-माधवकुमार पौडेल
गरिखान सिकाउने सीपमूलक, व्यवहारिक र जीवनोपयोगी शिक्षा भएन भन्ने गुनासो व्याप्त छ । भर्खरै सम्पन्न त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक, जीवनोपयोगी, समाजको विकास र रुपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिए ।
त्यस्तै शिक्षा मन्त्रीको टिप्पणी थियो– ‘नेपालका विश्वविद्यालयबाट उत्पादित दक्ष र अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनु परेको छ ।’ शैक्षिक कार्यक्रम र विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन कि ? भन्ने संशय व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीको चासो र शिक्षामन्त्रीको संशय अतिरञ्जित छैन । यो सन्देह समाजमा व्यापक छ । त्यसैले गर्दा बर्षेनी ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिने गरेका छन् । नेपालमै पढेर राम्रो गर्न सकिन्छ भन्ने वातावरण बन्न नसक्नुको कारण पनि विदेश अधययनमा जाने बढेका हुन् ।
महामारी उत्कर्षमा रहेका बेलामा पनि वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीको संख्यामा कमि आएन । गत आर्थिक बर्ष ०७७-०७८मा करिब तीस हजार नेपाली विद्यार्थी संसारका ५७ देशमा अध्ययनका लागि गएको राष्ट्र बैंकको तथ्याङ्का उल्लेख छ । यसबाट झण्डै २५ अरब रकम विदेशिएको छ । कोभिड अगाडि त यो रकम ४६ अरब भन्दा बढी थियो ।
यो रकम सबा चार लाख विद्यार्थी अध्ययन गर्ने देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको बजेट भन्दा बेसी हो ।यति ठूलो रकम देशबाट बाहिरनु निरन्तर भुक्तानी असन्तुलन व्यहोर्दै आएको हाम्रो अर्थतन्त्रका लागि पक्कै पनि राम्रो कुरा होईन । देशभित्र भविष्य नदेखेर अन्तर्राष्ट्रिय डिग्रिसँगै काम पाइने आशामा विद्यार्थी जस्तोसुकै जोखिम मोलेर भएपनि विदेश जान खोजेको देखिन्छ । देशभित्रको गञ्जागोल अवस्थाले गर्दा आशावादी हुने ठाउँ नभएको कुरापनि तितो यथार्थ हो ।
कक्षा १२ को नतिजा प्रकाशन भएसँगै यतिबेला स्नातक तहको विश्वविद्यालय शिक्षाका लागि विभिन्न संकायका विविध कार्यक्रमहरुमा भर्ना खुलेको छ । विश्वविद्यालय तहको पढाईले भविष्यको मार्ग निर्देशन गर्ने हुँदा उचित विषयको छनोट गर्नुपर्दछ । व्यवस्थापन शिक्षा एउटा उत्कृष्ट छनोटको विकल्प हो । व्यवस्थापन शिक्षा वास्तवमा बहु–विषयगत (मल्टी डिसीप्लीनरी) प्रकृतिको हुन्छ । व्यवस्थापकीय सीप जीवनका हरेक मोडमा उत्तिकै काम लाग्दछ । त्यसैले नै व्यवस्थापन शिक्षा प्रतिको आर्कषण विश्वव्यापी रुपमा बढ्दो छ ।
हाम्रो देशमा पनि विश्वविद्यालय तहमा भर्ना (इनरोल) हुने कुल विद्यार्थी सङ्ख्यामा व्यवस्थापन संकाय रोज्ने विद्यार्थीको सङ्ख्या करिब आधाजसो देखिन्छ । इञ्जिनियरिङ्ग र मेडिकल शिक्षामा जस्तै आकर्र्षण देखिन्छ यो विधामा । व्यवस्थापन कला हरेक क्षेत्रमा उत्तिकै महत्वपूर्ण ठहरिदै आएको छ किनकी यो व्यवहारिक र जीवनोपयोगी छ ।
नेपालमा अहिले धेरै जसो विश्वविद्यालयहरुले व्यवस्थापन विषयका विभिन्न नामका कार्यक्रम संचालन गर्दै आएका छन ।फ्याकल्टी अफ म्यानेजमन्ट अन्तर्गत शुद्ध ब्यवस्थापन शिक्षाका कार्यक्रम संचालित छन् । स्नातक तहमा बिबिए, बिबिए–बिआई, बिसिए, बिएचएम, बिटिटिएम, र बिआइएम जस्ता मिश्रित कार्यक्रम संचालित छन । विभिन्न क्याम्पसहरुमा स्वायत्त शैक्षिक कार्यक्रम अन्तर्गत विभिन्न खालका मौलिक कोर्ष पनि सञ्चालन भैरहेका छन् ।व्यवसाय शिक्षा कार्यक्रम मार्फत विद्यार्थीलाइ व्यवस्थापन र उत्पादन कार्यसंग सम्बन्धित आधारभुत सिद्धान्त सिकाइन्छ । यस्ता कार्यक्रम अन्तर्गत व्यवस्थापनसँग सम्बन्धित निर्णय प्रकृया, दर्शन, सिद्धान्त र मनोबिज्ञान तिनीहरुको व्यवहारिक प्रयोग र नया“ व्यवसायको शुरुवात कसरी गर्ने, संचालन कसरी गर्ने भन्ने बिÈयमा व्यवहारिक रुपमा अध्यापन गरिन्छ ।
अन्तर्राष्ट्रिय स्तरमा वृत्ति विकासको अवसर खोज्नेहरुका लागि अझै हस्पिट्यालिटी म्यानेजमेन्ट (होटल व्यवस्थापन) विषयको अध्ययन एउटा महत्वपूर्ण विधा हो । यसको अध्ययन यतिबेला नेपालमा सबैभन्दा बढी खोजिने र रुचाइएको विषय हो । तसर्थ यो विषयको अध्ययन एउटा उत्कृष्ट छनोट हुनसक्छ । यो कोर्षले मानव व्यवस्थापन र उपभोक्ता (ग्राहक)को सामना उत्कृष्ट ढंगले कसरी गर्न सकिन्छ भन्ने सीप सिकाउँछ ।
यस्तो सीपको उपयोग अझ फराकिलो दायरामा काम लाग्ने हुन्छ । यसबाट विद्यार्थीले विशिष्टिकृत व्यवसायिक सीप र ज्ञान हासिल गर्न सक्छन् ।
हस्पिट्यालिटी म्यानेजमेन्ट (होटल व्यवस्थापन)को जोड जुनकुनै क्षेत्रको व्यवसायमा खास गरेर ग्राहक सुविधा र सुरक्षामा केन्द्रित हुन्छ । उपभोक्ताको सन्तुष्टीमा हुन्छ जसले कालान्तरमा उपभोक्ता बफादारिता बढाउने कुरामा ध्यान दिन्छ । यस अन्तर्गत विविध विधाका सिद्धान्तहरु जस्तैः रणनीति, मानव संसाधन व्यवस्थापन, बजारशास्त्र, सप्लाई चेन म्यानेजमेन्ट र लजिस्टिक्स (रसद व्यवस्थापन)का कुरा एकिकृत रुपमा पढाइ हुन्छ ।
हाम्रो शिक्षा प्रणालीमा खोट छ । यसले बालबालिका र युवालाई कर्मचारी वा जागिरे हुने तालिम मात्र दिएको छ । त्यसैले त हामी उनिहरुलाई अक्सर भन्छौं–‘राम्रोसँग पढ् नभए हलो जोत्लास्, रिक्सा चलाउलास्............यस्तै यस्तै....।’
वास्तवमा भन्नुपर्ने त ‘राम्रोसँग पढ र उच्च पारिश्रमिक प्रदान गर्न सक्ने रोजगार सिर्जना गर’ भन्ने हो ।शिक्षा मौलिक अधिकारको रुपमा संविधानमा नै व्यवस्था गरिएको छ । हामी बालबालिका र युवालाई प्रतिष्पर्धामा खरो उत्रिन सकुन भनेर उच्च शिक्षा प्राप्त गर्न अभिप्रेरित गरिरहन्छौं ।
राज्यले पनि ठूलो लगानी गरेको छ यद्यपी यो अभैm पर्याप्त छैन । जब बालबालिकाहरुले आधारभूत विद्यालय विद्यालय शिक्षा पुरा गर्छन् हामी उनीहरुलाई माध्यमिक तहको शिक्षाका लागि प्रेरित गर्छौं । यो तह पार गरेपछि उनीहरु फेरी विश्वविद्यालय तहको शिक्षाका लागि प्रवेश गर्छन् । केही सिमित विद्यार्थीले मात्र श्रम बजारमा रोजगार पाउँछन् ।
विश्वविद्यालयका ग्राज्युयटहरुको ठूलो संख्याको लागि जागिर र अवसरको सुनिश्चितता छैन् । अब राज्यले नीतिगत रुपमा युवा विद्यार्थीको ध्यान परम्परागत जागिर खोज्ने मानसिकता बदलेर आपूm पनि स्वरोजगार हुने र अरुका लागि पनि रोजगारको अवसर सिर्जना गर्ने खालका कार्यक्रम संचालन गर्नुपर्छ । खास गरेर व्यवसाय र अर्थशास्त्र जस्ता विषय पढेका युवाहरुमा यो सोंचको विकास गराउन सकियो भने मात्र शैक्षिक बेरोजगार युवाहरुलाई उत्पादनमा जोड्न सकिन्छ । समृद्धि र समुन्नती प्राप्त गर्न सकिन्छ ।
त्यसैगरी खास गरेर व्यवस्थापन, व्यवसाय र अर्थशास्त्र जस्ता विषय अध्यापन गर्ने विश्वविद्यालय र कलेजहरुले यसमा गम्भिर भएर सोंंच्नुपर्दछ । विद्यार्थीको वास्तविक मूल्याङ्कन उनीहरुले पास आउट हुँदा प्राप्त गरेको प्रतिशत वा ग्रेडबाट नभएर व्यवसायिक र सामाजिक जीवनमा उनीहरुले हासिल गरेको सफलतामा हुनुपर्दछ । तर हामी मेरो कलेज÷क्याम्पस, विद्यालयको विद्यार्थीले यति प्रतिशत ल्यायो, परिक्षा टप गर्यो भनि गौरव गर्छौ । वास्तविक व्यवसायिक र सामाजिक जीवनको परिक्षामा उ असफल भएर र विरक्तिएर विदेश पलायन भएका ज्वलन्त उदाहरण हामीसँग छन् ।
हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई ‘ए’ विद्यार्थी अर्थात् एकेडेमिक्स र ‘बि’ विद्यार्थी ब्युरोक्रेट बन्न तयार गरिरहेको छ । वास्तवमा ब्यूरोक्रेसीले उद्यमशील भावनालाई सक्रिय रुपमा बिगारिरहेको छ । हाम्रो अहिलेको आवश्यकता ‘सि’ विद्यार्थी अर्थात् क्यापिटलिष्ट विद्यार्थी उत्पादन गर्नु हो । यिनै विद्यार्थी नै वास्तवमा देशका कर्णधार हुन् , दिगो विकास र समृद्धिका आधार हुन् ।
(लेखकः एक्सिस कलेज, तिलोत्तमा–३, रुपन्देहीका प्रिन्सिपल हुन्)
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)