Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अर्थशास्त्रको ज्ञान : जीवनलाई सजिलो बनाउन लाभदायक

अर्थशास्त्रको ज्ञान : जीवनलाई सजिलो बनाउन लाभदायक

  • 4.7K
    SHARES

  • अर्थशास्त्रको ज्ञान  :  जीवनलाई सजिलो बनाउन लाभदायक

    -डा. बाबुराम ज्ञवाली

    जीवनमा अर्थको महत्त्व :

    घर बाहिर जानु पर्यो भने तपाईं के के अनिवार्य रुपमा साथमा राख्नु हुन्छ भनेर कसैलाई सोधेमा के जवाफ आउला ? कसैलाई रुमाल महत्त्वपूर्ण होला, कसैलाई पेन । कसैले चश्मा भन्लान्, कसैले औषधि । बर्सातको मौसम भए छाता, वृद्ध मानिस भए लौरो, स्त्री भए मेकअप बक्स, यस्तै उत्तर आउला । मानिस अनुसार चीजहरु फरक पर्लान् तर सबैले एउटा कुरा सबभन्दा पहिला छनौट गर्लान्– मनी ब्याग, पैसा । अचेल अर्को एउटा कुरा थपिएको छ– मोबाइल । 

    यसको अर्थ के हो भने जीवनमा धनको महत्ता सर्वप्रथम छ । त्यसैले कौटिल्यले भनेका हुन्– सबै काम धनबाट सुरु हुन्छन् । उखान पनि– पैसा अगि लाग्छ । प्राविधिक दृष्टिले पनि पैसा अगि नै लाग्छ । कपडाको लम्बई १० मीटर भनिन्छ । वस्तुको तौल ६५ किलो ग्राम भनिन्छ । तापक्रम २८ डिग्री सेन्टीग्रेड भनिन्छ । तर रकमको लीला विचित्र छ । कानुनी तमसुक लेख्न पर्यो भने फलानाले फलानो सँग रु. १०००० सापटी लिएको ठीक साँचो हो भन्नु पर्छ । त्यसले पनि पुग्दैन र अक्षेरेपी दसहजार रुपैयाँ थप्नु पर्छ । अक्षेरेपि भनेको नै अक्षरमा रुपैयाँ हो । अनि फेरि पछाडि थपिन्छ रुपैयाँ । अगाडि पनि पैसा पछाडि पनि पैसा ।

    हामीले दैनिक जीवनमा प्रयोग गर्ने वस्तु दुई प्रकारका छन्– सित्तैमा प्राप्त गर्न सकिने वस्तु तथा धन तिरेर मात्र प्राप्त गर्न सकिने वस्तु । प्राृकतिक हावा, घाम जस्ता केही प्राकृतिक उपहार सित्तैमा पाइए पनि धेरै जसो वस्तु हामीले धन तिरेर मात्र प्राप्त गर्नु पर्छ । त्यसै कारणले मानिसका सबै इच्छा पूरा हुँदैनन् । जुन इच्छालाई धनको मद्दतले पूरा गर्न सकिन्छ त्यो मात्र पूरा हुन सक्छ । त्यसैले हाम्रा अनेकौं इच्छा अपूर्ण रहेका हुन्छन् ।

    जस्तो चित्रमा देखाइएको छ–

    a.png

    यति कुरा गर्नुको अर्थ के हो भने मानिसको व्यक्तिगत र सामाजिक दुवै जीवनमा धनको महत्त्व र भूमिका छ । यो कुरा सबैले बुझेका पनि छन् ।  त्यसैले हामीले जीवनका चार पुरुषार्थ मान्दछौं– अर्थ, काम, धर्म, मोक्ष । अर्थलाई धर्म र मोक्ष सरहको पुरुषार्थ रामायण, महाभारत, पुराण, स्मृति सबैले स्वीकार गरेका छन् । 

    रोजगारको साधन:

    अर्थको महत्त्व बुझाउनका लागि विषय नै छ– अर्थशास्त्र । वि.सं. २०३८ मा विद्यालय पाठ्यक्रम परिवर्तन गरेपछि अर्थशास्त्र एक अलग विषयको रुपमा विद्यालयमा पठनपाठन हुन थालेको हो । विश्वविद्यालयमा यो विषय स्थापना भए पछि सुरु भएको हो ।

    तर यसको अर्थ के होइन भने अर्थशास्त्र  नपढेकाले धनको महत्त्व बुझेका हुँदैनन् । धनको महत्त्व बुझ्न एडम स्मिथ, माक्र्स, केन्सका सिद्धान्त नैजान्नु पर्छ भन्ने पटक्कै छैन । बजारमा सामान किन्न जानेले मागको सिद्धान्त नपढे पनि सस्तोमा किन्न जानेको हुन्छ । 

    आम्दानी र लागत रेखा बनाउन नजान्ने व्यवसायीले पनि नाफा आर्जन गर्न जानेको हुन्छ । हजारौं व्यवसायीले नाफा आर्जन गरेकै हछन् । घाटा कम गारउन उनीहरुले प्रयास गरकै छन् । तर उनीहरुले अर्थशास्त्रका सिद्धान्त नपढे पनि अर्थशास्त्र जानेका हुन्छन् । उनीहरुलाई सैद्धान्तिक दृष्टिले अनभिज्ञ भने पनि व्यवहारमा उनीहरु सिपालु हुन्छन् । हुनै पर्छ । नत्र आर्थिक व्यवहार कसरी चल्छ ?

    तर यसलाई सैद्धान्तिक रुपमा जान्दा आर्थिक व्यवहारका परिवर्तन बुझ्न अवश्य सजिलो हुन्छ । कतिपय प्रसंग अर्थशास्त्रका सिद्धान्तसँग पनि जोडिएको हुन्छ ।सुनको मूल्य वि.सं. २०३० मा ८२० रु प्रति तोला थियो । वि.सं.२०७८ मा रु.८०,००० छ । यसले मुद्राको समय मूल्य जनाउँछ ।

    कसैसँग रु. ५०० छ भने उसले फुर्मायश गरेर सिद्ध्याउन पनि सक्छ र त्यसको किफायतसाथ उपयोग गरेर जीवनभरिलाई फाइदा लिन पनि सक्छ । निश्चित रुपमा सबैले के भन्न छन् भने दोस्रो विकल्प सही हो । यस दोस्रो विकल्पले अर्थशास्त्रको दैनिक जीवनमा महत्त्व स्पष्ट गर्छ । किनभने अर्थशास्त्र विषयको मूल विषय वस्तु नै साधनको किफायतसाथ उपयोग गर्नु हो ।

    अर्थशास्त्र भावी रोजगारको साधन पनि हो । साथै रोजगारमा लागेकाहरुको कार्यक्षमता वृद्धिका लागि पनि सहायक छ । निजामति प्रशासन, बैंकिङ्ग, संस्थान लागयतका अनेक क्षेत्रमा अर्थशास्त्र विषय सहायक छ । यसले मानिसको तर्क गर्ने क्षमतामा बढोत्तरी गर्छ । अर्थशास्त्रमा विशिष्ट शोध विधि भएकोले विशिष्ट समस्या समाधानका लागि अर्थशास्त्र विषयका विद्यार्थीहरुको त्यस्ता ठाउँमा आवश्यकता पर्छ । गणित र तथ्याङ्को प्रयोग अर्थशास्त्रको अनिवार्य भाग हो । त्यसैले अर्थशास्त्र अध्ययन गर्नेको सुतथ्य विश्लेषणको सीप विकास हुनजान्छ । त्यसैले विद्यार्थीको व्यक्तित्व विकासमा समेत अर्थशास्त्र अनेक दृष्टिकोणले सहायक छ ।    

    समाजलाई योगदान

    अर्थशास्त्रको क्षेत्रमा विशेष योगदान गर्नेहरुले संसार बदल्न पनि सक्छन् । एडम स्मिथको वेल्थ अफ नेशन्स र माक्र्सको पूँजी यसका उदाहरण हुन् । समाजका समस्याहरुको समाधान अर्थशास्त्रीले गर्छन् । सेले उतपदन वृद्धिको सिद्धान्त दिए । माल्थसले जनसंख्याको समस्या समाधान गर्ने तरिका बबताए । केन्सले बेरोजगारी समस्याको समाधान प्रदान गरेर हजारौं बेरोजगारलाई पुनः रोजगार सम्पन्न गराउने सिद्धान्त बनाए । आर्थिक सिद्धान्तमा योगदान गर्नेहरुले पुरस्कार पाउँछन् । नोबेल पुरस्कार यसको उदाहरण हो । महेशचन्द्र रेग्मीले नेपालको मध्यकालीन अर्थव्यवस्थामा योगदान गरे बापत म्यागसेसे पुरस्कार प्राप्त गरे । इलिनोर ओस्ट्र्मले नेपालका किसानहरुले सञ्चालन गरेका सिंचाई व्यवस्था तथा दक्षिणीअफ्रीकाका किसानले गरेका वन व्यवस्थापनको आधारमा समुदायको साझा सम्पत्ति (कमन पूmल रिसोर्स) सिद्धान्त प्रतिपादन गरिन् । जसका लागि उनले नोबेल पुरस्कार प्राप्त गरिन् ।

    2.pngअनेक ठूला अर्थशास्त्री विख्यात दार्शनिक पनि भएका छन् । जे एस मिल र गुन्नार मिर्डाल केवल अर्थशास्त्री होइनन् उनी एक साहित्यकार र दार्शनिक पनि हुन् । न्युटन जसलाई अधिकांशले वैज्ञानिक भनी चिन्दछन् उनले अर्थशास्त्रको एउटा प्रसिद्ध सिद्धान्त प्रतिपादन गरेको मानिन्छ । त्यो सिद्धान्त हो– मुद्राको परिमाण सिद्धान्त । बेलायतको टकसार विभागको प्रमुख हुँदा उनले यो विचार दिएका थिए ।

    लक्ष्मीप्रसाद देवकोटा पनि केवल दार्शनिक कवि होइनन् एक गम्भीर आर्थिक चिन्तक पनि हुन् । उनको उच्च शिक्षाको विषय अर्थशास्त्र थियो । सदनमा प्रतिपक्षी दलका नेताको हैसियतले बजेटको आलोचना गर्ने जिम्मेदारी उनले पाएका हुन्थे । उनले गरेका बजेटको आलोचना पढ्दा एउटा दक्ष अर्थशास्त्रीले दिने सिद्धान्त त्यहाँ व्यक्त भएका छन् । अर्थशास्त्री मदन कुमार दाहाल कवि हुन् तथा अर्थशास्त्री विश्वम्भर प्याकुरेल प्रसिद्ध गीतकार हुन् ।   

    एडम स्मिथभन्दा दुई हजार वर्ष अघि कौटिल्य नाम गरेका एक महान दार्शनिक भएका छन् । उनले अर्थशास्त्र ग्रन्थ मात्र रचना गरेका छैनन् त्यसबाट जीवनको श्रेष्ठता प्राप्त गर्न सकिन्छ भन्दै आफ्नो विषयले शस्त्र र शास्त्र दुवै कुराको उद्धार गरेर अन्यायको समाप्ति गरेको उद्घोष पनि गरेका छन् । यसै शास्त्रको आधारमा उनले चन्द्रगुप्त मौर्यको शासनकाल स्थापना र जनकल्याणका कार्य गरे । स्पष्टतः अर्थशास्त्र बजेट सञ्चालन मात्र होइन राज्य स्थापना र निर्माणमा पनि उपयोगी छ ।

    स्वतन्त्रता:

    अर्थशास्त्र विषयको जन्म भइरहँदा अमेरिकाले नयाँ विश्वको स्वरुप लिँदै थियो । नेपाल एकीकरणको सुरुआती लक्षण देखा पर्न थालेका थिए । यस एकीकरणले भविष्यमा नेपालको स्वतन्त्रतालाई सुरक्षित गर्न सक्यो । त्यसैले व्यक्ति स्वतन्त्रता र अर्थशास्त्रमा आपसमा घनिष्ठ सम्बन्ध मानिएको छ । अर्थशास्त्रले व्यक्ति स्वातन्त्र्यलाई प्रतिभूति गर्छ किनभने यसले छनौट स्वतन्त्रताको वकालत गर्छ । यसका साथै आफ्ना सिद्धान्तमा यस शास्त्रले मानिसको विवेकशीलतालाई महत्त्व दिन्छ । यसको अर्थ के हो भने यसले स्वतन्त्र मानिसको मानिसको चेतना सार्वधिक महत्त्वपूर्ण हुन्छ । असल मानवीय व्यवहारका लागि चेतनाको उच्चतम भूमिका हुन्छ ।   

    के यसले सबै समस्या समाधान गर्छ ?

    यति सबका बावजूद यसका केही कमी कमजोरी पनि छन् । मानिसका आवश्यकता अनन्त छन्, साधन सीमित छन् र सबै साधन कहिल्यै पूरा हुन सक्दैनन् भन्ने अर्थशास्त्रको मान्यता र धर्मशास्त्रको मान्यता संसार दुखको समुद्र हो । आपस मिल्न जान्छ । अर्थशास्त्रले अप्रत्यक्ष रुपमा के स्वीकार गरेको छ भने हाम्रा अनन्छ आवश्यकता कहिल्यै पूरा हुँदैनन् । यसैले मानव जीवनमा सुख थोरै र दुख धेरै छ ।

    यसले सन्तुष्टि प्राप्त गर्ने उपयोगिताको व्याख्या गर्दा चुरोट र फलफूल दुवैबाट सन्तुष्टि प्राप्त हुन्छ भन्ने मान्दछ । अर्थशास्त्रीलाई फलफूल रोज्ने अधिकार प्राप्त छैन । अधिक आय अधिक सुखको प्रतिक हो भन्ने कुरा अर्थशास्त्रको सामान्य मान्यता हो तर अनेक सन्दर्भमा निर्धन मानिस धनी भन्दा सुखी देखिएका छन् । 

    अर्थशास्त्रले विवेकशीलताको नाममा बढी यथार्थवादी हुन सिकाउंछ । बढी यथार्थवादी मानिस शुष्क हुन्छ । यस्तो मानिसलाई व्यावहारिक मानिस भन्न सकिँदैन । देशभक्ति, परिवार प्रतिको स्नेह, समाज प्रतिको जिम्मेवारी जस्ता कुरामा संवेदनशील हुनुपर्छ । त्यसमा अर्थशास्त्रका नियम लागू हुँदैन किनभने प्रशस्त धन भएर पनि सुख नहुन सक्छ अर्कातिर थोरै धन भएको मानिसले पनि सुखले जीवन बिताउन सक्छ ।

    एउटा उदाहरणद्वारा यसलाई स्पष्ट गर्न सकिन्छ । तीसवर्ष भित्र पढेको भन्दा नपढेकोसंग धेरै पैसा हुन्छ । पढ्दै छ भने आम्दानी हुँदैन बरु उसमाथि खर्च नै गर्नु पर्ने हुन्छ । त्यसैले विद्यार्थीसँग आम्दानी नै हुँदैन भन्ने मानिन्छ । जसले पढ्दैन उसमाथि खर्च गर्नु पनि परेन बरु उसले केही काम गरेर धन आर्जन गर्न सक्छ । विद्यार्थीको उमेरमा धनभन्दा विद्या नै ठूलो हो । यसै गरी ८० वर्ष कटे पछि धन हुनु र नहुनु बराबर हुन जान्छ । यस उमेरमा पुग्दा कुन कुरामा खर्च गर्ने भन्ने कुरा मानिसले मेसो पाउँदैन । यस बेला उनका लागि धन गौण वस्तु हुपुग्छ । यसको अर्थ के हो भने धनको महत्त्वपूर्ण भूमिका छ तर धन नै सबथोक होइन । समग्र मानवको अध्ययन गर्न धन वा आय अधिकतमीकरण मात्र पर्याप्य छैन । मानवीयतालाई सधैं ध्यानमा राख्नु पर्छ । दया माया जस्ता मानवीय गुणलाई कहिल्यै पनि बिर्सनु हुन्न ।

    उपसंहार :

    केही सीमाहरुको बावजूद अर्थशास्त्रको ज्ञान जीवनलाई सजिलो बनाउन लाभदायक छ । यसले युवाहरुको भावी आजीविका मात्र निधाृरण गर्दैन उनीहरुलाई तार्किक र निष्कर्षोन्मुखी पनि बनाउँछ । सबभन्दा महत्त्वपूर्ण अर्थशास्त्रले के मान्दछ भने कुनै पनि सिद्धान्त दोषरहित छैन । सबका गुण पनि छन् र अवगुण पनि छन् । जीवन यी दुवैको सन्तुलन हो ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology