Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अल विदा बेजोड कलमका मालिक बसन्त !

अल विदा बेजोड कलमका मालिक बसन्त !

  • 2.3K
    SHARES

  • अल विदा बेजोड कलमका मालिक बसन्त !

     

    dipak bk.jpg-दीपक विश्वकर्मा
    कतिपय शब्दहरु हुन्छन् जसलाई उपमाकोरुपमा प्रयोग गर्न सकिन्छ । बिरलाकोटी, अद्भुत, चमत्कारिक,  विलक्षण, वेमिसाल यस्तैयस्तै । सबभन्दा पहिलो शब्द बिरलाकोटी नेपली शब्दभण्डारमा रहेजस्तो लाग्दैन मलाई । सायद भारतीय उद्योगपति बिरलाको सम्पत्तिसँग तुलना  गरेर निर्माण भइ प्रचलनमा आएको होला । अथवा नेपाली शब्दकोषउपर मेरो ध्यान नगएको पनि हुन सक्छ । जे होस्, हाम्रा अग्रज, बेजोड कलमका मालिक बसन्त पोख्रेल पनि पत्रकारिता क्षेत्रका बिरलाकोटी नै थिए । अथाह शब्द भण्डार, अथाह कथा—कहानी र अथाह ज्ञानका धनी । 

    सानो क्लु भएपुग्थ्यो बसन्तलाई कहानी जुराउन । उनीसँग मेरो पुरानो सम्बन्ध होइन । हामी ५६÷५७ बाट मात्र जानपहिचानमा रहयौं । म भारत प्रवास बसेर आएको मान्छे ।

    पत्रकारिता मेरो खुबिको विषय होइन र थिएन पनि । दिल साहनी दाजुसँगको संगत, त्यसै संगतमार्फत आदरणीय कर्णबहादुर कार्की दाइसँगको भेट, एकै स्कुलका उत्पादन पत्रकार मित्र हरि लम्साल, पत्रकार विनोद पहाडी, माधव नेपाल, पं. बाबुराम भट्टराई, यमलाल भुषाल, दीपक ज्ञवाली, हरिष ढकाल, दिनेश पाण्डे, विष्णु घिमिरे, छवि पाण्डे, डी.आर. घिमिरे, शेरबहादुर के.सी., माया गौतम र सुमन अधिकारी, मोहन चापागाई, गुरुदत्त ज्ञवाली, अर्जुन ज्ञवाली, दुर्गा दिदी र मदन पौडेल दाजु आदिमार्फत झाँगिएको पत्रकारहरुसँगको लहरो हुर्किदै गयो र माकुरे जालोको रुप लियो । 

    बसन्त हरदिन लेख्थे । बसन्तको लेख चुटकिला नछापिएको दिन हुँदैन थियो । जनसंधर्षसँग उनको रोजिरोटिको साइनो थियो सायद । म पनि नयाँ जोगी जस्तै खुब खरानी धस्थेँ त्यो बेला । बसन्तसँग यसहिसाबले पनि मेरो दोस्ती हुन पुग्यो । पछि उनको तत्कालिन माओवादी पार्टीसँगको पारिवारीक संलग्नता, सुनगाभाको गिरफ्तारी, प्रिय भाइहरु गणेश ढकाल र टिकाराम गौतमको सहादतले पनि हामी दुई बीच गहिरो लगनगाँठो बन्न पुग्यो, जो उनको जीवनप्रयन्त रहन गयो । 
    एकपटक मेचीकाली दैनिकको अफिसमा बुटवलका पत्रकारहरुको ससानो भेटघाट थियो ।

    पत्रकार मित्र सिद्धिचरण भट्टराई, जनसंघर्षका सम्पादक बालकृष्ण चापागाई, बुटवल बहुमुखी क्याम्पसका अंग्रेजी विषयका प्राध्यापक कृष्णचन्द्र शर्मा, मेचीकाली दैनिकका प्रधान सम्पादन तथा प्राध्यापक बसन्तराज खनाल, माधव नेपाललगायत मित्रहरुको उपस्थितिमा बिबिध विषयउपर चर्चा हुँदै थियो । बालकृष्णजीले कसरी पन्जाबी सरदारले किरा भेटिएको दवाइको समाचारलाई बेतुक बनाउन दवाइको बोतलको ढक्कन खोलिदिएर हेरेकोहेरै बनायो भन्ने किस्सा सुनाए भने मैले पन्जाबी सरदारहरुको खान्गीको बारेमा छोटो किस्सा सुनाएँ ।

    त्यही सानो किस्सालाई तन्काएर बसन्तले अर्कोदिनको जनसंघर्षमा “शक्ति संचय” यस्तै यस्तै शिर्षकमा लम्बाचौडा लेख छपाए र पाठकहरुलाई मनोरञ्जन दिए । किस्सा थियो पन्जाबीहरुको सुंगुरको मासुउपरको प्रेम । मैले सुनेको के थिएँभने पन्जाबीहरु बिहानको खानाखाँदा दैनिकजसो बयममा साँदेर राखेको बोसोसहितको एकचोक्टा सुंगुरको मासु खाने गर्दछन् । यसबाट उनीहरुलाई दिनभरकोलागि उर्जा मिल्ने गर्दछन् । यो किस्सा मैले आसाम बस्दा अरुबाट सुनेको थिएँ । मैले सो कुरालाई जस्ताको तस्तै सुनाएँ । बसन्तले नेपालको तत्कालिन राजनैतिक परिवेश, केही राजनीतिक पार्टीहरुले निर्धारण गरेको शक्ति संचयको कार्यनीति आदि विषयमा रोचक आलेख तैयार गरे । छपाए र मलाई रनभुल्लमा पारे । 

    औपचारिक पढाइ धेरै थिएन बसन्तको । तर उनी मैहुँम भन्ने विद्वाहरुलाई पछार्न सक्षम थिए । “मैले एस.एल.सी. पास गरे नि दीपक” लाग्छ बसन्तले खुला विद्यालयबाट एस.एल.सी. पास गरेपछि मैलाई पहिलो खुशी बाँडेका हुन् । लाग्छ बुर्जुवा शिक्षाको बहिष्करणको गर्व, गर्व रहेनछ, अभिषाप रहेछ बसन्तको लागि । जसरी आजसम्म पनि म सोही पीडा बोकेर बाँचिरहेको छु । “तर यहाँबाट अगाडि पढ्न म सक्दिन दीपक, अब उमेरले साथ दिँदैन । रोजिरोटी पनि गर्नै प¥यो ।” सायद छोराछोरीहरु उमेर छँदै हुर्किएको भए, बसन्तलाई दैनिकीको लागि एकहोरा पत्रकारिता गर्न पर्दैन थियो र उनी विश्वविद्यालय भर्ना भएर पढिरहेका हुने थिए यसबेला । 

    कहानीका खानी हुन् बसन्त । दिल साहनी दाजुको प्रधान सम्पादकत्वमा जनघोष्को प्रकाशन शुरु भएपछि बुटवलका कलम चलाउने केही साथीहरु सम्पादकको रोहमा अटायौं । बसन्त त्यस रोहका प्रमुख पात्र थिए । प्रत्येक अंकमा उनका रचना छापिन्थे । जनघोष्का प्रिय पाठकहरुले बसन्तको मनको कथा “टाटी रुपा” पढेको हुनु पर्ने । त्यो कथा पढेर म अवाक भएको थिएँ । चेखव, लुसुनलगायत विदेशी कथाकारका कथालगायत नेपालका धेरैजसो पुराना कथाकारहरुद्धारा लेखिएका कथा मैले पढेको छु । कथाकार मनु बज्राकीका कथा अतुलनीय हुन्छन् । टाटी रुपा त्यो कोटीको कथा हो, जसलाई उपरोक्त सबै कथाकारको दाँजोमा राख्न सकिन्छ । कथा पढेर म यति भावुक भएको थिएँ  कि वसन्तलाई सो कथा तन्काएर उपन्यासकोरुप दिन हौस्याएको थिएँ । “तिम्रो सुझावअनुसार टाटी रुपाले उपन्यासको रुप ग्रहण ग¥यो दीपक, अब यसलाई छाप्ने जिम्मा तिम्रो । म बाचा गर्दछु, सो उपन्यासलाई पुत्ररत्नहरु, छोरी सुनगाभाले छपाउने प्रयत्न गरेभने मेरो केही न केही सहयोगको अंस रहने छ । 

    डेरामा बस्दाबस्दा आजित भैयो दीपक, अब आफ्नै बुकुरोमा सर्ने जमर्काे गर्दैछु । साँच्चै नै बसन्तले बेलबासमा बासको जोहो गरे । “तिमी त उद्योगी हौ दीपक, तिर्दै गरम्ला, लेट्रिनको ढोका बनाएर देउ है ।” मैले दैनिक लुम्बिनी छोडेर ग्रील उद्योग शुरु गरेको थिएँ । म आफै जोगीजस्तै थिएँ । तर पनि बसन्तको बचन हार्न सकिन । ढोका बनाएर दिएँ । तर पैसा लिइन । त्यो मेरो उनी र उनको बेजोड लेखनप्रतिको सम्मान थियो । अर्को कुरो रोजीरोटीको भरपर्दो बन्दोबस्त नभएपनि मेरो बुटवलमा बास थियो । बास पहिलो सर्त हो मानिसको जीवनका । त्यसपछिको खनिखोस्री त बिस्तारै गर्न सकिहालिन्छ नि ।
    बसन्त र मेरो बीचमा अघोषित सर्त बन्यो ।

    एकआपसमा तपाईंको उच्चसम्मानलाई तिलाञ्जलि दिने । यद्यपि बसन्त मभन्दा राम्रै उमेरले जेठा हुन् । मैले बसन्तलाई जहिल्यै तपाईं भनेर सम्बोधन गर्दथेँ । जनघोष्को फाइनल सजावटको दौरानमा एकदिन मेरै घरमा बसन्तलाई बिहानको समय खर्चिनु प¥यो । सो दिनको खाना मेरैमा भयो । त्यहि दौरानमा उनले प्रस्ताव राखे “अवदेखि एकअर्कामा तपाईंको सम्मानसूचक शब्दको प्रयोग नगर्ने ।” उनको प्रस्तावलाई स्वीकार गर्न मलाई निकै लामो समय लागेको थियो । उमेरले मात्र होइन, हैसियत, क्षमता, लेखनकला, समाजप्रतिको गहन बुझाई, राजनीतिप्रतिको गहन लगाव, माक्र्सवादी दर्शनप्रतिको उनको गहिरो ज्ञान, अध्ययन आदिको कारणले पनि म उनको अगाडि घामको अगाडि जुनकिरी जस्तै थिएँ ।

    हामी दुईबीच तिमी सम्बोधनको बार्तालाप सुनेर प्रिय कविभाइ गिरि श्रीसले जिब्रो टोक्दै भन्नुभएको थियो— हैन दाजु आफुभन्दा जेठो सम्मानित ब्यक्तिलाई तिमी भनेर बोलाउन तपाईंलाई लाज लाग्दैन ? साँच्चै नै लाज त मलाई कति हो कति लागेको थियो, पहिलो पटक बसन्तलाई नाम काढेर तिमी भन्दा । लाज सरमले म पानी पानी भएको थिएँ । तर समयक्रममा यो लोकबचन बन्यो । जसले सम्मान खोज्ने हो उसैले औपचारिकता त्यागेपछि मलाई सहजता ग्रहण गर्न आफ्ठ्यारो मान्नु पर्ने कारण पनि रहेन । 
    बसन्तको दिलेरी निमन्तणा थियो भाइ गिरि र मलाई बेलबास आउने र उनको घरको माथिको जंगलमा गएर उनको हातबाट पकाएइएको परिकार खाने । हामीले यताबाट मासुको परिकार बनाएर लैजाने । लोकल पिरोपानीको बन्दोबस्ती बसन्तले गर्ने । यो निमन्त्रणालाई दुईवर्षे कोरोनाकालले खायो । केही हप्ता पहिलेपनि उनीसँग यस विषयमा चर्चा पनि भएको थियो । “अब त कोरोना हरायो दीपक, मेराँ आउने मेसो मिलाओ दुइभाइले ।” अरुको बारेमा थाहा छैन, तर बुटवलमा भाइ गिरि र म बसन्तसँग जसरी दिल खोलेर कुरो गथ्र्यौं, सायद अरु कसैले गर्दो हो । 

    केहि समय यता आफ्नै व्यैयक्तिक कामको चापले बुटवल टुडेमा मेरो लेखन कम भएको छ । तर जति लेर्खेँ ती लेखनमालामा अत्तर छर्ने काम बसन्तले गर्दथे । “शिर्षक सुहाउँदो भएन दीपक, मैले फेर्दे है ।” बसन्तको कल आउँथ्यो । कल आउँदा मेरोमात्र होइन, घरपरिवार, छोराछोरी सबैको खबर लिन्थे । मेरी जहानलाई बुहारी होइन भाउजु भनेर खोजखवर गर्दै उहाँलाई नमस्कार सुनाइदिन जहिल्यै आग्रह गर्दथे । यो उनको हाम्रो परिवारप्रतिको गहन लगावमात्र थिएन, अथाह सद्भाव र माया पनि थियो ।  
    छोरी सुनगाभा आफै इतिहास हुन् । जीवनका हरदुःख सुख बेहोरेकी छन् ।

    भतिजहरु खुट्टामा उभिएका छन् । भाउजु एक्लै हुनुभो । यद्यपि यो नियति हो । कोही न कोही पहिले जानु नै पर्छ । आजको मेडिकलको चमात्कारिक जमानामा बसन्त अलि छिटो गएभन्ने मात्र हो । नातिनातिना छन् । बसन्तको आफ्नै अथाह नाम छ । त्यहि नामको खातिर पनि सबै नतमस्तक हुनु पर्दछ । यस हिसाबले पनि भाउजु एक्लै हुनुहुन्न । 
    अल बिदा बसन्त । कुनै न कुनै दिन जम्का भेट अवश्यै हुने नै छ । समयको फेरो मात्र हो ।

    २०७९ साउन ३१
    बुटवल १ः३० बजे दिउँसो ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology