Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना महामारी : उफ् ,एक दिन...!

कोरोना महामारी : उफ् ,एक दिन...!

  • 7.5K
    SHARES

  • कोरोना महामारी : उफ् ,एक दिन...!

    -मधु आचार्य

    आज बिहानबाटै आशु रोकिने कुनै छाँटकाँट छैन् । खै किन आज म यति कमजोर भएको  छु । सामान्य कुरामा पनि रुने म आज समालिन्न सकेको छैन् । अझ पुरुष भएर पनि रुन्छन भन्ने मानिसहरुका कारण म आफ्नो रोदन देखाउन चाहान्न । शरिरमा कुनै जोश छैन् । हिजो राति अबेरसम्म निन्द्रा नपरेको कारण पनि होला ।

    यसो झकाएको मात्र थिए मनमा दिनभर सुनेका देखेका कुराहरु मात्र दोहो¥याएर आईरहेका थिए । मान्छेहरुको छलपटी बाहेक केही देखिदैन् सपनामा पनि । झसङ्ग भए, फेरी निदाउने कोशिस गरे, कहिले उता कहिले यता कहिले घोप्टो परेर निदाउने कोशिस गरे, तापनि रातभरि सिरानी र विस्तारासँग उकुसमुकुस मात्रै भएर विहानी भयो । जसोतसो जागर निकालेर उठ्ने कोशिस गरे । 
    नियमित पानी पिउने बानी भएकोले बानी तताएर पिउदै मोवाईल खोले । उता श्रीमती कराउदै थिईन, विहानै उठन नपाउदै मोवाईल । म वाईफाई बन्द गरिदिन्छु  । शरिर कमजोर छ, त्यसमाथी यस्तो महामारी राम्रो समाचार सुन्नु छैन् नहेर्नु मोवाईल  । उनी उता बरबराउदै थिईन, म यता अटेरी ।

    हुन पनि हो, उनको मप्रतिको रुष्ट पाराको चिन्ता स्वभाविक थियो । लामो समय अस्पतालको शैयामा बसेर एक अपरेशन असफल पछि दोस्रो जटिल अपरेशनपछि म निको हुने तरखरमा थिए । उनले मलाई छिटो निको गराउन आफ्नो हरदम कोशिस गरेकि छिन् त्यसमाथि मैले उनले भनेको कुरा विहानैबाट मानेको थिईन् । उनको गनगन हुँदाहुदै पनि म मोवाईल खोलेर यसो फेसबुक खोल्न थाले ।

    श्रीमतीले भनेझै राम्रो देख्नु सुन्नका लागि त्यो फेसबुक बनाईएको होईन झै लाग्दै गयो । म सरसती शिर्षक मात्र हेर्दै थिए । लाईक कमेण्ट गर्ने स्वभावको मान्छे म पहिले देखिनै होईन ।  तरपनि केही स्टाटसले मलाई पूरा स्टोरी हेर्न बाध्य बनायो । नामका अगाडी डा. लेखिएका व्यक्तिको रोदन दैनिक जसो देखिरहेको र सुनिरहेको थिए ।

    आजपनि डाक्टरहरु भन्दै थिए अब साँझ ४ बजेसम्मको लागि मात्र अक्सिजन छ । कोही विलौना गदै थिए, टुलुटुल हेरेर बस्न कसरी सकू ? कोही आफ्ना मान्छेले हार्दिक समवेदना राखेको देख्छु । चिनेजानेको मान्छेको अनुहार देख्दावित्तिकै म भक्कानिन थाल्छु ।

    कोही आफूले नचिनेको तर कलिलो उमेरमा ज्यान गुमाएका मानिसको तस्विरले मन अमिलो हुन्छ । एक्कासी श्रीमतीले तपाईले भनेको त मान्नु हुन्न है भन्दा पो झसङ्ग भए । आफूलाई समाल्न खोज्दै म कोठाबाट बाहिर निस्किए । केहीछिन नियमित काम सकेर म बसेको थिए । श्रीमती योगा गर्दै थिईन् । यस्तो बेला त योगमा ध्यान गर्नुपर्छ के गर्नु हजुर अपरेशन गरेको मान्छे गर्न मिलेन । यसो आखाँ बन्द गरेर शान्त बस्ने कोशिस गर्नुस त । उनले भनीन ।

    म उनका लागि भएपनि जबरजस्ती आखाँ चिम्लीने कोशिस गरे । उनले मलाई शान्त हुन यसो भनेकी थिईन  तर म त झन छटपटिन थाले । अघि मोवाईल खोल्दा फेसबुक भरी देखिएका स्टाटसहरु झलझली मेरो आँखामा आए । आफूलाई समाल्ने कोशिस गरे, केही राम्रो सोच्नका लागि अनि जबरजस्ती राम्रो कुरा मनमा ल्याउने कोशिस गरे । आफ्नो जिल्लामा नेपाल पत्रकार महासंघका साथीहरुले अक्सिजनका लागि गरेको पहल सम्झे । थोरै राहत महशुस गर्दै थिए ।

    फेरी अर्को मनले सोचे कस्तो निकम्मा भयौ है हामी । अघिल्लो पटक कोबिड आउँदा सबैको सहयोगमा सरकारको कोषमा अर्बौ पैसा जम्मा भएको हाम्रो पैसा केमा प्रयोग भयो त ? हामी जस्ताले सहयोग गरि जम्मा भएको पैसा के गरेका छन् । यस्तो बेला आफूलाई जोखिममा राखेर समेत साथीहरु पैसा संकलनमा लागेका छन् ।

    रातदिन नभनी अक्सिजनका सिलिण्डर बोकेका तस्बिरले मनमा छटपटी भैरहेको छ । यस्तै धेरै कुराले मनमा डेरा जमाएको होला आँखा चिम्म गरेपनि दृश्य तिनै देखिरहेको थिए । श्रीमतीले कति धेरै बेर गरेको भन्दा पो म झसङ्ग भए । धेरैबेर गरे राम्रो हुन्छ होला नि भन्दै बनावटी हासो देखाए । म बिरामी भएपछि मलाई एउटै पलङ्गमा बसीरहन मन लाग्न छाडेको छ । कहिले सिरानी लिएर भूईको सुकुलमा पल्टीन्छु ।

    कहिले विस्तारामै त कहिले हलमा रहेको लोबेडमा आफूलाई लम्पसार पारिदिन्छु । बिरामी हुँदा छटपटिने यो मन अझ अहिलेको समयले  ध्यू थपेझै भएको छ । नियमित रुपमा सञ्चालनमा रहेका हसाँउने कार्यक्रम आजभोली म खोजी खोजी हेर्ने गर्छु ।

    आफूलाई क्षणिक खुसी बनाउने कोशिस गरेकै छु । यूटुभका पेजहरु पनि कोभिड विरामी, कुरुवाको हविगत, सरकारको लाचारपन, यस्तै यस्तै शिषकले भरिएको पाउन्छु । बिहान ९ बजे यसो समाचार हेर्छु भनेर टिभि अगाडी बसेको मात्र के थिए, त्यही आम सर्वसाधारणको चित्कार बाहेक अरु केही छैन् । मन यस्तो भएर आयो कि यी नेता भनाउदाँहरुलाई चुनि चुनि कुटु झै । यस्तो बेला पनि केही गर्न नसक्ने सबै राजनीतिक दलहरुप्रति धृणा सँगै आक्रोश जागेर आउन्छ । अनि मनमनै सोच्छु म किन भोट हाल्न यहाँबाट आफ्नो क्षेत्रमा बाटोभरी बोमिट गर्दै जाउँ ? अबदेखि म कुनैपनि हालतमा जादिन ।

    फेरी सोच्छु म जस्तो युवाले त्यस्तो पनि त भन्नु भएन । यस्तै बेला केही मैले काम गर्ने कार्यालयका ग्राहकहरुको फोन आउँन्छ । उनीहरुको प्रश्नको उत्तर समेत दिन नसक्ने भएको छु म आजभोली । सर किस्ता तिर्न बैंक खुलेको छैन्, जरीवाना त लाग्दैन नि ? सर फेरी पनि व्यवसाय चौपट भयो, खै कसरी तिर्ने होला किस्ता, व्याज ? बैंकले व्याज छुट त गर्ला नि ? सर अफिस कहिलेदेखि खुल्छ नि ? कुनै पनि प्रश्नको उत्तर मँसग छैन्, नत म यस प्रश्नको उत्तर अरु कोहिसँग सोधेर दिन सक्छु । म नाजवाफ भएको छु । अन्य समयमा त नियमित व्यापारमा समस्या भैरहेको अवस्थामा अहिलेको महामारीमा यस्तो प्रश्न आउनु जायेज थियो तर उत्तर......?
    घरमा फोन गरेको बाबा आमा सबै सन्चै हुनुहुन्छ । के खबर छ ? भनेर सोधेको सजिलै उत्तर आयो, हामीहरु त ठिक छम । अनि गाउँतिरको हालखबर के छ त ? मेरो प्रश्न पुरा नहुँदै बाबाको उत्तर... गाउँतिर के छ थाहा छैन् हामीलाई त । समाचार, फेसबुक केही हेदैनौ । गाउँतिर जाने कुरा भएन कसैलाई पनि आउने दिएका छैनौ ठिकै त होला नि । कति सहज जवाफ बाबाको । बाबासँग हरेक प्रश्नको जवाफ छ । अहिलेको समय आफूलाई जोगाउनु हो ।

    नचाहिने कुरा हेरेर किन टेन्सन लिने ? कस्तो आनन्दको सोच । केही त सिक्नु पर्छ है हामीले पनि भनेर सोचे । आफूलाई खुसी राख्ने रोगी बुबाको कुरा सुन्दा उर्जा थपिएर आयो । उता साथीभाईको फोनले ख्याल गर है, भर्खर अपरेशन गरेर आएको मान्छे शरिर कमजोर भएको हुन्छ भन्दा थप सचेत हुने गर्छु । नजिकैको साथीको आफन्ती वितेर साथीले रुदै आफूलाई पिडा बताउँदा आफ्नो मान्छेको पिडा सहन नसकि म पनि धेरैबेर रोए । आशुको बिचपनि मैले उसलाई सम्झाउने कोशिस गरिराखे ।

    आफ्नो रोदन सुनाउँदै गर्दा पनि साथीले मलाई आफ्नो चाही ख्याल गर्नु है । धेरै नसोच्नु है भन्दै सम्झाउदै थियो । म नाजवाफ भए । आफूले पिडा भोग्दै गर्दा पनि मेरो चिन्ता गर्ने केही मान्छे छ भन्ने आभाष हुन्छ । कस्तो अचम्मको मान्छे, जसलाई मसँग कुनै स्वार्थ छैन् तर मलाई ख्यालरुपी गाली गरिरहन्छ । यस्तै बिचमा याद आयो कस्तो समस्यामा सहयोग गरेका केही स्वाथी  मान्छेहरुको । आफ्नो काम हुँदासम्म खुब अगिपछि गरि रगत चुसेर अहिले म बिरामी  हुँदा समेत  कुनै सोधखोज नगर्ने । हुन त सक्छ है मान्छे । उसलाई आफूसँग मात्र मतलब छ । आफ्नो काम पुरा भएपछि फर्केर नि हेर्दैन है । निकै आक्रोश पलाएर आउन्छ अनि फेरी तिनीहरुको औकात नै त्यही हो भनेर आफूलाई समाल्छु । 

    नियमित खाना बाहेक थप केही खानेकुरा खानुपर्छ आजभोली मलाई । केही थान औषधीका ट्याब्लेट, फलफूल,  सुप आदी  । त्यसको जोहो मुखमा रुखोपन देखाएर मनमा माया राखेर जवरजस्ती गरि श्रीमतीले मलाई खान भन्छिन् । अरु समयमा त मलाई खानको लागि खुबै कर गर्ने उनी म बिरामी भएपछि त नखाएर कहाँ हुन्छ र भनेर जवरजस्ती गर्दछिन् । औषधीले कमजोर गराएर गल्नुभन्दा जबरजस्ती खानुपर्छ भनेर म पनि यस्तो समयमा खानेकुरामा बल नै गरेको छु । कोठामा बसेर म बोर भएकि भनेर कहिले टिकटक बनाम कहिले उठेर बस्नुहोस, कहिले पानी अलि खानुहोस, कहिले खाजा के खानुहुन्छ त कहिले यसो गेटसम्म त गएर आउनुहोस भन्दै कर गरिरहेकी हुन्छीन उनी ।

    म बिरामी, अझ महामारी फैलिएपछि उनलाई पनि म बाहिर जान दिएको छैन् । सामानहरु लिन बाहिर जानुप¥यो भने, दुईवटा माक्स लगाउ, सामान नपाए यही जे छ त्यही खाँउला, मान्छेबाट टाढा बस, स्यानेटाईजर लिएर जाउँ, धेरै बेर नभुल, खुल्ला पैसा लिएर जाँउ, धेरै बेर नभुल, आदी  भन्दै सम्झाउन्छु । उनीपनि झर्किदै ह्या मलाई नि त थाहा छ भन्छीन तर के गर्नु आफूले सधै सानो देख्ने ।

    सामानहरु ल्यापछि कोठामा नआउदै हेन्डबास लिएर म बाहिरै पुग्छु अनि फेरी अ¥याउन थाल्छु, यसो गर उसो गर, यो गर यो नगर । उनी हस हस भन्दै टारिहरन्छीन् ।  अनि मतिर फर्किदै भन्छिन, तपाई सारै डरछेरुवा हुनुभयो यसपाली , अनि आफै उत्तर पनि दिन्छिन, अहिले तपाईको शरिर कमजोर भएर होला । म उनको प्रश्न र उत्तरमा ह मा ह थप्छु मात्र । 

    साँझ पर्न थालेपछि मेरो मन झन आतिन थाल्छ दिनभरी यति कोभिडका बिरामी थपिए, यति मान्छेको मृत्यु भयो, अक्सिजन नपाएर यति मरे, अब ३ घण्टालाई मात्र अक्सिजन छ, फल्नोलाई त हेलिकप्टरमा लगे अरे, एम्बुलेन्समा ल्याउँदा ल्याउँदै मृत्यु....... बिहानैबाट रसाउन सुरु गरेका मेरा आँखा अझै ओभानो हुन सकेका छैनन् ।

    उफ फेरी उकुसमुकुस...... आफैमाथी केहीले च्यापेजस्तो लाग्छ । म निरह छु । केही गर्न सक्दिन । यसैबिच केही खुसीका किरणहरुपनि भेटिन्छन्, मेरो मनलाई सम्झाउन । आज यतिजनाले कोभिड जितेर घर गए , कलाकार अक्सिजन सिलिण्डर बोक्दै, पत्रकारहरुले अक्सिजन जोहो गर्दै, विदेशमा रहेका नेपालीहरुले अक्सिजन खरिद गरेर नेपाल पठाउदै, आफू कोभिड भएर पनि बिरामीको सेवामा स्वास्थ्यकर्मी, भोकै बसेकाहरुलाई खाना खुवाउदै मनकारीहरु.....यस्ता समाचारले केही त हुँदै छ भन्ने भान भैरहन्छ । यी र यस्तै कुराहरुलाई मनमा खेलाउदै म विस्तारमा जवरजस्ती जान्छु, निदाउने कोशिस गर्छु । पिडादायी कुराहरु मनमा आउन्छ, हटाउन राम्रा कुरा ल्याउने कोशिस गर्दछु ।

    उफ आजपनि राम्रोसँग निदाउन नसक्ने भए भन्दै चिन्ता लाग्छ । डर बढ्छ, कोशिस गर्छु नडराउनका लागि । उठछु थोरै पानी पिउछु । यसो आखाँ नजिकै भएको ज्वोरो मापन यन्त्रतर्फ जान्छ, नाप्छु ठिकै छ, हल्का महशुस गर्छु, अनि फेरी अक्सिजनको मात्रा मापन गर्छु, ९८ छ । यो पनि त ठिकै रहेछ । मनलाई केही भएको छैन् भनेर सम्झाउन्छु । मनले मान्छ तर उकुसमुकुस भएको शरिर भित्र भित्र तातेको अनुभुती हुन्छ ।

    कोल्टो फेरेर सुत्ने कोशिस गर्छु, सक्दिन । बलगरेर आँखा चिम्म पार्दछु । लामखुट्टेको आवाज कानैमा गुन्जिन्छ तर त्यसको आवाजको मलाई कुनै वास्तै छैन । कहिले खुट्टा खुम्चाएर, कहिले तानेर, हातलाई सिरानी गराएर हुन्छ कि भन्दै लामो समय निन्द्रा र म बिचको लडाई जारी रहयो । खै कुनबेला हो निन्द्राले मलाई जितेछ अनि फेरी सपनामा उही दैनिकी दोहोरीरहन्छ, नरोकिनेगरि.......।

    madhu22century@gmail.com

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology