विकाससँगै सुविधाको उपभोग गर्ने होडबाजी , आधुनिकता सँगै व्यस्त र प्रतिस्पर्धात्मक जीवनशैली अहिलेको बिशेषता बनेको छ ।शहरीया जीवनमा शारिरीक श्रम कम र मानसीक तनाव बढी हुदै गईरहेको छ । खानपानको समयमा नियमितता छैन घरमा बनाएर खाने भन्दा उद्योगमा बनेको तयारी खानाको उपभोग प्राथमिकतामा परेको छ ।
पाहुनालाई स्वागत दुध दहि फलफूलले नभई चिसो पेय पदार्थले हुन थालेको छ । खाजा भनेकै धेरैजसोको मो:मो र चाउमीन भएको छ । स्वस्थकर खाना भन्दा स्वादप्रीय खाना मानिसको रोजाईमा पर्न थालेका छन। खाना खाने शैली पनि परीवर्तन भएको छ ।बिहान उठेर चिया/ कफी मात्र ३/४ पटक पिउने खाजा नखाई खाना ढिलो खाने।साँझको खाना ढिलो खाने र खाएपछि सुतिहाल्ने बानीले शरीरमा दोषको संचय बढिरहेको हुन्छ । यसबाट बिस्तारै बिभिन्न स्वास्थ्य समस्याहरु देखा पर्न थाल्छन । एकपटक खाएको खाना पच्न नपाउदै पून: खाइहाल्ने बानी पनि त्यतिकै हानीकारक छ ।
भोक र तिर्खा दुवै लागेको अवस्थामा पानी पिउने र खाना पनि सँगसगै खाने बानीले पाचन रस पातलो बनि पाचन प्रकृयानै असन्तुलित बनाउँछ। एकपटक खाएको खाना पच्न कम्तीमा ३ घण्टा लाग्नेहुँदा ठोस खानेकुरा खाएको ३-४ घण्टा नभई पुन खानु राम्रो होईन ।मानिस स्वस्थ रहनको लागि आहारसँगै निद्राको पनि उत्तिकै महत्व छ ।प्रत्येक दिन कम्तिमा ६ घण्टा देखि बढिमा ८ घण्टासम्मको गहिरो निद्रा आवश्यक हुन्छ । आयुर्वेदमा उचित आहार ,निद्रा र ब्रम्हचर्यलाई आयु बढाउने मुख्य आधार मानेको छ । यहा ब्रम्हचर्य भनेको कामवासनाको संयमता हो ।
जीवनशैलीको अर्को महत्वपूर्ण पक्ष मनमा आउने विचारहरु हुन । वैज्ञानीकहरुका अनुसार हरेक मानिसको मनमा हरेक दिन सरदर ५४ हजार देखि ६० हजार विचारहरु आउछन ।मानिसमा आउने यस्ता विचारहरु ९० प्रतिशत दोहोरिएर आउछन । मनमा आउने अनेक विचारहरुको कारण मानिसहरु तनाव र दबावमा परिरहेका हुन्छन । मानसीकरुपमा स्वस्थ तथा शारिरीकरुपमा बलियो हुन योग साधनाको माध्यमबाट मनले चाहेको विचार आउनबाट रोकि बुद्धि / चेतनाले आउने विचारको अभ्यास गर्न सकिन्छ । विश्व स्वास्थ्य संगठनले हरेक वयस्कले हरेक दिन बिहान कम्तीमा १२ मिनेट योग गर्नुपर्ने बताएको छ ।योगस्य चित्तवृत्ती निरोध अर्थात योगले मनको वृति वा चन्चलतालाई रोक्दछ ।
स्वस्थ रहन सामाजिक व्यवहारको पनि उत्तिकै महत्व हुन्छ । सबैसँग मिठोबोली तथा सहयोगी भावनाको व्यवहार गरेमा आफुलाई पनि खुसी प्राप्त हुनगई त्यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्दछ यसको विपरीत कसैसँग अस्वस्थ प्रतिस्पर्धा र झगडाले तनावमा बढोत्तरी भई हानी पुर्याउँछ। अरुको सम्मान गर्न सक्यो भने मात्र आफुले पनि सम्मान पाउन सकिन्छ तर यसको विपरीत मानिसहरुमा आपसी घमण्डले संवन्धमा दरार पैदा हुन जान्छ। सामाजिक स्वास्थ्य राम्रो बनाइराख्न असल व्यवहार सकारात्मक सोच आवश्यक पर्छ जसको लागि योग अभ्यास र स्व अध्ययन गर्नुपर्दछ ।
हीत आयुको लागि आयुर्वेद चिकित्सा विधीमा उपवासको पनि उत्तिकै महत्व रहेको छ ।स्वास्थ्य राम्रो बनाइराख्न हप्ताको १ पटक पेट खालि राख्ने वा झोलिलो कुरामात्र खाने गर्दा कलेजोमा संचय भएको क्यालोरी टुक्रिइ अनावश्यक बोसो बढन पाउदैन ।तर उपवासलाई धर्मसँग जोडेर हेरी नगर्नेहरु धेरै छन । हामीले खाने मुख्यखाना दाल भात तरकारी अचार र दुध आफैमा सन्तुलित भोजनमा पर्दछ। यसैमा भातको बरावर तरकारी खानु अझै राम्रो मानिन्छ । खाना खाने शैलीमा एकरुपता ल्याउन सधै एउटै समयमा खाना र खाजा खानु , आवश्यकता अनुसार खाना र खाजा गरि दिनमा ३-४ पटक खानु । बिहान उठेदेखि राती नसुतुन्जेल हरेक १-२ घण्टाको फरकमा पानी पिउनु राम्रो हो तर अस्तव्यस्त जीवनशैलीमा खाना खाने पानी पिउने समयलाई महत्व दिइदैन ।
सामान्यतया बिहानको खाना प्रथम प्रहरको अन्त्यमा माछा मासु खानेले बिहानको खानामा खानु राम्रो हो । सामान्यतया खाना खादा पेटको २ भाग अन्न, १ भाग पानी र १ भाग हावाको लागि खाली छोडनुपर्दछ । मिठो पाएर पेट टन्न भरिने गरी खानु अस्वस्थकर जीवनशैली हो । बिहानको खाना खाएपछी सुत्नु त झनै हानीकारक मानिन्छ यद्यपी गीष्म ऋतुमा बिहान काम गर्नेले खानापछि केहीबेर आराम गर्न सक्छन । प्रकृतीले मानिसलाई शाकाहारी बन्ने शारिरीक संरचना प्रदान गरेको छ तर मानिस मांशहारी पनि भएको छ ।मानिसको शरीरलाई मासुजन्य प्रोटिन ७० ग्राम आवश्यकता पर्नेमा औसत न्युनतम २०० ग्राम भन्दा बढिनै सेवन गर्छन जुन अस्वथकर मानिन्छ। खानामा मासु र मसला र चिल्लो मात्रै कम गर्न सकेमा पेटको रोग आधा कम गर्न सकिन्छ ।त्यसमा पनि पोलेको मासु त स्वास्थ्यको लागि बीष समान हुन्छ ।
नुन र चिनी हामीले हरेक दिन खाइरहेका हुन्छौ तर धेरैलाई थाहा नहुन सक्छ , यि वस्तुको बढि मात्राले शरीरमा गर्ने हानी। नुनको आवश्यक मात्रा ५ ग्राम प्रतिव्यक्ति प्रतिदिन चिनी त ४०बर्ष कटेकोले नखाएको नै राम्रो किनभने गुलियोले रगतमा चिल्लोको मात्रा कोलेष्टोल बढाई मुटु संवन्धी समस्याहरु सृजना हुन्छन साथै फास्टफुडमा हुने अत्यधिक नुनको मात्रा र ट्रान्सफ्याटले समेत भित्री अंगहरुमा क्षति पुगेको पत्तो हुदैन । हरेक दिन बिहान खाली पेटमा १ गिलास पानीमा कागती १ टुक्रा निचोरेर खाएमा पाचनको क्रममा उत्पादन भएका बिषाक्त तत्वहरु पिसापसँगै बाहिर निस्कन्छन तर धेरैले अझैपनि बिहान उठेर मनतातो पानी पिउदैनन ।
अत: स्वास्थ्य राम्रो बनाई खुसीपूर्ण लामो आयु /जीवन बाँच्न आफ्नो काम र पेशाका साथसाथै उपरोक्त आहार विधी, शारिरीक कृयाकलाप, उपयुक्त विचार र उचित सामाजिक व्यवहारको अपरीहार्यता रहेको छ तसर्थ सहि तवरले जीवनशैली र खानपानमा ध्यान दिन सकेमात्र स्वास्थ्यमा सुधार र आयुको बढोत्तरी हुनजान्छ ।
वरिष्ठ कविराज अधिकृत सातौ
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)