
-शंकर गिरी
वर्तमान परिप्रेक्ष्यमा राजनीति कसैका लागि सौख होला , कसैका लागि सत्ता र शक्तिको प्राप्ति होला , कसैका लागि विरासत होला , कसैका लागि आडम्बर होला तर यति कुरो ढुक्कसँग भन्न सक्छु प्रदीप गिरीका लागि राजनीति साधना थियो , नितान्त साधना । उहाँलाई केही चाहिएकै थिएन । केही नचाहिएरै पनि उहाँ राजनीति मै सक्रिय रहनुभो / फकिर जसरी नै विदा हुनुभो।
प्रदीप गिरी नेपाली राजनीतिक पर्दामा मुख्य रूपमा नदेखिएको नायक हो । तर उहाँले आफूलाई पर्दामा नदेखिने तर सबै कुरो देख्ने क्यामेराको भूमिकामा राख्नुभो । उहाँले समाजका विभिन्न तस्वीर खिच्नुभो र त्यसको फ्रेमिङ्ग गरेर त्यसलाई आफैले कोटेशन दिनुभो ।आज उहाँ दिवंगत भएको पनि ४ दिन भैसकेछ । मैले ४ दिनसम्म उहाँलाई कतैपनि श्रद्धाञ्जली दिएकै छैन । दिन मन नलागेर होइन , दिनै नसकेर हो । यो संसारको अकाट्य सत्य भनेको मृत्यु नै हो ।
यस्तो अकाट्य सत्य पनि कहिलेकाहीँ पत्याउन कठिन हुनेरहेछ । मलाई यस्तै कठीन यो भन्दा अगाडि स्व. नवीन्द्रराज जोसीको निधनको समाचार सुन्दापनि भएको थियो। हामीले १ वर्षकै अन्तरालमा २ असल नेता , दुई असल व्यक्ति गुमाएका छौँ ।
मेरो धेरैपटक गिरीसँग फोन संवाद भएको छ । एकपटक उहाँलाई देवदहमा ल्याउने ठूलो रहर थियो । त्यो रहर अब कहिल्यै पुरा हुनेछैन । प्रदीप गिरी यो प्रचार , तडगभडग , कृत्रिम प्रशंसा र प्रसिद्धिको दुनियाँदेखि जहिले अलग्गै बस्न रुचाउने स्वभावको व्यक्ति हुनुहुन्थ्यो । मैले प्रदीप गिरीलाई जम्मा २ पटक नजिकबाट भेट्ने अवसर पाएँ । एउटा काठमाडौंमा आयोजित नेविसंघको प्रशिक्षण कार्यक्रममा र अर्को बुटवलमा स्थापित "वी.पी.कोइराला अध्ययन प्रतिष्ठान " द्वारा ७० औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित विचार गोष्ठी कार्यक्रममा ।
मैले यी दुवै कार्यक्रममा उहाँबाट एउटा साझा स्वभाव पाएँ । उहाँ सारै तस्वीर खिच्ने / खिचाउने कुरोमा सौख राख्नु हुन्नथ्यो। उहाँलाई मन्तव्य सकेर मञ्चबाट ओर्लने बित्तिकै कार्यकर्ताले घेरेर फोटो खिच्न मरिमेटी गर्थे तर गिरी त्यो कुरा मन नपराउने स्वभावको हुनुहुन्थ्यो । बुटवलको कार्यक्रममा त मैले उहाँको फोटो धेरै पटक लिगेको देखेर उहाँले मलाई गाली नै गर्नुभो । अरूसँग संवादगर्दा मैले अगाडिबाट फोटो खिचेको मन नपराएर उहाँले म सँग आफ्नो फोटो खिचाउनै मान्नु भएन । तरपछि अन्तिममा उहाँ आफैले नै प्रस्ताव गरेर ल आउ अब तिमीसँग पनि एउटा फोटो खिचाउन पर्यो भन्दै बोलाउनु भो । उहाँले मलाई जहिले छोरो , बाबु , बच्चा आदि जस्ता शब्दले बोलाउनु हुन्थ्यो । मलाई नामले कमै बोलाउनु भो । मैले तल पोष्ट्याएका फोटा त्यहीबेलाका हुन् ।
उसो त प्रदीप गिरीको फोन कमै उठ्थ्यो । मैले जत्तिपटक फोन गरेपनि उहाँ को बोल्नुभो भन्दै सोध्नुहुन्थ्यो । म जस्ता हजारौँ अनुयायीले उहाँलाई फोन गर्दाहुन् सम्झनपनि कतिजनालाई सम्झने ? तर एकदिनको फोन संवादमा म उहाँसँग अल्ली विद्रोही पारामै गफ गरेँ । शायद त्यही पारा उहाँलाई प्रिय लाग्यो होला ! त्यो संवादपछि मैले उहाँलाई फोनगर्दा कहिल्यै पुनः आफ्नो परिचय दिनै परेन ।
प्रदीप गिरी केटाकेटी , युवा , तरुणलाई अझैबढि माया गर्नुहुन्थ्यो र महत्त्व दिनुहुन्थ्यो भन्ने कुरो म आफैले समेत नजिकबाट महसुसगर्ने मौका पाएँ । बुटवलको कार्यक्रमको समापन भैसकेपछि गिरीलाई नेपाली काँग्रेस रूपन्देहीका तत्कालीन पार्टी सभापति एवम् वर्तमान केन्द्रीय सदस्य आदरणीय नेता अब्दुल रज्जाकज्यूको गाडीमा बसालेर " बीपी कोइराला अध्ययन प्रतिष्ठान " को भवन देखाउन लगियो । जुन बेला उक्त गाडीमा म , रज्जाक जी र साथमा गिरी हुनुहुन्थ्यो । त्यसपछि हामी बुटवलमा अवस्थित शिखर होटलतर्फ प्रस्थान गर्यौँ ।
त्यस होटलमा गिरी अघिल्लो दिनबाटै बस्नुभएको रहेछ । उहाँसँगै मेरो पूजनीय काका युवराज गिरी , केन्द्रीय सदस्य अब्दुल रज्जाक , उक्त विचार गोष्ठी कार्यक्रममा अतिथिका रूपमा आमन्त्रित तत्कालीन नेकपा र हालको नेकपा माओवादीका वैचारिक नेता राम कार्की एवम् मित्र अर्जुन पाण्डेय सहित केहीबेर मीठो चिया गफ भो । लगभग ३० मिनेटको चिया गफ पश्चात् आदरणीय नेता राम कार्की त्यहाँबाट विदा हुनुभो । त्यसपछि म , काका र रज्जाक जी गिरीका साथमा देशको वर्तमान राजनीतिक घटनाक्रमका बारेमा एकछिन छलफल गर्यौँ ।
गिरी निकै रमाइलो पाराको पनि हुनुहुन्थ्यो , त्योदिन पनि व्यङ्यात्मक शैलीको प्रयोगगर्दै बीचबीचमा मुर्छापर्ने गरी हसाँउनुभो । केही समयपछि उहाँले प्रसङ्ग बदल्दै मलाई केही व्यक्तिगत प्रश्न सोध्नु भो ! अध्ययन /रूचीको विषय / भविष्यमा के बन्ने भन्ने लक्ष्य...? आदि आदि । यत्तिकैमा विवाह गर्छौ कि गर्दैनौ त ...? नेता हुने मान्छेले विवाह ढिला गर्छन् ! तिम्रो के छ विचार भनेर सोध्नुभो । जवाफमा मैले म विवाहित हुँ । मेरो प्रेम विवाह भो भनिसकेपछि गिरी अचम्म पर्नुभो । शायद मेरो उमेर र विवाहको अवधी छिटो भएकोले हुनसक्छ उहाँले आश्चर्य मान्दै मलाई मेरो प्रेमका बारेमा बताउन आग्रह गर्नुभो । मैले त्योदिन आफूलाई निकै भाग्यशाली महसुस गर्दैथिएँ । यस अर्थमा की ; म मेरो प्रेम कहानी सुनाउँदैछु र मेरो कहानी सुन्ने स्रोता स्वयम् प्रदीप गिरी हुनुहुन्थ्यो । त्यो बीचमा मलाई बोल्ने क्रममा कसैले अवरोध गरेन मैले मेरो पुरै कहानी उहाँलाई सुनाएँ । सबै सुनिसकेर उहाँले एक वाक्यमा भन्नु भो ; " केटो तेज रहेछ । "
मलाई धेरैकुरो थाहा छैन तर प्रदीप गिरीले प्रेम विवाह भन्ने बित्तिकै मेरो प्रेम कहानी सुन्ने जुन चाहना प्रकट गर्नुभएको थियो त्यो देख्दा म उहाँका बारेमा केही अनुमानभने लगाउन सक्थेँ । खैर यतातर्फ नजाउँ ।
मैले गिरीलाई एउटा प्रश्न सोधेँ तपाईं थुप्रै दार्शनिक , राजनीतिज्ञको यति धेरैकुरो जान्नुहुन्छ , यति धेरै कुरा सुनाउनुहुन्छ । सबैका बारेमा अध्ययन गर्नुहुन्छ । हामीले तपाईंका आफ्नै बारेमा पनि यस्तैगरी जान्न चाहान्छौँ , पढ्न चाहान्छौँ । कुनैदिन तपाईं आफ्नो आत्मवृतान्त प्रकाशित गर्नुहुन्छ किनै ...?
जवाफमा गिरीले भन्नुभो ; " लेख्ने इच्क्षा त छ तर पर्याप्त समय पाएको छैन । मलाई कोही राम्रो नेपाली टाइपिङ्ग गर्ने मान्छे जस्ले १ मिनेटमा कम्सेकम धेरै शब्द टाइप गर्न सकोस् त्यस्तो टाइपर चाहिएको छ । तिमी टाइपिङ्ग गर्न सक्छौ भने आउ ! म तिमीलाई मेरै नजिक खाने , बस्ने , सुत्ने सबै सुविधा दिन्छु । काठमाडौंमा बसेर मेरो आत्मावृतान्त तिमी नै टाइप गर । " मैले नेपाली टाइपिङ्ग त्यति छिटो गर्न सक्दिन म सङ अभ्यास छैन भने । उहाँले कोही भए सिफारिस गर भन्नुभो । पछि यत्तिकै मैले यो कुरो बिर्सिएँ ।
गिरीलाई मैले मेरो श्रीमती बेलायतमा छन् भन्दा उहाँले समेत मलाई तिमी पनि एकपटक जाउ । उतै नभुल्नु तर केही वर्ष बसेर आउँदा केही फरक पर्दैन भन्ने सुझाव समेत दिनुभो । जुन कुरो काका युवराज गिरी र अब्दुल रज्जाकज्यूको समेत रोहबरमा भन्नुभएको थियो । त्यस्पछि हाम्राबीच अन्य थुप्रै प्रसङ्गमा चर्चाभए जुन सबै कुरो यहाँ लेख्न लामो हुन्छ ।
अन्तिममा मैले एउटा प्रसङ्गलाई मात्रै यहाँनेर राख्छु ।
जुन बेला मेरो बेलायतको भीषा लागेर म काठमाडौं पुगिसकेको थिएँ त्योबेला मैले थुप्रै राजनीतिक नेतृत्वसँग भेटघाट गरेर यहाँ आएको हुँ । आउनेक्रममा कसैलाई पनि बेलायत जान लागेँ भन्ने कुरो पनि भएन र भनिन पनि । त्योबीचमा यता आउनु अगावै निकै भेट्न मन लागेको पात्र प्रदीप गिरी पनि हो । तर त्योबेला उहाँ आफ्नै निर्वाचन क्षेत्र सिराहा क्षेत्र न - १ मा हुनुहुँदो रहेछ । त्यसैले उहाँसँग यता आउनु अगाडि भेट्ने कुरो अधुरो रहयो । अब फेरि हाम्रो भेट कहिल्यै हुनेछैन । प्रदीप गिरीले मलाई केही आफ्ना र केही अरूका गरी ७/८ वटा पुस्तक म कहाँ आएर लिएर जानु र अध्ययन गर्नु भन्नुभएको कारण म उहाँलाई भेट्न चाहान्थे । तर त्यो कुरो अब स्मृति भो ।
मैले बोल्नेक्रममा आफ्ना साथीभाइ लगायत अन्यसँग जहिलेपनि एउटै कुरो भन्थे प्रदीप गिरी जस्तो जीवनशैली आजको दिनमा कुनै राजनीतिज्ञले अपनाउनै सक्दैन । उहाँ आजको परिवेशमा एकदम एकलकाँटे , एकदम अराजक जस्तो देखिनुहुन्थ्यो । यतिसम्म कि शिखर होटलमा हामीले मगाएको चिया र नास्ताको बील तिर्नेबेलामा समेत गिरीले मैले खाएको म आफै तिर्छु ! मेरो हिसाब नगर्नुस् है भनेर अनेक बिन्तीगर्दा पनि पटक्कै चिया - नास्ताको बील समेत रज्जाकजीबाट तिराउन मान्नु भएन । गिरी सिद्धान्तमा जतिबढि समाजवादी देखिनुहुन्थ्यो व्यावहारिक रूपमा पनि उस्तै हुनुहुन्थ्यो ।
मैले उहाँकै निर्वाचन क्षेत्रका युवा साथीहरूसँग पनि सोधेको थिएँ । यी ठूला नेता बाहिर बाहिर जति वाह वाह भएपनि आफ्नै निर्वाचन क्षेत्रमा अलोकप्रिय हुन्छन् , खासै क्षेत्रका जनताले गन्दैनन् प्रदीप गिरीको के छ त्यहाँ खास भनेर सोध्दा मलाई दिएको जवाफ यस्तो हुन्थ्यो ।
" गिरीलाई व्यक्तिगत रूपमा सबैले बहुत नै सम्मान गर्दछन् , उनी विपक्षीको समेत IDOL हुन् । निर्वाचनका बेला धेरै कुरोको सपना नै बाँड्दैनन् तर जे बोल्छन् त्यो पुरा गरेरै छोड्छन् । "
यसैले पनि गिरी कहिल्यै बैमान हुनुभएन । आज गिरी विदा हुँदा यहाँबाट निष्ठा / इमान / नैतिकता / आदर्श समेत विदा भएको छ । गिरीले म होइन हामी भन्ने भावना जगाउन चाहानुहुन्थ्यो त्यो कुरो आउनेदिनमा हामीले पुरा गर्न सक्छौँ ...? आज चुनौती यही कुरोमा छ ।
मलाई लेख्नमन छ कि समकालीन राजनीतिज्ञमा प्रदीप गिरीको त्यो ज्ञानको विराटतालाई शायदै कसैले भेट्ला ...?...उहाँको त्यो व्यक्तित्व , त्यो सादगी कसैले अपनाउन सक्ला ...?... पुनः अर्को प्रदीप हामीले पाउँला ...? हामीले अब कस्लाई हेर्ने ? अर्को प्रदीप कहाँ खोज्ने ...?
यसरी मैले नसोधीकन बस्न सकिन तर यति सोध्दैगर्दा मलाई अर्को कुरोपनि बारम्बार मस्तिष्कमा आइरहेको छ । त्यो के भने कुनै एक कार्यक्रममा प्रदीप गिरीले बोल्नेक्रममा गौतम बुद्धको स्मरणगर्दै एउटा प्रसङ्ग सुनाउनु भएको थियो ।
बुद्धको एकजना शिष्यले सोधेछन् ;
" गुरु तपाईं मर्न आँट्नु भयो । हामी कसलाई हेर्ने ?’ भन्दा बुद्धको अन्तिम जवाफ थियो – अप्प दीप भवः अर्थात् आफैंले आफैभित्र जानकारी खोज्नू । "
अब हामीले प्रदीपको निष्ठाको दीप , ज्ञानको दीप , इमानको दीप आफैभित्र खोजी गरौँ यो नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
अलबिदा प्रदीप बुबा !
- जय नेपाल !!!
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)