एउटा चिया पसलमा बसेर चिया खाँदै छु । हालसालै देशमा युवापुस्ताको ठूलो विद्रोहपछि देश एउटा लयमा आउँदै छ कि जस्तो लाग्छ । हातमा मोबाइल छ । सजिलो ईन्टरनेटसेवा छ । मोबाइलमा सामाजिक सन्जालमा औंलाहरुले तिव्र नृत्य गरिरहेका छन् । ती सन्जालहरुमा कसैको यति धेरै खेदो खन्छन् कि अन्त्यमा असत्य पनि सत्य लाग्न सक्छ । कसैको यति धेरै देवत्वकरण गर्छन् कि स्वयं त्यो व्यक्तिले कति पटक आफ्नै अनुहार समयको ऐनामा राख्न पर्ने हुन्छ ।
अहिले नियुक्त पदाधिकारीहरुको कुनै दिन सानो त्रुटी भेटियो भने सबैजना फेरि उस्तै खेदो खन्न लागिपर्छन् । कसैले नबोलेरै दुनियालाई हायल कायल बनाएको देखिन्छ । जति प्रतिक्रिया दिइन्छ त्यति कुरो चुलिन्छ भन्ने रणनीति हुन सक्छ। थोरै तौलेरै बोलिदिए हुने हो । बोलेपछि रहस्यमय हुनुको शक्ति हराउने पिर पनि हुन सक्छ । जे होस् , सकिन्छ भने काम गर्ने सुझावहरु दिने हो । सबै कुरालाई सामाजिक सन्जालमा अंश अंश काटेर अपुरो भ्रमित प्रस्तुती गर्ने प्रवृत्ति हट्नुपर्छ । यस्तै विचार गर्दै गर्दा मेरो चिया सकिन्छ । चिया पसलको पार्श्वमा भजन बजिरहेको छ " तु अन्तर्यामी सबका स्वामी ........"
धेरै समय कुर्दा पनि गाडी त आइपुग्दैन । त्यसपछि बाइक पठाओ गरेर भए पनि काममा निस्किनुपर्छ मलाई । जाँदै गर्दा बाटोमा केही दृश्यहरुले मनमा हलचल हुन्छ । एउटा ट्रकको पछाडि राँगा भैंसीहरु खाँदेर गएको दृश्यले ती जनावरहरुको मनोदशा कस्तो होला भनेर कल्पना गर्छु । इतिहासका पाना पल्टाउने हो भने दास प्रथा व्यापक हुने समयमा यसरी नै मान्छेहरुलाई ओसारपसार गर्थे रे भनेर पढ्न सकिन्छ । कल्पना गर्दा पनि आङ सिरिङ्ग हुने है !!
त्यस्तै गरी एउटा सानो भ्यानमा खसीहरु पूरै खाँदेर लगेको दृश्य देखिन्छ । त्यो दृश्यले पनि उस्तै मनोभाव जन्मिन्छ । अब कसैको आहार बन्ने पुर्वानुमानले होला त्यो भ्यानबाट रोदनको आवाज सुन्न सकिन्थ्यो । कोचाकचले गर्दा असहज भएर चिच्याएको कि हुन सक्छ । मसँग पशुको भाषा बुझ्ने क्षमता त छैन । तर त्यहाँ करुणाको अभाव बुझ्ने थोरै क्षमता भने छ ।
अघिल्लो दिन कयौं बोइलर कुखुराहरुलाई खुट्टामा बाँधेर मोटरसाइकलको साइडमा झुण्ड्याएर लगेको देखेको थिएँ । हाम्रो देश निकै मासुप्रेमी देश हो भन्ने लाग्यो । पोषणको कतै अभाव हुन नपर्ने हो !! तर पोषण पनि किन्न पर्छ । किन्न रुपैयाँ चाहिन्छ ।
आफ्नो भने मासु सेवनमा रुचि नभएको हुनाले म चाहिँ स्वादका खातिर ती खसी, राँगा, कुखुराहरुलाई पुर्याइने पीडाको भागी छैन है भन्ने कुराले कता हो कता मनमा झिनो सन्तोष मिल्छ ।
र मेरो अस्तित्व हल्लिन पाउँदैन ।
मेरो अहम् पनि डगमगाउँदैन ।
साँझतिर कामबाट फर्किने बेला फेरि चिया खान मन लाग्छ । क्यान्टिनमा चिया अर्डर गरेर मोबाइल चलाउँदै बस्छु । त्यही क्रममा केही वर्ष पहिले खिचेको फोटो गुगलले सम्झना दिलाउँछ । दुई वर्ष पहिले भन्दै प्रकट भएको फोटोमा लुम्बिनी प्रदेशको गोरुसिङे भन्ने स्थान नजिकको गाई गोरुहरुको बथानको फोटो खिचेको रहेछु । ट्रकको ठक्करले एउटा गोरुको मृत्यु पनि भएको थियो । ती सबै गाई गोरुहरु प्रयोगसिद्धीपछि जङ्गलमा छोडिएका हुन् । धेरै वर्षसम्म दुहुनो गाई थाकिसकेपछि पाल्ने मान्छेले भार महसुस गर्ने गर्छन् ।
र कतै जङलमा छोडिदिन्छन्। कतै भिरबाट खसाएको पनि समाचार सुनेको थिएँ । गोरुलाई त जन्मेको केही समयमै छोडिदिन्छन् वा बेचिदिन्छन् ।
दूध बढी उत्पादन गर्नकै लागि सुइहरु प्रयोग गर्ने गरेको पाइन्छ । बाच्छा बाच्छीलाई आमाबाट टाढा राखेर मातृवात्सल्यमाथि अन्याय गरिन्छ । जबरजस्ती दूध उत्पादन गर्न नयाँ नश्लहरुको विकास गर्ने प्रयोग गरिन्छ । दूधबाट उत्पादन हुने सबै खाद्यवस्तुहरुको मूल श्रोतको बारेमा कथा खोतल्ने हो भने भयावह महसुस हुन्छ । पशुशोषण हाम्रो आधारभूत मूल्य मान्यता र संस्कारले पक्कै दिँदैन । गाइवस्तुमाथिको त्यो अन्याय देखेर सबैको मन विचलित पक्कै हुन्छ ।
गाइवस्तु पाल्ने कृषकले भिरबाटै खसाउन पर्ने अवस्था आउनुमा कति सम्मको बाध्यता होला वा कतिसम्म स्वार्थी र निर्दयी होला भन्ने अनुमान गर्न सकिन्छ ........। आदि । एउटा गीतको याद आउँछ " सन्सारी माया बिचित्र मरेर के पो लान्छ र......"
दया करुणाका विचारहरु प्रवाह हुँदै गर्दा मेरो चिया पनि सकिन्छ । दूध चिया सकिन्छ !! शाकाहारी हुनुको अहम भत्किन्छ । राती खानाको लागि डेरामा जाँदा डेरीबाट दुई सय ग्राम पनिर किन्ने योजनामा मनभित्र प्रश्नहरु खडा हुन्छन् । कोठामा पुग्छु । डेरी बाटोमै छुट्छ । तर जिब्रोको स्वाद र इच्छाले हल्का पछुतो मानिरहन्छ । मेरो शाकाहारी अहम् त भत्कियो । आर्थिक हिसाबले त देशको मांशाहारको अहम् चाहिँ बढेर जानू राम्रो हुनेछ । देश भावनाले मात्रै चल्दैन । भौतिक तथा आर्थिक प्रगतिले मात्रै देश समुन्नत हुनेछ। साथमा थोरै अध्यात्म मिसिन सकेमा सुनमा सुगन्ध नै हुने हो ।
यसपटक बजेटले दुग्ध किसानहरुलाई करुणा जगाएर पनि व्यवसाय गर्न सकिन्छ भन्ने सत्प्रेरणा मिलोस् भन्ने कामना गर्दै चिज ब्रान्डिङ मात्रैमा सिमित नहोस् भन्ने आशा गर्छु ।
उहि
मासु नखाने शाकाहारी ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)