बुटवल,जेठ २२ ।
केपी ओली नेतृत्वको सरकारबाट बाहिरिएसंगै एक निबर्तमान मन्त्रीले चर्चा बटुलेका छन् । ३९ महिना परराष्ट्रमन्त्री बनेका गुल्मीबाट निर्वाचित एमाले नेता प्रदीप ज्ञवाली विवादरहित सरकारबाट बाहिरिएपछि उनको चाैतर्फी चर्चा र प्रशंसा भएको हाे ।
सरकारबाट बाहिरिएसँगै निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार पदमुक्त भएलगत्तै उनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
उनको पार्टीका नेता कार्यकर्ता मात्र हाेइन बिपक्षी पार्टीका नेता कार्यकर्ताले खुलेरै प्रशंसा गरेका छन् भने उनलाई सरकारबाट अलग गर्ने एमाले अध्यक्ष तथा प्रधानमन्त्रीको निर्णय गलत भएको कतिपयको भनाइ छ । सामाजिक संजालमा ज्ञवालीको धेरैले प्रशंसा गरेका हुन् ।
एकपटि अर्काे बिबादमा परिरहेको अहिलेको सरकारबाट बाहिरिएका तत्कालिन परराष्ट्रमन्त्री ज्ञवालीले सार्वजनिक गरेको विवरणअनुसार मन्त्रीबाट हट्दा उनको खातामा सात लाखभन्दा बढी बचत छ ।
उनले लेखेका छन्, ‘हाल मेरो खातामा ७,४१,७७५.६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’
मन्त्री बनेको अविधिमा आफूले ९ लाखभन्दा बढी लेभी पार्टीलाई बुझाएको उनले बताएका छन् ।
उनले लेखेका छन्,‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ ।’
आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप हिजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिवार छाड्ने उनले बताएका छन् ।
ज्ञवाली ३० फागुन २०७४ मा परराष्ट्रमन्त्री नियुक्त भएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)