-माधव घिमिरे
शिक्षा संस्कृतको शिक्ष् धातुबाट आएको शब्द हो जसको अर्थ दिनु भन्ने बुझिन्छ अथवा अनुभवी,अग्रज ,जान्नेसुन्ने व्यक्तिmहरुले अन्य व्यक्ति वा आफ्ना सन्तानहरुलाई अनुभवहरु प्रदान गर्नुलाई भन्ने बुभिन्छ ।
यसरी ज्ञान प्रदान गर्दै जाँदा आफ्ना पुर्खाबाट आफ्नो संस्कृति,कला,धर्म, रितिरीवाज जस्ता विषयहरुपनी क्रमश नयाँ पुस्तामा सर्दै जान्छन् र यस्ता विषयहरु जिवन्त रहन्छन् । पक्कै पनि औपचारीक तवरले उचित शिक्षा प्रदान गर्नु अत्यन्तै महत्वपुर्ण र आजको आवश्यकता हो । जसको मुख्य जिम्मेवारी शिक्षकको नै हुन्छ । आजको आधुनिक समाजमा केवल संस्कृति,रितिरिवाज ,धर्म,चालचलन मात्र छैनन् । विश्व अत्यन्तै रफ्तारका साथ विकसीत हुँदै गईरहेको छ । ज्ञानका क्षेत्रहरुपनि बढ्दै गईरहेका छन् ।
वालवालीकाका आवश्यकता र क्षमता दुबै बढेका छन् । आजको २१ औं शताब्दिका वालवालीका सुहाउँदो शिक्षण गर्नु ,त्यसै अनुसार आफुलाई परिष्कृत गर्दै जानु शिक्षकको आवश्यकता र अपरिहार्यता छ ।केहि समय अगाडि सम्म प्रविधिको विकास नभएका कारण विद्यार्थीका ज्ञानका स्रोत केवल शिक्षक थिए ,धेरै कण्ठ गरेका, किताव नहेरी कितावमा भएका विषयवस्तु जान्ने शिक्षक नै अब्बल शिक्षक कहलाउँथे ।
विद्यार्थीले पनि शिक्षकले जति जानेको छ त्यत्ति मात्र सिक्न पाउने अवस्था थियो तर अहिले समय र परिस्थीति दुवै वदलिएको छ केवल शिक्षकले पाठ्यपुस्तकमा भएका विषयवस्तु जानेर पुग्दैन अब्बल शिक्षक तब कहलिन्छ जव शिक्षकले प्रविधिको प्रयोग गर्न सक्छ, नयाँ नयाँ विधिको प्रयोग गर्न सक्छ । वालवालीकालाई अतिरिक्त विषयवस्तु सम्म पुर्याउन सक्छ । आफुलाई सहजकर्ताको रुपमा,साथीको रुपमा कक्षाकोठामा प्रस्तुत गर्न सक्छ, शिक्षण केवल विज्ञान मात्र होइन यो त कला पनि हो भन्ने बुझेर शिक्षण गर्दछ । यस्ता गुण यत्तिकै आउदैनन् यसका लागि तालिमको आवश्यकता पर्छ,उत्प्रेरणको आवश्यकता पर्दछ त्यो कसले प्रदान गर्छ ?
अहिले सामूदायीक विद्यालयको कुरा गर्नेहो भने केहि अपवाद वाहेक सुधारको बाटोमा छन् । शिक्षकहरु पहिला भन्दा झन् झन् मेहेनत गर्दै छन् । केहि शिक्षकमा यदाकदा समस्या भएका विषय बजारमा आएका घटनालाई छोड्ने हो भने शिक्षकहरु शैक्षिक गुणस्तर बृद्धि गर्न खटेको नै पाइन्छ तर सबैभन्दा दोष खाने कोहि छ त शिक्षक नै छ ।
किन ? कतै एउटा शिक्षकको कमजोरी भेटियो भने सोहि कमजोरीको दोष सबै शिक्षकलाई किन ? यो अन्याय भएन र ? शिक्षकसेवा आयोगको निरन्तर पदपुर्ति ले गर्दा पनि नयाँ फ्रेस शिक्षकहरुको संख्या विल्यालयमा बाक्लिएको छ यि नयाँ शिक्षकमा अनुभवको केहि कमि हुन सक्छ नत्र सवै क्षेत्रमा अब्बल छन् ।
पुराना शिक्षकहरुको अनुभव र नयाँ शिक्षकको आधुनिक ज्ञानको फ्युजनले पक्कै पनि शिक्षक पेशाप्रतिको हेराईमा सकारात्मकता ल्याएको छ । शिक्षक नयाँ तरीकाले शिक्षण गर्ने ,गुणस्तर वृद्धि गर्ने ,नयाँ विषयवस्तु तौर तरिका सिक्न उत्सुक छन् ,शिक्षक सँग नयाँ नयाँ जिज्ञासा छन् ति सम्वोधन गर्ने खालका तालीम कसले दिने ?
अर्को पाटोबाट नि हेरौ शिक्षा क्षेत्रमा छुट्टिने बजेट निरन्तर खस्किदो छ ,अन्तराष्ट्र्यि रुपमा तुलना गर्दा लगभग आधामात्र बजेट शिक्षा क्षेत्रमा छुट्टिन्छ ।
अधिकांश स्थानीय तहहरु बाटो पिच हुनु,भ्यू टावर बन्नु मात्र विकास सम्झिन्छन् । शिक्षामा बजेट वृद्धि गर्ने, शिक्षकलाई तालीमको व्यवस्था गर्ने, अभिभावक शिक्षा प्रदान गर्ने जस्ता विषयहरु कोहि सम्झिदैन, सम्झिन्छन् त केवल शिक्षकले विद्यालय सुधारेनन् । विश्वविद्यालय पढ्दाको ज्ञानले मात्र शिक्षक अब्बल हुँदैनन् समय गतिशिल छ नयाँ नयाँ प्रविधिको विकास भएको छ त्यस सँग सुहाउदो शिक्षा प्रदान गर्न अन्तराष्ट्र्रिय स्तरको तालीम लगायत अन्य सुविधा प्रदान गरी सक्षम शिक्षक बनाउने जिम्मा शिक्षकको कि राज्यको ? कसले सोच्ने यता तर्फ ? केवल दोष ले मात्र होला र ?
सामान्यतया दस दस वर्षमा हुने पाठ्यक्रम परिमार्जन अन्तर्गत आगामि २०८० सम्ममा नेपालको विद्यालय तहको पाठ्यक्रम परिमार्जन भइसक्छ ।
परिमार्जित पाठ्यक्रममा भएका विषयवस्तु शिक्षकले थाहा पाउनु पर्ला कि नपर्ला ? उदाहरणका लागि विज्ञान विषयमा सुचना प्रविधि सँग सम्वन्धित विषयवस्तु कक्षा ६ देखि १० सम्म नै राखिएको छ यो अत्यन्तै आवश्यक छ तर अझै पनि कतिपय शिक्षकलाई सामान्य कम्यूटरको समेत ज्ञान छैन ति शिक्षकलाई सुचना प्रविधि पाठ शिक्षण गर्नुपुर्व तालिम दिएर कक्षाकोठामा पठाउनुपर्छ कसले भन्ने ? पाठ्यक्रममा भएका नयाँ विषयवस्तुवारे प्रवोधिकरण गर्ने जिम्मा कसको हो ? जो हो उसको जिम्मेवारी पुरा नभएका कारण पक्कै पनि शिक्षाको गुणस्तरमा असर त पर्छ अनि ति सवैको जरो थाहा नपाइ शिक्षकलाई मात्र दोष दिन मिल्ला र ? यसरी शिक्षा क्षेत्रलाई शिक्षकले सुधार गर्न सकिएला र ?
शिक्षकलाई राजनिति गरे भन्नेहरु नै आफु चुनाव लड्दा वा आफ्नो पाटिको चुनाव प्रचार गर्दा शिक्षकलाई प्रयोग गर्छन् शिक्षकले राजनिति गरेर विधालय सुधार भएनन् भनेर चुनावको बेला भन्ने होलाकि फुर्सदको बेला ? शिक्षकका संघ संगठनको कार्यक्रममा गएर सदस्यता विस्तारमा उत्प्रेरीत गर्ने अनि फुर्सदमा राजनिति गरे भन्न मिल्ला र ? मैले राजनिति गर्न पाउनुपर्छ भन्न खोजेको होइन तर यसलाइ कहाँ बाट उपचार गर्न मिल्छ मात्र भन्न खोजेको ।
कुनै न कुनै रुपमा शिक्षकको सहयोग बाट विभिन्न ओहदामा पुगेका व्यक्तित्वहरुले शिक्षा ऐन बनाउने कुरामा, कडा निति नियम बनाउने कुरामा, राम्रोलाइ पुरस्कार र खराव लाई दण्डको व्यवस्था सहितका निति निर्माणमा आवाज उठाउनुपर्ने होइन र ? १८ घण्टा आफुसँग हुने बच्चाको वास्तविकता बुझेर पनि दोष लगाउने अभिभावकहरुले नि केहि सोच्नु पर्ने होइन र ?
देश विकासका विभिन्न पक्षमध्ये पहिलो नै शिक्षा हो । यसको विकासमा सवैभन्दा ठुलो जिम्मेवारी शिक्षकको नै हो जुन निर्वाह गर्नुपर्दछ । सगसगै सवैले आआफ्नो जिम्मेवारी नविर्सौ ।
शिक्षक वाणगंगा मा.वि.गजेहडा कपिलवकस्तु
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)