Logo मंगलवार, श्रावण १२ गते २०८३
images

आस्थाको महासागर : सनातन गर्व,महाकुम्भ पर्व

आस्थाको महासागर : सनातन गर्व,महाकुम्भ पर्व

  • 1.8K
    SHARES

  • आस्थाको महासागर : सनातन गर्व,महाकुम्भ पर्व

    मानव इतिहासको सबैभन्दा ठूलो पर्व हरेक १२–१२ बर्षमा आउने कुम्भ मेला अन्तर्गत यसबर्ष महाकुम्भको चक्र चलिरहेको छ । १ सय ४४ बर्षपछि भारत यतिखेर महाकुम्भमय बनेको हो । भारतको उत्तरप्रदेशमा दैनिक करिब १ करोड श्रद्धालु महाकुम्भ स्नानका लागि प्रयागराज क्षेत्रमा पुगिरहेका छन् ।

    आस्थाको महासागरका रुपमा लिइने महाकुम्भ मेला संसारकै सबैभन्दा ठूलो धार्मिक, सांस्कृतिक  आध्यात्मिक भेलाका रुपमा परिचित छ । भारतका चार प्रमुख धार्मिक स्थल हरिद्वार, प्रयागराज, उज्जैन, र नासिकमा प्रत्येक १२ वर्षमा कुम्भ चल्ने गरेको छ । आज पनि, गङ्गा, यमुना, र सरस्वती नदीको संगममा स्नान गर्दा जीवनका पापहरूबाट मुक्ति मिल्ने परम्परा छ ।

    महाकुम्भ मेला केवल एउटा धार्मिक उत्सव मात्र नभएर हिन्दु धर्मावलम्बीका लागि एक महत्वपूर्ण अवसर पनि हो । विश्वको ध्यान खिचिरहेको यसबर्षको महाकुम्भमा स्नानका लागि जनसागर नै उर्लिएको छ ।

    २९ पुस (जनवरी १३) मा सुरु भएको महाकुम्भ मेला करोडौं मानिसलाई एकसाथ जोड्ने माध्यम बनेको देखिन्छ ।कपिल ज्ञवाली

    बृहस्पति मेष राशिमा र सूर्य तथा चन्द्रमा मकर राशिमा भएको समयमा महाकुम्भ आयोजना हुने हुँदा यसबर्षको महाकुम्भ विशेष मानिएको छ । यहाँ विश्वभरका मानिसहरुको जमघट छ ।

    १४४ बर्षपछि जुरेको महासंयोगलाइ सबैले मिलेसम्म सदुपयोग गर्न चाहेका छन् । समुद्र मन्थनको पौराणिक कथासंग जोडिएको महाकुम्भलाई धार्मिक एकतासंग समेत जोडिने गरेको छ । संयुक्त राष्ट्रसङ्घले समेत महाकुम्भलाई मानवजातिको ‘अमूर्त सम्पदा’को मान्यता दिएको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भलाई एकताको महायज्ञका रूपमा ब्याख्या गरेका छन् । अन्तरिक्षबाट पनि महाकुम्भको मानव सागर देख्न सकिने भनिएको छ ।

    सनातन गर्व,महाकुम्भ पर्वलाई संसारले नजिकबाट नियालीरहेको छ । खासगरि हिन्दुधर्मका अनुयायीहरुले खुसी र एकताका साथ पर्व मनाइरहेका छन् । महाकुम्भ मेलाको सुरुवात वैदिक कालदेखि नै भएको मानिन्छ ।

    महाभारतमा भगवान र राक्षसका बिच भएको समुन्द्र मन्थनको पौराणिक कथा जोडिएको छ ।

    समुद्र मन्थनको समयमा देवता र दानवहरू अमृत पाउनका लागि लडिरहेका थिए, सोही क्रममा भगवान् इन्द्रका छोरा जयन्त अमृत भाँडा लिएर भागिदिए, त्यसपछि ती दानवहरू पनि कलश लिन जयन्तको पछि लागे ।

    यस समयमा राक्षस र देवताहरूबिच भयानक युद्ध भयो । जब जयन्त अमृत कलश लिएर भागे, अमृत कलशका केही थोपा भने चार ठाउँमा खसे, जहाँ अहिले महाकुम्भ आयोजना गरिएको छ । यहि द्वन्द्वका क्रममा हरिद्वार, प्रयागराज, उज्जैन र नासिकमा अमृत खसेको र यी अमृत खसेका ठाउँमा नै पालै पालो महाकुम्भ मेला गर्दछ । अमृतले सिञ्चित भएका यी क्षेत्रका गङ्गा, यमुना, सरस्वती नदीमा महाकुम्भको समयमा स्नान गर्दा पाप नाश हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

    prayagraj maha kumbha  (5) (1).jpg

    नेपालबाट विभिन्न हवाई माध्यम तथा सडक मार्गबाट दिनहुँजसो धार्मिक पर्यटक प्रयागराज गइरहेका छन् । नेपालगञ्जको रुपैडिया, भैरहवाको सुनौली नाका, पूर्वका जनकपुर, विराटनगर ,बिरगंज,काँकडभिट्टा लगायतका नाकाबाट तीर्थयात्री भारत पुगेका छन् । त्रिबेणीको संगममा स्नान गर्दा जीवनका पापहरूबाट मुक्ति पाइने र मोक्षको द्वार खुल्ने विश्वासले यसपटक पनि करिब ६५ करोड मानिस यहाँ पुगिसकेका छन् । यसमध्ये ५० लाख त नेपाली नै पुगिसकेका छन् । सङ्गमतिर जाने घरका अग्रभाग रङ्गाइएको छ र भित्तामा पौराणिक कथा तथा पात्र प्रतिविम्बित हुने गरी रङ्गीन चित्र बनाइएको छ ।

    महाकुम्भ मेलाको सांस्कृतिक पक्ष पनि बलियो :

    महाकुम्भ मेलाको सांस्कृतिक पक्ष पनि बलियो छ  । लाखौं साधु–सन्तहरू, तपस्वीहरू, धार्मिक गुरुहरू र तीर्थयात्रीहरू महाकुम्भमा आइरहेका छन् भने प्रवचन, धार्मिक समारोह र आध्यात्मिक गतिविधिहरू,भण्डारा ,बास बस्ने स्थान,भजनकृतन निरन्तर भैरहेका छन् । भारतमा प्रसिद्ध धार्मिक सन्त तथा गुरुहरुका छुट्टाछुट्टै पण्डाल र धार्मिक सभाहरुले श्रद्धालुहरुलाइ मन थीर गराउन भूमिका खेलेका छन् । महाकुम्भमा विश्वभरबाट ४० करोडभन्दा बढी श्रद्धालुहरूको सहभागिता हुने अपेक्षा गरिएपनि पहिलो दिनमै डेढ करोडभन्दा बढी भक्तजनहरू महाकुम्भमा पुगेका थिए । अहिले दैनिक करोडौं तीर्थालु सहभागी भएका छन् । यसका लागि भारत सरकारले पाँचबर्ष यता ब्यापक तयारी गरिरहेको थियो । महाकुम्भ आयोजना भइरहेको ४ हजार हेक्टर क्षेत्रफल झकिझकाउ पारिएको छ ।


    डिजिटलाइज्ड महाकुम्भ,गुगलबाटै सजिलै नक्सा र रुट   :


    भारतले महाकुम्भलाइ प्रविधिको गज्जबको संयोजन गरेको देखिन्छ ।महाकुम्भलाई डिजिटल बनाएको छ । ठाउँठाउँमा डिजिटल बोर्ड,माइकिङ,अडियो ,भिडियो डकुमेन्ट्री देखाइएको छ । परम्परा र प्रविधिको संयोजन मार्फत् अध्यात्मको ब्यापक प्रचार प्रसार गरिएको छ । महाकुम्भ मेलामा क्युआर कोडमा आधारित रेल टिकट, ड्रोनमार्फत निगरानी र एआई पार्किङजस्ता प्रविधिहरू छन् ।
    ३ हजारवटा सिसिटिभी जडान ,२ हजारवटा ड्रोन प्रयोग गरेर पौराणिक ‘समुद्र मन्थन’ र ‘प्रयाग महात्म्य’का कथा आकाशमा देखिन्छ । मुख्य स्थानहरूमा ३६० डिग्री भर्चुअल रियालिटी स्टलहरू जडान छन् ।तीर्थालुहरूले गङ्गा आरती, अखाडाजस्ता अद्भुत दृश्यावलोकन गर्न पाउँछन् ।

    करोडौं तीर्थालुको सुरक्षाका लागि अनुहार पहिचान गर्नसक्ने कृत्रिम बौद्धिकता जडित क्यामेराहरू जडान गरिएको छ भने चौबिसै घण्टा चल्ने एआई प्रविधि जडित १८ सय क्यामेराले कुन क्षेत्रमा भिड बढी छ र कुन क्षेत्रमा भिड कम छ भन्ने पत्ता लगाएर सोही अनुसार श्रद्धालुलाइ पठाइन्छ  ।महाकुम्भ मेलामा ‘लस्ट एन्ड फाउन्ड सेन्टर’ पनि डिजिटल छ ।नुहाउने क्रममा कुनै भक्त पानीमा डुबेमा ड्रोनसहितको लाइफ सेभर डुङ्गामार्फत उद्धार गरिने प्रविधि राखिएको छ । सो क्षेत्रमा निःशुल्क वाइफाइलगायत उच्च प्रविधिको सुविधा छ । 

    करोडौं तीर्थालुु पुगेर स्नान गर्ने भएकाले कुम्भ आसपासमा सरसफाइ व्यवस्थित छ । फोहोर हुन नदिन करिब २२ हजार सरसफाइ कर्मचारी खटाइएको छ । नदीमा स्नानका बेला चढाइएका फूल, फोटो, नरिबलजस्ता वस्तु तुरुन्त सफा गर्नका लागि छुट्टै गाडीहरूको व्यवस्था छ । कुम्भ मैदानमा हजारौं जैविक शौचालय १ लाख ५० हजार र स्वचालित फोहोर व्यवस्थापनका १० हजार एकाइहरू रहेका छन् । पवित्र स्थल भएकाले अहिले सो स्स्थानमा बच्चा जन्माउन जानेको समेत भिड लागेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।

    २९ पुस (जनवरी १३) मा सुरु भएको महाकुम्भ ४५ दिनसम्म फेब्रुअरी २६ सम्म चल्ने छ । सन् २०१९ मा भएको कुम्भ मेलामा २५ करोड मानिस सहभागी भएका थिए । यो मेलालाई एकता र समानताको मञ्चका रूपमा लिइने र विविध संस्कृति र परम्पराका मानिस यसमा सहभागी हुने भारत सरकारले जनाएको छ । जनवरी २९ मा माघे औँसी पर्ने भएकाले सो दिन पाँचदेखि छ करोड मानिसले स्नान गर्ने अनुमान गरिएको छ ।  

    ४० हजार सुरक्षाकर्मी, १५ हजारभन्दा बढी सरसफाइ कर्मचारी :

    महाकुम्भका लागि ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । मेलामा आउने तीर्थालुको सुरक्षार्थ भनेर भारतको कमाण्डो टोली एनएसजीका पाँच विशेष टोलीहरू तैनाथ गरिएका छन्। हवाई निगरानी र आपतकालीन अवस्थामा उद्धारका लागि भनेर भारतीय वायुसेना पनि महाकुम्भमा तैनाथ गरिएको छ।  १५ हजारभन्दा बढी सरसफाइ कर्मचारी खटाइएको छ । तीर्थालुलाई साइबर अपराधबाट जोगाउन ‘हेल्पलाइन’ नम्बर जारी गरिएको छ।

    नक्कली वेबसाइट, सामाजिक सञ्जाल ठगी र नक्कली लिङ्कजस्ता गतिविधिमा निगरानी राख्न ५६ साइबर विशेषज्ञ सहितको साइबर सेल महाकुम्भमा चौबिसै घण्टा तैनाथ हुन्छ । साइबर सुरक्षाको चेतना फैलाउनकै लागि महाकुम्भ क्षेत्रमा ४० वटा डिजिटल डिस्प्लेहरू राखिएका छन् ।IMG_2240.jpeg

    ‘तीर्थको राजा प्रयागराज’ :

    तत्रैव गंगा यमुना च तत्र
    गोदावरी सिन्धु सरस्वती च।
    सर्वाणि तीर्थानि वसन्ती तत्र
    यत्राच्युतोदार कथाप्रसंगः

    ‘तीर्थको राजा भनेकै तीन नदीको संगमस्थल यानेकी प्रयागराज’ भनिएको छ । जनवरी १३ मा सुरु भएको महाकुम्भ मेला फेब्रुअरी २६ सम्म चल्ने छ । सुनौली टू प्रयागराज २६० किलोमिटर दैनिक यात्रु बोकेर जाने स्कारर्पियोका चालक अकबर शर्माले प्रयागराजको महत्व यसपाली बुझेको बताउनुहुन्छ । उहाँले आफुले यसपाली ५० भन्दा बढि पटक यात्रु बोकेर प्रयागराज पुगेको जानकारी दिनुभयो ।

    कहिलेकाही करिब ३५देखि ४०  किलोमिटर हिडेर पनि यात्रुहरु जान तयार भएको देखेर चकित परेको अनुभव सुनाउनुभयो । युपि५६एक्यु ३४७८ नम्बरको बोलेरोका चालक अबकर भन्नुहुन्छ –, ‘सरकारले यत्रो व्यवस्थापन कसरी गरिरहेको छ भनेर म चकित छु।’ उहाले आफुहरुले एक रातमा प्रयागराज यात्रु बोकेर फर्किने र फेरि पालै पालो यात्रुलाइ सेवा दिइरहेको बताउनुभयो । उता महाकुम्भ मेला २०२५ का सूचना अधिकारी गगन यादवले महाकुम्भ मेला ऐतिहासिक रूपमा सफल भइरहेको बताउनुहुन्छ । 


    छिमेकबाट नेपालले सिकोस्  ः रुरुक्षेत्र र देवघाटलाई नेपालको प्रयागराज किन नबनाउने ?khilaraj regmi samman.jpg

    सबैजसो धार्मिक ग्रन्थहरुमा नेपाल र भारतको उस्तै–उस्तै महिमा पाइन्छ । नेपाल र भारतका हिन्दु तीर्थस्थलहरू एकआपसमा जोडिएका पनि छन् । भारतले ४५ दिने मेलालाई अरबौँ लगानी गरेर संसार चिनाउन सफल भैसक्यो । कुम्भमेला हिन्दु धर्मावलम्बीको एक महान् स्नान पर्व हो । यो मेला पृथ्वीमा जम्मा १२ स्थानमा लगाउन सकिने कुरा शास्त्रहरूले उल्लेख गरेका भए पनि हालसम्म जम्मा पाँचवटा स्थान मात्र पत्ता लागिसकेका छन् ।

    ती पाँच स्थानमध्ये भारतका चार ठाउँमा प्रत्येक तीन–तीन वर्षको अन्तरालमा लाग्दछ भने एक कुम्भस्थल नेपालमा पर्दछ । कुम्भमेला हुने स्थलहरूमा इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासिक (महाराष्ट्र), हरिद्वार (उत्तराखण्ड) र चतराधाम (बराहक्षेत्र, सुनसरी नेपाल) रहेका छन् ।
    संघीय,लुम्बिनी सरकार,स्थानीय सरकारहरु मिलेर कालीगण्डकी नदीको किनारलाइ यसै प्रयोजनका लागि ब्यबस्थापन गर्न सक्ने हो भने लाखौँ श्रद्धालुहरु रुरुक्षेत्र पुग्न सक्छन् ।prayagraj maha kumbha  (2) (1).jpg

    तर, ०५९ वैशाख १ गतेदेखि नेपालको सुनसरी जिल्लास्थित चतराधाममा समेत लाग्न थालेको छ ।महाकुम्भको इतिहास पुरानो छ । केही ग्रन्थहरूका अनुसार सत्ययुगमा पहिलो महाकुम्भमेला आयोजना भएको मानिन्छ ।

    जसको सुरुवात शंकराचार्यले गरेका थिए । जानकारहरूका अनुसार कुम्भको परम्परा हजारौँ वर्ष पुरानो हो । हामी भने पौराणीक र प्रमाणित तीर्थको प्रचार प्रसारमा ध्यान दिन सकेका छैनौँ । नजिकको तीर्थ हेला भन्ने भनाइलाइ नेपालले लागु गर्न खोजेको हो ?

    नेपालका पशुपतिनाथ, मुक्तिनाथ, रुरुक्षेत्र,त्रिबेणी,देवघाट लगायतका कतिपय तीर्थस्थल नपुगी हिन्दुहरूको धार्मिक यात्रा पूर्ण नहुने भएकाले नेपालले पनि यसको लाभ लिन सक्नु पर्दछ । भारतबाट सिधै नेपालको मुक्तिनाथ सम्म लैजाने धार्मिक रुट बनाएर दुइदेशबिच आवश्यक समझदारी हुन सके नेपाललाइ समेत धार्मिक पर्यटनले अगाडी पुर्याउन मदत मिल्दछ ।

    भारतमा प्रयागराज रहेको उत्तरप्रदेशसँगै सिंगो भारतले यसबाट लाभ प्राप्त गर्दा नेपालको धार्मिक पर्यटनमा पनि त्यसको प्रभाव पक्कै पर्दछ ।यसप्रकारका मेलाहरु सरकारको लगानी र आयोजनामा हुन सक्ने हो भने नेपालमा पनि लाखौँ धार्मिक तिर्थ यात्रीहरु तीर्थाटन गर्न आउने सहज बाटो खुल्ने थियो ।

    कुम्भमेलाले भारतीय अर्थतन्त्रमा २० खर्ब रुपैयाँ बराबर योगदान हुने :prayagraj maha kumbha  (1) (1).jpg

    भारत सरकारले कुम्भमेलाका लागि ७० अर्ब भारतीय रुपैयाँ खर्च गर्ने घोषणा गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो मेलाबाट उत्तर प्रदेश राज्य सरकारले २५० अर्ब भारतीय रुपैयाँजति राजस्व सङ्कलन गर्ने छ । महाकुम्भ मेलाले भारतीय अर्थतन्त्रमा २० खर्ब रुपैयाँ बराबर योगदान गर्ने अपेक्षा गरिएको छ ।

    महाकुम्भकै कारण उत्तर प्रदेशको आर्थिक वृद्धि थप १ प्रतिशतले बढ्ने प्रक्षेपण छ । यो मेलाका कारण १ खर्ब ७३ अर्ब १० करोड रुपैयाँको दैनिक आवश्यकताको सामान बिक्री हुने तथा होटल एवं ट्राभल क्षेत्रकै व्यापार २८ अर्बको हुने अपेक्षा छ ।

    modi.jpg

    भारतको महाकुम्भ मेलाको बजेट लगभग १२ हजार ६ सय ७० करोड रुपैयाँ हो । मेलामा ५० करोडले अवलोकन गर्दा प्रतिव्यक्ति पाँच हजार रुपैयाँमात्रै खर्च गरे पनि २५ खर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएपनि त्यो भन्दै धेरै कारोबार भैसकेको छ । श्रद्धालुले करिब २ लाख करोड रुपैयाँ खर्च गर्ने आयोजकको दाबी छ ।

    यदि, दाबीअनुसार खर्च भएको अवस्थामा भारतको राष्ट्रिय अर्थतन्त्रमै ठूलो प्रभाव पार्ने देखिन्छ । कुम्भ मेलाबाट आर्थिक लाभ लिनका लागि भारत सरकारले मेलाको ब्रान्डिङमा ३ हजार ६ सय करोड रुपैयाँ खर्च गरेको छ । त्यसका अलवा पूर्वाधार निर्माणमा पनि व्यापक खर्च गरेको हो ।modi je.jpg


    नेपालका नेतादेखि कलाकार पत्रकारको लर्काे :gagan.jpg

    फागुन १४ अर्थात् शिवरात्रिसम्म चल्ने मेला यो महाकुम्भमा नेपालका नेताहरु महाकुम्भमा स्नान गर्न पुगेका थिए ।  उनीहरुले पनि पक्कै भारतको तरक्की देखेर केही न केही त मनमा कुरा उब्जाएकै होलान् । नेपालबाट चर्चित सेलिब्रेटीदेखि राजनीतिक व्यक्तित्वहरू पनि स्नानका लागि पुगे ।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसीलगायत सपरिवार कुम्भ स्नानका लागि पुगेका थिए। क्रिकेटका राष्ट्रिय खेलाडी सोमपाल कामी र करण केसी, कलाकार पूजा शर्मा लगायत पनि पुगेर डुबुल्की मारेको तस्बीर सामाजिक सञ्जालमा देख्न पाइन्छ । साथीभाइ, परिवारजन र समूहहरु बनाएर नेपालीहरू प्रयागराजमा स्नानका लागि भइरहेका छन् । युवापुस्तादेखि पुरानो पुस्ता सबै त्यहि भेटिन्छन् ।

    prayagraj maha kumbha  (4) - Copy.jpg
    २५ देशबाट भक्तजनहरूको ओइरो :भुटानका राजादेखि विश्वका चर्चित ब्याक्तिहरुको आगमन !


    महाकुम्भकै कारण २५ देशबाट भक्तजनहरूको ओइरो लागेको छ । महाकुम्भले भारतको सांस्कृतिक र धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा साहै चर्चामा पु¥याएको छ । विश्वको ध्यान खिचेको उक्त मेलामा विश्व चर्चित एपल कम्पनीका फाउन्डरकी पत्नी लरेन पावेलले पनि दीक्षा लिएको सार्बजनिक भएको छ । मेलाको सुरुवाती दिनमै आइपुगेकी उनले विश्वमा सनातन धर्ममात्र एउटा मुक्तिको बाटो भएकाले सोही बाटो आफूले पनि रोजेको बताउनुभएको समाचारहरु आएका थिए ।

    मेलामा भुटानी राजा पनि स्नान गर्न पुग्नुभयो भने महाकुम्भमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत धेरै केन्द्रीय मन्त्री, मुख्यमन्त्रीलगायत विशिष्ट व्यक्तिहरू स्नान गर्नुभयो । त्यसैगरी, अर्बपतिहरू, उद्योगी,बलिउड र खेलकुद सेलिब्रेटी,खेलाडीहरु पनि स्नान गर्न गर्नुभयो भने भारतका खर्बपति व्यापारी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र अनिल अम्बानी सपरिवार गएको स्नान गरेका फुटेजहरु समाचार बनेका थिए । 

    भरिभराउ सडक र पार्किङ,जाम छिचोल्दै यात्रुहरु गन्तब्यमा :

    महाकुम्भको प्रभावले सडकमा सवारीको चाप बढेको छ । प्रयागराजमा बनाइएको पार्किङ भरिभराउ हुँदा २० किलोमिटर टाढै सवारी राखेर स्नानका लागि हिडेर संगम जानु परेको गुल्मी रुरुक्षेत्र १ की सीता ज्ञवालीको भनाइ छ ।  ‘प्रयागराज तीर्थको पनि राजधानी हो,यो जुनीमा यहाँ स्नान गर्ने सौभाग्य मिल्यो,यो नै सबैभन्दा ठूलो सन्तोष र धर्म हो । ’ उहाँको भनाइ छ । मेलाको भीडको प्रभाव भारतमा त हुने नै भयो  । यता नेपालका सबैजसो सीमा क्षेत्रमा समेत होटल लगायतका पर्यटकीय ठाउँहरू अहिले खचाखच भएका छन् ।

    भारतका सबै सडक भिडभाड र जामले श्रद्धालु तनावमा पर्नुपरेको छ । रुपन्देहीको बुटवल देवीनगरबाट प्रयागराज पुग्नुभएकी बसन्ता घिमिरेले सडकमा पाएको दुख बिर्सेर स्नान गरेको आनन्द अनुभूती जीवनको सबैभन्दा स्मरणीय क्षण रहेको बताउनुभयो । दिनमै एक करोडभन्दा बढी व्यक्तिले स्नान गरेको भारतको उत्तर प्रदेश पर्यटन विभागले जनाएको छ । रुपन्देहीबाट प्रयागराज पुग्दा एकजनाको औषतमा ५ हजार खर्च हुने गर्दछ । 

    prayagraj maha kumbha  (3) (1).jpg
    महाकुम्भका खास बिशेषताहरु जानौँ :


    ४,००० हेक्टर क्षेत्रफल,१.६ लाखवटा पाल,४०,००० प्रहरी र सुरक्षाकर्मी,१५,००० सफाइ कर्मचारी,५ लाखजति सवारीसाधन अट्ने ९९ वटा पार्किङ क्षेत्र,३० वटा पन्टून पुल (धातुबाट निर्मित नाउहरूमाथि बनाइएको विशेष पुल),६७,००० वटा स्ट्रीट लाइट,१.५ लाख शौचालय र २५,००० फोहोरदानी,२०० वटा पानी एटीएम र ८५ वटा ट्यूबवेल


    भागदौडमा ३० जनाको मृत्यु,सडक दुर्घटनामा सात जना नेपालीको मृत्यु :


    मेलाको यस अवधी बीचमा ४ वटा दुखद दुई घटना पनि घटे ।  पहिलो घटना अमृत स्नानका बेला भएको भागदौडमा ३० जनाको मृत्यु भयो भने रुपन्देहीबाट प्रयागराज पुगेर स्नान सकेर घर फर्कीदा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भयो त्यस्तै फागुन १० गते प्रयागराजबाटै स्नार सकेर घर फर्किदै गरेको सवारी दुर्घटनामा परि ४ जनाले ज्यान गुमाए । त्यस्तै मेला स्थलमै एउटा टेन्टमा आगलागी पनि भयो ।

    कुम्भमेलामा स्नान गर्ने मुख्य दिन कुनकुन हुन ?

    कुम्भ मेलामा मकर संक्रान्तिमा पहिलो शाही स्नानसहित पौष पूर्णिमा र अन्य विशेष दिन भनेको मकर संक्रान्ति, मौनी अमावस्या, वसन्त पञ्चमी, माघी पूर्णिमा र महाशिवरात्रि हुन् । ग्रह र नक्षत्रको आधारमा ज्योतिषीहरूले स्नान गर्ने दिन तोकेका हुन् ।
    यसबर्षका स्नान गर्न सबैभन्दा उत्तमा दिन यी हुन् :
    १३ जनवरी : पौष शुक्ल पूर्णिमा
    १४ जनवरी: मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति)
    २९ जनवरी:मौनी अमावस्या (माघ कृष्ण औँसी)
    ३ फेब्रुअरी: वसन्तपञ्चमी (श्रीपञ्चमी)
    १२ फेब्रुअरी: माघ शुक्ल पूर्णिमा (माघस्नान समाप्त हुने दिन)
    २६ फेब्रुअरी:महाशिवरात्रि

    (तीर्थको राजधानी प्रयागराज महाकुम्भ स्नानगरि फर्केपछि )

    IMG_2240.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology