बुटवल, २७ भदौ ।
व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित गर्दै बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ नामक एकदिने विशेष व्यवसायिक प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।
भीआईपी ग्रुप र दारी ग्याङ बुटवलको आयोजनामा हायात प्लेस बुटवलमा सञ्चालन हुने कार्यक्रममा नेपालका परिचित बिजनेस ग्रोथ तथा सेल्स कोच एवं मोटिभेसनल स्पीकर सन्तोष लामा मुख्य प्रशिक्षकका रूपमा सहभागी हुनेछन्।
भिआइपी ग्रुपका अध्यक्ष सुन्दर दर्जीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै व्यवसाय सञ्चालन गरिरहेका तर ब्रान्ड निर्माण, बजारमा स्पष्ट पहिचान, ग्राहक आकर्षण, बिक्री वृद्धि र व्यवसाय विस्तारमा चुनौती सामना गरिरहेका उद्यमी तथा व्यवसायीलाई केन्द्रमा राखेर कार्यक्रम तयार गरिएको बताउनुभयो । उहाँले प्रशिक्षणमा बिजनेस ब्रान्डिङ, सेल्स साइकोलोजी, बिक्री रणनीति, व्यक्तिगत ब्रान्डिङ, ग्राहक आकर्षण, व्यवसाय वृद्धि तथा नेतृत्वलगायतका विषयमा व्यवहारिक तथा कार्यान्वयनमुखी प्रशिक्षण दिइने बताउनु भएको छ ।
मुख्य प्रशिक्षक सन्तोष लामाले विगत लामो समयदेखि व्यवसाय वृद्धि, बिक्री रणनीति, सेल्स कोचिङ तथा व्यक्तिगत र बिजनेस ब्रान्डिङका क्षेत्रमा प्रशिक्षण तथा कोचिङ प्रदान गर्दै आएकोले उहाँको उपस्थितिमा उद्यमीहरुलाई प्रोत्साहन गर्न कार्यक्रमले बिशेष महत्त्व राख्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका उपाध्यक्ष मनहरी बस्यालले बोल्दै नेपालमै बसेर व्यवसाय गर्न सकेमा युवाहरू बिदेश जान नपर्ने बताए । उनले रुपन्देही व्यापार संघले व्यवसाय प्रबर्द्धनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउँदै यो कार्यक्रमले बुटवलका उद्यमीहरुलाई अगाडि बढ्न सहयोग पुग्ने बताए ।
‘सोच परिवर्तन, रणनीति स्पष्ट र व्यवसायमा परिणाम’ भन्ने उद्देश्यसहित आयोजना हुन लागेको ‘बिजनेस ब्रह्मास्त्र’लाई व्यवसायमा नयाँ दृष्टिकोण विकास गर्दै बिक्री र व्यवसाय वृद्धिका लागि व्यवहारिक रणनीति सिकाउने विशेष कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ।
एकदिने यस प्रशिक्षणले व्यवसायीलाई ब्रान्ड कसरी निर्माण गर्ने ? ग्राहक कसरी आकर्षित गर्ने ? बिक्री कसरी बढाउने र व्यवसायलाई कसरी व्यवस्थित रूपमा विस्तार गर्ने ? भन्ने विषयमा स्पष्ट दिशा दिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा दारी ग्याङ बुटवलका प्रतिनिधि लक्ष्मण न्यौपानेले गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)