Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘मैले तिर्न नसकेको ५ सय रुपैयाँ !’

‘मैले तिर्न नसकेको ५ सय रुपैयाँ !’

  • 2.2K
    SHARES

  • ‘मैले तिर्न नसकेको ५ सय रुपैयाँ !’

    -डा.शम्भु खनाल

    सधैं स्वस्थ पनि रहन नसकिने रहेछ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरा आफैं वा आफ्नो नजिकको बिरामी नहुँदा सम्म पत्तो पाइन्न । एक पटक अस्पताल पुग्नपर्छ । धेरै कुराको दर्शन पाइन्छ । सम्पूर्ण जीवन दर्शनको दर्शन हुन्छ ।

    लगभग सबै जाँच हुने विश्वासले बिरामी हुँदा नजिकैको  मेडिकल कलेजमा जान रुचाइन्छ । केही महिना अगाडिको  कुरा हो,  मेडिकल कलेजमा आफन्ती  बिरामीको चेकजाँचको लागि ब्ल्ड टेस्ट आदिको दौड्धुपमा थिएँ ।  

    घाम डुब्न लागेको समय थियो ।  म लाइनमा व्याकुल हुँदै उभिइरहेको थिएँ । त्यहीँ लाइनमा मेरो अगाडि एक जना अन्दाजी १५ वर्षीय केटी पनि लाइनमा थिइन् । अलि पुरानो लुगा , खुट्टामा हिलो र फाट्नै लागेको चप्पल लगाएकी थिइन् । उनी टाउको एकातिर बङाउदै कान च्यापिरहेकी थिइन्।

    सजिलै अनुमान लगाउन सकिन्थ्यो कि उनको कान बेस्सरी दुखेको हुनुपर्छ । उनको साथमा  एक जना अन्दाजी ३०-३२ वर्षकी महिला पनि थिइन् । वातावरण पुर्ण नियाल्न नपाउँदै बिल काउन्टरबाट पैसाको माग आउँछ । 

    एमर्जेन्सी टिकेटको मूल्य सुनेर होला । त्यो नानी    केही झस्किन्छिन् , केही हच्किन्छिन् । उनको हातबाट खुम्चिएको रु ५०० को नोटले नभ्याउने जस्तो लागेपछि उनी लाइन छोडेर निस्किन्छिन् । उनीसँग साथमा रहेकी महिलाले भन्छिन् " लौ न । कति अचाक्ली महङो रहेछ । "  

    म आफ्नो ब्लड टेस्ट आदिको पैसा तिर्छु । मलाई पनि त्यो पहिलेपहिलेको शुल्क भन्दा धेरै महङो लाग्छ । बाध्यता थियो । बिरामीको उपचार गर्नै पर्यो । पछि विचार गर्दा मलाई लाग्छ,  अस्पतालले त्यो अत्याचारी शुल्क लिनु नहुने हो । किनभने सरकारी अस्पतालको र मेडिकल कलेजको भुइँ मान्छेहरुप्रति अझै बढी  जिम्मेवारी हुन्छ । तिनै बिरामीहरुका रोगहरु  अध्ययन गरेर धेरै स्वास्थ्यकर्मी र चिकित्सक उत्पादन हुन्छन् । ती सम्पुर्ण बिरामीहरुप्रति उत्तरदायी हुनैपर्छ । कसैले प्रारम्भिक प्रवेश शुल्क नै तिर्न नसकेर स्वास्थ्य सेवाबाट बन्चित हुनु दुर्भाग्य हो । यदि सरकार जनताप्रति उत्तरदायी छ भने  त्यस्तो  देखिएका अराजक शुल्कप्रति सरकारको ध्यान जानु अपरिहार्य हो । 


    अहिले चिकित्सा शिक्षाको निश्चित शुल्क निर्धारण गरेपस्चात मेडिकल कलेजहरुमा पैसाको बलमा मात्रै डाक्टर पढाइ हुनमा रोक लागेको छ । जसको  बढी पैसाको लगानी , उसले डाक्टर पढ्न पाउने कुसंस्कार त हटिसकेको छ ।  त्यसको सोधभर्ना कतै आम जनताबाट बेडचार्ज देखि ल्याब चार्जको शुल्कबाट गर्न खोजिएको त हैन ?  र यो कोभिडको समयमा ती मुल्यमा कुनै अंकुश लगाउन नसकेको अनुभव सबैलाई भएकै हो  ।

    किनभने कोभिडको महामारी  थेग्न नसकेर  सरकार आफै निरीह हुन पुगेको थियो । सो महामारीमा निजी अस्पतालले राम्रो सेवा दिएका हुन् । तर शुल्कलाई मनपरी गरिएको आभास हुनाले यस विषयलाई सायद सरोकारवालाले मेडिकल कलेज निरीक्षण गर्ने बेला  "धन भनेपछि महादेवका त्रिनेत्र" भन्ने आरोपलाई असत्य सावित गर्नेछ भन्नेमा विस्वास छ । 

    त्यो नानीको घटना सानो घटना हो । सबैले भोगेको घटना हुनुपर्छ । तर त्यसले सम्पुर्ण राष्ट्रको स्वास्थ्य सेवाको प्रवाहको कमजोरी उदाङ्ग पार्छ । त्यसैले होला, देशको हरेक भुगोलमा उपयुक्त हुने गरी एउटा मेडिकल कलेज सरकारी नै हुनुपर्छ भनेर भन्ने गरेको कुराले मलाई बिज्यो ।  

    नाफामुलक संस्थाहरुले भुइँमान्छेलाई सेवा प्रवाह गर्न असमर्थ रहन्छन् । सबैभन्दा महङो अस्पताल भनेर सोच्दा धेरैको दिमागमा ग्र्यान्डी वा मेडि सिटिको नाम अग्रपंक्तिमा आउँछ होला। त्यो सेवा महङो नलाग्ने व्यक्तिहरु पनि छन् । उनीहरुको लागि त्यो सेवा राम्रो र ठीक छ । उपयुक्त पनि छ । त्यसमा कसैको आपत्ति  छैन । तर घरखेत नै बेच्नुपर्ने गरी आर्थिक भार पर्ने त्यो स्वास्थ्य सेवा आम मनुष्यलाई कल्पना मात्रै हुन्छ । त्यसैले त सरकारी अस्पताल सुदृढ हुनुपर्छ । सक्षम हुनुपर्छ । बिरामीको उपचार राम्रो र गुणस्तरिय हुनुपर्छ । बिरामी कुर्ने सोफा चिल्ला नभए पनि फरक नपर्ला । सामान्य कुर्सि र टुल पर्याप्त होला । करिडरमा ए सिको व्यवस्था गर्न नसकेपनि उपचार उल्टो त पर्दैन ।  अस्पतालको  जनशक्तिबाट पार्याप्त सेवा प्रवाह हुन कार्यसम्पादन अनुसारको प्रोत्साहन गर्नु उत्तम हुन्छ । तर सबैको ध्यान केवल भवन , संरचना र सेवा थपमा मात्रै हुन्छ । 


     कहिले हो ,एक पटक सुन्नमा आएको थियो ," मेडिकल कलेजहरुले  १० प्रतिशत बेडहरु गरीब बिरामीका लागी निशुल्क गर्नुपर्छ । " के त्यो सत्पात्र विरामीका लागि कार्यान्वयन भइरहेको छ त ? वा त्यो खुसीको खबर क्षणिक देखाउनकै लागि मात्रै हल्ला थियो त ! अहिलेसम्म कम्तीमा १० प्रतिशत एम बि बि एस् सिट छात्रवृत्ति दिन बाध्य भएका मेडिकल कलेजलाई १० प्रतिशत बेड निशुल्क बेड गराउन मिल्ने भए !! 

    हरेक वडामा अस्पतालको कल्पना गर्नुभन्दा भूगोलको हिसाबले भएका अस्पताललाई व्यवहारिक स्तरोन्नति गर्ने र नभएको स्थानमा नयाँ एउटै अस्पताल बनाउनु निकै फलदायी हुनेछ । स्थानीय स्थानियबीचको जुँघा लडाइले केवल व्यय मात्रै हुन्छ । भुगोल र जनसंख्याका आधारमा स्वास्थ्य संस्था निर्माण तथा स्तरोन्नति हुनुपर्छ। न कि कसैको राजनैतिक एजेन्डा परिपूर्तिका लागि......।    

    यी सब कुराहरु मनमा ओइरिँदै थिए । बाहिर अस्पताल प्राङ्गणको वायव्य कुनामा ती नानी पिडाले गर्दा कानलाई  छोपेर बसेकी रहेछिन्। त्यो दृश्यले गर्दा म नसोधी बस्न सकिन । उनको कान धेरै दिनदेखि दुखेको रहेछ । सहनै नसक्ने भएपछि अस्पताल आउने आँट गरेकी रहेछिन्। आमा छोरी दुवैले ज्याला मजदुरी गर्नुपर्ने वाध्यताले उनले सानोमा पढ्न पनि छोडेकी रहेछिन्। सुन्दा अचम्म लागेपनि अस्पताल आउन पनि ठूलो आँट चाहिन्छ कतै कतै । हैन त ?  

    आफै बिरामी लिएर उपचार गराउन गएको मभित्रको डाक्टरी नचाहेपनि जाग्न थाल्यो । उनीसँग आएको साथीलाई  केही सुपथ मुल्यका  औषधि कागजमा लेखेर किन्न पठाएँ। दुखाइ कम गर्ने औषधि तुरुन्तै खान दिएँ । 
    मैले पनि त्यो ५०० रुपैयाँ तिर्न सकिन । त्यति पर्याप्त सुविधापनि कहाँ छ र चिकित्सकलाई !!   उनको प्रवेश  शुल्क तिरिदिएर कथा त्यहीँ समाप्त हुँदैन। प्रवेशपछिको खर्चपनी त विचार गर्नुपर्यो । त्यो सामार्थ्य मभित्र आएन । मुठ्ठी बन्द गर्न बाध्य भएँ । 

    दुखाइ केही कम भएपछि मैले उनलाई सोधेँ "स्वास्थ्य बिमा भनेको थाहा छ । "   मैले पनि त्यो ५०० रुपैयाँ तिर्न सकिन ।  उनको पैसा तिरिदिएर कथा त्यहीँ समाप्त हुँदैन। प्रवेशपछिको खर्चपनी त विचार गर्नुपर्यो । 

    उनलाई त्यसको बारेमा केही ज्ञान रहेनछ । स्वास्थ्य विमा गरेको भए अस्पताल प्रवेश गर्न नपाइ बाहिर बस्नुपर्थेन । उपचार पनि सहज हुने थियो । स्वास्थ्यको पहुँच पक्कै पनि बढाउने गर्छ बिमाले । कुरो हो कसको पहुँच ! भनिन्छ नि केही कुरा उपयोग गर्न पनि अक्कल हुनुपर्छ । टाठाबाठाले बिमाको जवरजस्ती उपयोग गर्न " व्होल बडि चेक अप" आदि गर्न लगाएर वा बिरामी भएको  नक्कल गरेर अक्कल लगाउँछन्।

    एक किसिमले भन्नुपर्दा बिमा गर्दा केही पैसा तिरेकोले जवरजस्ती  दुई गुणा उठाउनैपर्छ भन्ने मानसिकता छ । कतै भने ती नानीजस्तै बिमा भनेको नै थाह नहुने पनि छन् । विमाको सम्पूर्ण फाइदा र उपयोगिता उनीहरुलाई बुझाएँ र विमा गराउन राजी गराएँ ।  छिटोभन्दा छिटो सम्पूर्ण जनतामा व्यवहारिक र चिकित्सक निर्देशित स्वास्थ्य विमाको पहुँच सुनिश्चित होस् । हाल बिरामीको मनले निस्चित गर्छ उपचार । जस्तै कि मनमा सि टि स्क्यान गर्न मन जाग्यो सि टि स्क्यान लेखिदिन पर्ने दबाब सिर्जना गर्छन् । 

    ती नानीलाई केही समयमा औषधिले राम्रै काम गरेछ । त्यसैले उनीहरु घर फर्किन्छन् । उनीहरु फर्किँदै गर्दा एउटा सामान्य स्वास्थ्यको अधिकारबाट वन्चित गरेको दृश्य मेडिकल कलेजका भित्ता र बोर्डले देखेर निकै खिन्न हुन्छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology