-रमेश रेग्मी
एक्कासी आएको तुफान
फूलहरुको सुन्दर बगैंचामा बिधम्सको
कुरुप नाच नाचिरहन्छ,
जिन्दगीका स्वर्णिम सपना उनेका
कोपिलाहरु तुफानको अत्याचारबाट
क्षणभरमै सम्सानका
डरलाग्दा अंगार जस्तै बन्न पुग्छ्न ,
स्व-अस्तित्वको खोजिमा,
नैराश्यताको पराकाष्ठा बोकेर
पिडाको अनन्त गहिराईमा पिल्सिरहन्छ बगैचा
जसरी सन्तान गुमाएकी आमाको उदास हृदय
पिल्सिरहेको हुन्छ सन्तानको बिरहमा ,
सबथोक गुमाएको आवेगमा
कहिलै नउठ्ने, कहिलै नफुल्ने अठोट गरेर
सुतिदिन्छ बगैचा कालो रातको छहारीमा,
तर,
जब पूर्वी क्षितीजमा पोतिन्छ सिन्दुरे रंग
हराइजान्छ आकाशको कालो बादल
अनि बढो साहस र विश्वासका साथ
पुन: टुसाउन सुरु गर्छ खुसिका रंगहरु,
मुटुभित्र खिल बनेर गडिरहेका बेखुसीका
बोधहरु पन्छाएर बगैँचा सहवास बस्छ
स्वर्णिम सपनाका तरेलीसँग
र जन्माउछ रङ्ग र सुन्दरताको मोहक आकृति (फूल)
अनि खुशीले चिच्याउदै भन्छ
ए तुफानहरु हो !
तिमीहरु आधी,कम्पन,प्रलय जे बनेर आएपनि
अब सक्दैनौ मेरो साहससँग पौठेजोरी खेल्न
सक्दैनौ मेरो अस्तित्व मेटाउन,
यदि प्रयास गरेरै हेर्नु छ भने
आउनु र नाचु मेरो छातीमा
तिमीहरुको पैताला रक्ताम्य बनाउने
शक्ति साँचेर राखेको छु,
याद राख्नु,
म तिमीहरुको अत्याचारबाट डगमगाउन्ने छैन
किन कि मैले देखेको छु
बादल फाटेपछिको उज्यालो आकाश ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)