-प्रकाश भट्टराई
बर्खामासको झरीपछी लागेको पारिलो घाम चारैतिर आँखा डुलाउदा डाँडापाखा हरियालीको मनोरम दृश्य थियो ।
पहिले देखीनै मनसुन पदयात्रामा जाने धोको पनि थियो । यसैबीचमा दिपकले फोन गरे प्रकाश आज बेलुकी ४ बजेतिर उनको अफिस क्याप्सुल एजुकेशन इन्स्टिच्युटमा भेट्ने कुरा भयो । म पनि आफ्नो अफिस सकाएर त्यहाँ पुगे ।
सामान्य भेटघाटको लागि जम्मा भएको हामी ख्यालख्यालैमा मनसुन ट्रेक जाने हैनत भनेर मैले सोधे, उनले जाने भए जाम भनिहाले ।
त्यसपछी जान त जाने तर कहाँ जाने एकछिन द्विविधामा परियो । त्यसैबिचमा हामिले केशवलाई फोन ग¥यौ, उनी चाहि साथि सर्कलमा यात्रा सम्बन्धि अलि बढी जानकार थिए । केहीछिनमा केशव पनि आईपुगे, त्यस लगत्तै हामीले प्रदिप र विष्णुलाई इमरर्जेन्सि मिटिङ्ग भनेर बोलायौँ ।
एकैछिनमा हामी ५ जना केशव, दिपक, प्रदिप, विष्णु र म (प्रकाश) जम्मा भयौ । एकछिन घनिभूत रुपमा छलफल भयो कहाँ जाने भनेर त्यस बीचमा केशवले अन्नपुर्ण बेस क्याम्प (ए.बि.सि.) को प्रस्ताव गरे ।
हामीसंग ५ दिनको समय थियो । सबै साथिहरुको ए.बि.सि. जाने कुरामा सहमति भयो । आवश्यक पर्ने सामानहरु आफुलाई चाहिने गरी जोहो गर्नुपर्ने थियो किनकी योजना तत्काल बनेको थियो ।
केहीछिनमै हामि हिड्ने योजना बनायौ, सोहि दिन हिड्न सक्ने बेलासम्म जहाँ पुगिन्छ त्यहि बस्ने कुरा भयो र साझँ ६ बजे देवीनगर सबैजना जम्मा हुने भनेर हामि छुट्टियौं ।आ–आफ्नो सामानको ब्यवस्था गरिसकेपछी मैले केशवलाई फोन गरेर भने मेरो पाल्पा घरमा सानो काम परेर छिटो जानपर्ने भयो तिमिहरु आउदै गर हामि पाल्पामै भेट्ने छौ भने ।
सबैले आफुलाई आवश्यक पर्ने सामानको बस्तोबन्द गरी सोहि दिन पाल्पा जिल्लाको लामिडाँडा रहेको त्यस क्षेत्रको चर्चित माडि भ्यू होटलमा बस्ने निर्णय गरियो ।
पहिलो दिन :
पाल्पाको मौसम बिहान ७ बजे चिसो थियो । हामी बसेको ठाउँबाट यात्रा विधिवत रुपमा सुरु ग¥यौ । हाम्रो बाईकको यात्रा पाल्पा, स्याङ्जा, र कास्किको पोखरा हुदै नयाँपुल सम्मको थियो । बिहानीपखको पारिलो घामसंगै सूरु भएको यात्रा पहाडी दृश्यहरु हेर्दै हामि राम्दीघाटमा पुगेर केहीछिन खाजा खानको लागि विश्राम ग¥यौ । खाजा तथा खानाको लागि उक्त ठाउँ प्रख्यात मानिन्छ । खाजा खाएको केहीबेरपछी पुनः यात्रा सुरु ग¥यौ ।
केही समय यात्रा केही समय विश्राम गर्दै मनोरम दृश्यावलोकन गर्दै अगाडी बढ्यौ । करिब ६ घण्टाको यात्रापछी पोखरा र नयापुलको बिचमा खाना खानको लागि रोकियौ । त्यस ठाउ खानाको लागि प्रख्यात रहेछ, हामि पुग्दा खानाको लागि मान्छेहरुको भिडभाड थियो । थाकेको शरिर मज्जाले खाना खाईयो । केहीबेर विश्राम गरिसकेपछी पुनः यात्रा सुरु भयो रकरिब आधा घण्टाको बाईक यात्रापछी नयापुल पुगीयो ।
एकैछिन सोधपुछ गरिसकेपछी नयापुलमा रहेको एउटा पेट्राेलपम्पमा हामि नफर्किदासम्मको लागि सशुल्क बाईक पार्किङ गरियो । त्यस लगत्तै हामिले एउटा जिप रिजर्व गरेर झिनु भन्ने ठाउ सम्म जाने निर्णय गरियो । खासगरी नयापुलबाट ए.बि.सि जानको लागि २ वटा रुट प्रयोग हुने रहेछ,एउटा झिनुबाट र अर्को घान्दु्रक हुदै टाडापानि तिरबाट ।
हामी चाहि झिनुको रुट जाने निर्णय गरेका थियौ । नयापुलबाट करिब १ घण्टाको यात्रापछी अचानक गाडी रोकियो । एकछिन कुरा बुझ्दै जादा बाटोमा पहिरो खसेर बाटो अबरुद्धभएको रहेछ । अब हामिसंग त्यहाबाट हिड्नुको विकल्प रहेन ।सोहि ठाउबाट हाम्रो पदयात्रा सुरु भयो । खासगरी आजको हाम्रो यात्रा झिनुसम्मको थियो तर युवा जोस् जागरले भरीपुर्ण हामि केहीछिनमै झिनु पुगीयो । केहीबेर सुस्तायपछी अघिल्लो गाउ छोमरोङ्ग सम्म पुग्ने निर्णय गरियो । झिनु देखी छोमरोङ्ग अलि उकालो बाटो थियो । करिब डेढ घण्टाको पैदलयात्रा पछी हामि छोमरोङ्ग पुग्यौं । बिहान ७ बजे देखी बेलुकी ७ बजे सम्मको बाईक, जिप र पैदलयात्रा गर्दा निकै थाकेकोे शरिर मिठो खाना खाई आराम ग¥यौ ।
दोस्रो दिन :
बिहान न्यानो घामको किरणसंगै सबैजना आ–आफ्नो नित्यकर्म सकेर खाजा खाईसकेपछी दोस्रो दिनको यात्रा सुरु ग¥यौं । छोमरोङ्ग देखी सुरु भएको हाम्रो यात्रा अघिल्लो दिन हामी त्यस ठाउमा पुग्दा खासै राम्रोसंग हेर्न पाएका थिएनौं । अत्यन्त सुन्दर हरियाली ठाउ थियो छोमरोङ्ग, समुन्द्री सतह देखी २१७० मि. अग्लो स्थानमा रहेको सो गाउ उत्तरतर्फ फर्केको थियो । केहीछिन त्यस ठाउको दृश्यावलोकन गर्दै हामि अगाडी बढ्यौं ।
करिब १ घण्टाको यात्रा पछी हामि सिनवा पुगियो, सिनवामा तल्लो र माथिल्लो गरी दुई वटा गाउ रहेको छ । त्यहाबाट वारीपारी हेर्दा पुरै घनाजंगल देखिन्छ । मनसुनको समय भएकोले जताततै हरियाली देखिन्थ्यो । नेपालीमा एउटा भनाई छ नि, नमरी स्वर्ग देखिदैन तर हामिलाई लाग्दथ्यो साच्चिनै स्वर्ग यहि हो । यस्तै प्रकृतिका अनुपम उपहारहरुको अवलोकन गर्दै, रमाउदै हाम्रो यात्रा जारी राख्यौं । यात्रामा कयौ संख्यामा स्वदेशी तथा विदेशी पदयात्रीहरु संग भेट हुन्थ्यो । कसैको अनुहार थकित थियो त कसैको उत्सुकताले भरिपुर्ण थियो । हामि पनि निकै उत्साहित हुदै कतिबेला सेताम्य हिउँले ढाकिएका हिमालहरुको घुम्टो उघारेर हेर्न पाउछौं भनेर सोच्दै एकअर्कामा हासो मजाक गर्दै ब्याम्बो भन्ने ठाउँमा पुगियो । वरपर सबैतिर साना लिंगे बाँसका घना बुट्यानहरु भएको हुदाँ त्यस ठाउँलाई ब्याम्बो भनिएको रहेछ ।
समुन्द्रि सतहबाट २३३५ मि. अग्लो उचाईमा रहेको उक्त ठाउँ यात्रीहरुको उत्कृष्ट विश्राम स्थल रहेको छ । केहीबेरको विश्राम र मिठो खाना खाईसकेपछी हाम्रो रफ्तार फेरी सुरु गरियो । अलिकति उचाईमा पुग्नुपर्ने भएकोले बाटो अलि उकालो थियो । केहीबेर हिडिसकेपछी आकाशले पानि पार्ने छाँटकाट ग¥यो । वरिपरी हरियाली, कतै बादलको घुम्टो, कतै तुसारो मौसम साच्चैनै मनमोहक थियो । करिब २ घण्टाको यात्रापछी हामि दोभान पुगियो ।
समुन्द्रि सतह देखी २६०५ मि. को उचाईमा रहेको उक्त ठाउँ घना जंगलको बिचमा थियो । त्यहा पुग्दा निकै ठुलो पानि प¥यो ।केहीबेर ओत लागिसकेपछी पुनः यात्रा सुरु भयो,यात्रा साच्चैनै रोमान्चकारी थियो । बाटोमा भेटिने यात्रीहरु संग बेला–बेलामा गफिदै थियौ, त्यस क्रममा हामिलाई मात्र होकि सबैलाई हुने कुरा केहो भने अघिल्लो स्टेशन पुग्न कति समय लाग्छ भन्ने कौतुहलता हुनु र फर्किएका यात्रीसंग सोध्दै अघि बढ्दै गरियो । तर कुनै पनि यात्रीले भनेको समयमा भने पुग्न सकिएन । यस्तै विभिन्न रमाईलो गर्दैनिरन्तर यात्रा अगाडी बढी रह्यो ।
बिचमा अत्यन्त सुन्दर झरना पनि थियो, केहीबेर झरना अबलोकन गरि आफ्नो मानसपटलमा साथसाथै क्यामेरामा त्यो सुन्दर झरनालाई कैद गरि फेरी यात्रा अगाडी बढ्यो ।सिमसिम पानि परिरहेको थियो । हाम्रो आजको गन्तब्य देउराली सम्म थियो तर बिचमा अर्को स्टेशन हिमालय पनि थियो ।
करिब डेढ घण्टाको यात्रापछि हिमालय पुगियो ।समुन्द्र सतह देखी २८५० मि. को उचाईमा रहेको उक्त ठाउँ यात्रीहरुका लागि आनन्दको विश्रामस्थल मानिन्छ । केहीबेर चिया कफि र केहीबेरको आरामपछी हामि त्यसदिनको गन्तब्य देउराली पुग्ने उदेश्यले अगाडी बढ्यौं । बर्षा रोकिएको थियो भने यात्रा पनि सहज हुदै थियो ।
नयाँ ठाउँ जंगलको बाटो बिचमा स्थानियहरुले त्यस ठाउँमा जंगली जनावर भालुको डर हुन्छ भनेका थिए, त्यसैले सकेसम्म साझँ ६ बजे पछी यात्रा नगर्नु भनेर सुझाएका हुनाले हामि सचेत हुदै अगाडी बढ्यौं । त्यस ठाउँमा यात्रा गर्दा सकेसम्म समुहमा हिड्नुपर्ने रहेछ, हामि त्यसैगरी अगाडी बढ्दै गयौं ।
दृश्यहरु निकै मनमोहक थिए । बर्षायामको बेला कतै–कतै बाटो बिग्रेको हुदाँ निकै होसियारीपुर्वक यात्रा गर्नुपर्ने थियो । करिब २ः३० घण्टाको यात्रापछी त्यसदिनको स्टेशन देउराली पुगियो । साझँ झमक्क पर्दै थियो, केही समयमा बासस्थानको ब्यवस्था गरी दिनभर थाकेको शरिरलाई आराम दियौं ।
तेस्रो दिन:
चिसो चिसो मौसममा पारिलो न्यानो घामको किरण संगै नजिकैको खोलाको सुस्साहटबाट बिहान सबेरै उठ्यौ । केहीछिनको नित्यकर्म पछि खाजा खाईसकेपछि हामि गन्तब्यतिर लाग्यौ । अरु दिन जस्तै बाटोमा पैदलयात्रीहरु थिए । फर्किदै गरेकायात्रीहरु संग माथि पुग्न कति समय लाग्छ भनेर सोधिहाल्थ्यौ । करिब ३ घण्टाको यात्रापछी एम.बि.सि. अर्थात माछापुच्र्रे बेस क्याम्प पुग्यौ । एम.बि.सि. मा खाना खाने योजना थियो । तेस्रो दिनको यात्रा खासै टाढा थिएन ।
किनकी देउराली देखी ए.बि.सि. को यात्रा ५ देखी ६ घण्टा जतिको थियो । एम.बि.सि. मा केहीछिन खानाको ब्रेकमा थियौ, अचानक मौसम धुम्मिएर नजिकै ५० मि. परको दृश्य पनि देख्न सकिएन । टलक्क हिउँले सजियकि अन्नपुर्ण र माछापुच्र्रे हिमालहरु हेर्न नपाईने होकि भन्ने मनमा नैराश्यता छायो । खाना खाने होटलको दाईले हामिलाई भने तपाईहरु भोलि बिहानको दृश्य स्पष्ट रुपमा देख्नुहुनेछ । बिहान घाम झुल्कने बेला सबै हिमालहरु देख्न पाईने रहेछ । खास गरी मनसुन पदयात्रामा जानेयात्रीहरुलाई मौसम छिनछिनमै परिवर्तन हुने हुदाँ भनेकै समयमा हिमश्रृङ्खलास्पष्ट रुपमा देख्न गाह्रो हुने रहेछ ।
यस्तै कुराहरु गर्दैकरिब १ घण्टापछी हामी ए.बि.सि. पुग्यौ । समुन्द्रि सतहबाट ४१३० मि.को उचाईमा रहेको उक्त प्रसिद्ध ठाउँ पुग्दा मौसम एकदम चिसो थियो । तराईको गर्मिले अतालिएका हामि त्यहाँको चिसोले मुटुनै काप्न थाल्यो । छिटो छिटो होटल खोजेर कोठा भित्र प्रवेश ग¥यौं । केहीछिन फ्रेश भई थकाई मार्दै तातो–तातो खाजा खाने निर्णय गरियो । वास्तवमा हामी जस्तोसुकै गर्मीको बेला हिमाल तिरको यात्रामा निस्कदाँ बाक्लो न्यानो लुगाहरु राख्नुपर्ने रहेछ भन्ने आभाष भयो । केहीछिन खाजा खाईसकेपछी त्यस वरिपरीको दृश्यावलोकनमा निस्कियौं ।
बाहिर अत्यन्त चिसो भएता पनि केहीछिन रमाईलो गर्दै घुमफिर गरियो । बाक्लो कुहिरोले गर्दा धेरै टाढा सम्मको दृश्य खासै देख्न सकिदैन थियो । तैपनि सुन्दर शान्त बिशाल हिमाल हेर्न पाईने हाम्रो आशा जिवितै थियो । धेरैबेरको पर्खाईपछि मौसम खुल्छकि जस्तो थियो । अन्नपुर्ण श्रृङ्खलाका सुन्दर सेताम्य हिमचुचुराहरु र बादल लुकामारी गर्दै थिए ।
हाम्रो आशा उत्सुकताले भरिपुर्ण थियो तर त्यस दिन सफा हिमाल हेर्ने ईच्छा आशामै सिमित हुन पुग्यो । हामि होटल फर्किएर केहीबेर गफिदै बेलुकीको खाना खायौं र भोलिपल्ट बिहानै उठि हिमाल हेर्ने उत्सुकताका साथ आ–आफ्नो ओछ्यान तिर लागियो । 
चौथो दिन :
बिहानको ५ बजे हामि सबैजना निन्द्राबाट ब्युझियौ । बाहिर मानिसहरु रमाईरहेको आवाज बाक्लै सुनिन्थ्यो र सबैजना निस्किदाँ सेताम्य अग्ला चुचुरा हाम्रा आखैँ अगाडी थिए । साच्चिँनै त्यो जिन्दगीको खुब यादगार क्षण थियो । तेही पल अनुभव गर्नको लागि बर्षेनि हजारौ स्वदेशी तथा विदेशी पर्यटकहरु त्यस ठाउँ पुग्दछन् ।चारैतिर मनमोहक थियो, सबैजना आ–आफ्नो क्यामेरामा एकअर्काको तस्बिर लिन ब्यस्त थिए ।
हामीले पनि सुन्दर दृश्यहरु क्यामेरामा कैद गर्न लाग्यौ । साच्चिँकै भन्नुपर्दा प्रकृति एउटा अनुपम श्रृष्टि हो जहाँ सबैचिजहरु आफैमा अत्यन्त सुन्दर छन् ।जतिसुकै दुख, पिडामा भएको मान्छेपनिप्रकृतिसंग रमाउन सक्छ, प्रकृति जस्तै शान्त रहन सक्छ ।प्रकृतिका गितहरु गाईएका छन्, चित्रहरु कोरिएका छन्, लेख रचनाहरु रचिएका छन् ।
जति हेरेपनि धित नमर्ने त्यो दृश्य आज पनि मानस्पटलमा ताजा रहेको छ र भन्न मन लाग्छ प्रकृति तिमि छौ, त्यसैले त हामि छौं । अन्नपुर्ण बेस क्याम्पको यात्राले हाम्रो लागि सदैब अतुलनिय यादको छाप राखिदियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)